ताजा समाचार
साम्राज्यवादको वर्तमान चरित्र बुझ्नका लागि एउटा महत्वपूर्ण पुस्तक : ‘लेनिन्स इम्पेरियलिज्म इन द ट्वेन्टिफस्ट सेनच्युरी’
सही अर्थमा मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्नेहरू आजको विश्वक्रान्तिको बाटो, मूल अन्तर्विरोध, साम्राज्यवादको चरित्रका बारेमा प्रस्ट छन् र त्यसैअनुरूप आआफ्नो देशको विशिष्ट परिस्थितिमा क्रान्तिको तयारीमा पनि लागेका छन् । क्रान्तिका आधारभूत मान्यताबाट धेरै पर पुगिसकेका तर, पार्टीको नामसित कम्युनिस्ट पदावली जोडेकाहरूले भने साम्राज्यवाद र विस्तारवादका सामु आत्मसमर्पण गरेर संसदीय राजनीतिको अभ्यास गरिरहेका हुन्छन् । यो कुरा हामी नेपालकै सन्दर्भमा पनि देखिरहेका छौँ, भोगिरहेका छौँ ।
यति मात्र नभएर नेपाली समाज र जनतामा मार्क्सवाद-लेनिनवाद-माओवादको गहिरो प्रभाव र विश्वास रहेका कारण कार्यकर्ता र जनतालाई भ्रम दिन पार्टीको सिद्धान्त रूपमा मार्क्सवाद-लेनिनवाद-माओवाद रहेको भन्ने तर, सैद्धान्तिक तथा व्यावहारिक तहमा त्यसकै विरुद्ध जाने “उत्तर-साम्राज्यवाद” अर्थात् साम्राज्यवादको अन्त्य भयो भन्ने साम्राज्यवादपरस्त चिन्तन राख्ने समूह र व्यक्तिहरू पनि नेपाली समाजमा छन् । उनीहरू समय फेरिएको, समाज फेरिएको र अन्तर्विरोध फेरिएको भन्दै मालेमाका आधारभूत मूल्यमान्यता र नेपाली क्रान्तिको आधारभूत चरित्र र दिशाबाट विमुख भएर नेपाली जनतालाई भ्रम दिने र कार्यकर्तालाई गलत बाटोमा हिँडाउने अनेक थरी प्रयास पनि गरिरहेका छन् । मालेमा र वैज्ञानिक समाजवादको कुरा गर्ने तर व्यवहारमा यसका आधारभूत मान्यताको विरोध गर्नेहरू सारतः “वाम खोलेका दक्षिणपन्थीहरू” हुन् । नेपाली जनताले यतिखेर वाम नामका दलाल पुँजीपति वर्गको सत्ताको आतङ्कका साथै “वाम खोलेका दक्षिणपन्थीहरू”को भ्रम–आतङ्क दुवैको सामना गर्नु परेको स्थिति छ ।
वर्तमान सत्ताका विरुद्ध लड्नु भनेको सारतः साम्राज्यवाद र विस्तारवादका विरुद्ध पनि लड्नु हो । जबसम्म हामी वर्तमान विश्वको अन्तर्विरोध र नेपाली समाजको वर्गविश्लेषण र क्रान्तिको चरित्रबारे सही किसिमले जानकारी राख्दैनौँ, तबसम्म हाम्रो यात्रा रहस्यवादीहरूको जस्तै दिशाहीन र लक्षहीन हुन्छ । यो भनेको आजको साम्राज्यवादको चरित्रको सही जानकारी र नेपाली क्रान्तिको आधारभूत सिद्धान्त, क्रान्तिको बाटो र चालक शक्तिका सम्बन्धमा पनि सही जानकारी नराख्नु हो । साम्राज्यवाद त्यसमा पनि अमेरिकी साम्राज्यवादको अन्य भयो भन्नु वर्तमान साम्राज्यवादको बारेमा सामान्य जानकारी पनि नहुनु र नराख्नु हो । अहिले नेपाली नयाँ जनवादी क्रान्तिले यस्ता भ्रमवादीहरूसित पनि निर्मम सङ्घर्ष गर्नु परेको स्थिति छ ।
