ताजा समाचार
सिन्धुलीको जनयुद्ध, लङ्गुरखोला वलिदान सन्दर्भ र क्रान्तिकारीहरूबीचको एकता
लिला पौडेल
(भाषा सम्पादन तथा शीर्षक परिमार्जन सहित http://sindhulisaugat.com बाट)
सिन्धुली सदरमुकामबाट करिव २७ कि.मी पूर्वमा तीनपाटन गाउँपालिका ५ (साविकको जरायोटार,९) मा लंगुरखोला भन्ने गाउँ पर्दछ । त्यही खोलाको दक्षिणतर्फबाट हत्पते डाडाँको काखबाट एउटा खोल्सा वगेर लंगुरखोलामा मिसिन्छ, जसलाई स्थानीय बासिन्दा कालिखोला भनेर चिन्दछन् । जनयुद्धको सन्दर्भमा सिन्धुली जिल्लालाई पूर्वको रोल्पा भनेर बताइन्थ्यो । माओवादीहरू पनि यसलाई त्यसैगरी वुझ्दथे । सिन्धुलीको जनयुद्धको थवाङ भनेर सिन्धुलीको अमले र मरिणलाई बुझ्न सकिन्छ । जनयुद्धको आरम्भताकाको सिन्धुलीको पश्चिम क्षेत्रको आधार अमले र पछि गएर पूर्वको आधार इलाका जरायोटारको लंगुरखोला भनेर वुझिन्थ्यो । जरायोटारको छिमेकी गा.वि.स. लाम्पान्टारको बासिन्दा वलराम तिमल्सिनाले जनयुद्धको उठानमा प्रभावकारी भूमिका खेलेका थिए भने जरायोटारको माओवादी सङ्गगठनको जगको भूमिका खेलेका नरबहादुर सिदाली, भरत वुढाथोकीहरूको सक्रियताबाट जरायोटारमा माओवादी आधारक्षेत्र बनेको थियो । त्यसमध्ये पनि लंगुरखोला जनाधार र भौगोलिक अनुकूलताका कारण पनि दुस्मन सितिमिति किसिमले त्यहाँ पस्न सक्दैनथ्यो ।
जनयुद्धले उँचाइ हासिल गर्दैथियो । क्रान्तिकारीमाथि तत्कालीन गिरिजा सरकारले घेरा हाल्ने र सखाप पार्ने हत्या अभियान चलायो, जसलाई 'किलो सेरा टु' भनेर बुझिन्थ्यो । क्रान्तिकारीहरूको हत्या गरेर सक्ने अभियानमा लागेका गिरिजाले सिन्धुलीलाई झनै कडारूपमा हेरको प्रस्ट थियो । यसै सन्दर्भमा तत्कालीन माओवादी कार्यकर्ताहरू वर्गसङ्घर्षको अभियानकै सन्दर्भमा कालिखोलाका जगतबहादुर सुनुवारको घरमा सेल्टर लिएर बसिरहेका बेला स्थानीय सुराकीमार्फत डकाहाका प्रहरी बोलाएर घर घेरा हाली जरायोटारका माओवादी आधारस्तम्भ कमरेड नरबहादुर सिदाली, क. मोहन आचार्य, क. तिलक बहादुर पाण्डे र क. शुक्रराज घिसिङ चारजना कमरेडहरूको हत्या गर्यो । केही कमरेडहरू घेरा तोडन सफल हुनुभयो भने ५ जना कमरेडहरूलाई गिरफ्तार गरेर बेलघारी प्रहरी चौकीमा ल्याई दुई दिनपछि हेलीकप्टरमार्फत सिन्धुली ल्यायो । कालिखोलाको त्यो हत्याकाण्ड २०५५ साल असोज २१ गते भएको थियो । त्यो घटना भएको तथा सहिदहरूले बलिदान गरेको यही असोज २१ गते २० वर्ष पूरा भएछ ।
त्यो हत्याकाण्ड केही दिनपश्चात्, म त्यो घटनास्लथ पुगेको थिएँ । घरको नजिकै करेसा र आगनमा रगतको भल बगेको थियो । घेरा तोड्ने कमरेडहरूको घाउबाट बगेको रगत यत्रतत्र माटो र वनमाराका पातहरूमा लतपात्तिएको थियो । हत्या गरिएका कमरेडहरूलाई घरमुनिको पाटामा एकै ठाउँमा माटो खोस्रिएर पुरिएको अवस्था थियो । कालिखोलाको कलकल बगिरहेको पानी पनि राता मान्छेको शोकमा अडिएर श्रद्धान्जली दिएको अवस्थामा थियो । कालिखोलाको हरिया वनस्पती र चराहरूले पनि शोक मनाउँदै शोकलाई शक्तिमा बदल्ने दृढता प्रकट गरेको अभास हुन्थ्यो । त्यो पीडादायी हत्या देख्दा परिवर्तन चाहने इमान्दर मान्छेहरूको वर्गदुस्मनसँग बदला लिन रगत उम्लिने अवस्था थियो । न्याय, समानता शोषणरहित समाज बनाउने महान् अभियान जनयुद्ध थियो । नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी क्रमशः समाजवाद हुँदै साम्यवादसम्म पुग्ने महान अभियानमा लाग्दा उहाँहरू महान् सहिद हुनुभयो ।
