menu

ताजा समाचार

नवराज नेपालीले उठाएका प्रश्नहरू

डा. ऋषिराज बराल
नवराज नेपाली आजभोलि चलनचल्तीमा आएको  पदावली सेलिब्रेटी खालका  पात्र होइनन् र राजनीतिक- साहित्यिक कुनै पनि दृष्टिले चर्चामा आएका पात्र होइनन् । उनी एकजना श्रमजीवी पात्र हुन् जो, माओवादीले जनतालाई सबै किसिमका उत्पीडनबाट मुक्त गराउँछ भनेर जनयुद्धमा सामेल भएका थिए  । र अहिले पनि आफनो सोचाइबुझाइ अनरूप एउटा माओवादी सङ्गठनसित आबद्ध छन् । यस अर्थमा उनी मुक्तिकामी आम जनताजस्तै सेलिब्रेटी पात्र हुन् । भर्खरै उनले ('रातो खबर' साप्ताहिक पछि अनलाइनमा सो लेख यसै आलेखको पुछारमा संलग्न छ l) व्यक्त गरेका कुराहरू यतिबेर माओवादी आन्दोलनमा लागेकाहरूका लागि मात्र नभएर, आम पाठकका लागि पनि चासो, चर्चा र छलफलको विषय भएका छन् ।

यहाँ यो सन्दर्भलाई उछालेर अथवा आधार बनाएर कसैमाथि प्रहार गर्न खोजिएको होइन, यसलाई आधार बनाएर स्टन्टबाजी गर्न पनि खोजिएको होइन । आजभोलि भन्ने गरेजस्तै यसलाई ‘भाइरल’ बनाउन पनि खोजिएको होइन। जन सरोकारसित  गाँसिएको विषय भएकाले चर्चा गर्नु आवश्यक ठानिएको मात्र हो l उनले जेजस्तो अनुभूति अभिव्यक्त गरेका छन्, त्यसले हामीलाई सोच्न बाध्य गराउँछ,  ओहो ! भनेर जिब्रो निकाल्नुपर्ने स्थिति उत्पन्न गराउँछ । भाषासित खेल्न जान्ने मान्छे भए निकै कलात्मक,  तर धारिलो किसिमले प्रस्तुत गर्थ्योहोला। उनले सरसरती भने र भाषा पनि राम्रोसित मिलाउन नजान्ने  कुनै पात्रले लिपिबद्ध गर्यो  र सम्पादन नै नगरी पोस्ट गर्यो भन्ने देखिन्छ । उनले प्रश्न मात्र उठाएका होइनन्  पीडा र अनुभूति पोखेका छन् । तर त्यहाँ थुप्रै प्रश्नहरू छन् l त्यसमा गहिराइ छ, गहिरो नीलो तलाउमा ढुङ्गा फ्यालेझैं यसको तरङ् परपरसम्म फेलिएको छ l गजबले फेलिएको छ र विस्तारित हुँदो छ र यो स्वाभाविक पनि छ । उनको अभिव्यक्तिको विषयवस्तु आफैंमा गहन छ यसमा 'वाइसिएल प्रवृत्ति' को पनि चर्चा भए पनि केन्द्रबिन्दुमा जेजस्तो पात्र  हुनुहुन्छ, त्यसले पनि यो अनुभूतिको  तरङ्ग व्यापक हुनु, प्रश्नहरू उठ्नु र उच्छ्वास उत्पन्न हुनु स्वाभविक छ ।

नेवारका छोरा उनी कसरी परियार भए यो आफैंमा  रोचक छ र यसले हाम्रो समाजको सामाजिक उत्पीडनलाई  प्रतिविम्बित गर्छ । त्यो भन्दा पनि उनले कमरेड गौरवको नजिक रहेर पार्टीले दिएको  जिम्मावारी पूरा गर्दाको  अनुभव र अनुभूति विशेष झन रोचक र गम्भीर  पनि छ l  यहाँ व्यक्तिगत रूपमा कमरेड गौरवलाई खुइल्याउन खोजिएको होइन । कमरेड गौरव माओवादी आन्दोलनमा सामान्य कार्यकर्ता पात्र होइन l उहाँबाट अरूले सिक्ने हो, उहाँ पार्टीमा जुन ठाउँमा हुनुहुन्छ, त्यहाँबाट आदर्श खोज्नु स्वाभाविक हो l नेतालाई पूजा गरेर हामीले गल्ती गरेको कुरा भोगिसकेका छौं l  योगदानको कदर गरौँ । पूजा नगरौँ । प्रचण्डलाई हामीले महामानव बनायौं l यो त महासामन्त रहेछ...l अन्तत: प्रचण्डले आफ्नो असली रूप  देखाए  । उनी रङ्ग पोतिएका स्याल नै रहेछन् l अब नकारात्मक उदाहरणका रूपमा नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्डको चर्चा हुनेछ ।

