ताजा समाचार
इबरा, बहस र साहित्यमा सम्भावनाको प्रश्न
रूपेश शर्मा
नेपाली साहित्यका विख्यात हस्ती तथा विशिष्ट प्रतिभा इन्द्रबहादुर राई (इबरा) को ६ मार्च, २०१८ को दिन हृदयघातका कारण दार्जीलिङमा निधन भयो । उनी कुल ९१ वर्ष, १ महिना २ दिन बाँचे । उनका सिर्जनात्मक कर्महरू भने दीर्घकालसम्म जीवित रहनेछन् । सर्जकहरू बाँच्ने भनेको पनि आफ्ना सिर्जनामा नै हो । यसैले इबराको मृत्युपछि पनि उनका कृतिहरूमाथि विमर्श, बहस र प्रश्नहरू हुनु साहित्यमा सामान्य गतिशीलताकै परिचायक र प्रक्रिया हो । इबराले नेपाली साहित्यमा दीर्घम्यादी प्रभाव छोड़ेका छन् । तथापि उनका दुर्बोध्य आयामेली र लीलालेखनमाथि प्रश्न उठ्दै आएका छन् । मूलतः ती प्रश्न लेखनको सामाजिकतामाथि बढ़ी केन्द्रित पाइन्छ। राई एक विचारपुञ्ज हुन् । धेरै साहित्यकार उनको ‘स्कूल अफ् थट्स’बाट प्रभावित छन् । यसैले बहस र प्रश्नको केन्द्र पनि ‘विचार’ नै भएको देखिन्छ । तार्किक प्रश्न सचेत समाजका अभिलक्षण हुन् । प्रश्नले भावी सम्भावनातर्फ प्रेरित गर्छ । ज्ञानका जिज्ञासुहरूका मन-मस्तिष्कमा नयाँ-नयाँ कौतूहलता र सन्धानका प्रश्नहरू मड़ारिरहन्छन् । प्रश्नको समाधान खोज्ने इच्छाशक्तिले नयाँ चिन्तनतर्फ डोर्याउँछ । यसकारण प्रगतिको पथमा हिँड्न चाहने समाजले प्रश्नकर्ताहरूलाई प्रोत्साहित गर्नुपर्छ ।
इबराको मृत्युपछि सामाजिक सञ्जाल र पत्र-पत्रिकामा धेरै विचार र प्रतिक्रियाहरू आए । यस्ता प्रतिक्रियाहरूमा राईका आलोचकहरूप्रति कटाक्ष पनि गरियो । केहीका भनाइको आशय रह्यो-इन्द्रबहादुर राई लेखनजीवनमा सक्रिय हुँदा नै उनका कृतिहरूमाथि आलोचनात्मक कुराहरू राख्नुपर्थ्यो । वार्धक्यले जवाफ दिन नसक्ने स्थितिमा उनीमाथि अनेकन् आरोप वा आलोचना गरिए, जो राम्रो भएन...। एक विद्वान साहित्यकारले राईका अलोचकहरूलाई ‘वामधर्मी’, ‘उछितो काढ्ने’ आदि संज्ञाहरू दिए । ‘इन्द्रबहादुर राईलाई मार्क्सवादप्रति एलर्जी थिएन’-सामाजिक सञ्जालमा यस आसयका अन्तरवार्ताहरू पनि देखिए । राईको निधन नेपाली साहित्यका लागि ठूलो क्षति थियो । त्यसैले तर्कहरू कटाक्षपूर्ण आवेगले डोहोरिनु स्वाभाविक नै बने।
