ताजा समाचार
पश्चाताप कि बुढ्यौलीको असर
डा. ऋषिराज बराल
नेपालको कम्युनिस्ट आन्दोलनको जन्मदेखि अहिलेसम्मको समग्र इतिहासको साक्षी सायद अब समय मात्र होला, परन्तु यो इतिहासको लामो कालखण्डको साक्षी बनेका कमरेडहरू भने अहिले पनि हाम्रा सामु छन् र ती आ-आफ्नो पार्टीको नेतृत्व गरिरहेका छन् । एमबी द्वय मोहनविक्रम सिंह र कमरेड मोहन बैद्य यही लामो इतिहाससित सम्बद्ध व्यक्तित्व हुन् । केही दिनअघि सँगसँगैजसो यी दुई नेताका अन्तर्वार्ता प्रकाशमा आएका थिए र एकता र फूटका सम्बन्धमा तिनका धारणा समान प्रकृतिका थिए ।
‘नयाँ पत्रिका’ सितको अन्तर्वार्तामा मोहनविक्रमले भनेका छन् :
“केही फूट गलत प्रकारका पनि भएका छन् । त्यसमा, कमरेड निर्मल लामासँगको फूट हुनुपर्ने फूट थिएन । म चुनावको बहिष्कार गर्नुपर्ने पक्षमा थिएँ । उनी उपयोग गर्नुपर्ने पक्षमा थिए । उनका पक्षपातीले कतिपय कुरामा उनलाई भ्रम पैदा गराए र फूट भयो । त्यो फूटको समीक्षा गर्दा म दुःखी हुन्छु ।”
त्यसै गरी ‘नयाँ पत्रिका’ सितकै अन्तर्वार्तामा मोहन बैद्यले भनेका छन् :
“पार्टी फुट्नुअघि मेरो मोहनविक्रमजीसँग वैचारिक रूपमा घम्साघम्सी पर्यो । अहिले आएर बेकारमा गरिएछ जस्तो लाग्छ । त्यसबेला पार्टी विभाजन हुनुपर्ने कारण नै थिएन । अहिले सानोतिनो विषयमा विवाद गरिएजस्तो लाग्छ । पार्टी फुटका साङ्गठनिक कारण नै धेरै थिए । यसले अनुशासन तोड्यो, उसले अनुशासन तोड्यो भन्ने खालका कारण हुन्थे । पार्टी पदमा को जाने, को नजाने भन्ने झिनामसिना कारण थिए । साना कुरामा अल्झिएछौँ, मिलेर एउटै पार्टीमा बसेको भए हुने रहेछ जस्तो लाग्छ ।”
सरसरती हेर्दा माथिका भनाइहरू नेतृत्व तहमा रहेका कमरेडहरूले विगतमा भएका फूट र एकताका सम्बन्धमा व्यक्त गरेका सहज अभिव्यक्ति हुन् भन्न सकिन्छ । परन्तु, यी सामान्य भनाइ होइनन् । मोहनविक्रम र मोहन बैद्यद्वारा व्यक्त धारणा निजी धारणा हुन् अथवा पार्टीका निर्णय हुन् भन्ने प्रश्न पनि सँगसँगै उभिन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको स्कुलिङका तीनवटा धार रहेका छन्—एउटा पुष्पलालको नेतृत्वमा रहेको नेकपाको धार, अर्को नेकपा (चोथो महाधिवेशन) को धार र अर्को विगतमा झापाली समूहका नामले परिचित नेकपा (एमाले ) को धार । पुष्पलालको पार्टी पछिल्ला दिनमा थुप्रै टुक्रामा विभाजित भयो ।त्यसका टुक्राहरू कोही कता विलय भए र कोही कता विसर्जन भए पनि नेपालको वामपन्थी आन्दोलनमा पुष्पलाल विभिन्न किसिमले निरन्तर चर्चामा आइरहने पात्र हुन् । झापाली समूहबाट व्यक्तिहरू पलायन भए पनि र बेलाबेलामा सानातिना फूट भए पनि यसले अरूलाई नै आफूभित्र बढी विलय गराएको छ । सुधारवादीहरू संशोधनवादीहरूको शरणस्थल बन्दै अब यो समूह नव-प्रतिक्रियावादीहरूको केन्द्रमा परिणत भएको छ र पछिल्लो समयमा यसले प्रचण्ड समूहलाई पनि आफूभित्र विलय गराउन सफल भएको छ ।
