menu

ताजा समाचार

अमेरिकाका सडकमा राता झण्डाहरू

सन् ६० को दशकमा पेरिसका सडकमा जाँ पल सार्त्रे, मिसेल फुको, सिमोन द बुआहरूलाई अघिल्लो पङ्क्तिमा राखेर पछि लागेको युवाहरूको जमातले गाउचे प्रोलेटरिने जिन्दावाद, कल्चरल रिभोलुसन अफ चाइना जिन्दावाद भनेर दि गाल शासनलाई चुनौती दिएझैँ अहिले अमेरिकाका सडकमा कम्युनिस्ट पार्टीको झन्डा माथि उचाल्दै ‘रेड गार्ड’ का युवाहरू टेक्सास, लसएन्जेल्स र फिलाडेल्फियामा सडकमा निस्केका छन् । अमेरिकामा यताका दुई वर्षमा माओवादी सङ्गठन निर्माणको प्रयासले निकै गति लिएको देखिन्छ । खासगरेर युवाहरू त्यसमा पनि आप्रवासी र काला जातिका युवाहरू अमेरिकी फासिवादसित लड्न मालेमाले सुसज्जित कम्युनिस्ट पार्टीबाट मात्र सम्भव छ भनेर माओवादप्रति आकर्षित भएका छन् ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन वहिष्कारमा निकै सक्रिय भएको टेक्सास राज्यस्थित ‘सर्भ दि पिपुल अस्टिन’ ले ‘रेड गार्ड’ को गठन गरेको छ र चुनाव बहिष्कारका सन्दर्भमा उसका कतिपय कायकर्ता  प्रहरीको निमर्म चुटाउमा परे भने कतिपय हिरासतमा पनि राखिए । अस्टिनको ‘रेड गार्ड’ का गतिविधिबाट प्रभावित भएर अमेरिकाभरि नै ‘रेड गार्ड’ गठन गर्ने अभियान चलेको छ । युवाहरूमा ‘रेड गार्ड’ प्रतिको बढ्दो उत्साह ध्यान दिनलायक भए पनि यो रोमान्टिक भावमा सीमित भएर यसले कतै फ्रान्सको ६० को  दशकको माओवादी आन्दोलनको नियति भोग्ने त होइन भन्ने आशङ्का हुनु पनि स्वाभाविक छ ।   यसै क्रममा भर्खरै अमेरिकाको  फिलाडेल्फियामा गठन भएको ‘रेड गार्ड’ टिमले प्रदर्शन गरेको छ । साथै  सडक सङ्घर्ष गरिरहेको अस्टिनको ‘रेड गार्ड’ टोलीप्रति ऐक्यबद्धता जाहेर गर्दै उसले खुला पत्र सार्वजनिक गरेको छ । यहाँ हामीले त्यसको सारसङ्क्षेप प्रस्तुत गरेका छौँ ।

  अस्टिनका रेड गार्डहरूलाई फिलाडेल्फियाका रेड गार्डहरूको खुलापत्र


कमरेडहरू !  हामी यो चिठी तपार्इँहरूप्रति ऐक्यबद्धता जाहेर गर्दै लेखिरहेका छौँ, किनभने तपाईँहरू निस्वार्थ भावका साथ अस्टिनमा फासिवादविरोधी आन्दोलनमा आफूलाई होमिरहनु भएको छ  ।   साथासाथै रेड गार्ड अस्टिनका माध्यमहरूबाट फासिवादका विरुद्ध देशभरि नै सैद्धान्तिक प्रचार गरिरहनुभएको छ र सङ्घर्षका दैनिक कार्यमा पनि सहभागी भएरहनुभएको छ ।  क्रान्तिका बारेमा हामीले जानेको कुरा  के हो भने क्रान्ति आखिर सीधा बाटोबाट  अघि बढ्दैन । अस्टिनमा तपाईँहरूले देखाएको कुरा के हो भने  उदारवादीहरूको काम गर्ने तरिका विषाक्त हुन्छ र उनीहरूले फासिवादलाई निस्तेज गर्नुको साटो त्यसमा मलजल हाल्छन् । कतिपय मान्छेहरू यसको विरद्ध क्रान्ति गर्नुभन्दा एकपल्टलाई भोट हालेर हेरौँ केही भइहाल्छ कि भनेर आशा गर्छन्, यसो गर्नु बेकार हो ।

यस किसिमको उदारवादी विचारधाराले अस्टिनलाई दमनको बाटोमा पुर्याएको छ । यसले सुगुँरहरूलाई नै सहयोग पुर्याएर कम्युनिस्टरूमाथि दमन गर्न सहयोग पुर्याएको । यताका दिनमा सुगुँरहरू खोजीखोजी कम्युनिस्टहरूलाई निसाना बनाइरहेका छन् । यसबाट फासिवादको उदय भएपछि सिङ्गो राज्यशक्ति  यसैको इसारामा चल्छ र त्यसको मूल उद्धेश्य क्रान्तिकारीहरूमाथि आक्रमण गर्नुहुन्छ भन्ने कुरा बुझ्न हामी बाध्य भएका छौँ ।

