menu

ताजा समाचार

हामी माओवादी कहाँकहाँ चुक्यौं, फेरि त्यहींबाट उठनुपर्छ

('जनमेल' लाई संयोजक, नेकपा (माओवादी) पुनर्गठन अभियान, नेपालका तर्फबाट एउटा लेख  प्राप्त भएको छ l यसमा सहमति- असहमति तथा टीका-टिप्पणीका बुँदा र सन्दर्भहरू हुन सक्छन् । अवश्य पनि छन् । यसबारे आफ्नो बुझाइ र ठम्याइ राख्न पाठक स्वतन्त्र भएकाले, सामान्य रूपमा भाषा मात्र सम्पादन गरी जस्ताको तस्तै हामीले यो लेख प्रस्तुत गरेका छौं ।)

आज २६ डिसेम्बर, माओ दिवस्, संसारभरका सर्वहारा, श्रमजिवी, न्यायप्रेमी जनसमुदायका मुक्तिको लागि बिचारको विकासलाई नयाँ उचाई दिने एक महान् आदर्शको सम्मान गर्ने दिन, संझिने दिन हो । उहाँबाट  कम्युनिस्ट पार्टीमार्फत जनवाद, समाजवाद तथा साम्यवाद स्थापना गर्ने महान् उदेश्यमा दृढ हुँदै विज्ञानसम्बत् बाटो देखाएर मानव जातिका लागि पुर्याएको योगदान अतुलनीय छ भनि हामी विश्वस्त छौं ।

मार्क्सवाद भनेको वर्गीय समाज बदल्ने सिद्धान्त हो । माओवादले हरेक चिजमा रूपान्तरणको एक सुसंगठित बिधिको विकास गरेर सार्वभौमिक रूप दिएको छ । मालेमावाद यो समयको लागि क्रान्तिको नयाँ चरणमा विकास गर्न सफल भयो । यो युगको समाधान भनेको माओवाद अर्थात मालेमावादको आत्मसातीकरण हो । यसको अभावमा पेरु, नेपाललगायतका देशमा उठिसकेको क्रान्तिले सफल परिणाम दिन नसकेको स्पष्ट छ । भारतमा भने यसको आत्मसातीकरणले गर्दा उचाई ग्रहण गर्दैछ । आज माओलाई संझिदै गर्दा हामीले नयाँ निष्कर्षमा पुग्नैपर्छ र भन्नैपर्छ कि हामी माओवादी मुख्यतः यही आत्मसातीकरण गर्ने बिन्दुमा चुकेका छौं ।

तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रुपान्तरणको समस्या देखापर्यो  । अनुसन्धानपछि माओले निकालेको निष्कर्ष  विश्वका सर्वहारा वर्गको लागि मार्गदर्शन भएको छ । माओका सम्पूर्ण शिक्षाहरु यसमा समाहित हुन पुगेको छ । यो महान् सर्वहारा  सांस्कृतिक क्रान्तिमा अभिव्यक्त भयो ।

माओका शिक्षाहरूलाई सार्वभौम रूपमा स्वीकार्नेहरूलाई माओको निधनपछि अवसरवादी चिनियाँ नेतृत्वले अपमानित मात्र गरेन,  'ग्याङ अफ फोर' को नाममा अपराधीको बिल्ला भिराएर दमन र  हत्या गर्नपुग्यो । माओका योगदानको सार्वभौमिकताको सच्चाइलाई अवसरवादी नेतृत्वले दमनमार्फत अस्थायी रूपमा समाप्त नै पार्यो,  तर  त्यसले विश्वव्यापी  रूप लिने कुरामा उनीहरू  अनभिज्ञ बने, जसको परिणाम सर्वहारा आन्दोलनमा फुट पैदा गर्यो  र प्रतिक्रियावादी अत्याचारी वर्गलाई अस्थायी रूपमा बिजय भएको अवस्था देखा पर्यो  । यही स्थितिमा मार्क्सवादले तेश्रो चरणमा आफूलाई विकास गर्न पायो र पेरू, नेपाल, भारत र अन्य केही देशहरूमा सर्वहारा क्रान्तिकारीहरू सङ्गठित  हुन सके, तर असरवादी कित्ताले लिएका लाइनमार्फत सर्वहारा वर्गले आशा गरेको कतै देखिएन । अहिले सर्वहारा वर्गको मुक्तिका  लागि मार्गदर्शनको रूपमा मालेमावाद विकसित भएको छ । त्यसैले यो समयमा कम्युनिस्ट हुनको लागि मालेमावादलाई आत्मसात नगरी सम्भव छैन भन्ने हाम्रो बुझाइमा हामी दृढ छौं । यही कारण माओवाद प्रतिक्रियावादी तथा अवसरवादीका लागि चुनौति बनेर खडा भएको छ ।
हामीले त्यसलाई माओवाद भनी गरिएको संश्लेषणलाई मान्यता दिएकाले हामीलाई माओवादी भन्न कुनै अप्ठ्यारो वा संकोचको बिषय भएन, बरु गौरवको कुरा भयो । त्यसैले यहाँ महान् उथलपुथलका १० वर्षहरू  हामीले नेतृत्व तहमा आएका बिचलनका बावजुद सफलतासाथ बिताएका थियौं ।