मार्क्सवादका आधारभूत मान्यताहरूको अभ्यास गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई गुणात्मक दिशातिर लैजाने कामको थालनी नेकपा (चौथो महाधिवेशन) बाट भएको हो । यस क्रममा यसभित्र थुप्रै वैचारिक सङ्घर्षहरू भएका छन् र फूट र एकताको लामो शृङ्खलाबाट गुज्रिँदै समयका विशेषताका साथ अहिले पनि यसको इतिहास गतिशील छ । यो धार मोहन विक्रम सिंह, भक्तबहादुर श्रेष्ठ, निर्मल लामा, मोहन बैद्य हुँदै प्रचण्डसम्मको नेतृत्वबाट गुज्रिएको छ । चौथो महाधिवेशन कालदेखि पार्टीमा उच्च तहमा रहेका मोहन विक्रमसिंह, मोहन बैद्य र चन्द्रप्रसाद गजुरेलहरू आआफ्ना कित्तामा अहिले पनि सक्रिय छन् । यिनले नेपालको कम्युनिस्ट आन्दोलनको टुटफूट, विभाजन र एकताका थुप्रै शृङ्खलाहरू भोगेका छन् । यो अनुभव नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण सम्पति हो ।
अन्य धारको तुलनामा यो धारभित्र सबैभन्दा बढी टुटफूट र विभाजन भएको छ । हरेकपल्टको एकतालाई “क्रान्ति सम्पन्न गर्न गरिएको एकता” भनिएको छ र हरेकपल्टको विभाजनलाई “क्रान्तिका लागि दक्षिणपन्थीहरूका विरूद्ध विद्रोह” भन्ने गरिएको छ । फूट र एकताको यो इतिहास आफैंमा एउटा पाठशाला भएको छ । करिब ३५/३६ वर्षपछि मोहनविक्रम र मोहन बैद्यद्वारा व्यक्त विगतका फूटसम्बन्धी भनाइले अवश्य पनि केही प्रश्न उठाएको छ । यो इतिहासको समीक्षा हो अथवा पश्चाताप ? अथवा कतै यो समयले उत्पन्न गरेको निराशा, थकान र बुढ्यौलीको सुस्केरा त होइन भन्ने प्रश्न पनि छ । अहिलेसम्मका दस्ताबेज र पार्टी निर्णयले भने उनीहरूका धारणासित सहमति जनाउँदैनन् । खास गरेर कमरेड मोहन बैद्यका भनाइहरू नेपका (मशाल) र नेकपा (माओवादी) को विश्लेषण र मुल्यांकनप्रति विमति जनाउँछन् ।
मोहन विक्रमले निर्मल लामासितको फूटको सन्दर्भमा ''उनका पक्षपातीले कतिपय कुरामा उनलाई भ्रम पैदा गराए र फूट भयो । त्यो फूटको समीक्षा गर्दा म दुःखी हुन्छु” भनेका छन् । यो २०४० को सन्दर्भ हुनुपर्छ । जलजला प्रकरणमा मोहनविक्रम कारवाहीमा परेपछि कमरेड भक्तबहादुर नेकपा (चौम) को नेतृत्वमा आउनुभयो । पछि फेरि निर्मल लामा नेतृत्वमा आउनु भयो । २०४० सालमा नेकपा (चौम) मा विभाजन भयो र कमरेड भक्तबहादुर जेलमा हुनुभएकाले चित्रबहादुर केसीको नेतृत्वमा नेकपा (मशाल) बन्यो । यसपछि निर्मल लामा र मोहनविक्रमको पार्टीको एकताको सन्दर्भ उठेको थाहा छैन । त्यो संदर्भ त्यसै समयको हुनु पर्छ ।