नेपालको कम्युनिस्ट आन्दोलन किन अघि बढ्न सकेन ? किन यो माथिमाथि पुग्छ र नेताहरूबाट धोका खान्छ ? जस्ता प्रश्नहरू उठिरहेको बेला नवराज नेपालीको भोगाइले केही ऊत्तर दिन्छ l  कमरेड गौरवको सन्दर्भ र चर्चा  पात्रगत चर्चामा मात्र सीमित छैन, यो त आन्दोलनसित जोडिएको, भविष्यसित गाँसिएको प्रश्न हो l म धेर कुरा बोल्दिन, 'दि नेक्स्ट फ्रन्ट' ले पनि टिप्पणी गरेको प्रश्न हो l  कमरेड गौरव र डोलेश्वर प्रकरण केन्द्रीय समितिमा पनि उठेको प्रश्न हो । सन्दर्भ उहाँको विचार र  जीवनशैलीको हो र यो प्रश्न बढी जटिल छ l   नवराज नेपाली गलत हुन् भने कमरेड गौरवबाट यसको सही सत्यतथ्य बाहिर आउनुपर्छ । सही हुन् भने गौरवजस्ता नेता भएको पार्टीले कसरी क्रान्ति गर्छ भनेर आम जनताले निष्कर्ष निकाल्नु सही हुन्छ । कमरेड गौरव आफ्नो पार्टीमा कमरेड  किरणपछिको नेता हुनुहुन्छ –उत्तराधिकारी । कमरेड गौरवले कि त नवराज नेपाली बदमास हो, मेरो चरित्र हत्या गर्यो भनेर प्रमाणित गर्नुपर्छ, कि म गलत छु भनेर सार्वजिनक रूपमै आत्मालोचित हुनुपर्छ । आलोचना-आत्मालोचना  गरेर प्राविधिक हल गरे पनि आम जनता तथा कार्यकर्तामा परेको मनोवेज्ञानिक प्रभावबाट भने उहाँ मुक्त हुन सक्नुहुन्न l यस्तो कमजोर नैतिक धरातल भएको पात्रप्रति आम जनता र कार्यकर्तामा श्रद्धा पनि जाग्दैन l  नेतामा पनि नैतिक बल हुँदैन । नैतिक बल नभएको नेताले कसरी क्रान्तिको नेतृत्त्व गर्न सक्छ र जनदिशा लागू  गर्नसक्छ ! नवराज नेपालीले उठाएको पीडा-प्रश्न अर्को पार्टीको कार्यकर्ताले उठाएको भनेर कमरेड गौरवले बेवास्ता गर्न मिल्दैन ।,माओवादी आन्दोलनको नेता हुनुको नाताले कमरेड गौरव जनताको नेता हो, हाम्रो पनि नेता हो । विरोधीहरू के के भन्छन् । कतिपय कुरा बेवास्ता गर्नुपर्ने पनि हुन्छ ।तर यो अलि फरक प्रसंग हो । विचारमा पराजीत भएपछि क्रान्तिकारी नेताहरूको चरित्र हत्या गर्न, विम्ब विद्रूपीकरण गर्न अमुक समूह लागेछ भनेर प्रतिवाद गर्ने कुरा आउँछ र हामी पनि यसमा अघि सर्नुपर्ने हुन्छ l अहिले उहाँको विरुद्धमा मुद्दा परेको छ र  कमरेड गौरवले  जनअदालतमा उभिएर जवाफ दिनैपर्ने हुन्छ।

(पाठकहरूको जानकारीका लागि नवराज नेपालीको अनुभूति तल प्रस्तुत छ। )

सामन्तहरुले हाम्रो थर खोसेछन्
नवराज नेपाली

मेरा हजुरबा नेवार हुनुहुन्थ्यो । हजुरआमा परियार हुनुहुँदो रहेछ । अन्तरजातीय विवाह भएका कारण थर खोसिदिएका रहेछन् । थर नै नदिएपछि सम्पत्ति दिने कुरै भएन । हजुरबा दाप्चा गाउँबाट लखेटिएपछि मेच्छे सर्नुभएको रहेछ । त्यो २०२८ सालतिरको कुरा हो । मेच्छेमा पनि नेवार थर राख्न नदिएपछि हजुरबाले परियार नै लेख्न थाल्नुभएछ ।

