
भारतीय विस्तारवाद र ओली सरकारविरुद्ध कमरेड किरणको खबरदारी

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले यही भदौ २२ गते वक्तव्य जारी गरी यस किसिमको कार्य आपत्तिजनक कार्य हो भनेका छन् । भारतद्वारा बनाइएको गलत नक्सा नेपालका कार्यालयमा नराख्न भन्दै वक्तव्यमा “भारतद्वारा नियोजित रूपमा यथार्थको निर्लज्ज रूपमा तोडमोड तथा विद्रुपीकरण गरी प्रस्तुत गरिएको नक्सालाई प्रतिबन्ध लगाउन र सरकारी कार्यालयमा त्यस प्रकारका नक्सा राख्नेलाई कारवाही समेत गर्न सरकारद्वारा अविलम्ब कदम चालियोस् भनी हामी जोडदार माग गर्दछौं,” भनिएको छ ।
त्यसै गरी “लिम्पियाधुरासम्मको अखण्ड नेपाली भूभागलाई दर्शाउने गरी अविलम्ब नयाँ नक्सा तयार पार्न र लागू गराउन समेत हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ” भनेर वक्तव्यमा भनिएको छ ।
कमरेड बैद्यले विस्तारवादी हस्तक्षेप र राष्ट्रियताको पक्षमा सङ्घर्षका लागि अनुरोध गर्दै भनेका छन् :
वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
प्रेसवक्तव्य
दार्चुला जिल्लामा अवस्थित कालापानी नेपालको अभिन्न भूभाग हो । यस भूभागमा एकातिर भारत सरकारले हस्तक्षेप गर्दै आएको छ भने अर्कोतिर हामीले त्यस प्रकारका हस्तक्षेपका विरुद्ध निरन्तर संघर्ष गर्दै आएका छौं । भारत सरकारले तयार गरेको नक्सामा कालापानीलाई नेपालबाट कटाएर भारतमा पारिएको र त्यही नक्सा नेपाल सरकारका कार्यालयहरुमा समेत टाँग्ने गरिएको कुरा प्रकाशमा आएको छ । यो विषय अत्यन्तै विडम्बनापूर्ण तथा आपत्तिजनक रहेको छ । यसबारे सरकारको नापी विभागका महानिर्देशक र विभागीय मन्त्रीले समेत गल्ती भएको स्वीकार गरिएको पाइएको छ ।
यसरी भारतद्वारा नियोजित रुपमा यथार्थको निर्लज्ज रुपमा तोडमोड तथा विद्रुपीकरण गरी प्रस्तुत गरिएको नक्सालाई प्रतिबन्ध लगाउन र सरकारी कार्यालयमा त्यस प्रकारका नक्सा राख्नेलाई कारवाही समेत गर्न सरकारद्वारा अविलम्ब कदम चालियोस् भनी हामी जोडदार माग गर्दछौं ।
ठीक यहींनेर अर्को महत्वपूर्ण विषय के छ भने सन् १८१६ को सुगौली सन्धिद्वारा निर्धारित गरिएको हाम्रो सीमा कालीनदी (अर्थात् महाकाली) को उद्गम स्थल लिम्पियाधुरा हो । यस्तो महत्वपूर्ण विषयमा नेपाल सरकारद्वारा तयार पारिएको नक्सामा पनि उल्लेख नगरिएको कुरा बुझिन आएको छ । अतः लिम्पियाधुरासम्मको अखण्ड नेपाली भूभागलाई दर्शाउने गरी अविलम्ब नयाँ नक्सा तयार पार्न र लागू गराउन समेत हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।
देशको राष्ट्रिय स्वाधीनता तथा अखण्डताका निम्ति कालापानीका साथै सुस्ता, महेशपुर लगायतका देशका विभिन्न भागमा हुँदै आएको भारतीय विस्तारवादी हस्तक्षेप तथा अतिक्रमणका विरुद्ध संघर्ष गर्नु बाहेक हाम्रा सामु अर्को विकल्प छैन । तसर्थ, हाम्रो पार्टी सम्पूर्ण देशभक्त शक्ति तथा जनसमुदायसित विषयको गम्भीरतालाई राम्रोसित आत्मसात् गरी संघर्षको तयारी गर्न विशेष अनुरोध समेत गर्दछ ।
किरण
महासचिव
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
भिडियो फिचरview all