निःसन्देह इन्द्रबहादुर राई नेपाली साहित्य र समाजले पाएका एक विशिष्ट प्रतिभा हुन् । तर, उनी ‘ईश्वरप्रदत्त’ होइनन् । सङ्घर्ष, समर्पण र त्यागबाट निर्मित प्रतिभालाई कुनै चामत्कारिक जलप नलगाई उनीहरूकै क्षमता र विशेषतामा स्वीकार गर्ने आत्मविश्वास हामीमा छैन । क्षमता पहिचानको यो अवैज्ञानिकता अब त ‘रूढ़’ नै भइसकेको छ । इबराले नेपाली साहित्यमा सामाजिक यथार्थवादी, आयामेली र लीलालेखन जस्ता तीनवटा साहित्यिक धारा तथा आन्दोलनको दर्बिलो नेतृत्व गरेका छन् । त्यसैले नेपाली साहित्य र यसको गतिमयता जीवन्त रहुञ्जेल इबराको साहित्यिक र वैचारिक आधारमाथि विमर्श भइनै रहनेछ । त्यस अर्थमा, नयाँ पुस्ताले उनीमाथि बहस, उनका कृतिहरूको पुनर्मूल्याङ्कन (अरूले गरेका मूल्याङ्कनबाट सन्तुष्ट नभएर) अनि प्रश्नको उठान गरे भने के नेपाली साहित्यलाई ठूलो बित्यास पर्छ वा नयाँ पुस्ताले ठूलै अपराध गरेको ठहर हुन्छ ? अहिलेको सन्दर्भमा यो सोधनी यसकारण पनि आवश्यक छ कि, एकातिर एउटा बौद्धिक समूह इबरा जस्ता प्रतिभा नेपाली समाजमा भविष्यमा सायदै जन्मनेछन् भन्ने भावनात्मक आवेग पोखिरहेका छन् भने तिनै समूहका साहित्यकारहरू नेपाली साहित्य अब इन्द्रबहादुर राईभन्दा अघि बढ्न सक्दैन कि भनेर चिन्ता पनि जताइरहेका छन् । यो ‘चिन्ता’ले तर प्रश्न र बहसको उठानलाई ‘अति’का रूपमा बुझ्नु चाहिँ थप चिन्ताको विषय भएको छ । जब नेपाली साहित्य अहिलेको ठाउँबाट थप गतिमान अवस्थातर्फ जानुपर्छ, त्यसबेला अघिल्ला साहित्यिक कार्यहरूप्रति सन्देह र प्रश्न आवश्यक पर्नसक्छ। तर सँगसँगै, समाजलाई प्रगतिको पथमा डोहोर्याउने अहिलेसम्मका प्रगतिशील कामहरूको संरक्षण पनि उत्तिकै जरूरी हुन्छ । द्वन्द्ववादको सामान्य प्रक्रियाकै कुरा हो यो। प्रगतिको नियम भनेकै जस्तै महान् उपलब्धिमा पनि स्थिर भएर नबस्नु हो; अझ महानतम बाटो पहिल्याउनु हो । सम्पूर्णताका निकट, जीवनदायी, गतिशील र विकासोन्मुख कुरा नै ‘नयाँ’ र प्रगतिशील मानिन्छन् । यसैले प्रगतिमुखी कार्य सधैं अग्रगामी हुनुपर्दछ।
इबराले आफ्ना अघिका साहित्यकारहरूको साहित्य ‘चेप्टो’ भयो, यसले ‘सम्पूर्णता’ उचाल्न सकेन भनेर प्रश्न मात्र उठाएनन् त्यसलाई निषेध गरेर नयाँ धारा ल्याए। उनको लीलालेखनमा शब्दहरूले ‘अर्थ’ दिँदैन । भाषासँग शब्द र प्रतीकको सम्बन्ध विच्छेद् गर्नुको अर्थ यसको सामाजिकतालाई अस्वीकार गर्नु हो । अर्थहरूको सामाजिक प्रतिविम्बनलाई उनले ‘जड़’ र ‘निर्मिति’ बताए अनि ‘भ्रम लेखन’ भने; ‘बित्थामा बित्थाहरू’ लेख्न आह्वान गरे । सत्तर र अस्सीको दशकमा यो चिन्तनले थुप्रै साहित्यकारहरूलाई सकसमा पार्यो । यता आफूले ‘भ्रम’ लेखिरहँदा हीनताबोधको शिकार होइने उता इबराले जस्तो ‘बित्थामा बित्था’ लेख्ने बौद्धिकता आफूसँग नहुने ! साहित्यिक अवसादमा