menu

ताजा समाचार

प्रकाण्ड-प्रकरण, बादल र प्रश्नहरू

डा. ऋषिराज बराल

नेपाल कम्युनिस्ट पार्टी-बिप्लवका स्यायी समति सदस्य तथा सो पार्टीमा विप्लवपछिका दोस्रा नेता भनिएका  खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ-प्रकरण यतिखेर विशेष चर्चापरिचर्चाको विषय बनेको छ । विषयलाई प्रस्ट पार्न यसको पृष्ठभूमितर्फ जानु आवश्यक देखिएको छ ।

पार्टी विभाजन र चुनाव खारेजी

बुढाहरूले क्रान्ति गर्दैनन् भनेर बडो नाटकीय ढङ्गले करिब ४ वर्षअघि कमरेड मोहन बैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी-माओवादी हाल नेकपा (क्रान्तिकारी माओवादी)सित सम्बन्ध विच्छेद गरी नेत्रविक्रम चन्द ‘बिप्लव’ को नेतृत्वको बनेको नेकपा माओवादी र  आठौँ महाधिवेशनपछि नेपाल कम्युनिस्ट पार्टी नाम घोषणा गरेको पार्टीले वर्तमान नेपालको संविधानलाई प्रतिक्रियावादी संविधान मान्दै यसअन्तर्गत हुने सबै खाले चुनावमा भाग नलिने घोषणा गर्यो । सो पार्टीले तलदेखि माथिसम्म आफ्नै जनसरकार भएकाले चुनाव हुनै नदिने र भए पनि त्यसलाई नमान्ने घोषणा  समेत गर्यो ।

आफूले लिएको खारेजीको कार्यनीतिलाई ‘सफल’ पार्न नेकपा-बिप्लवले सामान्य राजनीतिक प्रचार मात्र नगरी पूर्ण खारेजीको नीति अघि सार्यो  र यसका लागि उसले सबै किसिमका विधि-प्रविधिहरू अबलम्बन गर्यो  । चुनाव बहिष्कारका सम्बन्धमा उसले अँगालेका कतिपय विधिप्रविधिहरू ‘रहस्यमय’ भएका कारण विवादको विषय बन्नु स्वाभाविक थियो । ‘खारेजी अभियान’ सित सम्बद्ध कतिपय कार्यकर्ताले ज्यान गुमाए भने कतिपयले अहिलेसम्म पनि अनेक थरी मुद्दा खेपिरहेका छन् । यसै ‘खारेजी अभियान’ सित जोडेर पक्राउ गर्ने, जेल हाल्ने किसिमका कार्यहरू ओली सरकारले अहिले पनि गरिरहेको छ ।

स्थानीय निर्वाचन नेकपा-बिप्लवलगायत अन्य समूह, ज्ञानेन्द्रवादीहरूको ‘भूमिगत समूह’ लगायत सिके राउतहरूले पनि बहिष्कार गरेको कुरा प्रकाशमा आएको  थियो ।  बहिष्कारको सन्दर्भमा कालो मोसो दल्ने, बम पड्काउने र अज्ञात समूहले गरेको भन्ने गरिएकाले कसले गरेको हो भनेर प्रश्न उठ्नु स्वाभाविक थियो  । बिप्लवको नाममा अर्कै समूहले गरिरहेको छ कि बिप्लव समूहले नै घटनाहरू घटाइरहेको छ भन्ने कुरा विवादका विषय पनि बने । खास गरेर केन्द्रीय चुनावमा ३० ठाउँमा चुनाव हुन नदिने र कतिपय ठाउँमा चुनावै हुन नसक्ने, अमुकअमुक ठाउँमा उमेदवार नै सिध्याउन जस्ता कुरा पनि त्यतिखेर सडक चर्चाका विषय बनेका  थिए । त्यस्तो  विशेष घटना नभए पनि रूकुम, रोल्पा, भोजपुर उदयपुर,  नुवाकोट र काठमाडौँका घटना चर्चाको विषय बने । नुवाकोट र काठमाडौँका सन्दर्भलाई लिएर बिप्लवको नाममा काङ्ग्रेसले अमुकअमुकलाई जिताउन आफैँले घटना घटाएको देखि काङ्ग्रेस र बिप्लव समूहबीच साँठगाँठ र आर्थिक लेनदेनसम्मका कुरा पनि चर्चामा आए  । चुनावपछि सन्ध्या भाषामा बिप्लवले ''आफ्नो पार्टीले बहिष्कार गरेकाले यससित सम्बद्ध घटना आफ्नो पार्टीले गरेको भनेर पनि बुझ्नु पर्छ" भनेर धारणा सार्वजनिक गरे ।