हामी माओवादी भन्नेहरू मध्ये कोही अवसरवादी भएर चुक्यौं र कोहीले बेलैमा अवसरवादलाई  चिन्न नसकेर तथा सचेत पहल लिन नसकेर चुक्यौं र, अहिले रक्षात्मक अवस्थामा पुग्यौं । प्रचण्डपन्थीहरू  चुकेको स्वीकार्दैनन् र बाबुरामहरु उल्टो कमिकमजोरीका बाबजुद  विजय भएको घोषणा गरिरहेका छन् । माओवादलाई किरणजीको एउटा टोलीले नाम राखेको छ— क्रान्तिकारि विशेषण दिएर ।  तर आत्मसात गर्न नसकेको झैं देखिएको छ । पार्टी पुनर्गठनको समयमा नेकपा नाम राख्न प्राबिधिक कारणले नमिलेर नेकपा -माओवादी राख्नु परेको घोषणा गरिएको चटक्कै बिर्सिएर गत साल  पोखरामा सम्मेलनमा  कयौं पार्टी सदस्यले उक्त नाम राख्न अव समस्या नभएकोले त्यही राख्न दबाब दिंदा पनि राख्न मानेनन् । यो समूहले माओवादलाई कत्तिको आत्मसात गरेको रहेछ भन्ने स्पष्ट नै छ ।

बिप्लवको त कुरै छोडौं— माओवादले अव थेग्दैन, नयाँ जनवादी क्रान्तिको कार्यक्रम पनि अब काम छैन भन्दै 'एकीकृत जनक्रान्ति' र वैज्ञानिक समाजवादी क्रान्तिको नीति तथा कार्यक्रम अघि सारेका छन् । मार्क्सवादको अतिव्याख्याको क्रममा यो समूहले उत्तरसाम्राज्यवादी युग आइसकेको धारणा पेश गरेको छ । यसले आजको मार्क्सवाद अर्थात मालेमावादका बारेमा पनि प्रश्न खडा गरेको अर्थ लाग्छ । सर्वहारा वर्गले किसान तथा मजदुरको सङ्गठनमार्फत वर्गसंघर्षमा विजय प्राप्त गर्ने नीतिलाई बदलेर मध्यमवर्गको समेत अनिवार्य सम्लघ्नतामा संग्लग्नतामा क्रान्ति हुने र त्यस क्रान्तिले वैज्ञानिक समाजवाद स्थापना हुने यो समुहको बुझाइ छ । यो बझाई उत्तर-मार्क्सवादी बुझाइ हो ।

अहिले कम्युनिस्ट बिचार अनेकौं धारामा बिभक्त छन्, कम्युनिस्ट मात्रको भनाइले वा त्यस्ताको भीडले क्रान्ति हुने सम्भावना हुँदैन । आफूलाई कम्युनिस्ट भन्ने, ६२ प्रतिशत जनमत कम्युनिस्ट छन् भन्ने तथा मान्ने र उनीहरूको एकताबिना जनक्रान्ति सम्भव छैन भन्ने बुझाइ भएकाहरू सारमा सारसंग्रहवादी हुन् । माओवादलाई आत्मसात गर्ने सवालमा यो समूहमा उदासिनता देखा परेको छ । यस्तो बुझाइमा अवसरवाद झाँगिएको हुन्छ ।

आज माओवादी आन्दोलनको पुनर्गठन गरेर नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई व्यवहारमा लानु पर्छ भन्नेमा हामी छौं । पार्टीलाई नेकपा (माओवादी) मा पुनर्गठन गर्नु जरुरि भैसकेको हाम्रो ठहर छ । माओवादलाई आत्मसात गर्ने चुनौतीव हाम्रासामु खडा भएको हामीले बुझेका छौं । हामी केहीले यो रक्षात्मक अवस्थाबाट आन्दोलनलाई अघिबढाउने प्रयास गरिरहेका छौं । उठेर धुलो टक्टक्याउँदै हिंड्न पनि माओवादलाई आत्मसात नगरी सम्भव हुँदैन ।