जानभन्दा धेरै लेखकहरूले बौद्धिक आत्मसमर्पण गरे, थोरै लेखकहरू ‘उछितो काढ्ने’, ‘वाममार्गी’ र ‘पार्टी साहित्यका पक्षधर’मा दरिए/दराइए । एउटा ठूलो बौद्धिक समूह तटस्थ भइदियो । इबराले आफ्ना अग्रज साहित्यकारहरूमाथि प्रश्न तेर्साएर जुन ‘नयाँ चिन्तन’को निर्माण गरे, इबराका पछिल्ला पुस्ताले त्यो प्रश्न गरेर नेपाली साहित्यमा नयाँ बहसको थालनी गर्ने हक राख्छन् कि राख्दैनन् ? यो महत्त्वपूर्ण प्रश्न हो । किनभने जस्तै ‘महान्’ कार्यले पनि केही न केही प्रश्न छोड़ेकै हुन्छ, अनि त्यही प्रश्न हल गर्ने प्रक्रियामा अर्को ‘विकास’ले जग हाल्छ । यो प्रगतिको निरन्तर र अनन्त प्रक्रिया हो । प्रश्नहरूको उठान गर्नु वास्तवमा इन्द्रबहादुर राईकै विरासत पहिल्याउनु पनि हो । स्वास्थ्य बहस ऊर्जाशील समाजको लक्षण हुँदछ। तर नयाँ पुस्ता जब यस्ता बहसको गहनतातिर जान्छ, त्यसबेला उसले आफूलाई गम्भीर, संवेदनशील र वैचारिक/सैद्धान्तिक/दार्शनिक तार्किकता (जुन क्षमता इबरामा थियो)को गहिर्याइसम्म पुर्याएर आफूलाई तयार पार्नैपर्छ । हचुवाको भरमा इबरामाथि केही शब्द वा आरोप दाग्नेबित्तिकै नेपाली साहित्यले सगरमाथा छुन्छ भन्ने भ्रम कसैले पाल्नुहुँदैन । संसार/समाज/सिद्धान्त/विचार/दर्शन बुझ्ने प्रश्नले स्रष्टालाई गम्भीरतातर्फ डोहोर्याउँदछ । त्यही गम्भीरताको समर्पित प्रक्रियाबाट समाजले प्रतिभा पाउँछ; प्रतिभाले समाज बनाउँछ ।
इबराको सक्रिय साहित्यिक जीवन खासगरी सन् १९६० देखि २००० सम्म (यही अवधि उनका महत्त्वपूर्ण कृतिहरू प्रकाशित भएका छन्) भारतीय नेपाली साहित्यमा उनको एकक्षत्र प्रभाव रह्यो । इबराको प्रभावकारी सामाजिक यथार्थवादी लेखन; अभेद्य (त्यससमय) बौद्धिकता र दुरूहताले भरिएको आयामेली र लीलालेखनबाट तत्कालीन अधिकांश साहित्यकारहरू कायल थिए/आज पनि छन् । उनको लेखनको दुरूहता, क्लिष्टता, बौद्धिकता र दार्शनिकताका गुह्य पक्ष नबुझेरै पनि धेरै साहित्यकार उनका लेखनका अनुगामी बने । सबैले त्यससमय बद्रीनारायण प्रधानले जस्तो इमानदारीपूर्वक भन्नसकेनन्,“असलमा उहाँका लेखनीहरू म निकै कनेर पढ्नुपर्छ। कन्दै पनि पढ़ें ।” इन्द्रबहादुर राईको आयामेली लेखनविरुद्ध पहिलोपटक कलम चलाए गुमानसिंह चामलिङले । त्यसबेला इन्द्रबहादुर राई सक्रिय लेखनमा थिए । त्यसपछि आयामेलीको पोस्टमर्टम गर्दै अनेपाली तर नेपाली साहित्यमा दह्रो दखल भएका मणिपुर निवासी प्रो.