चुनाव बहिष्कारको नीति सही भए पनि खारेजी अभियानको विधिप्रविधिमा रहेको गलत बुझाइका कारण भौतिक क्षतिका साथै राजनीतिक र साङ्गठनिक दुवै दृष्टिले बिप्लव समूहको चुनाव खारेज कार्यक्रम उपलब्धिमूलक हुन सकेन । यसैसित जोडेर पूर्वमा  केन्द्रीय स्तरका नेताहरूसमेत पटकपटक हिरासत र जेलको स्थितिमा पुगेका छन् र यो क्रम अहिले पनि जारी छ । खारेजी अभियानलाई राजनीतिक प्रचार अभियानभन्दा बमबारुद प्रयोग अभियान बनाउने, पार्टीलाई खुला राख्ने, नेता हाकिमी शैलीमा निजी गाडीमा सबैले चिन्नेजान्ने गरी वरिपरि सहयोगी राखेर हिँड्ने प्रक्रियाले बिप्लव समूहका गतिविधि जान्न सत्ताधारीहरूलाई सहज भयो र भैरहेको छ ।

आर्थिक मोह र चन्दाप्रकरण

पार्टी विभाजनपछि भ्रष्टाचार, अनियमितता र राष्ट्रियतासम्बन्धी मुद्दा उठाएर जनआकर्षण र चासोको विषय बनेको नेकपा-बिप्लव पछि वैचारिक-राजनीतिक पक्षभन्दा आर्थिक उत्प्रेरणामा रमाउने र यसैका पछि लाग्ने समूहका रूपमा चर्चाको विषय बन्न थाल्यो । पार्टीभित्रै आर्थिक अनियमितता र  आर्थिक भ्रष्टाचारको कुरा उठ्न थाले र ती पत्रिकाका प्रमुख समाचार बनेर आउन थाले । चन्दाकै कारण काठमाडौँ जिल्ला र उपत्यका ब्युरोको नेतृत्वमा निरन्तर परिवर्तन भएको कुरासमेत बाहिर आयो । पार्टीका सर्कुलरमै आर्थिक हिनामिनाका कारण ठूला नेताहरूसमेत  कारवाहीमा परेको कुरा  सार्वजनिक भयो  । बलपूर्वक आर्थिक चन्दाको विषयले विशेष चर्चा पायो । बोर्डिङ स्कुल प्रकरण,  एनसेल प्रकरण, आयल निगमका प्रमुख गोपाल खडका प्रकरण, म्यानपावर प्रकरण, चूडामणि प्रकरण, खाद्य सम्प्रभुताका नाममा मारवाडी गोदामफोर प्रकरण लगायत  विभिन्न प्रकरणहरू आर्थिक लेनदेन र चन्दा आतङ्कका विषय बनेर प्रकाशमा आए । जतिसुकै भ्रष्टाचारी र व्यभिचारी भए पनि भने जति चन्दा दिने कारबाहीमा नपर्ने र भने जति चन्दा नदिने भ्रष्टाचारी-व्यभिचारी  भएर कालोमोसो दलिनेमा परे । कतिपय ठाउँमा तोडफोडका घटना पनि भए । आरम्भका दिनमा बिप्लव समूहले केही गर्छ भनेर चर्चामा आएको पार्टी “चन्दा आतङ्क समूह” भनेर चिनिन थाल्यो । कार्यकर्तामा विचार, राजनीति र बलिदानीभाव भन्दा आर्थिक पक्ष प्रधान पक्ष बन्नु सबैभन्दा विडम्बनाको विषय हो ।
 यसले देखाएको क्रान्तिकारी आशावाद आर्थिक उत्प्रेरणामा कैद भएपछि र क्रान्ति होइन, भ्रमको राजनीति मात्र भइरहेको रहेछ भनेर बुझ्दै गएपछि ब्युरो इन्चार्ज तहका समेतले एकपछि अर्को गरेर पार्टी परित्याग गरे । सुरुको शक्तिबाट ४० प्रतिशत घटेको कुरा उनीहरूबाटै बाहिर आयो ।  साथै  पार्टी छाडेर जानेहरूले पार्टीको अन्तरकथा, भित्री यथार्थ सरकारी निकायसम्म पुर्याउनु पनि स्वाभाविक थियो  । पार्टीभित्रका नीतिगत तथा प्राविधिक कुरा बाहिर गएपछि सत्ता पक्षले गलाउने र थकाउने नीति बनाउनु स्वाभाविक हुन्छ । 