एक दशक अघिदेखि अहिलेसम्म प्रतिक्रियावादी राज्यसत्ताको नेतृत्व निरंकुश सामन्ती राजतन्त्रबाट दलाल पुँजीवादी वर्गको नेतृत्वमा पुगेको भन्दा केही फरक स्थितिमा छैन । कम्युनिस्ट पार्टीका नाममा संसदवादमा पतन भएकाहरू  रुप सार र आकारमा प्रतिक्रियावादी भनिएका अरू  पार्टीहरू भन्दा फरक देखिएका छैनन् । राजसी जीवन शैलीका संसदवादी नेतृत्वहरू थपिएका छन् र गणतन्त्र खोज्ने जनतालाई बेबकुफ् बनाएका छन् । संसदबाट समाजवाद ल्याइदिने नारामा जनतालाई झुक्याएर राज्यसंयन्त्रलाई लुटने साधन बनाएका छन् र राज्यकोषलाई दोहन गर्नु पाउनु आफ्नो अधिकार झैं गर्न थालेका छन् । बरु अहिले राष्ट्रियता झन् कमजोर भएको स्थिति छ । देशको कुनै पनि सुचाङ्कमा सुधार देखिएको छैन । आर्थिक स्थितिमा प्रगति नदेखिनु र गरिबीको स्तरमा सुधार नआउनुले जनयुद्धको कारणले देशमा केही हुन नपाएको फलाक्ने फासिस्ट कांग्रेसको तर्कमा कुनै ओझ नरहेको स्पष्ट देखिन्छ । पुँजीवादी अधिनायकवाद लादिएको यो स्थितिमा जनयुद्धले शोषितपिडित श्रमजिवी वर्गमा चेतनास्तर उठाएको भन्ने कुराले पनि कुनै अर्थ नराखेको देखिंदैछ । जनयुद्धको बिधिवत विश्रामले वलिदानको मूल्यमा समाजमा कुनै पनि सकारात्मक छाप छोडेको देखिंदैन । त्यसैले हामी कहाँनेर चुक्यौं भनेर समीक्षा गर्ने र पुनः माओवादी आन्दोलनको उठान गर्ने बिषयमा केन्द्रित हुने भन्ने बेला हो यो ।

प्रचण्डको बिरोधमा किन उत्रिन सकेनन् गोलमेच सम्मेलनमार्फत हुने निर्णय स्वीकार्छौं भन्दा पनि, तत्कालीन केन्द्रीय सदस्यहरू ? त्यस्तै अवस्थामा रहे लोकतान्त्रिक गणतन्त्रमा जाने प्रस्ताव आउँदा पनि र १२ बुँदे कथित सम्झौतामार्फत जनसेनाको समायोजन, रेखदेख र पुनस्र्थापना भन्दा पनि ? झन् पार्टी निर्णयबिना नै खुल्ला हुन तयार हुने र कथित बृहत शान्ति संझौतामार्फत “आजैका मितिदेखि सशस्त्र संघर्षको अन्त्य” भन्दा पनि किन चुपचाप रहे वा प्रतिरोध गर्न सकेनन् ? यी सबै बिषयहरू  माओवादी प्रतिबद्धता, नीति र प्रस्थापना विपरीतका बिषय हुन् । दीर्घकाली जनयुद्धलाई गोलमेचको सर्तमा जुवाको च्याँखे दाउमा वलिदानको मूल्य छोड्न तयार भएको अभिव्यक्ति दिंदा र दायाँतिर मोडिएको स्थितिमा सारमा पार्टी सकिएको थियो । यही बिन्दुदेखि नै पार्टी मूल नेतृत्वमा बिचलन आएको देखिन्छ र बाँकी नेतृत्वले प्रतिवाद तथा प्रतिरोध गर्न नसक्ने कुराले तत्कालीन पार्टी मुख्य तथा अरू नेतृत्वले माओवादलाई आत्मसात गर्न नसकेको स्पष्ट देखिएको छ ।