चन्द्रेश्वर दुबे (मूल निवासी मुजफ्फरपुर, बिहार) ले लेखे ‘तेस्रो आयामको शव-परीक्षा’ (सन् १९८१ ) । खासगरी, यो कृति तेस्रो आयामका तीन प्रणेतामध्ये एक ईश्वरवल्लभका ‘आगोका फूलहरू हुन्: आगोका फूलहरू होइनन्’ आयामेली कविताहरूको साङ्गोपाङ्गो अध्ययन र चिरफार गर्ने क्रममा लेखिएको बलियो समालोचना हो । दुबेले आयामेली लेखन र लीलालेखनका घोषणाहरू, इन्द्रबहादुर राईका उद्धहरणहरू ठाउँ-ठाउँमा दिएर तेस्रो आयामको तार्किक खण्डनमात्र गरेनन्, यसको सैद्धान्तिक आधारहरू पनि पहिल्याएका छन् । ६९ पृष्ठको यो पुस्तिका सानो भए पनि यसले दूरगामी साहित्यिक महत्त्व, समाचोलनाको नयाँ आयाम र धर्मितालाई समेत संवहन गर्दछ । यस्ता पुस्तकलाई बाहिर-बाहिरै टकटकाउने पूर्वाग्रहले आलोचनालाई विद्वेषको रूपमा हेर्छ । अध्ययनमा कुनै आग्रह वा पूर्वाग्रह हावी नहोस् भनेर हिजोआज ‘चेकलिस्ट’, ‘क्वेश्चन फर डिस्कसन एण्ड रिभ्यू’, ‘सजेस्टेड फर्दर रिडिङ्ग्स’ तथा ‘एसक्युआरआरआर’ (सर्वे, क्वेश्चन, रिड, रिकल, रिभ्यू) जस्ता अध्ययनपद्धति आउन थालेका छन् । ‘स्टप एण्ड थिंक’-पढ्दापढ्दै रोकिएर घोत्लन सुझाउँछन् पद्धति विकासकहरू। वास्तवमा नयाँ सम्भावना बनिबनाऊ निष्कर्षमा सन्तुष्ट हुन पनि सक्दैन । के पढ्ने, कसरी पढ्ने, किन पढ्ने जस्ता प्रश्नहरू अबका अध्ययनपद्धतिका मुद्दा हुन् । यस्ता ‘क्रस एक्जामाइन थ्योरी' ले अध्ययनको तीक्ष्णता, नयाँ खोजतर्फको उन्मुखता र सम्भावना बढ़ाउँदछ । यो विधिविकास तर सतही अध्ययनबाट सम्भव छैन ।
मार्क्सवादी साहित्यलाई ‘पार्टी साहित्य’मा खुम्च्याउँदै अनि साहित्य र राजनीतिको सम्बन्धलाई ‘लेखकीय स्वतन्त्रताको हनन’ को रूपमा व्याख्या(अपव्याख्या) गर्दै इन्द्रबहादुर राईले लेखे,“प्रगतिवादी लेखक उत्तरोत्तर प्रगति भए केही कालमा कामरेड हुन्छ, त्यत्ति हो।” प्रगतिवादी साहित्यप्रतिको यो अधैर्य निर्णय ‘एलर्जी’ विहीन थियो ? यो वाक्यले तथ्य होइन, पूर्वाग्रहको उत्कर्षलाई दर्शाउँछ । १९८३ मा ‘साहित्यको अपहरणः मार्क्सवादिक प्रतिबद्धता’ पुस्तिकाको रूपमा निस्कनअघि राईले यो लेख ‘कलश’ नामक पत्रिकामा धारावाहिक रूपमा छपाए। शुरुमै उनले लेखेका छन्,“भाइहरू कतिले साहित्यमा ‘कमिटमेन्ट’ का कुरा गरिहिँड़ेको खबर सुन्छु । साहित्यिक एक दाज्यूको साइनोले भाइहरूलाई यहाँ ‘कमिटमेन्ट’ सम्बन्धमा मैले बुझेको बताउँछु । नबुझेको सोध्छु।” निकै होच्याहट र व्यङ्ग्यमिश्रित ‘भाइहरू’ वास्तवमा अरू कोही नभएर भीम योञ्जन, नन्द हाङ्खिम, मोहन दुखुन, रत्न बान्तवाहरू हुन्। यो समूहले उसबेला (८०को दशक