त्यहाँभित्रका अन्तर्विरोध, त्यसमा पनि उपत्यकासम्बद्ध अन्तर्विरोध र गुटबन्दीबाट वाक्क भएका पार्टीकै कार्यकर्ताहरूले मनमा गुम्सेर रहेका कुरा कतिबेर कसलाई भनौँ भनेझैँ गरी छरपस्ट रूपमा बाहिर ल्याउन थाले । पत्रिकापसल र चियापसल मनको बह पोख्ने ठाउँमा परिणत भए । वैचारिक-राजनीतिक गन्जागोलका साथै पार्टीभित्र कालिकोट र रोल्पा,  पूर्व र पश्चिम, नयाँ र पुराना, युवा र प्रौढको सन्दर्भ पनि चर्कै रूपमा बाहिर आउन थाल्यो । रोल्पा इतिहास हो र कालिकोट वर्तमान भनेर उनीहरू खुलेरै भन्न थाले । मोर्चादेखि जिल्लामा “रोल्पा र कालिकोट” को प्रतिस्पर्धा चल्न थाल्यो ।  पार्टीमा बिप्लव र प्रकाण्ड गुटका कुरा खुलेरै आए । गाउँठाउँमा भन्दा काठमाडौँमा रमाउन चाहने, क्रान्तिप्रति प्रतिबद्ध हुन चाहनुभन्दा उपत्यका ब्युरो हात पार्नुलाई प्राप्ति ठान्ने र आर्थिक स्रोत कब्जा गर्नु नै सबै कुरो हो भनेजस्ता प्रवृत्ति पार्टीमा हाबी हुन थाले ।

कामलाई वैज्ञानिक र सङ्घर्षलाई ठोस बनाउन पार्टीले मुलुकलाई ४ कमान्डमा विभाजित गर्यो  ।  स्थायी समितिका सबैले एकएकवटा कमान्डको जिम्मेवारी लिने निर्णय भए पनि  प्रकाण्डले काठमाडौँ र आर्थिक  विभाग नछोड्ने, छोड्नुपरे फूट पनि हुनसक्ने भनेर धम्की दिएको भनेर कार्यकर्ताहरूले नै चियापसलमा छरपस्ट पार्न थाले । पार्टीमा प्रकाण्डको मनपरी काम गराई, आर्थिक अपारदर्शीता, गुटबन्दी, धम्की, पार्टीबाहिरका मान्छेसित रहस्यमय उठबस, सुविधाभोगी र ठाँटबाठको जीवनशैलीका कारण बिप्लवसमेत हत्तु भएको टिप्पणी तल्लो स्तरका कार्यकर्ताले समेत गरेको सुनियो  । सत्य के हो प्रस्ट नभए पनि उपत्यका बाहिर भएको  पार्टीको पछिल्लो बैठकमा स्थायी समितिमा सिनियर र जुनियरका साथै जिम्मेवारीको विषयलाई लिएर स्यायी सदस्यद्वय सुदर्शन र प्रकाण्डबीच निकै चर्काचर्की परेको कुरा पनि सार्वजनिक रूपमै बाहिर आयो  । पार्टीभित्रको चरम गुटबन्दी र अन्तर्विरोधका कारण पार्टीको पछिल्लो बैठकका  निर्णयहरू बाहिर आउन नसकेको भनेर कार्यकर्ताहरूले पत्रिकामार्फत सार्वजनिक गरे ।
 