यो अहिलेका अस्टिनको स्थिति हो र सिङ्गो मुलुकको स्थिति पनि यो भन्दा फरक छैन । जे जे भए पनि यतिबेर हाम्रो उद्धेश्य भनेको जसरी हुन्छ तपाईँहरूलाई सहयोग पुर्याउनु हो । राज्यसत्ताद्वारा आक्रमण भइरहेको भए पनि हामी जसरी पनि मेडिकल र कानुनी क्षेत्रमा तपाईंहरूका लागि  केही सहयोग गर्न सक्छौँ । हामी हरेकलाई यस कार्यका लागि  तयार पार्छौँ । वैचारिक लडाइँ तीव्र भएको बेला, फासिवादी सत्ताका सुगुँरहरूले कम्युनिस्टको सिकार खेल्ने कामलाई तीव्रता दिइरहेको बेला,  माओवादी हुनुको नाताले पैसा ऐक्यबद्धताको निर्णायक आधार होइन भन्ने कुरा हामीलाई थाहा छ । हामी वर्तमान परिस्थितिको  माओवादी विश्लेषण गर्नु आवश्यक ठान्दछौँ ।

माओवाट हामीले सिक्नुपर्ने धेरै कुराहरूमध्ये एउटा प्रमुख कुरा हो आफू वरिपरिको परिस्थितिको सही विश्लेषण, जसमा हरेक बस्तुमा सकारात्मक र नकारात्मक, राम्रा र नराम्रा पक्ष हुन्छन् भन्ने हो । आफ्नो रचना ‘जनताबीचको अन्तर्विरोधहरूको सही संचालनबारे’ मा माओले अप्ठ्याराहरूले हामीलाई केही सिक्ने अवसर दिन्छन, यसका पनि दुइटा पाटा हुन्छन् भन्नुभएको छ  । खराब चिजलाई असल चिजमा फेर्न सकिन्छ भनेर माओ भन्नुहुन्छ । राज्यआतङक खराब चिज हो । यसले हाम्रो शक्तिको क्षय गराउँछ, हाम्रो आत्मबललाई कमजोर पार्न सक्छ, हाम्रो जुधारू स्पिरिटलाई कमजोर पार्नसक्छ र यसले हाम्रा कमरेडहरूलाई हामीबाट टाढा पुर्याउन पनि सक्छ ।  यसो हुँदाहुँदे पनि “सत्रुबाट प्रहार नराम्रो होइन”, किनभने यसले लडाइँको मोर्चाबन्दीलाई प्रस्ट पार्छ । उदारतावाद खराब कुरा हो । यसले सुगुँरहरूलाई हिंसा  र दमनका लागि बाटो खुला गर्छ । यसले क्रान्तिकारीहरूलाई पनि मोलमोलाइको स्थितिमा पुर्याउँछ । जब विभाजनको रेखा प्रस्ट हुन्छ —जनताले सुगुँरहरूले सक्नेजति गर्छन् भनेर बुझदछन्, उदारवादीहरूले पनि सक्नेजति गर्छन् भनेर बुझ्छन् र तपाईँहरू अस्टिनका कमरेडहरू पनि कम्युनिस्टहरू जनताका लागि सकेसम्म गर्छन् भन्ने कुरा देखाइरहनुभएको छ । कम्युनिस्टहरू लड्छन् । उनीहरू सुगुँरका विरुद्ध लड्छन्, उदारवादकाका विरुद्ध लड्छन्, शिशु अवस्थामै आन्दोलनको हत्या हुनसक्छ र आम जनता र उत्पीडित जनताका लागि हामीले बलिदान पनि गर्न सक्नुपर्ने हुन्छ । हामीहरू सदैव स्थिति प्रस्ट होओस् भन्ने पक्षमा हुन्छौँ, सत्यतथ्य सबै उजागर होस् भन्ने पक्षमा हुन्छौँ,  किनभने एकपल्ट म्यालकम एक्सले भन्नुभएको थियो,“सत्य जहिले पनि उत्पीडितहरूको पक्षमा हुन्छ” ।  क्रान्तिकारी कम्युनिस्टहरूका बलिदानीपूर्ण कार्यहरूद्वारा जनताका सत्रुहरू तिलमिलाउँछन् र उनीहरूको सबैले जान्ने गरी उनीहरूको सही चित्र जनताको सामु भण्डाफोर हुन्छ ।  
अर्को सत्य के हो भने दुस्मनले नै क्रान्तिका लागि बाटो आफैँ खोल्छ । सैन्य दृष्टिले नभएर समग्र शक्तिका दृष्टिले । दुस्मनले  गर्ने राज्यदमनले जनताका लागि प्रतिरोधको नयाँ वातावरण बनाउँछ । उनीहरू केही गरी एक जनालाई सिध्याउन सफल भए भने पनि  त्यस ठाउँमा अरू दुई जना उभिन आइपुग्छन् । वास्तवमा अन्यत्रभन्दा अस्टिनमा क्रान्तिकारी परिस्थिति जीवन्त छ । त्यहाँ रेड गार्ड, सर्भ दि पिपुल, लगायत क्रान्तिकार विद्यार्थी मोर्चाहरू अग्र पङ्क्तिमा रहेर काम गरिरहेका छन् । हामीसित भन्दा तपाईँहरूसित समृद्ध अनुभव छ र अन्तर्राष्ट्रिय सम्बन्ध पनि व्यापक छ ।