लाग्दानलाग्दै) प्रगतिवादी साहित्यिक संस्था तथा पत्रिका ‘विकल्प’ शुरु गरेको थियो । यस समूहद्वारा प्रकाशित अर्को महत्त्वपूर्ण प्रगतिवादी पत्रिका हो ‘छाल’ । उनीहरूले विभिन्न पत्रिकाका लेख तथा भाषणहरूमा लेखक र लेखनको सामाजिक दायित्व, जनवादी साहित्यको ध्येय अनि लेखनमा पक्षधरताको कुराहरू गरिरहेका थिए। कङ्ग्रेस पार्टीका कार्यकारी सदस्यसमेत रहिसकेका इबराको यो ‘नकार’ साहित्यिक मात्र थिएन, वैचारिक, सैद्धान्तिक र पार्टीगत पूर्वाग्रहले पनि लैस थियो। यसैले उनले व्यङ्ग्य, हेय, आलोचना, उद्धरण र अनेकौं आरोपहरूले भरिएका ‘साहित्यको अपहरण’ लेखे। इन्द्रबहादुर राईले ‘भाइहरू’ भनेपछि उनीहरूबाट जवाफ दिइँदा त्यसको मनोवैज्ञानिक प्रभाव कम पर्ने र साहित्यकारहरूको ठूलो समूहले ‘नपत्याउने’ भएपछि ‘विकल्प’ले त्यसको जवाफ दिन बद्रीनारायण प्रधानको विकल्प देखेन । किनभने प्रधान त्यसबेला प्रगतिवादी साहित्यमा स्थापित थिए। उनको अनूदित कृति ‘आमा’ (१९७६ ) प्रकाशित भइसकेको थियो । ठूला व्यक्तित्व (उमेरले पनि इबराभन्दा बद्रीनारायण प्रधान १७ दिनले जेठा हुन्)लाई प्रगतिवादीहरूले अघि सारे । प्रगतिशील सामयिक पत्रिका ‘छाल’को तेस्रो अङ्क (अक्टोबर १९८१ , सम्पा. रत्न बान्तवा) बाट बद्रीनारायण प्रधानले ‘श्री इन्द्रबहादुर राईको कमिटमेन्ट’ शीर्षकमा धारावाहिक लेख लेखे। उनको यो लेख ‘छाल’को तेस्रो र चौथो अङ्कमा प्रकाशित छ । राईका सबै आरोपहरूको प्रधानले तर्कसङ्गत खण्डन गरेका छन्; राईका साहित्यिक र वैचारिक आधार पनि केलाएका छन् । भारतीय नेपाली प्रगतिवादी समालोचनाको सर्वेक्षण गर्नपर्दा बद्रीनारायण प्रधानको यो लेख एक महत्त्वपूर्ण अध्ययन सामग्री बन्नसक्छ। तर यसतर्फ समालोचकहरूको खासै ध्यान गएको देखिन्न । इबराको लीलावादी साहित्यको सैद्धान्तिक स्रोत मार्क्सवादी साहित्यको विरोधको जगमा स्थापित उत्तरआधुनिकतावादी दार्शनिक पीठिका हो। साहित्यमा पक्षधरता विश्वव्यापी परिघटना हो अनि सामान्य कुरा पनि । तर रूपवादीहरूको पक्षधरता ‘कला’ प्रगतिवादीहरूको पक्षधरता ‘नारा’ भन्नेचाहिँ असामान्य पूर्वाग्रह हो।
