menu

ताजा समाचार

जनक्रान्तिको कार्यदिशा भनेको जनयुद्धको कार्यदिशा भन्ने अर्थमा बुझ्दा ठीक हुन्छ : विनोद दाहाल

कम्युनिस्ट पार्टी कसको ? सबैजसोको मुखबाट उत्तर आउँछ— सर्वहाराको । कम्युनिस्ट पार्टीको नेतृत्वमा को हुनुपर्छ ? सर्वहारा, सर्वहारा वर्गको अग्रदस्ताले नेतृत्व गर्छ, गर्नुपर्छ । कम्युनिस्ट पार्टीको विचार के हो ? सर्वहारा वर्गले हिंड्ने बाटो के हो ? वर्गसङ्घर्षको बाटो हो । वर्गसङ्घर्षसँग अनिवार्य रूपमा जोडिएको निर्णायक बस्तु के हो ? सबैको उत्तर हुनसक्छ — जनसेना । सर्वहारा वर्गको बिचार र दृष्टिकोण के हो ? उत्तर हुन्छ— राज्य र वर्गको अन्त्य गर्नु हो । पार्टीको नेतृत्व र कार्यदिशा मिल्नुपर्छ कि पर्दैन ? बिचार र व्यवहार मिल्नु पर्छ कि पर्दैन ? के यो सान्दर्भिक प्रश्न छ ? अवश्य पनि यो पार्टीमा अल्झिरहेको र समस्यामा रहेको विषय हो । यसलाई तालमेल मिलाउन केही वर्ष पहिला नेकपाको नेतृत्व गर्ने विप्लवको नेतृत्वमा धरानमा एउटा राष्ट्रिय भेलामार्फत समाधानको प्रयास गरिएको थियो । त्यहाँ निष्कर्षनिश्कर्ष निकालियो— कम्युनिस्ट पार्टी मार्क्सवादलाई आत्मसात गर्नेहरूको हो । विप्लव नेतृत्वको दाबि के छ भने सोहीअनुसार पार्टीको कार्यदिशाको निर्धारण गरिएको छ । फेरि पनि उक्त पार्टी नामबारे प्रश्न उठिरहेको छ । मार्गदर्शन र कार्यदिशा बहसमै छ । र, पार्टी फोरेर बनेको उक्त गुटको औचित्यबारे प्रश्न उठिरहेको छ । यस्तैगरी अन्य कम्युनिस्ट समूहहरूबारे पनि कार्यदिशालगायत अन्य विषयहरूमा प्रश्न उठिरहेका  छन् ।

नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको नेतृत्वमा मानिस पुग्ने तरिका अवैज्ञानिक छ । र, त्यस्ता नेतृत्वकै कारण वर्गले पटकपटक घात व्यहोरेको छ । घटना विशेषले नेतृत्वमा पुग्ने र पछि उनीहरूमा अवसरवाद पलाउने गरेको छ । सम्पति मोह नेपालका कम्युनिस्ट नेतृत्वको समस्या हो । सम्पतिको स्वामित्व जति वर्ष नेतृत्वमा हुँदा पनि नगुमेको हुने र सम्पतिका लागि अवसर मिल्नासाथ आन्दोलनलाई गलत बाटोमा डोर्याउने समस्या छ । त्यसपछि आन्दोलनलाई विसर्जजनवादमा पुर्याउने क्रम दोहोरिइरहेको छ । यस्ता नेतृत्वबाट निष्ठावान र आलोचक कार्यकर्ता उत्पादन हुन सक्दैनन्, जुनचाहिं  पार्टीलाई सही दिशामा लैजाने महत्वपूर्ण शक्ति हो । यो वर्गइमानदारीमा देखिएको समस्या हो । वर्गप्रति इमानदार नहुनु कम्युनिस्ट पार्टीको नेतृत्वमा देखिएको समस्या हो । यस्ता नेतृत्वबाट वर्गमोह र वर्गघृणाको भाव पैदा हुँदैन र आन्दोलन संझौतामा पुर्याएर टुङ्याइन्छ, जति नै सही कार्यदिशा भए पनि सृजनात्मकताका नाममा छोडिन्छ र वर्गलाई घात गरिन्छ । यस्ता सर्वहारा वर्गको आन्दोलनमा  विजातीय तप्काको नेतृत्व कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्नै नसक्ने बिधि र प्रक्रियाको विकास गर्नु जरुरी छ ।