अन्तर्साम्राज्यवादी अन्तर्विरोध नयाँ किसिमले विकसित भएको भए पनि आधारभूत रूपमा आज पनि साम्राज्यवादका सम्बन्धमा लेनिनले अघि सार्नु भएका धारणा नै सही छन् । क्रान्तिकारीहरू यसबारेमा प्रस्ट छन् र यसका बारेमा प्रशस्त सामग्रीहरू पनि प्रकाशित छन् । यस क्रममा ‘लेनिन्स इम्पेरियलिज्म इन द ट्वेन्टिफस्ट सेनच्युरी’ नामको एउटा महत्वपूर्ण पुस्तक प्रकाशित भएको छ । यहाँ यसैका सम्बन्धमा जानकारी दिने प्रयास गरिएको छ ।
सन् २०१७ मा ‘इन्स्टिच्युट अफ पोलिटिकल इकोनमी’ फिलिपिन्सबाट प्रकाशित यो पुस्तक एन्टोनियो ए. टुजान जुनियरद्वारा सम्पादित पुस्तक हो । यस पुस्तकमा फिलिपिन्स कम्युनिस्ट पार्टीका संस्थापक तथा हाल फिलिपिन्स कम्युनिस्ट पार्टीसम्बद्ध मोर्चा ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट, फिलिपिन्स’ का प्रमुख सल्लाहकार जोसेमारिया सिसोनसहित मार्क्सवाद र पोलिटिकल इकोनमीका बारेमा विशिष्ट ज्ञान भएका आठ जना मार्क्सवादी विद्वान तथा राजनीतिज्ञहरू— एन्टोनियो टुजान जुनियरको “दि सेकेन्ड सेन्च्युरी इम्पेरियलिज्म : निओलिबरल ‘ग्लोबलाएजेसन” एन्ड पर्मानेन्ट वार प्रोजेक्ट अफ मोनोपोली क्यापिटल”, पल क्विन्टोजको “नोट्स अन मोनोपोली क्यापिटल इन दि ट्वेन्टिफस्ट सेन्च्युरी : हन्ड्रेड इयर्स सिन्स लेनिन्स इम्पेरियलिज्म”, डिम्बा मोउसा डेम्बेलेको “न्यु फम्र्स अफ एक्सप्ल्वाइटेसन अफ अफ्रिका बाइ मोनोपोली क्यापिटलिज्म : फ्रम लेनिन्स इम्पेरियलिज्म टु द इम्पेरियलिज्म अफ दि ट्रियाड इन द ट्वेन्टिफस्ट सेन्च्युरी”, पाओ-यु चिङको “द करेन्ट फेज अफ इम्पेरियलिज्म एन्ड चाइना, फ्रेड एङ्स्टको “ इम्पेरियलिज्म, अल्ट्रा–इम्पेरियलिज्म एन्ड दि राइज अफ चाइना, रोलाँ जि. सिम्बुलानको “लेनिन्स थ्योरी अफ इम्पेरियलिज्म एन्ड द ट्वेन्टिफस्ट सेन्च्युरी अमेरिकन एम्पायर”, पियो भेर्जोला जुनियरको “अ सेन्च्युरी अफ राइभलरिज एन्ड वार्स”र प्रो. जोसे मारिया सिसोनको “द फ्युचर अफ इम्पेरियलिज्म एन्ड सोसलिज्म” रहेका छन् ।
यहाँ सबैको लामो विवरण सम्भव छैन । सबै रचनाहरू विशिष्ट महत्वका छन् । यिनले मूलतः राजनीतिक अर्थशास्त्रीय कोणबाट आजको साम्राज्यवादको चरित्रको विश्लेषण गरेका छन् र क्रान्तिकारी युद्धबाट मात्र आजको साम्राज्यवादलाई परास्त गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेका छन् ।
मालेमाको आवरणमा तर्क र वैज्ञानिक विचारभन्दा बाहिर गएर “उत्तर-साम्राज्यवाद” को पुर्पक्ष गर्ने साम्राज्यवादपरस्त रहस्यवादी तत्वहरूका लागि यस पुस्तकमा समाविष्ट रचनाको महत्व नहुन सक्छ, तर जसले, अध्ययन र बुझाइको अभावको कारण आजको साम्राज्यवादका बारेमा सही बुझाइ राख्न सकेका छैनन् र अन्योलमा छन्, तिनका लागि भने यो पुस्तक निकै लाभदायी छ । यसमा समाविष्ट कतिपय रचनाहरू नेपालीमा अनुवाद गरी पाठकसमक्ष पुर्याउनु आवश्यक छ ।
भिडियो फिचरview all