मानिसको बिचारलाई प्रभाव पार्ने सबैभन्दा प्रभावकारी वस्तु मानिसको आर्थिक व्यवहार हो । सबै बुर्जुवा राज्यले यो मान्यतालाई गलत साबित गर्न हजार प्रयत्न गर्दा पनि सकेका छैनन् । यो सच्चाइलाई माओवादी पार्टीले सार्वभौम सिद्धान्तका  रूपमा लिनुपर्छ । यस्तो मान्यतालाई व्यवहारमा लान नसक्नु माओवादीको भूल भयो । नेतृत्वमा पलाएको विलासी  तथा सोखिन  जीवनबारेमा पार्टीका अन्य नेतृत्व अनभिज्ञ देखिएका छैनन्, तर प्रश्न उठाउने तागत कसैसँग नदेखिनु बिडम्बनायुक्त छ । मानिसको वर्ग अनुशासन उसको आर्थिक व्यवहारमा हेर्नुपर्छ भन्ने लेनिनवादी मान्यता नेपालमा जनयुद्धको अवधिमा व्यवहारमा ल्याइएन । प्रचण्ड तथा बाबुरामको फजुल खर्ची व्यवहारबारे अरूले प्रश्न उठाउने क्षमता राखेनन् । आलोचनात्मक चेत नभएका नेता तथा कार्यकर्ताको भीडले पार्टीमा रहेका अवसरवादीलाई सहयोग पुग्छ । नेपालको जनयुद्ध यसको दृष्टान्त हो भन्न सकिन्छ ।

जनसेनाले कयौं जिल्ला सदरमुकामहरू  कब्जा गरे, हताहतिको संख्या, कब्जा गरिएका दुस्मन तथा सामरिक महत्वका बस्तु, नगद तथा जिन्सीका बिबरण जनसेनाका कमान्डरहरूले पुस्तकहरूमार्फत सार्वजनिक गरेका छन् । अरबभन्दा बढी नगद, त्यत्ति नै जस्तो जिन्सी (सुन-चाँदी)बारे आबश्यक मात्रामा सार्बजनिक गर्ने वा पार्टीलाई जानकारी दिने नियत मुख्य नेतृत्वमा देखिएन । अन्य नेतृत्वले समेत खोजि गरेनन् । सबैलाई थाहा थियो, ती सबै नगद तथा जिन्सी जनसेनाका कमान्डरहरूमार्फत मुख्य नेतृत्व कहाँ पुगेको थियो । त्यो खर्च भएको कुनै घटना वा विवरण छैन र खर्च गर्ने ठाउँ पनि देखिंदैन । हरेक युद्ध मोर्चाहरू  तथा पार्टी कार्यक्रमहरूमा स्थानीय जनसत्ता तथा पार्टी कमिटिमार्फत खर्च पुर्याइएको  थियो । युवा वा जनसेना र आर्थिक श्रोतमार्फत सबै आफ्नो नियन्त्रणमा राख्ने नियत प्रचण्डमा रहेको देखिन्छ । यी सबै नियत र व्यवहार माओवादी नीति विपरीत रहेको थियो । पार्टीका मुख्य नेतृत्व र केन्द्रिय सदस्यहरूले यो मानेको स्थिति देर्खिदैन । यही कारण पार्टीका मुख्य तथा अन्य नेतृत्व माओवादलाई आत्मसात गर्न अक्षम थिए भन्ने स्पष्ट हुन्छ । यही कारणले माओवादी आन्दोलनको पुनर्गठनमा ठूलो दरार पैदा भएको देखिएको छ ।

जनसेनामा राजनीतिक सेनाको हैसियतमा देखिएनन् । माओवादी पार्टी नेतृत्वमा निर्माण हुने भएकोले जनसेना अक्षम नेतृत्वबाट क्षमतावान हुनसक्ने सम्भावना नै हुँदैनथ्यो । विश्वभरिका प्रतिक्रान्तिहरूमा अवसरवादीले  पहिला पार्टी संगठनलाई नियन्त्रणमा लिने र पछि जनसेनाको हतियारलाई लिने गरेको देखिएको छ । सर्वहारा वर्गको नीति, मूल्य र मान्यताबाट विचलित पार्टी नेतृत्वको अधिनस्त रहनु आवश्यक थिएन, तर यहाँ पनि अधिनस्त भैदिए । पार्टी नीति वा माओवादमा विचलन भएको नेतृत्वलाई खबरदारी गर्नसक्ने जनसेनाको यहाँ अभाव देखियो । माओवादले दिएको शिक्षा यहाँका जनसेनाले पनि आत्मसात गर्न सकेनन्, किन कि पार्टी नेतृत्वले जनसेनालाई पुनर्गठन गर्न भ्याएका थिए । पार्टी नेतृत्व, त्यसमा पनि मुख्य नेतृत्वमाथि बफादारी रहनु नै जनसेनाको नीति बन्न पुग्यो । सेना समायोजनको नाममा पुनस्र्थापनाको सवाल आउँदा पनि नेतृत्वप्रतिको भक्तिभाव दर्शाउने जनसेना वा हुनुपर्ने वास्तविक जनसेना थिएनन् । अन्ततः ती सेना यो दुनीयाँका जति पनि जनसेना थिए, सबैभन्दा बेकम्बा साबित भए । बिद्रोही वा आलोचक चेतना गुमेपछि उनीहरू केही पैसा र केही सुबिधामा बिक्री भए । उनीहरूमध्ये अधिकांश नै प्रतिक्रियावादी वर्गका रक्षक र लठ्ठैत बनेका देखिन्छन् । यो हाम्रो देशको माओवादी आन्दोलनको बिडम्बनापूर्ण स्थिति हो । यो गम्भीर बिषयमा पार्टीका मुख्य तथा अन्य नेतृत्वमा चेत नआउनु उनीहरुको क्षमतामा प्रश्न उठाउने स्थान रह्यो ।