मोहनविक्रमले सदैव क्रान्तिको कुरा गरे पनि कहिल्यै पनि क्रान्तिको तयारी गरेनन्, अनेक शब्दजाल प्रयोग गरेर र आत्मगत स्थितिको हवाला दिएर उनले क्रान्तिकारी परिवर्तनप्रति व्यावहारिक रुचि नै देखाएनन् । पहिले पनि ‘देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार’ को भ्रमपूर्ण नारा दिएर आन्दोलनलाई गोलचक्करमा घुमाउने र सुधारवादी नीति तथा योजनामा पार्टीलाई सीमित पार्ने प्रयास गरे । आन्दोलनबाट प्राप्त उपलब्धिका साथ एक चरण जनताका बीच जानु आवश्यक छ भनेर २०४६/०४७ को जनआन्दोलनपछि 'जनमोर्चा' मार्फत क्रान्तिकारीहरूले केन्द्रीय चुनावको प्रयोग गरे, तर नेकपा (मसाल) ले सो चुनाव बहिष्कार गर्यो । तर जब संसदीय व्यवस्थाबाट अब केही हुँदैन भन्ने निष्कर्षका साथ जनतालाई नयाँ किसिमले सङ्गठित गर्दै क्रान्तिकारी विकल्पमा अघि बढ्नका लागि चुनाव वहिष्कारको नारासहित क्रान्तिकारीहरूले जनयुद्धको लाइन अघि सारे, मोहनविक्रम एमाले लाइनमा उभिएर चुनावी राजनीतिमा पूर्ण रूपमा होमिए र जनयुद्ध र माओवादी आन्दोलनको विरुद्ध मोर्चाबद्ध भए ।
विगतदेखि नै नेकपा (मसाल) ले चुनावी राजनीति र संसदीय व्यवस्थाका सन्दर्भमा एमालेको पुच्छर बनेर आफनो अस्तित्व धान्यो र अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेको छ । यथार्थ यही हो । क्रान्तिको कुरा गर्ने तर सुधारवाद र संसदवादको घेरोबाट बाहिर निस्कन नचाहने चरित्र मोहनविक्रमको विशेषता बनेको छ । यस अर्थमा निर्मल लामासितको फूटमा “दुःखी हुनु” र पछुताउ गर्नु अचम्मको विषय होइन र भएन, बरू अहिले आएर उनले साँचो बोले भन्नु पर्छ ।
कमरेड किरणका सन्दर्भमा भने प्रश्न उठ्नु स्वाभाविक छ । उनले “पार्टी फुट्नुअघि मेरो मोहनविक्रमजीसँग वैचारिक रूपमा घम्साघम्सी पर्यो । अहिले आएर बेकारमा गरिएछ जस्तो लाग्छ । त्यसबेला पार्टी विभाजन हुनुपर्ने कारण नै थिएन । अहिले सानोतिनो विषयमा विवाद गरिएजस्तो लाग्छ ”, भनेका छन् । यो सन्दर्भ अवश्य पनि पाचौं महाधिवेशनसम्बद्ध सन्दर्भ हो भनेर बुझ्न सकिन्छ । त्यसपछि मोहनविक्रम र मोहन बैद्य कहिल्यै पनि एकै ठाउँमा नरहेकाले फूटको सन्दर्भ आउने कुरा भएन । २०४१ सालको पाँचौ महाधिवेशनले कमरेड मोहन बैद्यको नेतृत्वमा नेकपा (मशाल) निर्माण गरेको थियो । कारवाहीमा परेका मोहनविक्रमले लगत्तै आफ्नो नेतृत्वमा नेकपा (मसाल) गठन गरेका थिए । “मोटो मशाल” भने ''सेक्टर काण्ड' को पीडाका साथ २०४८ सम्म सक्रिय रह्यो ।
नाम र काममा छलाङ हान्ने क्रममा प्रचण्डको नेतृत्वमा २०५१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भयो । प्रचण्ड-बाबुरामको गद्दारीपछि क्रान्तिकारीहरूले विद्रोह गरेर २०६९ मा नेकपा-माओवादीको निर्माण गरे । २०७१ मा सो पार्टीबाट नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको समूह बाहिरियो र केही महिनापछि पुनः रामबहादुर थापाको नेतृत्वमा अर्को समूह पनि बाहिरिएर प्रचण्डसँगै एमालेमा विलय भयो । यसरी हेर्दा नेकपा (चौम), नेकपा (मशाल), नेकपा (माओवादी), नेकपा-माओवादी हुँदै कमरेड मोहन बैद्यको इतिहास नेकपा (क्रान्तिकारी माओवादी) सम्म आइपुगेको छ । चौथो महाधिवेशनदेखि अहिलेसम्मको इतिहास हेर्दा कमरेड मोहन बैद्यको इतिहास प्रतिक्रियावाद, सुधारवाद, संसदवाद र संशोधनवादका विरुद्ध निरन्तर वैचारिक-राजनीतिक सङ्घर्षको इतिहास रहेको देखिन्छ । अहिले मोहनविक्रमसितको फूटका सन्दर्भमा पश्चातापको शैलीमा जसरी पीडा व्यक्त भएको छ, यसले चाहिँ केही प्रश्न उठाएकै छ ।