त्यसैगरी लंगुरखोला हत्याकाण्ड भन्नेबित्तिकै अर्को दर्दनाक हत्याकाण्ड पनि सँगै जोडिन आउँछ । जरायोटार गा.वि.स. १ नं. वडामा बसेर शोषित पीडितवर्गको पक्षमा आफ्नो भूमिका पूरा गर्दै आउनुभएका पार्ट टाइमर कमरेडहरू क. पूर्णबहादुर वारकोटी र क. रुद्र हादुर वारकोटीलाई वेलघारीबाट गएको प्रहरीले पक्डिएर १ दिन चौकीमै राखी भोलिपल्ट २०५५ साल मंसिर २६ गते बिहान लंगुरखोलाको नर्कटेमा ल्याई गोली हानी हत्या गरे । जेनेभा महासन्धि भनेर नथाक्ने प्रतिक्रियावादी सत्ताले निशस्त्र मान्छेलाई पक्डिएर ल्याउँछ र गोली हानी हत्या गर्छ । यो भन्दा स्वेत आतंक अरू के हुन्छ ?
सिन्धुली जिल्लामा वर्गदुस्मन विरुद्धमा वर्गसङ्घर्षको भूमिका खेल्ने नेपाल कम्युनिस्ट पार्टी २००८ सालमा नै भूमिगत जानु परेका कारण पार्टीले किसान सङ्गठनका नामबाट आफ्ना गतिविधि संचालन गर्यो । त्यसैबेला कमलाखुँज क्षेत्रमा रु १ को १ पाथी व्याज प्रत्येक महिना जोडिने गरी चलाएको प्रथाको विरुद्धमा आन्दोलन भएको पाइन्छ । जमिनदार र सुदखोरको साथमा रहेका तमसुक ल्याएर च्यात्ने कामहरू भएका थिए । बेठबेगारी हटाउने झारा खेताला विरुद्ध र हली प्रथा (रु ४००,को तीन पुस्ता हली वस्नु पर्ने प्रथा) विरुद्ध सङ्घर्ष भएका थिए ।
२०१७ सालमा राज महेन्द्रले पञ्चायती व्यवस्था, लादेर दलमाथि प्रतिवन्ध लगाएपछि सिन्धुलीको कम्युनिस्ट आन्दोलनमा पनि उत्तारचडाव आयो । त्यस समयमा केशरजङ्ग रायमाझीको पदचाप पछ्याउँदै सिन्धुलीमा पनि वासुदेव श्रेष्ठ, कृष्णहरि आधिकारीहरू पनि पञ्चायतमा पलायन भए । २०१९ सालपछि ने.क.पा. विभिन्न समूहमा विभाजित भएपछि त्यसको प्रभाव सिन्धुलीमा पर्नु स्वभाविक थियो । विभिन्न समूहमा विभाजित समूहमध्ये २०२५ सालमा तेस्रो गोरखापुर सम्मेलन गरेर क्रान्तिकारी कार्यदिशा पास गरेर नयाँ जनवादी क्रान्तिको कार्यक्रम पास गरे तापनि सिन्धुली जिल्लामा वर्गसङ्घर्ष उठानमा त्यो समूले उल्लेखनीय भूमिका खेल्न सकेन । त्यस्तै २०२८ सालमा झापा विद्रोह गर्ने क्रान्तिकारी समूहको प्रभाव पनि सिन्धुलीमा देखापर्देन । यसलाई छोटकरीमा विश्लेषण गर्दा २०३१ सालमा मोहनविक्रम सिंहहरूको नेतृत्वमा केन्द्रमा ने.क.पा (चौम) गठन गरेपछि त्यो समूहबाट खासगरी कमरेड ऋषि देवकोटा 'आजाद' को सक्रियता र नेतृत्वमा सिन्धुलीका विभिन्न गाउँमा सामन्त र जालीफटाह विरुद्ध वर्गसङ्घर्षको उठान भएको पाइन्छ ।