कार्यकर्ताको स्थिति पनि यस्तै देखिन्छ— नेतृत्वप्रति भक्तिभाव । पार्टी निर्णय र नीतिप्रति निष्ठावान र अनुशासनसहितको आलोचक कार्यकर्ताको अभाव जनयुद्धको समयमा खड्किएको बिषय थियो । केन्द्रीय सदस्य नै मुख्य नेतृत्वको भक्तिभावमा लीन भएको देखेर त्यही सिकेका कार्यकर्ताहरू  प्रतिक्रान्ति निम्त्याउने कारकतत्वमध्ये एक हुन पुगेको देखिन्छ । आलोचक कार्यकर्ता नहुनु नै नेतृत्व बिग्रने कारणमध्ये एक हुनपुग्यो । यत्ति कुरा पनि बुझ्न नसक्नेहरूबाट हामीले जनयुद्धको महान् कार्य सम्पन्नताको अपेक्षा राख्न पुग्यौं । तर, यो बिषयमा तत्कालीन सबै नेतृत्वले आफ्नो कमजोरी वा गल्ती महसुस गरेका छैनन् । अनि कोही चाहिं त्यस्तै नेतृत्वबाट फेरि पनि क्रान्ति उठ्छ कि भन्ने आश गरिबसेका छौं । अनि हामी प्रतिक्रियावादीले पनि भन्ने गरेको बिचराबाहेक के हुन सक्छौं त ?

यी त भए जनयुद्धको बेला खड्किएका बिषय । त्यसपछिको स्थिति झन् गम्भीर र दयनीय देखिन्छ । संक्रमणकालको नाममा प्रतिक्रियावादी सत्ताको नेतृत्व लिन लालायित मुख्य नेतृत्वको नियत  बेइमानीको पराकाष्ठ नै हो भन्न सकिन्छ । यो पार्टी नीतिको गम्भीर उल्लङ्घन थियो । बिजयपछि पनि मुख्य नेतृत्व सरकारमा संग्लग्न नहुने नीति पार्टीले अख्तियार गरेको थियो । पार्टी निर्णय र नीतिको यस्तो गम्भीर उल्लङ्घ्न हुँदा पनि प्रश्न उठाउने तागत अन्य नेतृत्वमा देखिएन । बाबुरामले प्रचण्डको नेतृत्वको सरकारलाई नयाँ नीति र निर्णयको नाममा युवा स्वरोजगार कार्यक्रम ल्याएर पार्टी कार्यकर्तालाई पार्टीबाट गाउँघरमै थन्क्याउने नियोजित कार्यक्रम ल्याएका थिए । यो माओवादी पार्टीलाई बिघटन गर्ने सुनियोजित चालबाजी थियो । पार्टीका नेतृत्व वा कार्यकर्ताले यो बिरुद्ध आवाज उठाउने वा प्रतिरोध गर्ने कुनै क्षमता देखाएनन् ।