प्रभुत्व कायमको प्रतिस्पर्धा

यसरी हेर्दा नेकपा-बिप्लवमा  माथिदेखि तलसम्म चरम गुटबन्दी भएको र यसको असर तलसम्म पुगेको कारण एकले अर्कोलाई खुइल्याउने क्रममा सबै कुरा छ्यालब्याल हुन पुगेको देखिन्छ । आर्थिक विभाग, उपत्यका र प्रवक्ता बाहेक अन्य जिम्मेवारी नलिने र कार्यकर्तालाई आर्थिक उत्प्रेरणाद्वारा परिचालन गर्ने हुँदा उपत्यका ब्युरोका बिप्लवका भनिएका नेताहरूसमेत प्रकाण्डको पक्षमा गएको कुरा सार्वजनिक चर्चाका विषय भएका छन् । यस्तो अवस्थामा सत्ताधारीहरूले खास पार्टीभित्र के गर्नुपर्छ भनेर राम्ररी बुझेका हुन्छन् ।

नेकपा-बिप्लवसम्बद्ध पत्रकारहरूको सङ्गठन क्रान्तिकारी पत्रकार सङ्गठनको सम्मेलन भएको महिनौँ बित्ता पनि त्यसले पदाधिकारी चयन गर्न सकेको छैन र गरेको छैन भनेर पत्रकारहरू नै दुखेसो पोख्छन्  । पत्रकार सङ्गठनभित्र योग्यता,  क्षमता र जेष्ठताभन्दा क्षेत्रीयतावाद हाबी भएको भनेर व्यापक मात्रामा टीकाटिप्पणी भइरहेको समयमा प्रकाण्डले अध्यक्षमा अप्रत्यासित रूपमा अघि सारेको, (पत्रकारकै भनाइमा विवादास्पद र पार्टीभन्दा प्रकाण्डप्रति भक्त) पात्रलाई लिएर सम्मेलनमै बबण्डर मच्चिएको र उसलाई कुनै पनि हालतमा अध्यक्ष स्वीकार नगर्ने भनी पत्रकारहरू सम्मेलनहलबाट निस्केको कुरा पत्रकारहरूले नै  सार्वजनिक गरेका छन् । यस्तो स्थितिमा सरकारले सरकार विरोधी पार्टीभित्र खेल्न अनेक थरी तानाबाना बुन्नु अनौठो कुरा भएन ।

प्रकाण्ड र जीवनशैलीको निरन्तरता

अहिले प्रकाण्ड पक्राउ र हत्कडी प्रसङ्ग विशेष चर्चाका विषय  बनेका छन् । प्रकाण्डको आर्थिक मोह र ठाँटबाँठको शैली नयाँ होइन । उनीसित काम गर्नेहरू र उनलाई जानेकाहरू जनयुद्धकाल देखिको उनको जीवनशैलीबाट परिचित छन् । ‘शान्तिप्रक्रिया’ को समयमा मन्त्री हुँदाको समयको उनको जीवनशैलीको झन् कुरा गरी साध्य छैन । उनी युद्धकालमा पहिले कर्णालीका जनसरकार प्रमुख हुन् र सरला रेग्मी प्रकरणमा सुरेशसिंह अर्थात् शक्तिबस्नेतमाथि कारबाही भएपछि उनी कर्णाली ब्युरो इन्चार्ज   भए । त्यसबेला पनि उनको ठाँटबाँठ  गजबको रहेछ भन्ने कुरा ऋषिराज बरालको “सलाम रोल्पा” पढेपछि थाहा पाउन सकिन्छ । त्यसै समयमा लेखिएको ऋषिराज बरालको लघुकथा ‘घोडचढी’ को नायक पनि कम छैन । पछि मन्त्री भएपछिका दिनमा त्यतिबेर जनसरकारको नीति-योजना लागु गरेका आफ्नै बाबुका विरुद्ध प्रकाण्डले अंश मुद्दा हालेको विषय पार्टीमा निकै चर्चाको विषय बनेको हो  । पार्टीमा आफू छउन्जेल अरू कुनै दलितलाई अवसर नदिने, नेतृत्वमा पुग्न नदिने सामन्ती चरित्रका भनेर तिलक परियार लगायतका दलित नेताहरूले पोख्ने गरेको  पीडाको कथा पनि बिरानो भएको छैन ।
यहाँ प्रकाण्ड समातिनु स्वाभाविक थियो अथवा ठीक हो भन्न खोजिएको होइन । प्रकाण्डलगायत अन्य कमरेडहरू पक्राउ पर्नुमा नेकपा-बिप्लवले लिएको नीति र कार्यशैली पनि केही हदसम्म जिम्मेवार छ भन्ने कुरा गर्न खोजिएको हो । थुप्रै कमीकमजोरी, कार्यनीति सम्बन्धी गलत बुझाइ भए पनि आधारभूत रूपमा नेकपा-बिप्लव क्रान्तिकारी कित्ताकै शक्ति हो भन्ने ठहर यस टिप्पणीकारको छ । यसलाई जोगाउनु पर्छ भन्ने पनि मेरो बुझाइ छ । क्रान्तिकारीहरूको केन्द्र बनाउनु पर्छ र यसमा नेकपा-बिप्लवको भूमिकाको विशेष महत्व छ भन्ने पनि यस टिप्पणीकारको ठहर  छ ।
 