त्यसरी हामी दलित बनाइयौं । हजुरबाको पालादेखि भएको जातीय उत्पीडन म नातीले पनि झेलिरहेको छु । २०५० सालमा मैले इन्द्रकुमारी ठकुरीसँग विवाह गरेपछि मलाई जात भँडुवा भन्दै दुःख दिन थालेका थिए । म माओवादीमा लागेको थाहा पाएपछि बल्ल जातीय दमन घटेको हो ।२०३३ साल जेठ २ गते मेच्छे १ काभ्रेमा जन्मिएको म काठमाडौँमा चालक पेसामा संलग्न भैरहेका बेला २०५४ सालमा तत्कालीन नेकपा (माओवादी) निकट यातायात सङ्गठनमा सङ्गठित भएको थिएँ । आफ्नै जिल्लाका जोगमान लामाले मजदुर सङ्गठनमा सङ्गठित गराएका थिए । त्यसबेला म कालो टेम्पो चलाउँथे ।

अधिकांश कालो टेम्पोका चालक काभ्रेली थिए । यातायात मजदुर सङ्गठनको अध्यक्ष पनि काभ्रेकै छ भन्ने खबरले धेरैजसो मजदुर सङ्गठित भैहाल्थे । जनयुद्ध उत्कर्षतिर पुग्दै गर्दा माओवादीले प्रयोग गरेको भनेर पर्दा हटाउन सरकारले उर्दी गर्यो  । केही समयपछि प्रदूषण फैलाएको आरोपमा ट्याक्सीको काम गर्ने ती साधन काठमाडौँबाट विस्थापित गरियो ।

ट्याक्सीचालक र कयौँ त्यसका मालिक माओवादी भएको, अधिकांश कारबाहीमा प्रयोग भएको आशङ्कामा त्यो व्यवसाय विस्थापित गरिएको रहस्य भने धेरै पछि मात्र खुलेको थियो । उसबेला म सुन्धारा एकाइमा कार्यरत थिएँ । जातीय विभेदका विरुद्ध मनमा प्रतिरोधको भावना थियो । कम्युनिस्ट पार्टीले जातीय विभेदका विरुद्ध लड्छ, हेलाहोचो गर्दैन भन्ने सुनिन्थ्यो । त्यसकारण २०५४ सालमा सङ्गठित भएर २०५८ सालसम्म यातायात मजदुर सङ्गठनमा काम गरेँ । आफूले काम गर्दै आएको पेसा नै विस्थापित भएपछि नयाँ रोजगारीका लागि भौँतारिहरहेको थिएँ ।
त्यसै क्रममा एउटा गैरसरकारी संस्थामा बाहन चालकको काम पाएँ । जापानी गैरसरकारी संस्था रेउकाई नेपालको नेपालस्थित मुख्यालयको बाहन चालक बनेँ । त्यहाँ काम गर्दा पार्टीमा जोगिन गाह्रो भयो । त्यसपछि त्यो काम छोडेर निजी बाहन चालकको काम सुरु गरेँ । उत्तम धिताल नामको गोर्खाली जग्गा दलाल रहेछ । त्यसबेला भने ऊ मणिग्राम रूपन्देहीमा बस्थ्यो । ऊ त मानव तस्कर पो रहेछ ।

ऊसँग विभिन्न महिलाका ३८ वटा राहदानी थिए । त्यसलाई मेरो नेतृत्वमा २०६४ सालमा बालाजु शिविरमा लगेर कारबाही गराएँ । अचम्म त के भने त्यससँग आँपेकान्छाको निकट सम्बन्ध रहेछ । २०६४ सालमा ड्यास माओवादी हुँदा बुटवलमा मगरात राज्य समितिको प्रशिक्षण थियो । त्यसैक्रममा आँपेकान्छाले मेरो आफन्त भेट्न जाऊँ भनेपछि गइयो । बास बस्न गएको घर त त्यही तस्करको पो रहेछ ।

आफ्नो रोजगारदाता मानवतस्कर भएको थाहा भएपछि एक दिन उसको बाहन लिएर चितवनस्थित माओवादी शिविरमा पसेँ । त्यो जिप धेरै पछिसम्म चितवन जिल्ला पार्टीले प्रयोग गरेको थियो । उसले सुन्धारामा एउटी केटी विवाह नगरी श्रीमती बनाएर महिनौँ राखेको थियो । होटेलको रकम पनि भुक्तानी नगरेको रहेछ । त्यसलाई नियन्त्रणमा लिएर साँझ ७ बजे बालाजु शिविर पुर्याऔँ। ‘५ लाख दिन्छु, छोड । शिविर नलग’ भनेर बाटोमा रोइकराइ गर्यो  ।

