
क्रान्तिकारी पुनर्गठनका आधारहरू

१) नेपालमा विद्यमान कम्युनिस्ट नामका पार्टीहरू खासगरेर संशोधनवादी गुटहरूले कम्युनिस्ट आन्दोलनलाई विसर्जनतिर लगेको र जनतामा भ्रम, अविश्वास, आशङ्का र निरासासमेत उत्पन्न गराएको वर्तमान स्थितिमा, विभिन्न समूह तथा स्वतन्त्ररूपमा रहेका क्रान्तिकारीहरूबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी पुनर्निमाण अभियानको थालनी गर्न, २) नयाँ जनवादी क्रान्तिमार्फत वर्तमान दलाल पुँजीवादी तथा सामन्त वर्गीय राज्यसत्ता र दलाल पुँजीवादी अर्थतन्त्रका विरुद्ध सशस्त्र सङ्घर्ष गरी वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउन, ३) विश्व कम्युनिस्ट आन्दोलनका सकारात्मक तथा नकारात्मक पक्षको संश्लेषण गर्दै मालेमाको विकास र रक्षासित सम्बद्ध प्रश्नको अभिरेखाङ्न गर्न,४) आजको विश्व परिस्थिति आर्थिक, राजनीतिक, सांस्कृतिक र सूचना भूमण्डलीकरणको स्थितिले उत्पन्न गरेको अवस्थाको वैज्ञानिक संश्लेषण गर्दै क्रान्तिको आम कार्यदिशा निर्क्योल गर्न, ५) विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका विकासलाई अङ्गीकार गरेर वर्गसङ्घर्षका विभिन्न कडीरूसित जोड्दै सङ्घर्षलाई अघि बढाउन, ६) नयाँ-पुराना साम्राज्यवादी शक्तिहरू, मूलतः अमेरिकी साम्राज्यवादको आडभरोसा पाएको घरेलु प्रतिक्रियावादी सत्ताका विरुद्ध जनयुद्ध चलाइरहेका भारत, फिलिपिन्स र टर्कीलगायतका माओवादी पार्टीहरूका अनुभव र आन्दोलनको गहिरो अध्ययन गरी अन्तर्राष्ट्रिय सर्वहारावादी भाइचाराको भूमिका निर्बाह गर्न, ७) जनयुद्ध चलाइरहेका भारत, फिलिपिन्स र टर्कीलगायतका माओवादी पार्टीहरूप्रति दृढ समर्थन जनाउँदै, तिनका विरुद्ध घरेलु प्रतितक्रियावादले चलाएको दमन विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन, ८) विभिन्न कारणबस विघटन भएको क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) लाई नयाँ किसिमले सङ्गठित र पुनर्गठित गर्ने कार्यमा सक्रिय पहलकदमी लिन र ९) नेपालको प्रतिक्रियावादी शक्तिका विरुद्ध वैचारिक आधारमा एकता तथा सहकार्य गर्न ।
माथि उल्लिखित विषयहरूको गहन अध्ययनबाट नेपाली कम्युनिस्ट आन्दोलनको आम कार्यदिशा तय गर्दै माओवादी आन्दोलनलाई क्रान्तिकारी एकताबद्धताका साथ अघि बढाउने महान् उद्देश्यका साथ मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध क्रान्तिकारीहरूको भेलाले कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन गरेको थियो । गठनताकाका कतिपयले पलायनताको बाटो समाते पनि र कतिपय अन्य समूहमा विलय भए पनि मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू माथि उल्लेखित ९ वटा बुँदाप्रतिको आफ्नो अभियानलाई निरन्तरता दिँदै र अन्तर्राष्ट्रिय माओवादी आन्दोलनसित ऐक्यबद्धता कायम गर्दै अघि बढिरहेका छौँ ।
हिजो जनयुद्धको नेतृत्वमा रहेका प्रचण्ड-बाबुरामहरूले गद्धारीको बाटो समातेपछि अब उनीहरू साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूका असली सेवक बनेका छन् । ‘नयाँ शक्ति’ नेपाल गठन गरेका बाबुराम सङ्गठनात्मक रूपमा विसर्जनको स्थितिमा पुगेका छन् भने प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा विलय गराएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा प्रतिक्रियावादी संविधान र संसदीय व्यवस्थाको पक्षमा सपथ खाएका छन् । सारमा प्रचण्ड र उनको पार्टी नवप्रतिक्रियावादमा पतन भएको छ ।