नेपालमा इन्द्रबहादुर राईको आयामेली र लीलालेखनको सबैभन्दा बढ़ी चिरफार एवं विश्लेषण गर्ने व्यक्ति हुन् डा. ऋषिराज बराल । भारतीय नेपाली साहित्यको सन्दर्भ निस्कनेबित्तिकै उनी इन्द्रबहादुर राईका यी दुर्बोध्य लेखन र तिनमा अन्तरनिहित सैद्धान्तिक चुरोको दार्शनिक आधार केलाउन पुग्छन् । आजभन्दा २३ वर्षअघि प्रकाशित बरालको प्रसिद्ध पुस्तक ‘मार्क्सवाद र उत्तरआधुनिकतावाद’ (१९९५) -मा ‘विनिर्माण, लीला-लेखन र प्रगतिको सिद्धान्त’ शीर्षक लेख छ, जसमा बरालले लीलावादी लेखनको पोस्टमर्टम नै गरेका छन् । त्यसबेला नेपाली साहित्यमा सायद पहिलोचोटि हुनुपर्छ, लीलालेखनमाथि यस ढङ्गको आलोचना राखिएको । तर इबराले यसको जवाफ दिन आवश्यक ठानेनन् । उनका लेखनमाथि लगाइएका गम्भीर आरोपहरू मौनताबाटै पन्साइयो । नेपालका युवा समालोचक नेत्र एटमले पनि ‘समालोचनाको स्वरूप’ (२००४) )मा लीलालेखन र ज्याक डेरिडाको विनिर्माणको ‘सैद्धान्तिक आधार र शैलीगत प्रक्रिया एउटै’ रहेको कुरालाई उद्धहरण दिएर स्पष्ट पारेका छन् । यस दिशामा एटमका दुईवटा लेख ‘लेखीय प्रक्रिया, लेखकको मृत्यु र विनिर्माण’ अनि‘कठपुतलीको मन’मा विनिर्माण/लीलालेखन’ मननीय छन्। यसप्रति पनि राईबाट प्रतिक्रिया भएन । यस्ता सन्दर्भ र सूचीहरू धेरै जोड्न सकिन्छ ।
खरो आलोचकका रूपमा प्रतिष्ठित ऋषिराज बराल भारतीय नेपालीभाषी पाठकहरूका लागि पनि परिचित नाम हो । २३-२५ फरवरी, २०००मा उत्तर बङ्गाल विश्वविद्यालयमा तीन दिवसीय साहित्यिक सङ्गोष्ठी भएको थियो, जहाँ इन्द्रबहादुर राई र ऋषिराज बराल दुवै उपस्थित थिए । कार्यक्रम सकिएको लगत्तैपछि बरालले इन्द्रबहादुर राईका लेखनविरुद्ध एउटा लेख ‘सुनचरी’मा छपाए । उनको लेख प्रकाशित भएपछि ‘सुनचरी’मा झण्डै तीन महिना लगातार बहस चल्यो, जसमा यस क्षेत्रका अनेकौं स्थापित र नवोदित साहित्यकारहरू पनि सम्मिलित भए । यो लेखको समर्थन र विरोधमा एकप्रकारले वैचारिक ध्रुवीकरण नै भयो । चर्काचर्की बहस हुँदा पनि इबरा मौन बसे । त्यसै बहसमा ‘क्याक्टस’ (बी.पी.बजगाईं?) को नाममा लीलालेखनमाथि चर्को आरोप आयो। क्याक्टसले उपनिषद्का उद्धरण र भाष्यहरूद्वारा लीलालेखनको चिरफार गरे अनि इबराबाटै जवाफ मागे । फलस्वरूप इबराको छोटो प्रतिक्रिया आयो । आफ्ना कृतिहरूमाथिका आलोचना र स्पष्टीकरण माग गरिएका लेखहरूप्रति राई उदासीन नै थिए । यसैले पछिल्लो कालमा राईमाथि गरिएका प्रश्नहरूको समय अनुकूल थिएन भन्ने तर्क युक्तिसंगत छैन । वैचारिक कुराहरूमाथि यही समयमा प्रश्न राख्नुपर्छ भन्ने कुनै समयसीमा हुँदैन । समाजले जतिबेला आफूलाई प्रश्नहरूका लागि सक्षम बनाउँछ, त्यतिबेला जुनै विषयमा पनि प्रश्न उठ्न सक्छ । अढ़ाई हजार वर्षपछि पनि आज प्लेटोका सिद्धान्त र विचारहरूमाथि प्रश्न उठिरहेकै छन् ।