पैसा असुल्न कारबाही गरेको होइन भनिदिएँ । म उसको चालक, त्यसबेला भने भयानक काल बनेर उभिएको थिएँ । विडम्बना ! अर्का दिन बालाजु वाईसीएल कमान्डरले मोटो रकम लिएर गुपचुप छोडेछन् । त्यसबेला पार्टीमा के हुन लाग्यो भनेर दुःख लाग्यो । नेता सीपी गजुरेल ‘गौरव’ को चालक बन्न कोही नचाहने, गएका पनि नटिक्ने भैरहेको रहेछ । कोही टिक्दैन, दुई साताका लागि अर्को व्यवस्था नगर्दासम्मका लागि भए पनि जानुपर्यो  भनियो ।

पार्टी निर्णय भएकाले मन खुसी नभए पनि  गएँ । गौरवकी श्रीमतीले दलित, जनजाति भनेपछि एकदमै हेलाँहोचो गर्दिरहिछिन् । गौरवको जातीय मुक्तिको भाषण खोक्रो, देखावटी मात्र रहेछ । त्यहाँ गएपछि गौरवले थर सोधेनन् । श्रीमती सोधेपछि मैनाली भनिदिएँ । त्यसपछि पक्का ब्राह्मण चालक पाइयो भनेर होला खुसी थिए । संयोग, छोरीको काठमाडौँमा भर्ना गर्नुपर्ने भयो । आवश्यक कागजात गौरवको टेबुलमा राखिदिएँ ।

‘मनीषा परियार’ लेखिएको थियो । त्यसपछि एकदमै नकारात्मक व्यवहार हुनथाल्यो । भान्छामा पस्न रोक्न थाले । यसअघि खाना मैले नै पकाउँथे । मलाई कुकुरलाई जसरी थालमा खाना बाहिर ल्याएर दिन्थे । त्यसबेला उनीहरू कोटेश्वर नरेफाँटको आफ्नै घरमा बस्थे । एक दिन कुलबहादुर के.सी. ‘सोनाम’ ले गौरव बसेको घर भाडा चाहियो भन्छन्, कसको रहेछ भनेर सोधे । मैले कल्याणी गजुरेलका नाममा छ भनिदिएँ ।

नरेफाँटमा बस्दा एक दिन मलाई घरमै छोडेर कान्छो छोरोलाई चालक बनाएर भक्तपुरको दक्षिण पहाडको फेदीमा रहेको डोलेश्वर मन्दिर गएछन् । मलाई गौरवका तत्कालीन अङ्गरक्षक सहायक निरीक्षक बलदेव देवकोटाले आफूहरू डोलेश्वर महादेवको दर्शनार्थ निस्केको बताइसकेका थिए । कान्छो छोरो सञ्जीवलाई चालक बनाएर सुटुक्क निस्केको रहस्य बुझिसकेको थिएँ । गौरव घरमा आउँदा उनको धार्मिक यात्राको समाचार फोटोसहित सार्वजनिक भैसकेको थियो । मैले गौरवसँग समाचारका विषयमा सोध्दा बदमासहरूको हल्ला भनेर टारे । तर समाचार यथार्थ थियो ।

डोलेश्वर प्रकरणपछि नरेफाँटको घर मासिक ३५ हजार भाडामा दिएर भाडाको घरमा सरे । मलाई  भर्यांगमा चिया राखिदिएर जान्थे । नसुनेको अवस्थामा त्यत्तिकै चिसो हुन्थ्यो । अति भएपछि एक दिन चियाको गिलास भर्यांगमै बजारेँ । घरवाला आएर घरभरि सिसा छरिएको छ भन्दै जिज्ञासा राखे । सबै विषय भनेपछि घरपति मेरै पक्षमा देखिए । घरपट्टी अच्युतकृष्ण खरेलका नातेदार पो रहेछन् ।
उनी तामाङ जातिकी महिलासँग विवाह गरेका व्यक्ति रहेछन् । गौरवकी श्रीमती बेलाबेला हिमानी शाहको कार्यक्रममा जान्थिन् । मैले गौरव सरलाई ‘तपाईं कम्युनिस्ट नेता, भाउजूचाहिँ हिमानीको पार्टीमा जाने, के पारा हो दाइ ?’ भनेको थिएँ । उनी ‘मान्दिनन्, के गर्ने ?’ भन्थे । घरपति ‘साइबाबा’ धर्म मान्थे । कताबाट के दिव्यदर्शन भयो, गौरवकी बूढी त साइबाबा धर्मतिर लागिछिन् । बैठक कोठामा माओको फोटो थियो । एक दिन त माओको फोटो हटाएर साइबाबाको फोटो पो राखिछिन् ।