अवश्य पनि फूट र विभाजन राम्रो होइन, तर इतिहासमा कतिपय विभाजन अनिवार्य बन्दा रहेछन् । फूटको पीडा माओले ब्यहोर्नु परेन । दुईदुईपल्ट कारवाही सहेर पनि माओले पार्टीमा बहुमत कायम गरेर संशोधनवाद विरुद्धको सङ्घर्षलाई निरन्तरता दिनुभयो । लेनिनले लामो समयसम्म मेन्सेविकहरूसित वैचारिक सङ्घर्ष चलाउनु भयो र अन्ततः क्रान्तिका लागि मेन्सेविकहरूलाई पार्टीबाट हटाउनु भयो । मार्क्स-एङ्गेल्सले लासालपन्थीहरूसित लडेको लडाइँको ऐतिहासिक महत्व छ र यसै सन्दर्भमा “गोथा कार्यक्रमको आलोचना” ऐतिहासिक महत्वको अभिलेख बनेको छ ।
२०४१ सालको पाचौँ महाधिवेशनको अनुभव यो टिप्पणीकारलाई नभए पनि मोहनविक्रमसित सम्बद्ध मुद्दाहरू व्यक्तिगत प्रश्न नभएर सारतः वैचारिक मुद्दाहरू थिए भन्ने कुरा दस्ताबेजहरू बोल्छन् । कमरेड गौरवको त्यसबेलाको दस्ताबेजले पनि उनका बारेमा सबै कुरा भन्छ । किरण कमरेडको भनाइमा पनि “ मोहनविक्रमजीसँग वैचारिक रूपमा घम्साघम्सी पर्यो ” भन्ने छ । वैचारिक पक्षमा नै घम्साघम्सी थियो भने यो सन्दर्भलाई सामान्य तथा “सानोतिनो विषयको विवाद” कसरी भन्न सकिएला र ! नेकपा (मशाल) को प्रकाशन मशाललगायतका त्यसबेलाका प्रकाशन र जनयुद्धका दस्ताबेजहरूले पनि निर्मल लामा तथा मोहनविक्रमसित विभाजनका पछाडि गम्भीर वैचारिक-राजनीतिक मुद्दा कारक पक्ष बनेको कुरामा जोड दिन्छन् । कमरेड भक्तबहादुरका दस्ताबेज तथा लेखादिहरूले यसै भन्छन् । प्रचण्डसित २०६९ सालमा सम्बन्ध विच्छेद पछिको सातौं महाधिवेशनको 'राजनीतिक दस्ताबेजहरू-२०६९' मा पनि यसबारे प्रस्टताका साथ भनिएको छ :
“पाचौँ महाधिवेशनपश्चात् जडसूत्रीय संशोधनवादी धारा अत्यन्तै अनुशासन विहीन ढङ्गले प्रस्तुत भयो र केन्द्रीय समितिको बहुमत पक्षका विरुद्ध सार्वजनिक रूपमा नै मैदानमा उत्रियो । त्यस स्थितिमा त्यस धाराको प्रमुख नेतृत्वमाथि अनुशासनको कारवाही गरियो । त्यस धाराले नेकपा (मसाल) को नाममा नयाँ गुट बनायो । यसै प्रक्रियामा २०४२ सालमा सम्पन्न नेकपा (मशाल) को केन्द्रीय समतिको विस्तारित बैठकमा ‘अराजकतावादी व्यक्तिवाद : दक्षिणपन्थी संशोधनवादको नयाँ आयाम’ शीर्षक राजनीतिक प्रस्ताव पारित भयो र मसाल गुटलाई दणिणपन्थी संशोधनवादी समूह घोषित गरियो ।”