राज्यसत्तासित शक्ति छ र हामीलाई सिध्याउन पनि सक्छ, तर उनीहरूले  क्रान्तिकारी विचारलाई कब्जा गर्न, अधीनमा लिन र हत्या गर्न सक्तैनन् । उनीहरूले जनताको हत्या गरे भने पनि विचारले मालेमालाई दरोसित समात्ने थप मान्छेहरू जन्माउनेछ । दुस्मनहरू के कुरा बुझ्दैनन्, अथवा थाहा नपाएजस्तो गर्छन्—क्रान्तिले रगत मात्रै बगाउँदैन, यसले ऊर्जा पनि दिन्छ । तिनीहरूले रेड गार्डको क्रान्तिकारी उत्साहको हत्या गर्न सक्तैनन्, त्यसका लागि उनीहरूले माओवादको हत्या गर्नुपर्छ ।  उनीहरूले माओवादको हत्या गर्न सक्तैनन्, यो हाम्रो युगको क्रान्तिको एक मात्र विज्ञान हो । हाम्रो वर्तमान सङ्घर्षका शिक्षाहरूलाई विश्वव्यापी गर्ने समय छिटै आउने छ ।  यसले माओवादी पार्टी निर्माणका लागि हामीलाई सङ्घर्षशील ऊर्जा दिने छ, जसले जनताको हृदयलाई छुनेछ, जसबाट जनताले साम्राज्यवादलाई फ्याल्नेछन् र समाजवादको बाटो भएर साम्यवादको यात्रा तय गर्नेछन् । यसले विश्वभरका उत्पीडित जनता  र राष्ट्रहरूलाई महत्त्वपूर्ण ऊर्जा प्रदान गर्नेछ ।  
वगसङ्घर्षको भट्टीले मात्र हामीलाई इस्पातिलो बनाउँछ । फासिवादसम्बन्धी तपाईँहरूको लेखको भनाइमा “फ्रन्टका सदस्य र कायकर्ताहरू निरन्तर सङ्घर्षमा होमिएर नै खारिने गर्छन् । हामीहरू सबै सङ्घर्षको परीक्षणमा छौँ । हरेकपल्ट हामी चेतनाको विकास गर्दै एउटा लडाकु योद्धाका रूपमा आफूलाई तयार पार्छौ।” दमन र उत्पीडनबाट गुज्रेर र सङघर्षबाट अघि बढेर नै हामी एउटा अग्रदस्ता कम्युनिस्ट पार्टी बनाउन सक्छौँ । दमनका दुइटा पाटा छन् : एउटा तात्कालिक र छोटो समयको नकारात्मक किसिमको, जसमा कामरेडहरूलाई आतङकित पारिन्छ,  कुटपिट गरिन्छ, जेलमा सडाइन्छ र मारिन्छ पनि, अर्को दीर्घकालीन दृष्टिले यसले जुझारुपनका लागि मलजलको काम गर्छ र ती अझ इस्पातिला बनेर  क्रान्तिप्रति समर्पित हुन्छन् ।

दमन कहिल्यै पनि क्रान्तिलाई रोक्न सक्षम भएको छैन । बाहिरी परिस्थिति, हाम्रो आन्तरिक संरचना, यसको एकताभाव, जुझारूपनलाई दिने चुनौतीले क्रान्तिकारी शक्तिको नर्माणका लागि भूमिका खेल्छ ।  आफ्नो अगाडिको मात्र देख्नेहरूले दमन र दुस्मनले जितिरहेको मात्र देख्छन् । वास्तवमा दुस्मन आफैंले हामीलाई इस्पातिलो बनाइरहेको  छ र क्रान्तिको बिउ छरिरहेको  छ, जुनचाहि छिट्टै फलमा परिणत  हुनेछ ।


भिडियो फिचरview all