युवा पुस्ताका मनोज गिरी, राजा पुनियानी, मनोज बोगटी, रूपेश शर्माहरूले पनि इबराका सैद्धान्तिक अवधारणामाथि प्रश्न उठाइरहेका छन् । केही अपवाद छोड़ेर यस्ता बहसहरूमा सहभागी नहुनु वा त्यसबारे चर्चा नगर्नु इबराको आफ्नै ‘रिजर्भेशन’ थियो । उसो त, अहिले पनि नेपाली साहित्यमा एउटा ठूलो सोपानतन्त्र (हायारर्की) छ, जहाँ ठूला र नामचलेका साहित्यकारहरूले ‘साना’ कदका प्रतिभालाई गन्ती गर्दैनन् । कति ‘ठूला’ साहित्यकारहरू यस्तो सोच्दा हुन्, उनीहरूले नयाँ पुस्ताबारे केही लेखिदिएनन्, बोलिदिएनन् वा भनिदिएनन् भने ती नयाँ छिमल साहित्यमा स्थापित नै हुन सक्दैनन् । निकै मीठो भ्रमको एउटा बाक्लो परत नै लागेको छ नेपाली साहित्यमा।
अहिले इबरामाथि प्रश्न राख्ने स्रष्टाहरू ‘उछितो काढ्ने’,‘वाममार्गी’ वा ‘खराब आलोचक’का रूपमा व्याख्यायित छन् । राईले ‘प्रश्न’ उठाएरै नेपाली साहित्यलाई अघि बढ़ाए भन्ठान्ने साहित्यकारहरूले नयाँ पुस्ताले त्यसो गर्नेबित्तिकै किन कड्के नजरले हेर्छन् ? भारतीय नेपाली साहित्यमा यो ठूलो समस्या र पूर्वाग्रह छ । तर यति चाहिँ पक्का हो, इबरामाथि प्रश्न उठाउनअघि इबराका कृति, उनका साहित्यिक सिद्धान्त, दार्शनिक पृष्ठाधार, लेखनका बहुआयामिक पक्ष सबै बुझेर त्यसमाथि बहस हुनुपर्छ नकि चर्चा बटुल्ने साधनको रूपमा बहसको उपयोग । प्रतिभाहरूको तुलना प्रतिभासँगै हुन्छ । नेपाली साहित्यको भविष्य इन्द्रबहादुर राईभन्दा अघि बढ्नुपर्छ वा यही नै यसको अन्तिम गन्तव्य हो ? दोस्रो प्रश्नको जवाफ खोज्नेहरूले भने नयाँ सम्भावनालाई आँखा तर्न छोड्नुपर्छ । किनभने प्रश्न नउठाई विश्वमा कहीं कतै प्रगतिले फड्को मारेको छैन ।
(लेखक बहुचर्चित समालोचनात्मक पुस्तक 'सिर्जना र दृष्टि' का लेखक हुनुहुन्छ l )

यद्यपि प्रश्न नै सर्वोपरि होइन। प्रश्नकर्ताको सामाजिक संवेदनशीलता, सम्भावित ‘प्रगति’ले आफूसँग माग गर्ने त्याग अनि आफ्नो प्रश्नप्रतिको गाम्भीरताप्रति प्रश्नकर्ता कतिको इमानदार छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । किनभने प्रश्न र उत्तरबीचको विशाल खाड़ल नाघ्नुपर्ने चुनौती पनि प्रश्नकर्ताले आफूसँगै लिएर आउँछ । एउटै प्रश्नको जवाफ खोज्न कैयौं वर्ष लाग्नसक्छ; सामर्थ्यहीन प्रश्न विशाल खाईमा हराउन सक्छ। प्रश्न र प्रगति एकअर्काका सम्पूरक भए पनि हुतिहारा प्रश्नले अग्रगामी प्रगतिको भार वहन गर्न सक्दैन । यसैले प्रश्नले आफ्नो चुरो बलियो बनाउनैपर्छ ।
('लालीगुराँस' मा प्रकाशित रचना थप सामग्रीसहित )
डुवर्स, भारत
भिडियो फिचरview all