अर्कातिर जनसेनाको सवाल छ, जुन् झन् ठूलो षड्यन्त्रमा फस्यो । प्रचण्डका लागि लुटी खानका लागि सबैभन्दा ठूलो साधन मात्र बन्न पुग्यो । क्याम्पमा ७ डिभिजन र पार्टी नियन्त्रणमा बाहिर २१ डिभिजन जनसेना निर्माण गर्ने भन्दै जनसेनाको लेबी, कल्याणकारि कोष, क्याम्पका सबै संरचना निर्माण, जनसेनालाई श्रममा लगाउने, हजारौं अनुपस्थितको भरणपोषणको रकम, बाहिरि आर्थिक श्रोतहरू परिचालन गर्ने, मन्त्र-–सांसद तथा लाभको पदमा लगाएकाबाट ठूलो स्केलको लेबी, चन्दा संकलनबाट अरबौं उठाइयो । आखिर किन २१ डिभिजन बनाउथे र,  सबै रकम प्रचण्डले झ्वाम पारे । बेलैमा कसैले यो कुरा उठाएनन्, प्रचण्डले पार्टी बिघटनमा पुर्याए,  सबै ढिसमिस पर्न थालेका बखत रकमबारे किरण र बाबुरामले कुरा उठाए, तर त्यो कामकाजी भएन । त्यही अरबौं रकममध्ये केहीले अहिले प्रचण्डको पक्षमा राजनीति गरिरहेका छन् ।
त्यही पचाउन उनी अहिले नाम फेरिएको एमालेमा प्रबेश गरेका छन् । यत्ति कुरा पनि बुझ्ने क्षमता गुमाएका छन् लठैतहरूले । र, उनको पछिपछि एमालेरूपी बिषकुण्डमा हाम फालेका छन् । उनीहरूको सामूहिक आत्महत्याले नेपाली समाज अहिले शोकमग्न स्थितिमा छ । बाबुरामको पङ्ति त जिउँदो मुर्दा नै भएको भन्दा केही फरक पर्दैन र अहिले यो समूह कम्युनिस्ट आन्दोलनको हिस्सेदार बन्ने स्थितिमा छैन ।

१० वर्ष जनयुद्ध लडेको चेतनास्तरलाई नियाल्दा यस्ता गैरकम्युनिस्टहरू  आन्दोलनमा रहनु कति खतरनाक  रहेछ भनेर जिब्रो टोकेर सोच्नुपर्ने स्थिति देखिन्छ । माओवादी आन्दोलनमा सर्वहारा वर्गको अधिनायकत्व लागु गर्ने सवाल कति महत्वको रहेछ भनेर गम्भीर  हुनुपर्ने देखिन्छ ।
प्रचण्डले हस्ताक्षर गरेको कथित 'बृहत शान्ति संझौता' अर्थात माओवादीलाई निशस्त्र पार्ने प्रतिक्रियावादी तथा अवसरवादीको चालबाजीबाट पार्टीले बेलैमा शिक्षा लिन सकेन । वर्गदुस्मनसँग कुनै पनि हालतमा संझौतामा नपुग्ने नीति प्रचण्डको नेतृत्वले उल्लङ्घन गर्नपुग्यो । त्यसपछि पनि पटकपटक दोग्ला कुरा गरेर षडयन्त्र र छलछाम मात्र गरिरह्यो । अन्य नेतृत्वले उनीसँग लड्ने साहस गरेनन् वा क्षमता देखाएनन् ।

किरणले पहिलोपटक खरिपाटीमा सजग गराउँदा नै उनी पार्टीमा षड्यन्त्रका बाबजुद अल्पमतमा परिसकेका थिए । यो नेतृत्व रेबिजवाला भैसकेको थियो र पोखरीमा खेदिनु पर्थ्यो, बाबुरामले जोगाउने नियत राखेर  प्रचण्डलाई साथ दिन पुगिहाले । उनी पार्टी नेतृत्व हत्याउने षड्यन्त्रमा थिए । उनलाई आन्दोलनमा भएको घात, वर्गप्रति भएको विश्वासघात मतलवको बिषय थिएन, नेतृत्व हत्याउने नियत भन्दा केही थिएन, त्यसैले उनी प्रचण्डलाई जोगाउने रक्षाकवच बन्नपुगे ।

राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवादी राज्यसत्ता निर्माण हुनु माओवादी नेतृत्वको सबैभन्दा असफलताको स्थिति बन्यो । यस घटनाले राष्ट्रिय स्वाधीनताको स्थिति झन् कमजोर हुनपुग्यो । प्रचण्डको पूर्वघोषणा नै थियो— हामीले जनयुद्धलाई सफल पार्न सकेनौं भने यो पुस्ता छउञ्जेल वा ५० औं वर्ष फेरि जनयुद्ध उठ्नै सक्दैन । यसको मतलब हो कि प्रचण्डको नेतृत्वमा रहेका कसैले पनि जनयुद्धको नेतृत्व गर्ने क्षमता राख्दैनन् । र, यो पनि भन्न खोजेका हुन् कि उनीहरू  सबै नै क्रान्ति बिरुद्ध खडाभएका हुनेछन् । त्यसैले आन्दोलनको पुनर्गठन हुँदैन भन्ने उनको बुझाइ हो ।