अस्तिसम्म जुन समूहलाई “दणिणपन्थी संशोधनवादी समूह” घोषित गरिएको थियो, त्यस धाराको प्रमुख नेतृत्व” लाई गरिएको कारवाहीप्रति कमरेड किरणको पश्चातापले प्रश्न उठ्नु स्वाभाविक छ । मोहनविक्रम र उनको समूह पछिल्ला दिनमा झन् घोषित रूपमै दणिणपन्थी संशोधनवादी प्रवृत्तिको संवाहक बनिरहेको अवस्थामा कमरेड किरणको भनाइले प्रश्न मात्र नभएर आशङ्का नै उत्पन्न गरेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा निकै गम्भीर वैचारिक सङ्घर्षका उदाहरण बनेका मुद्दाहरूप्रति कमरेड किरणबाट आएको यस किसिमको अभिव्यक्तिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले चालिसको दशकमा भएका फूट र विभाजनका सम्बन्धमा नयाँ समीक्षा गरेछ अथवा गर्न थालेछ भने धारणा बनाउनु पर्ने हुन्छ । होइन यो कमरेड किरणको निजी विचार हो भने पनि पछुताउ र थकथकीमा निहित कारणहरूको खोजी गर्नु आवश्यक हुन्छ । कतै भोलिका दिनमा “२०६९ मा प्रचण्डसित सम्बन्ध विच्छेद गर्नु महाभूल भएछ” भन्ने किसिमका अभिव्यक्ति नेताहरूबाट आउने पो हुन् कि भनेर टीकाटिप्पणी हुनुलाई अन्यथा भन्न मिल्दैन ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कतिपय फूटले क्रान्तिलाई थप गतिशीलता र ऊर्जाका साथ लैजान सहयोग पुर्याएका छन्, उदाहरणका रूपमा जनयुद्धको तयारीका क्रममा निर्मल लामाहरूको वहिर्गमनलाई लिन सकिन्छ । त्यसै गरी इतिहासमा भएका कतिपय एकताले पार्टी र आन्दोलनलाई पछाडि धकेलेका छन्, उदाहरणका रूपमा नारायणकाजी समूह नेकपा (एकता केन्द्र मसाल) सित नेकपा (माओवादी) को एकतालाई लिन सकिन्छ । दुवै थरी इतिहास हाम्रो आन्दोलनले भोगेको छ ।
आन्दोलनमा दूरगामी प्रभाव पर्ने वैचारिक-राजनीतिक मुद्दामा नेतृत्व तहमा रहेका कमरेडहरूले धारणा व्यक्त गर्दा विषयको गम्भीरताप्रति ध्यान दिनु जरुरी हुन्छ । नेताहरूलाई आफूले सहज र स्वाभाविक रूपमा भनेजस्तो लाग्ला, तर यस्ता अभिव्यक्तिले कार्यकर्तामा आन्दोलनप्रति निरासाभाव र नेतृत्वप्रति अविश्वास जगाउने प्रबल सम्भावना रहन्छ । कमरेड किरणको अभिव्यक्तिले नेकपा (मसाल) र मोहनविक्रमलाई क्रान्तिकारीका रूपमा प्रस्तुत गर्न खोजेको सङ्केत गर्छ ।
सत्य के हो भने मोहनविक्रम र उनको पार्टीको संसदवादी, सुधारवादी र एमालेपरस्त अहिलेको सन्दर्भमा भन्दा नेकपापरस्त चिन्तका विरुद्ध क्रान्तिकारीहरूको हिजोदेखिको वैचारिक सङ्घर्ष अहिले पनि जारी छ । विचारकै कारण राष्ट्रियता र जनजीविकाका प्रश्नहरूमा संयुक्त मोर्चा बनाउने कुरामा उनको विमति रहेको कुरा जगजाहेर छ । यस्तो बेला कमरेड किरणबाट पछुताउ र पीडाका अभिव्यक्ति आउनु साँच्चिकै गम्भीर कुरा हो । यस किसिमका अभिव्यक्तिहरू क्रान्तिकारी आशावाद र उत्साहका बाधक छन् । म पछुताउको यो अभिव्यक्तिलाई कमरेड किरणको थकान अथवा बुढ्यौलीको उपज भन्न हतार गर्दिन । भौतिक क्रियाशीलताका दृष्टिले समस्या हुन् सक्छ, तर बुढ्यौली विचारको वाधक हुन्छ भन्ने मलाई लाग्दैन ।
भिडियो फिचरview all