कम्युनिस्ट आन्दोलनमा माओको महत्त्वपूर्ण भनाइको प्रयोग बिचित्रको रूपमा आउने गरेको छ, त्यो के हो भने ''राजनीतिक वैचारिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ ।" यस भनाइलाई उग्र वामभडकाउ प्रवृत्तिका बीचमा  पनि प्रयोगमा आएको देखिन्छ भने अनेक थरिका संशोधनवादीहरूले पनि यस भनाइको प्रयोग गर्ने गरेका छन् । अवसरवादीहरूले पनि प्रयोगमा ल्याएकाले यसबारे  मालेमावादीहरूले यसलाई स्पष्ट पनुपर्ने देखिन्छ । पार्टीको स्वामित्व, सङ्गठनात्मक संरचना, सम्पूर्ण नीति, योजना र कार्यक्रम सर्वहारा अधिनायकत्वअन्तर्गत मात्र लागु हुन्छ भन्ने सर्त भुल्न हुँदैन । माओको यो भनाइ यसै मान्यतामा आधारित छ । यो सर्वहारा वर्गीय हस्तक्षेप र सचेत पहलबाट जनक्रान्तिहुने युग हो भन्नेबारे सँधै हेक्का राख्नुपर्ने समय हो । कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने जनक्रान्तिको कार्यदिशाबारे बहस गर्दा उपरोक्त विषयहरूमा पनि ध्यान दिनु जरुरी छ ।

जनक्रान्ति जनयुद्धमार्फत मात्र हुन्छ । त्यसैले जनक्रान्तिको कार्यदिशा भनेको जनयुद्धको कार्यदिशा भन्ने अर्थमा बुझ्दा ठीक हुन्छ । जनयुद्ध कस्तो खालको गर्ने भन्ने सवाल नै जनक्रान्तिको कार्यदिशा हो । दीर्घकालीन, अल्पकालीन वा मध्यकालीन भनेर जनयुद्धको विषयमा छलफल भैरहेको छ । सहरबाट जनराज्यसत्ताका  भ्रुणहरू विकसित गर्दै केन्दीय सत्ता कब्जा गर्दै देशव्यापी सर्वहारा अधिनायकत्व लागु गर्न पुग्ने कि गाउँहरू  कब्जामा लिंदै अन्ततः केन्द्रीय सत्ता कब्जामा लिएर सर्वहारा अधिनायकत्व लागु गर्ने भन्ने सवाल पनि कम्युनिस्ट आन्दोलनमा बहस भइरहेकै छ । जनक्रान्तिको नेतृत्व सर्वहारा वर्गले हो कि मजदुरले वा मजदुर किसान सङ्गठित गरेर गर्ने वा समाजका अन्य शोषितपीडितहरू जम्मा गरेर जनक्रान्ति गर्ने हो ? यो पनि बहसमा नै छ । एक हुल सचेत समूहले छापामार तरिका अंगालेर र कब्जा पो गर्ने हो कि भन्ने पनि आन्दोलनमा प्रयोगमा आयो । कम्युनिस्ट पार्टी कसको  हो ? यसको स्वामित्वको विषय पनि कम्युनिस्ट आन्दोलनमा बहसमा छ । पार्टीको नेतृत्व गर्नेको आर्थिक स्वामित्वबारे सँधै बहस हुने गरेकोले पार्टीको स्वामित्वको बहस प्रबल बन्ने गरेको छ । कम्युनिस्टले अंगाल्ने जनक्रान्तिको कार्यदिशा जनसेनासहितको हुन्छ । यो सर्वहारा वर्गको विचारले निर्देशन गरेको सचेतपहलबाट हुन्छ । त्यसैले प्रतिक्रियावादी राज्यव्यवस्था विरुद्धका गतिबिधिहरूलाई वर्गसङ्घर्षको रूपमा उठाउने कुरालाई अनेकौं बहानामा टार्दै जान्छन् भने ती पनि कम्युनिस्ट होइनन् ।

मार्क्सवादको सार पक्ष त्यागेर नयाँ सृजनात्मकताका नाममा गोलचक्कर लगाइरहन्छन् भने, ती पनि कम्युनिस्ट हुन सक्दैनन् ।