किरणको नेतृत्वमा क्रान्ति उठ्छ कि भनेर क्रान्तिकारीहरूमा आशा सँगालिएको थियो, त्यो आशा पनि जनयुद्धलाई रक्षात्मक अवस्थाबाट उठाउने नीति लागु गर्न साहस नदेखाएका कारण पछि खण्डित अवस्थामा पुग्यो । बिप्लवले पनि एकपटक त्यो अवसर पाएर तत्कालै गुमाए पनि । सचेतपहल लिने क्षमता गुमाएका किरण र हामी कहाँनेर चुक्यौं भनेर बुझ्ने क्षमता नै नभएका बिप्लवबाट क्रान्तिकारीहरूको आशा खण्डित हुनु स्वभाविक थियो र भयो पनि ।

चारु मजुमदारले  संशोधनवादीहरूसँग पूर्णरूपले सम्बन्ध बिच्छेद गरेको हुनाले आजको भाकपा (माओवादी) को रूपमा अहिले क्रान्तिकारि आन्दोलनको रक्षा र विकास हुन सफल भएको छ । संविधान निर्माण गर्दाताकाको प्रमुख प्रतिपक्षको हैसियतमा रहेका कम्युनिस्टहरूले अस्तित्त्व रक्षा गर्न सकेका छैनन् । त्यहाँ माओवादी नै आज सत्ताको प्रतिपक्षमा चुनौती बनेर खडा भएको छ । संशोधनवादीहरू  आज गुमनाम झैं भएका छन् । हामीले पनि यहाँ त्यसरी नै संबन्ध बिच्छेदको स्थितिमा नगैकन क्रान्तिकारी आन्दोलन उठ्न  सक्दैन ।

केही यस्ता घटनाहरु छन्, जसको उत्तर  तत्कालीन माओवादी पार्टीका नेतृत्वमा रहेकाहरू ले आजसम्म दिएका छैनन् वा दिन सकेका छैनन् । पत्रिका तथा पुस्तकमार्फत सार्वजनिक गरिएका त्यस्ता घटनाहरूको जबाफ दिनुको सट्टा उल्टो अनावश्यक भन्दै नाजबाफ बनिरहेका छन् । राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने खालका, वर्गप्रति घात हुने खालका, पार्टी र जनतालाई गुमराहमा राखिराख्ने खालका प्रश्न आउँदा पूरै  नेतृत्वतह नाजबाफ छ । जनयुद्ध घनिभूत ढङ्गले चलिरहेको बेला “भारतको हीतबिपरित जाने छैनौं” भन्दै पञ्जाछाप लगाएको हो कि हैन ? भारतीय जेलमा रहेका आस्थाका बन्दीमाथि त्यहाँको सरकारले गरेका पक्षपातपूर्ण व्यवहारले के अर्थ राख्छ ? डा. गुटकालाई पक्रिए पनि छोडिदिने र थुनिएकालाई भट्टराई बिरोधीको संज्ञा दिएर यातना दिने कार्यको अर्थ के लाग्छ ? दुस्मनकहाँ गोप्य भिडियोहरू  पुर्याउने  अपराधीलाई पार्टीकै मूल नेतृत्वले किन काखी च्यापेर बसिरहे ? मात्र दुई नेतृत्वले पार्टीका अन्य नेतृत्वलाई नै जानकारी  नगराई भारतीय प्रतिक्रियावादी सरकारको योजनामा सत्ताका अधिकारी  र जासुसी  संस्थाका प्रतिनिधिसँग अनाधिकृत भेटघाट र गोप्य संझौता भएको हो कि हैन ? हो भने यो निक्कै र अक्ष्यम्य गल्ती हो । त्यही योजना अनुसार चुनवाङको निर्णय, '१२ बुँदे सम्झौता', 'बृहत शान्ति संझौता' र जनसेनाको बिघटन तथा हतियार हस्तान्तरण भएको हो भनेर किन नभन्ने ? हैन भन्ने आधारहरू  के छन् ? यो त राष्ट्रिय स्वाधीनतामा आँच आउँने तथा जनवादी लक्ष्य बिरुद्धको भयानक गद्दारी  पनि हो र जनताको संवेदनामाथिको भयानक खेलबाड पनि हो । युद्धकै बेलामा भएका यस्ता घटनाले गुटको स्थितिलाई छर्लङ्ग पारेको देखिन्छ । हाम्रो आन्दोलन यही ठाउँमा सबैभन्दा नराम्ररी चुकेको देखिन्छ । बिडम्बना के छ भने पार्टीमा कहिल्यै यो विषय मुद्दाको रूपमा उठेन ।