ठीक त्यसै बेला, पोखराको एक कार्यक्रममा उपसभामुख पूर्णा सुवेदीले मार्क्स–एङ्गेल्सको फोटो कार्यक्रम कक्षबाट फाल्न लगाएकी थिइन् । एमालेको पार्टी कार्यालयमा विदेशी पाहुना पुग्दा मार्क्सको फोटो फालेको निरन्तरता भनेर चर्चा भैरहेको समय थियो त्यो । कल्याणीदेवीले दाइजो नल्याएको भनेर कान्छी बुहारी सुनिता पोखरेललाई लात्तीले भकुर्ने गर्थिन् । गौरव रोकथामसम्म नगरी हेरेर बस्थे । सम्पत्ति नदिइकन लखेट्ने भएपछि सुनिताले मुद्दा हालिन्–पार्टी कार्यालयमा ।

अदालतमा पनि मुद्दा प¥यो । प्रचण्डले ‘बुहारीलाई न्याय नदिए कारबाही गर्छु’ भनेछन् । पुनरावेदन अदालत ललितपुरले १० लाख रकम दिन आदेश दिएको थियो । अदालतमा सुनिताका माइतीले गजुरेलका छोरालाई पिट्न खोजेका, थुकेका थिए । हामीले बचायौँ । मैले नै रकम गौरवका तर्फबाट सुनितालाई बुझाएको थिएँ । ममाथि गौरव परिवारको अपमान असाध्यै बनेको थियो । एक दिन त्यो कुरा कमरेड  बादलसँग गरेँ । मुख्यालयमा कार्यरत समितिको बैठकमा विषय उठाएँ ।

सबैले मेरो पक्षमा राय र विचार राखे । गौरवले आफू अपमानित भएको ठाने होलान् । घाघडान नेताका विरुद्ध कनिष्ठहरूको समान धारणा आएथ्यो । मैले बैठकमा मलाई विप्लव सरको कार्यालयमा पठाउनुस् भनेपछि झन् आशङ्कित भएछन् । एक दिन गौरवले नयाँ जिम्मेवारी नदिइकन पुरानो कामबाट अवकासपत्र थमाए । त्यत्तिकै बसिरहेको थिएँ । शिवगढीमा क्रान्तिकारी पक्षको भेला भएको समाचार सुनेर आशा पलायो ।

गौरवकी जेठी बुहारी र बूढीको झगडा भैरहन्थ्यो । एक दिन जेठी बुहारी ‘तिमी नमरेसम्म यो घरमा फर्केर आउन्न’ भनेर नरेफाँटको घरबाट निस्केकी थिइन् । उनी त्यो घरमा फेरि कहिल्यै आइनन् । जेठो छोरासँग बेलाबेला फोनमा भेट हुन्छ । कान्छो छोराकी श्रीमती सुनितालाई लखेटे । अर्को  विवाह गरेकी श्रीमती क्षेत्री रहिछिन् । ‘तैँले पकाएको खान्छु ?’ भन्दै भातको थाल लात्तीले फालेकी थिइन् । घरमा कोही गयो कि बूढी रिसाउँछिन् ।

एक दिन ‘मेरो घर सार्वजनिक स्थल हो, दमैकामीलाई सरासर माथि नै पठाउने ?’ रिसाउँदै भनेकी थिइन् । मेरो थर थाहा नपाउन्जेल कतै जाँदा ‘नवराजजी, दहीचिउरा पाउने बाहुनको होटेलमा लग्नुस् है’ भन्थिन् । पाँचथरको कार्यक्रममा जाँदा प्रकाण्ड दलित भएका कारण उनको बाहनमा राख्न मानिनन् । त्यसैले अर्को  लिएर जानुपर्यो ।

त्यसबेला होटेलमा बिहान गौरव र बूढी आए । प्रकाण्डले चिया मगाए । गौरवले खाए, बूढीले खाइनन् । फर्किंदा प्रकाण्ड अगाडि थिए । कल्याणीदेवीले ‘सानो जातको सानै बुद्धि, त्यो प्रकाण्डलाई किन चिया मगाउनुपरेको…’ भनिन् । मलाई सहन गाह्रो हुन्थ्यो । ती सबै अपमान सहेर र सुनेर बस्न सजिलो थिएन ।
साभार : http://janaganatantrik.com/2016/11/1957#sthash.bDxV6Wyv.dpuf

भिडियो फिचरview all