लेखनको सन्दर्भ सिन्धुलीको जनयुद्ध भएको हुनाले यमा प्रकाश पार्न चाहन्छु । २०५२ सालमा जनयद्वले उठाएको आधार २०३५ साल देखिनै ने.क.पा. (चौम) मा छँदै संसोधनवाद विरुद्धमा क्रान्तिको झन्डा उठाउने काम गर्दै चौ.म बाट विद्रोह गरी विद्रोही 'एकता केन्द्र' गठन गरेबाट सुरु हुन्छ । त्यसयता त्यसैको जगमा २०४० सालमा ने.क.पा. (चौम) विभाजन भई ने.क.पा. (मशाल) गठनपश्चात् त्यसको प्रभाव सिन्धुलीमा पनि रह्यो । मोटो मशालको पहलमा, २०४८ सालमा मशाल, विद्रोही मसाल, चौम, सर्वहारावादी श्रमिक संगठन मिलेर ने.क.पा. (एकताकेन्द्र) निर्माण भयो । २०५२ बाट ने.क.पा. (माओवादी) हुदै जनयुद्ध सुरु गर्ने क्रममा सिन्धुलीगढी प्रहरीचौकी माथि आक्रमण गरी वर्ग क्रान्तिको ऐतिहासिक भूमिका खेलेको प्रस्ट छ ।
त्यसयता जनयुद्धको अभियानमा पार्टीभित्र आन्तरिक र अन्तर्राष्ट्रिय विरोधको प्रभाव वर्गसंघर्ष संगसंगै सिन्धुलीमा पनि पर्योन । पार्टीमा नेतृत्वको सरुवा-वढुवामा गुटगत अस्वस्थ गतिविधि देखापरे पनि वर्गवैरी विरुद्व फौजी आक्रमण पनि संगसगै अघि वढे । भिमानको फौजी आक्रमणले सिन्धुलीका वर्ग दुस्मदुहरूलाई हायलकायल बनायो । त्यस क्रममा २१ जना योध्दाहरूको वलिदान भयो । यसलाई कमरेड ऋषि देवकोटोका सपना पूरा गर्न वर्गक्रान्तिको अभियान भिमान फौजी मोर्चालाई लिन सकिन्छ । केन्द्रमा प्रचण्ड र वावुरामबीच देखिएको टकरावको प्रभाव सिन्धुलीमा पनि पर्योर । बैचारिक सङ्घर्ष भन्दा पनि आ-आफ्ना नेताको फेर समाएर एकले अर्कालाई निषेध गर्ने अवस्था आयो । प्रचण्डपक्षको वकालत गर्ने नेतृत्वमा हरिवोल गजुरेल थिए भने वावुराम पक्षको नेतृत्वमा गंगा श्रेष्ठले गर्दैथे । यसो भए पनि सिन्धुलीका विभिन्न स्थानमा विभिन्न फौजी अभियान चलिरहेका थिए । सिन्धुलीको गौरवको अर्को पक्ष भनेको सिन्धुलीका थुप्रै नेताहरूले पूर्वका थुप्रै जिल्लामा गएर युद्धको नेतृत्व समाले । त्यसैले पनि सिन्धुलीलाई पूर्वको रोल्पा भनिएको हो ।
आजको सन्दर्भ फरक छ । २०६२/०६३ को आन्दोलनपश्चात् सिन्धुलीमा पनि थुप्रै फेरबदल आएको छ । प्रचण्ड र वावुराम समूहमा रहेका थुप्रै नेतामध्ये वावुराम समूहमा रहेका र जनयुद्धमा भूमिका खेलेकाहरू अहिले वावुरामसँगै कम्युनिस्ट नामदेखि नै वैराग्गिएर 'नयाँ शक्ति' पार्टीका नाममा खुलेर पुँजीवादी बाटोमा लागे । प्रचण्ड समूहमा रहेकाहरू माओवादी केन्द्र हुँदै एमालेमा विलय भइसके । हिजो विद्रोह र क्रान्तिको कुरा गर्नेहरू आज सझौता र यथास्थितिको गोलचक्करको फलाको फलाकी रहेको अवस्था छ । जनयुद्धको क्रममा सिन्धुलीका पार्टी केंदृता सदस्य कमरेड शेरमान कुँवर 'विशाल' कमरेड मोहनचन्द्र गौतम 'कुमार' लगायत १९० जना सहिद र थुप्रै बेपत्ता योद्धाहरू छन् । सिन्धुलीका यी महान् सहिदहरूको सपना अझै पूरा भएको छैन । नयाँ जनवादी क्रान्तिलाई बीचैमा छोडेर सिन्धुलीमा प्रचण्ड समूहका मान्छेहरू लाजै नमानी एमालेमा प्रवेश गरेका छन्, निर्लज्य रूपमा । सहिद परिवार र शोषितपीडित जनताको जीवनमा आधारभूत परिवर्तन नहुनु र जनयुद्ध तथा सहिदका सपनाहरूलाई कुल्चिएर हिजोका टाउकाको मोल तोक्नेहरू सँग रमाउन पुग्नुले, यो गद्धारीलाई भूइंतहका जनता, जसले जनयुद्धबाट आमूल परिवर्तनको ठूलो आशा गरेका थिए, उनीहरूले कहिल्यै बिर्सने छैनन् ।