हो, हामी धेरै ठाउँमा चुक्यौं, जहाँबाट बिसर्जनवादीले भाग्ने दुलो खनिरहेका थिए । आज माओवादी आन्दोलनबाट कोही बिसर्जन भएका छन् वा भागेका छन्, कसैले भाग्ने बाटो समातेका छन् । जहाँजहाँबाट हामी चुकेका थियौं त्यहीत्यही बिन्दुबाट सपार्दै र लागु नगरिएका माओवादी नीतिलाई लागु गरेर मात्र हामी सही  गन्तव्यमा पुग्न सक्छौं । कतिपय नीतिहरू  लागु भएनन् भने कतिपयको अनर्थ लगाएर प्रयोगमा ल्याइयो । नेतृत्वले सत्ता हत्याउन आवश्यक नीतिहरू  मात्र लागु गरिए । छलछाम र षड्यन्त्रलाई आफू टिक्ने नीतिका रूपमा नेतृत्वले व्यवहारमा ल्यायो  । अन्य नेतृत्वले भक्तिभाव र चाकरीलाई नै आफ्नो मूख्य नीति बनाए र नेतृत्वसँगै बिचलित भएर भागे । उनीहरूले जनयुद्धपूर्वको प्रतिबद्धतालाई आत्मसात गरेको देखिएन । पार्टी नीति र निर्णय विपरीतका क्रियाकलापहरू  हुँदा पनि चुपचाप रहनुले नेतृत्व तहका अन्य कमरेडहरूको  क्षमतामा पनि गम्भीर प्रश्न गर्ने ठाउँ दिएको देखिन्छ ।

सांस्कृतिक रूपमा पार्टीमा भयानक बिचलनको स्थिति देखिन्छ । प्रायःले रक्सी पिउने, अझ कोही त रक्सीका सोखिन नै देखिने गरेका कुरा सार्वजनिक भएका छन् । रक्सीलाई  प्रतिक्रियावादी वर्गले पनि विषाक्त र पूरै हानिकारक तत्वका  रूपमा लिन्छन् । खराबजति हटाउने र असल जति कठोर भएर ग्रहण गर्ने नीति लिएको पार्टीले यस्तो खराब चिज अन्तिमसम्म वा आजसम्म नै कसरी अँगालिराख्न सक्यो ? एउटा क्रान्तिकारि पार्टीको लागि यो निक्कै गम्भीर बिषय हो । कतिपय मानिसहरू  प्रचण्डलाई यसरी र  उसरी  र यो र  त्यो ब्रान्डका रक्सी खुवाइयो भन्दै गफ चुटिरहेका देखिन्छन् । यो निक्कै लज्जाजनक बिषय हो ।

अन्य कतिपय मानिस छन्, जुन जनक्रान्तिमा समस्याको रूपमा थिए, तर माओवादी नेतृत्वमा थिए, जो झनझन माथिल्लो हैसियतमा जान अनेक लफडा झिकिरहन्थे । सर्वहारा वर्गको अधिनायकत्व अस्वीकार गर्ने, अन्तरसंघर्ष तथा वर्गसंघर्षलाई अस्वीकार गर्ने, सचेतपहलका साथ धक्का दिने बिषयमा जान नचाहने र आफूलाई क्रान्तिकारी ठानिरहनेहरूमा साँस्कृतिक तथा बैचारिक समस्या थिए भनेर किन नभन्ने ?
सारमा भन्नुपर्दा जनयुद्ध वर्ग दुस्मनको कारण पराजयको स्थितिमा पुगेको हैन भन्न सकिन्छ । बरु माओवादी आन्दोलनमा संगठन, पार्टी नेतृत्व, कार्यकर्ता, जनसेनाका क्षमता र व्यवहारका कारण असफल भएको थियो, माओवादी विचार र नीतिका कारण हैन भन्न सकिन्छ । कसैले नीतिको कारण भनेर बुझ्छ वा नीतिमा अपूर्णताको कारणले भनी बुझ्छ भने, त्यसमा सत्यता छैन भनेर बुझ्नु पर्छ । उसको नियतमा नै खराबी छ भनेर पनि बुझ्नु पर्ने हुन्छ  ।

यतिखेरको आवश्यकता माओवादलाई आत्मसात गर्नु, नेकपा (माओवादी) को पुनर्गठन गर्नु र हामीले नयाँ परिस्थितिमा कार्यनीति बदलेर जनयुद्धको जग बसाल्नेतिर जानुको बिकल्प हामीसँग छैन । निकट भविष्यमा नै हामीले हाम्रो वर्गलाई यसतर्फ सचेतपहल लिनेछौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।

 संयोजक 
नेकपा (माओवादी) पुनर्गठन अभियान, नेपाल ।
भिडियो फिचरview all