menu

ताजा समाचार

जनयुद्ध विरुद्ध खड्गप्रसाद ओलीको बर्बराहट

डा. ऋषिराज बराल

मान्छेको मनमस्तिष्कबाट सकारात्मक र रचनात्मक पक्ष गायब भएपछि उसले निषेधात्मक, नकारात्मक र खुराफाती प्रवृत्ति मात्र सोच्न थाल्छ । उसको दिमागमा यो भन्दा अरू कुराका लागि ठाउँ रहँदैन । यस्तै सोचाइ र अभिव्यक्ति नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आइतवार १० गते पत्रकारहरूका सामु व्यक्त गरेका छन् ।  केही छापा तथा अनलाइन माध्यमहरूलाई बोलाएर उनले जे-जस्ता भनाइ व्यक्त गरे, यसबाट नेपाली समाजले कहिलेसम्म यस्ता कुण्ठाग्रस्त पात्रको शासनमुनि बसिरहनु पर्ने हो भन्ने पीडा हुन्छ र गम्भीर पनि बनाउँछ ।

खड्गप्रसाद ओलीका बारेमा नेपाली जनता प्रस्ट थिए । भारतीय नाकाबन्दीको समयमा उनले देखाएको व्यवहारले भने उनी केही फेरिएछन् कि भन्ने प्रभाव नेपाली जनतामा पर्यो । तर यो सबै भ्रम रहेछ भन्ने कुरा चाँडै नै खुलस्त भयो । बहुमत ल्याएर प्रधानमन्त्री बनेपछि मोदीभक्तिको उनले जुन अनुपम उदाहरण देखाए, लम्पसारवादको जुन किसिमको लाजमर्दौ चरित्र उनले प्रस्तुत गरे, सबैले देख्ने र बुझ्ने गरी उनका बारेमा रहेको भ्रम सफा भयो ।  भ्रम दिन मात्र उनले राष्ट्रवादको रङ्ग पोतेका रहेछन्, आखिर उनी टनकपुर प्रकरणताकाकै ओली रहेछन् भन्ने कुरा छर्लङ्ग भयो ।

पत्रकारहरूका बीच उनले भनेका कुराहरूले उनको  ओजन र स्तर पनि  राम्रोसित प्रदर्शित भएको छ  । नेकपाका अध्यक्ष होइन, प्रधानमन्त्री बोलेका हुनाले, उनले जे बोले, त्यो राज्यको धारणा भन्नुपर्ने हुन्छ र उनका भनाइ टिप्पणी गर्न लायक नभए पनि, होस गुमाएको बेला कुनै पात्रले बोलेको जस्तो लागे पनि,  देशको प्रधानमन्त्रीको भनाइ भएकाले टिप्पणीको विषय  बन्नु स्वाभाविक छ । मुलुकप्रति इमानदार, विकासप्रेमी अरू सबै काम नलाग्ने, उनको मन्त्रीमण्डल पनि काम नलाग्ने र उनी मात्रै काम लाग्ने, सिङ्गो मुलुकको चिन्ता आफूलाई मात्र भएको भनेर उनले आफूलाई प्रस्तुत गरेका छन् । उनको भनाइको सार नेपाली जनता र मुलुकको बारेमा सही किसिमले सोच्ने उनीबाहेक यो मुलुकमा अरू कोही छैन भन्ने छ । उनको मन्त्रीमण्डलभित्र पनि उनको प्रहार बढी गृहमन्त्रीमाथि भएको कुरा प्रस्टै झल्किन्छ । उनको पार्टी र  उनको मन्त्रीमण्डलको सन्दर्भ भएकाले यसतर्फ जानु आवश्यक ठानिएको छैन । तर दसबर्से जनयुद्धका सम्बन्धमा उनले जे भनेका छन्, जेजस्तो भाषा र अभिव्यक्ति दिएका छन्, यो घोर आपत्तिजनक छ र एउटा इमानदार देशभक्त र क्रान्तिकारीले यसको प्रतिवाद गर्नु आवश्यक छ ।
पत्रकारहरूका सामु बर्बराउँदै जाँदा ओलीले भनेका छन् :

“नेपालका विरुद्ध गम्भीर षडयन्त्र भइराखेको देखिन्छ । अर्कातिर खुलेआम देश टुक्र्याउँछु भनेर, यद्यपि अहिले शान्तिपूर्ण भनेको छ । तर, देश टुक्राउने कुरा गरेर, भौगोलिक अखण्डतालाई चुनौती दिएर, शान्तिपूर्ण भन्दै । माओवादीले पनि हिजो त्यही भनेको थियो ।