क्रान्तिकारी शक्तिलाई साम, दाम, दण्ड, भेदद्वारा गलाउनु र थकाउनु प्रतिक्रियावादी सत्ताको चरित्र हो र आफ्नो शक्तिलाई कसरी जोगाउने भन्ने कुरा सम्बद्ध पार्टीको नीति तथा कलाकारिताको  प्रश्न हो । बमबारुद अभियान र खुला र सुविभाभोगी जीवनशैली एकअर्काका विपरीत कुरा हुन् । बलिदान हुन तयार रहेको भन्नेहरूले आर्थिक उत्प्रेरणाप्रति हुरुक्क हुने र सुविधाभोगी जीवनप्रति आसक्त हुने प्रवृत्ति त्याग्नु आवश्यक हुन्छ ।

प्रकाण्ड-बादल सम्बन्ध

गत असोजमा पोखरामा नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनपछि  त्यसका कतिपय नीति चित्त नबुझेको भन्दै अपिल, शिवराम लगायतका आधी दर्जन जति केन्द्रीय सदस्यहरू माओवादी केन्द्रमा पलायन भए ।  त्यतिबेला अहिलेका गृहमन्त्री  बादलले भनेको भन्दै एउटा सूचना निकै चर्चित बनेको थियो :  “हाम्रो प्रकाण्डसित पनि भेटघाट तीव्र बनेको छ । पार्टीमा त्यताबाट आधी फ्याक आउन सक्छ भन्ने  प्रकाण्डको भनाइ छ । उनलाई पार्टीमा कसरी एडजस्ट गर्ने भनेर छलफल चलिरहेको छ । ” यो सही थियो, अथवा गलत, अरू पार्टीका मान्छे तान्न गरिएको परिपञ्च थियो वा अरू केही,   यो कुरा बादल र उनको हवाला दिँदै भन्ने पूर्व कमरेडहरूले जानून् । तर नेकपा ( क्रान्तिकारी माओवादी) पार्टीका सबैजसो नेता-कार्यकर्तासम्म त्यतिबेर यो कुरा पुगेको चाहिँ सत्य हो । यस टिप्पणीकारले बुझेअनुसार व्यक्तिगत रूपमा बादल र प्रकाण्डबीच राम्रो सम्बन्ध भएको कुरा  पनि सत्य हो ।

सत्ता चुनौती

प्रकाण्ड एउटा कम्युनिस्ट पार्टीका प्रवक्ता हुन् र स्थायी सदस्य पनि । उनी राजनीतिक प्राणी हुन् । उनलाई एउटा अपहरणकारी, माफिया डन र अपराधीका झैँ हत्कडी लगाएर जसरी अपमानित गरियो, यो निन्दनीय छ र भ्रत्र्सनायोग्य छ । अझ हिरासतमा रहेका अर्का कायकर्तालाई सङ्कटकालको सम्झाना हुने गरी कुटपिट गरिएको भनिएको छ,  यो झन् घृणित कार्य हो । गृहमन्त्री रामबहादुर थापा बादल भएकाले औँला उनीतिर ठडिनु स्वाभाविक छ । उनले भनेझैँ उनी यो सरकारका गृहमन्त्री हुन् । यस अर्थमा उनले गरेका कामकारबाहीले सरकारको प्रतिनिधित्व गर्छ । कतिपयले प्रकाण्ड पक्राउ प्रकरणलाई बादल र बिप्लवको  अहंको टक्कर भनेका छन्, यो व्यक्तिव्यक्ति बीचको टक्करको कुरा नभएर दुई थरी स्वार्थबीचको टक्कर हो ।