अहिले नेपालमा जनक्रान्तिको कार्यदिशाबारे छलफल गर्ने स्थितिका केही राजनीतिक पार्टी तथा सङ्गठनहरू  छन् । आहुतिको नेतृत्वमा मार्क्स जयन्तीको दिन पारेर नयाँ कम्युनिस्ट पार्टीको गठन भएको छ । आफ्नो पार्टीको कार्यदिशासहितको दस्ताबेज  सार्वजनिक गरेर पार्टी संगठन नै सार्वजनिक गरेका छन् । माके र एमालेको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि अव नेपालमा अन्य कम्युनिस्ट पार्टी भन्नेहरू निम्नअनुसार रहेका छन्— नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (माले), नेकपा (मार्क्सवादी), नेमकिपा, नेकपा (ऋषिराम कट्टेल), कम्युनिस्ट न्युक्लियस नेपाल, नेकपा (माओवादी) पुनर्गठन अभियान नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माके) पुनर्गठित, सर्वहारावादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (चेवादी) । अन्य केही वैधानिक मोर्चा चित्रवहादुर र सिपि गजुरेलको नेतृत्वमा छन् । पार्टीमा प्रचण्ड र बाबुरामको कम्युनिस्ट नेतृत्व अब हराएको छ । । मूल कुरा कार्यदिशा नै हो।  तर कम्युनिस्ट पार्टी भनिएका यी अधिकांश पार्टीहरू जनगणतन्त्र स्थापनाका लागि जनक्रान्तिको कार्यदिशाबारे बहस गर्न तयार छैनन् ।

कार्यदिशाको बहस आहुतिले अघिसारेपछि उत्पादन सम्बन्धमा व्यापक परिवर्तन आएको कुरा र विज्ञान प्रविधिको प्रमुख भूमिका आएको कुरा आएपछि राजनीतिक अर्थशास्त्रका ज्ञाता प्रा.रमेश शर्मा भन्नुहुन्छ : “विज्ञान र प्रविधिको विकासले कम्युनिस्ट आन्दोलनलाई साम्यवादको निकट पुर्याउन खेलेको भूमिकालाई लुकाउने असफल प्रयास गर्दै साम्राज्यवादी चिन्तन बोकेका बुद्धिजीवीहरूले यसलाई राजनीतिक रङ्ग दिएर मार्क्सवादको विरोधमा उपयोग गर्न खोज्दैछन् । अर्कोतर्फ कम्युनिस्ट आन्दोलनबाट थाकेर पलायन भई साम्राज्यवादी र विस्तारवादीहरूको सेवामा समर्पित भएका नामधारी कम्युनिस्टहरू प्रविधिमा आएको विकासले मार्क्स, लेनिन र माओद्वारा स्थापित आधारभूत मान्यताहरूका विरुद्ध विषबमन गर्दै नयाँ बाटोको खोजी गर्ने कुरा गर्दछन् ।” क्रान्तिको कुरा गर्ने  कम्युनिस्ट पार्टीहरूले आधिकारिक रूपमा यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यसबाट बहसका लागि कम्युनिस्ट पार्टीहरू  तयार भइरहेका छैनन् भनेर भन्न सकिन्छ ।