माओवादीले ‘यो राजतन्त्रविरुद्ध हामी होइन क्यारे’ भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । सेनाविरुद्ध हामी छँदै छैनौँ भनेर विभिन्न जर्नेलहरूसँग साँठगाँठ थियो । ती माओवादी खुल्ला हुनेबित्तिकै मनोनित सांसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरि ती मान्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेताहरुलाई बोकेर कुद्थे गाडीमा ।”

इमानदारीपूर्वक जनयुद्धमा लागेको कुनै पात्र ओलीको माथिको भनाइ पढेपछि उनको अल्पज्ञान र कूपमण्डूकतावादी चिन्तनलाई लिएर पहिले व्यङ्ग्यले मुस्कुराउँछ  र त्यसपछि आक्रोसित हुनु स्वाभाविक हुन्छ । हत्केलाले सूर्य छेक्तै ओलीले दिउँसै रात पार्न खोजेका छन् । दस बर्से जनयुद्ध लहड थिएन,  रहर पनि  थिएन । यो  नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्न गरिएको महान् प्रण  र अभियान थियो । जनयुद्ध जनसत्ताका लागि नेपाली समाजको विशिष्टतामा अँगालिएको क्रान्तिको बाटो थियो । १३ हजारजतिले त्यसै बलिदान दिएका थिएनन् । अहिले ओलीले भोगेको सुखभोग र गणतन्त्र त्यसै आएको होइन र  छैन । उनी त अन्तिम अवस्थासम्म के के टुक्का हाल्दै आन्दोलनको विरोध गरिरहेका थिए । माओवादी शक्ति नभएको भए,  यो मुलुकमा गणतन्त्र सम्भव थिएन । भारतीय विस्तारवादको दलालका रूपमा  परिचित ओलीले माओवादीलाई भौगोलिक अखण्डप्रति चुनौती दिने मुलुक विखण्डनकारी शक्ति भन्नु  राष्ट्रिय स्वाधीनता पदावलीप्रतिकै अपमान हो । यो अति क्षुद्र मानसिकताको उपज हो  ।

यो कुरा सत्य हो,  महान् जनयुद्ध रणनीतिक प्रत्याक्रमणको विँदुमा पुगेपछि विदेशी शक्तिको चलखेल र घुसपैठ तीव्ररूपमा हुन थाल्यो । योजनाबद्ध रूपमा कमरेड किरण र गौरवलगायतका कमरेडहरू  पक्राउ परे । सैद्धान्तिक र वैचारिक तारतम्य मिलाएर जनयुद्ध  विसर्जनको तारतम्य मिलाउन एक थरी लागे  । खास गरेर  माओवादी आन्दोलन सिध्याउन प्रवेश गरे/गराइएका बाबुराम भट्टराईले आफ्नो जिम्मेवारी पूरा गर्ने अभियानमा सक्रियता देखाए । अनि क्रमिक रूपमा प्रचण्डले भारतका सामु मात्र होइन, ओली र  एमालेकै सामु आत्मसमर्पण गरे । अब ओलीले उनलाई कुकुरलाई जसरी भने पनि, जति हियाए पनि छुँदैन, जति घोचे पनि उनलाई दुख्दैन  । सिङ्गो १० बर्से  जनयुद्धको नेतृत्व गरेका उनलाई ओलीको भनाइले सबैभन्दा बढी दुख्नु पर्ने हो, छटपटी हुनु पर्ने हो । तर मुर्दालाई जति घोचे पनि दुख्दैन । उनलाई मात्र नभएर जनयुद्धको शीर्ष नेतृत्वमा रहेका अरूहरूको छाती पनि दुख्नु पर्ने हो । एमालेसित पार्टी एकतापछि प्रचण्डका कार्यकर्ता मात्र होइन, नेतासमेत निरीह दासझैँ बनेका छन् र ओलीले तिनलाई थिल्थिलो हुने गरी चुट्ता पनि “प्रभुको कुटाइ हाम्रा लागि बरदान” भनेझैँ गरी प्रतिक्रियाहीन बनेका छन् । यो भन्दा व्यङ्ग्यको विषय अरू के हुनसक्छ !