सरकारका नजिक रहेका पत्रिकाले नेकपा-बिप्लवलाई कहिले सिके राउतसित, कहिले ज्ञानेन्द्र शाहसित र कहिले भारतीय एजेन्सीसित जोडेर समाचार बनाउने गरेका छन् । कतिपयले हिन्दूवादी भारतीयहरूसित बिप्लवको सुमधुर सम्बन्ध भएको कुरा गर्छन् ।  यताका दिनमा केही अनलाइनले बिप्लवको पार्टीले भाकपा (माओवादी) सित सहयोग लिएर नेपालमा सशस्त्र सङ्घर्ष चलाउँदैछ  भनेर लेखेका छन्  । फेरि अर्घाखाँची र प्युठानको जङ्गलमा बिप्लवसहित केन्द्रीय नेताहरू छापामार प्रशिक्षणमा रहेको भनेर लेखेका छन्  । अर्घाखाँची र प्युठानको जङ्गलमा भएको कुरा यो टिप्पणीकारलाई थाहा नभए पनि भाकपा (माओवादी) सित नेकपा-बिप्लवको कुनै साइनो छ जस्तो लाग्दैन र बिप्लव समूहको  नीति र बुझाइका  कारण भाकपा (माओवादी) ले  नेकपा-बिप्लवलाई क्रान्तिकारी पार्टीका रूपमा  स्वीकार गरेको पनि छैन । यस्ता हावादारी समाचारको कुनै अर्थ छैन । वास्तवमा भाकपा (माओवादी) सितको सम्बन्ध प्रकरण, चन्दा प्रकरण, गुरिल्ला तालिम प्रकरण यी सबै नेकपा-बिप्लवमाथि दमन गर्ने तारतम्य मात्र हुन् । यसलाई यसरी बुझ्नु उपयुक्त हुन्छ ।

प्रकाण्ड पक्राउको अन्तर्वस्तुमा राजनीतिक पक्ष भए पनि सरकारले राजनीतिक कुरा नउठाएर चन्दामा पक्राउ प्रकरणलाई सीमित गरेको छ । यो सरकारी दाउपेच मात्र हो । अब सरकारले खुलारूपमा यो यो कारणले बिप्लवका नेता तथा कार्यकर्ता  पक्राउ गरेको  भन्नुपर्छ । साथै नेकपा-बिप्लवका सामु पनि या त नेकपा (क्रान्तिकारी माओवादी) को जस्तो जनयुद्ध विरोधी र माओवाद विरोधीलाई काखी च्याप्तै क्रान्तिक्रान्ति भन्दै समय बिताउने अथवा वर्गसङ्घर्षको उच्च रूप नयाँ विकल्पमा जाने भन्ने विकल्प मात्र छ । वक्तव्यबाजीमै सीमित हुने हो भने अरू कार्यकर्ता पनि सरकारलाई सुम्पदै जाने काम मात्र हुन्छ । अहिलेको कार्यशैलीमा सुधार नल्याउने हो भने सरकारको थकाउने र गलाउने नीतिलाई सफल हुनु दिनु मात्र हुन्छ र यसले अन्ततः कार्यकर्तामा निरासाभाव र पलायनवादी प्रवृत्ति मात्र विकसित हुन्छ । प्रकाण्डलाई हत्कडी लगाएर सरकारले बिप्लव पनि आफ्नो पहुँचभन्दा पर छैनन् भन्ने सन्देश दिएको छ । सत्य यही  हो ।

अब ओली सरकारद्वारा प्रस्तुत  चुनौतीको सामना कुन बाटोबाट गर्ने भन्ने चुनौती नेकपा-बिप्लव सामु उपस्थित छ ।

साभार : jandisha.com
०००

भिडियो फिचरview all