घोषित र परम्परागत प्रतिक्रियावादी शक्तिसित सोझै लड्न जति सहज हुन्छ, ‘लाल झण्डा’ बोकेर मोर्चामा आएको शक्तिसित लड्ने कुरा अलि जटिल हुन्छ । अहिले कम्युनिस्ट वामपन्थी सरकार आदि भनेर नवप्रतिक्रिवादी सरकारले जनतामा भ्रम दिइरहेको छ । लूट, भ्रष्टाचार, राष्ट्रघात र राज्यआतंक यसका विशेषता बनेका छन् । नेपाली जनताले परम्परागत प्रतिक्रियावादीहरू तथा नव प्रतिक्रियावादीहरू दुवैसित एकै पल्ट लड्नु परेको स्थिति छ । एकातिर क्रान्तिकारी शक्तिहरू सङ्गठनात्मक रूपमा कमजोर भएको स्थिति, अर्कोतिर कम्युनिस्ट र वामपन्थ नाम दिएर जनतालाई भ्रम दिइरहेको अवस्थामा एकैचोटि दुवै मोर्चामा लड्ने कुरा जटिल र चुनौतीपूर्ण भए पनि यो नेपाली जनताको अहिलेको वस्तुगत आवश्यकता बनेको छ । नेपालको नयाँ जनवादी क्रान्तिलाई देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूभन्दा दक्षिणपन्थी संशोधनवादीहरूले कम नोक्सान पुर्याएका छैनन् । कतिपय सन्दर्भमा त दक्षिणपन्थीहरूको भूमिका नै प्रधान बनेको छ । यो सत्यलाई पनि हामीले आत्मसात गर्नैपर्ने हुन्छ । यो भनेको इतिहासबाट पाठ सिक्ने र भावी दिशा तय गर्ने कुरा हो ।
नेपालमा मालेमा मान्ने र नयाँ जनवादी क्रान्तिको कुरा गर्ने पार्टी तथा समूहहरूको संख्या पनि कम छैन । तर, कोही अहिलेको सरकार र प्रचण्ड-ओलीको वरिपरि फन्का मारेर आफ्नो अस्तित्व धानिरहेका छन् भने कोही चुनाव आयोगमा पार्टी दर्ता गराएर क्रान्तिकारी हुनुको स्वाङ गरिरहेका छन् र कोही गतिविधिविहीन नाम मात्रमा सीमित छन् । त्यस्तै कोही चाहिं नयाँ जनवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्ति भनेर उट्पट्याङ, अवैज्ञानिक र मार्क्सवादसित मेल नखाने कुरा गरिरहेका छन् ।
यी सबका बीच पनि एउटा मिलनबिन्दु खोज्नु आवश्यक छ ।
यो समय टुटफुटको होइन, एकताबद्धताको हो । यताका तीनचार वर्षको इतिहासले नयाँ पार्टी बनाएर नेता हुन सजिलो छ, तर क्रान्तिकारी, विचार, कार्यदिशा र गतिशील नेतृत्वका साथ अघि बढ्ने कुरा निकै जटिल छ भन्ने कुरा प्रस्ट पारिसकेको छ । समयले ''बुढा", ''युवा" सबैको हबिगत प्रस्ट पारिसकेको छ- छर्लङ्ग देखिने गरी । कम्युनिस्ट पार्टीको सङ्गठनात्मक स्थिति भनेको माओले अघि सार्नुभएको ''एकमा तीन " नै हो, लाल र निपूणको संयोजन हो । यस यथार्थलाई पनि क्रान्तिकारी भन्नेहरूले स्वीकार गर्नु आवश्यक छ ।
सारमा र सङ्क्षेपमा भन्दा अबको एकता अभियान भनेको खासखास पार्टी तथा व्यक्तिहरूबीचको एकता तथा ध्रुवीकरण नभएर सङ्गठनात्मक तथा नेतृत्वकै क्षेत्रमा पुनर्गठन र पुनर्निमाण हो । अहिले कोही पनि खास समूहको नीति, योजना, कार्यक्रम मानेर आँखा चिम्लेर ध्रुवीकृत हुने स्थिति छैन । यसै अर्थमा समयले गम्भीर आत्मसमीक्षा र संश्लेषणको माग गर्छ । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता र सशस्त्र सङ्घर्ष नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् र यसमा टेकेर बहसछलफललाई अघि बढाउने कुरामा नै हाम्रो ध्यान केन्द्रित हुनु आवश्यक छ ।
स्थिति निकै जटिल छ । देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरू वैचारिक र संगठनात्मक दुवै दृष्टिले माओवादी आन्दोलनलाई सिध्याउन चाहन्छन् र यसका लागि अनेक तिकडम गरि पनि रहेका छन् । सही अर्थका माओवादी क्रान्तिकारीहरूको एउटै केन्द्र बनाएर जानुको विकल्प छैन । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अभियान भनेको क्रान्तिकारी माओवादीहरूको साझा अभियान हो । यस पक्षमा गम्भीर हुन क्रान्तिकारी शक्तिहरूलगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायमा कम्युनिस्ट न्युक्लिअस, नेपाल हार्दिक अपिल गर्दछ ।
(संयोजक)
कम्युनिस्ट न्युक्लिअस, नेपाल
भिडियो फिचरview all