माओवादी जनयुद्धको महान् विरासतसित गाँसिएका इमानदार र स्वाभिमान कार्यकर्तालाई भने ओलीको भनाइले पोल्छ र ओलीहरूप्रति घृणा जाग्नु स्वाभाविक हुन्छ । हामी प्रतिक्रियाबिहीन हुन सक्तैनौँ । हामीभित्र अझै तातो र रातो बाँकी छ ।

केहीले गद्दारी गरे पनि, केहीले आत्मसमर्पण गरे पनि  सिङ्गो माओवादी आन्दोलन राष्ट्रिय स्वाभिमान र स्वाधीनताको आन्दोलन थियो । त्यतिबेला सत्ता र सरकारको नेतृत्व गर्नेहरूमा काङ्ग्रेस, एमाले र दरवारिया शक्ति थिए । क्रान्तिमा प्रधान र गौण शक्ति हुन्छन् र प्रधान दुस्मनका विरुद्ध मिल्न सक्ने शक्तिहरूलाई गोलबद्ध गर्नुपर्ने नै हुन्छ । त्यतिबेला आवश्यकताअनुसार माओवादी पार्टीले सैन्य तथा कूटनीतिक, भनौं सङ्घर्षका हरेक रूपहरूलाई प्रयोग गरेको कुरामा विवाद छैन । नयाँ जनवादी क्रान्ति मूलतः सामन्त,  दलाल तथा नोकरसाही पुँजीपति वर्गका विरुद्धको क्रान्ति हो ।   नयाँ जनवादी क्रान्तिको मूल निसाना सामन्त वर्ग हुने हनाले जनयुद्धले दरवारियाहरूलाई बोकेर होइन, उसका विरुद्ध लडेर नै क्रान्ति सम्पन्न गर्नुपर्छ भनेर वैचारिक र व्यावहारिक पक्षलाई अघि बढाएको हो  । सरकार-माओवादी पार्टी वार्ताको समयमा नै को राजतन्त्रको पक्षमा र को गणतन्त्रको पक्षमा भन्ने कुरा प्रस्ट भएको थियो । बरु अन्तिम अवस्थासम्म  पनि एमाले र काङ्ग्रेस संवैधानिक राजतन्त्रबाट टसमस नभएका हुन्, संविधान सभाको विरुद्ध उभिएका हुन् ।  ज्ञानेन्द्र साहले लात मारेपछि काङ्ग्रेस-एमाले माओवादीको शरणमा पुगेका हुन् भन्ने कुरा सबैलाई थाहा छ । माधव नेपाल लखनउ र सिलिगुडी धाएकै हुन् र वामदेब रोल्पा पुगेर “ज्ञानेले खाने भयो, ज्ञानेले सिध्याउने भयो केही गरिदिनुपर्यो ” भनेर माओवादी नेतृत्त्वका सामु रोइकराइ गरेकै हुन् ।  आधी सच्चियो भन्दै ज्ञानेन्द्रको जुठोपुरो खान नारायणहिटी  पसेकाले उल्टै माओवादीमाथि फत्तुर लगाउनु जस्तो हाँसउठ्दो कुरो अरू केही हुन सक्तैन ।

दिमागले सही किसिमले काम गरिरहेको मान्छेले जनयुद्ध हाँकिरहेको माओवादी शक्तिलाई मुलुक विखण्डनकारी भन्न सक्तैन र सामन्त तथा दलाल पुँजीपति वर्गका विरुद्ध  नयाँ जनवादी क्रान्ति गरिरहेको शक्तिलाई दरवारिया शक्ति भन्ने कूपमण्डुकता पनि प्रदर्शन गर्न सक्तैन । सर्पले सर्पको खुट्टा देख्छ, भन्छन् ।  अन्तिम अवस्थासम्म भारतीय विस्तारवादको नीति पछ्याउने र दरवारिया शक्तिलाई काँध थाप्ने ओली मार्काका मान्छेले भने जे पनि बर्बराउन सक्छन् ।

त्यो महान् बलिदानीपूर्ण जनयुद्ध, सहिदहरूको महान् गाथा र गौरवशाली इतिहासप्रति त्यति तुच्छ किसिमले प्रस्तुत हुन खड्गप्रसाद ओलीबाहेक अरूले सक्तैन । तर त्यो गौरवमय इतिहासको  नेतृत्व गरेका प्रचण्ड र उनका सेनामेनाहरूको निरीहता देखेर भने साँच्चिकै टीठ लाग्छ । के त्यहाँ मान्छे भनिनलायक अब कोही छैनन् ? सबै मुर्दामा परिणत भइसकेकै हुन् त ? साँच्चै हो, समयले प्रमाणित गर्यो :  अब उनीहरू ओलीको चुटाइ खानुबाहेक अरू कुनै कुरामा योग्य रहेनन् ।

महान् जनयुद्धको विरासत बोकेर अझै पनि सङ्घर्षरत हामीहरूका लागि यो स्थिति निकै चुनौतीपूर्ण छ ।  प्रश्न हाम्रा सामु पनि छन् : हामी कहाँनेर उभिएका छौँ ? छातीमा हात राखेर सोच्ने बेला आएको छ ।
भिडियो फिचरview all