आहुतिले अघि सारेको कार्यदिशाको विषयमा नेकपा विप्लवका एकजना कार्यकर्ता प्रज्वल श्रेष्ठको भनाइ छ:'' अहिले केही बुद्धिजीवी र नेताहरू प्रविधि र क्रान्तिका विषयमा बहस गरिरहेका छ्न । मेरो विचारमा प्रविधिको विकासले नै समाजवादी क्रान्तिको नजिक हामी पुगेका छौं । चीनमा त रोबर्टको प्रयोगले साम्यवाद सम्भव छ भन्ने बहस सुरु भएको छ । हामी यसमा अल्मलिने हैन, क्रान्तिको कार्यभार पुरा गर्न लाग्नु पर्यो । यति बुझौं सबै प्रविधिको बविकास मानिसले गरेको हो । यसको उपयोग केवल मानिसले गर्छ । त्यस्तैगरी अर्का पात्र महादीप पोखरेलको भनाइ छ :  “साम्यबादबारे बिज्ञान (टेक्नोलोजी) को बिकासले मानव समाजलाई साम्यवादको नजिक पुर्र्याएको छ । यसमा  पुँजीवादले नराम्रो गरेको छैन, आवश्यकता पोलिटिकल कमान्डको हो, जहाँ आफूलाई कम्युनिस्ट भन्नेहहरू चुकेका छन् । विज्ञानका सफल आविष्कार पनि कयौं  असफल प्रयोग र अनुसन्धानको नतिजा हो । फेरि मानवसमाजको इतिहासमा कम्युनिस्टहररूको इतिहास पनि जम्मा १७०वर्षको  त हो । यसको सट्टा पुँजीवादले लगभग १००० बर्षको इतिहास पार गरेको छ । टेक्नोलोजीको विकासमा पुँजीवादी सत्ताले जति विकास गरे पनि त्यसको  न्यायोचित वितरणमा यो कहिल्यै सफल हुदैन,त्यसैले यो राजनितिक  रुपमा असफल भई छाड्छ । साम्यवादको दिशा सुनिश्चित छ । अनेकौं प्रयास र असफलताका बाबजुद पनि मानवसमाजको आगामी पुस्ताले सफल आविष्कार गरि छाडछन् । अहिले भनिएका कम्युनिस्टहरूको असफलता, पलायन जस्ता विषयहरु इतिहासको कडीभित्रका सामान्य परिघटनाहरू हुन् । जसरी अहिलेसम्मको इतिहास निर्माण भएको छ, विज्ञानका आविष्कारहरू  भएका छन्, त्यसरी नै साम्यवादको भविष्य  पनि सुनिश्चित छ ।

किरण समूहका एकजना कार्यकर्ता लिला पौडेलका अनुसार आहुतिले पुष्पकमलकै कार्यदिशा अघि सारेका हुन् । पुष्पकमल उक्त कार्यदिशामा अडिन नसकेपछि पनि आहुतिले नयाँ आवणमा उक्त कार्यदिशा अघि सारेका कुन्, अरू  केही हैन । अन्य केही कोणबाट पनि आहुतीको कार्यदिशाबारे प्रचिक्रिया दिएका छन् , तर अवैज्ञानिक र आदर्शवादी कोणबाट आएका छन् । खासमा आहुतिले इतिहासको भौतिकवादी व्याख्याको माध्यमबाट आफ्ना तर्कहरू राखेका छन् । समाजशास्त्रीय अध्ययनको पाटोबाट उक्त दस्ताबेजज अध्ययन गर्नलायकको बनाए पनि उनले सर्वहारा वर्गको विचार र सचेत पहललाई दोश्रो स्थानमा राख्ने गल्ती गर्न पुगेका छन् । विज्ञान प्रविधि, भौतिक संरचनाको निर्माण र शोध तथा अनुसन्धानले शोषकको संख्यामा कमी र शोषितको बढोत्तरि भइहेको र यसले जनक्रान्तिको वातावरण झन सहज बन्दैगएको कुरालाई चटक्कै बिसेर अर्को बाटो देखाउने कार्यले सर्वहारा वर्गको सेवा उक्त दस्ताबेजले गर्न नसक्ने स्पष्ट छ ।

 कार्यदिशासँग पार्टी नाम र उदेश्य पनि जोडिएको हुन्छ । पार्टी नाम पनि सबैजस्ता पार्टीहरूको मिलेको छैन, विवादमा छन्, नामहरू पनि । यसबारे कट्टेलजीको प्रतिक्रिया हेर्न लायकको देखिएको छ, तर उनी आफैं उक्त समस्यामा फसेका छन् । अहिल्र्को समयमा माओवादी नभई कम्युनिस्ट हुनुको दाबि गर्न नै मिल्दैन । बहसमा जाँदा हुन्छ । नेपाल कमुनिस्ट पार्टी (नेकपा) चाहिं कम्युनिस्ट पार्टी हुँदै होइन । अवसरवादी संसदीय पुँजीवादी पार्टी हो, फासिवादी दलाल पार्टी हो । नाम चाहिं कम्युनिस्ट राखेका छन् । यस्तै अवस्थामा छन्, सबैजसो कम्युनिस्ट पार्टीहरू ।

२०७५ असार २७

(लेखक, नेकपा (माओवादी) पुनर्गठन अभियान नेपालको संयोजक हुनुहुन्छ l)
भिडियो फिचरview all