मलाई आजै जस्तो लाग्छ २०५५ सालको कालीखोला हत्याकाण्ड । सहिदको रगतको भल र घेरा तोड्ने क्रममा घाइते कमरेडहरूको रगतका छिटा परेका वनमारा र भाटीका बुटाहरू झल्झली आँखामा छन् । ती सहिद परिवारको पिडादायी अवस्था सझन्छु । लंगुरखोला र कालीखोलाको गरिब दलितहरूको पीडा उस्तै छ , जस्ताको तस्तै छन् समस्याहरू । सहिदका सपना पूरा नहुँदै प्रचण्डको फेर समाएर एमालेमा मिसिएकाहरूले एक पटक गहिरिएर सोच्नु आवश्यक छ । क्रान्ति पूरा भएको छैन । शोषणको शैलीमा केही फरक होला शोषण, दमन, राष्ट्रघात जनहत्या, वलत्कार उस्तै छ । राजतन्त्रको ठाउँमा दलाल पुँजीपति वर्ग सत्तामा आएको छ । सत्ताको वर्गचरित्रमा फेरबदल भएको छैन । अहिले पनि नयाँ जनवादी क्रान्तिका लागि अघि बढौं भन्ने नारा सहिद परिवार जनदेखि लाखौं जनताले लगाइरहेको अवस्था छ ।
सिन्धुलीको जनयुद्धको समस्या भनेको के हो भने सिन्धुलीमा जनयुद्धको सुरुवातमा जुझारु क्रान्तिकारी चरित्र भएका र झुपडीझुपडीमा माओवादी भनेर चिनिएका महेन्द्र श्रेष्ठ, शेरमान कुवर र मोहनचन्द्र गौतम जस्ता युवा नेतृत्व शोषित वर्गप्रति इमान्दार थिए । तर त्यो नेतृत्वको वलिदान भयो र सिन्धुली पार्टीको नेतृत्वमा रहेका गंगा श्रेष्ठ र हरिबोल गजुरेलहरू आफ्ना वर्गप्रति इमान्दार रहेनन् । गंगा श्रेष्ठ आफैं आधारभूत वर्गका मान्छे भए तापनि उनको जीवनशैली र दृष्टिकोण सर्वहारा शैलीको थिएन भने हरिवोल गजुरेल आफैं जमिन्दार वर्गका मान्छे हुन् र चिन्तनमा र नियतमा पनि गजुरेल आजसम्म जमिन्दारी चिन्तन र शैलीका छन् । त्यसको कारण माओवादी विभाजन हुँदा पनि हरिवोल गजुरेलको पछाडि लाइन लाग्नेहरू आखाँ चिम्लिएर पछि लाग्ने झुन्ड मात्र रह्यो । हरिवोलले जे भन्छन्, त्यसैलाई देववाणी संझिएर लाइन लाग्ने झुन्ड भएकै कारण विवेकपूर्ण रूपमा सोचेनन्, बरू सहिदको सपना भुलेर भर्याङमा परिणत भएर एमालेमा विलय भएको अवस्था छ ।
सहिदको सपना पूरा गर्न क. विप्लव र क. किरण नेतृत्वको पार्टी भने लागिरहेको अवस्था छ । त्यसकारण विगतमा भएका कमजोरीबाट पाठ सिक्दै विप्लव नेतृत्वको ने.क.पा. र मोहन वैद्य नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी) का वीचमा नयाँ जनवादी क्रान्ति पूरा गर्ने मूल सर्तमा पार्टी एकता गर्ने हो भने वर्गसङ्घर्ष अगाडि बढने पक्का छ । विद्रोह र क्रान्तिको यथार्थ बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नाममा क्रान्तिका लागि सकारात्मक मनोभावना बन्ने छ । लंगुरखोला हत्याकाण्डका महान् सहिदहरू तथा समग्र सिन्धुलीका महान् सहिदहरूले देखाएको बाटोमा हिंडेर मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ । लंगुरखोला हत्याकाण्डका महान् सहिदलगायत सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन ।
भिडियो फिचरview all