
नेकपा (मसाल) र नेकपा-बिप्लवबीच मुठभेडको स्थिति: मोहनविक्रम समूहले नेकपासामु आत्मसमर्पण नगर्ने

वक्तव्यमा भनिएको छ :
“का.बिप्लवको नेतृत्वको नेकपासँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले यही २०७५ जेष्ठ ७ गते झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सी.लाई पठाएको पत्रप्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । त्यो पत्रमा झिम्रुक गाउँपालिकाका तिलक जि.सी.लाई तत्काल आफ्नो पदबाट राजिनामा दिन अल्टिमेटम दिँदै त्यसो नगरेमा जनकारवाही समेत गर्ने चेतावनी दिइएको छ ।
यहाँ हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि झिम्रुक गाउँपालिकाको चुनावमा तिलक जि.सी. ने.क.पा. (मसाल)को नजिकको राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो र विजयी बन्नुभएको थियो । अहिले नेकपाले तिलक जि.सी.लाई दिएको धम्की र चेतावनीलाई ने.क.पा. (मसाल) ले गम्भीर रूपमा लिन्छ र त्यसको कडा शब्दमा भ्रत्सना गर्दछ । ”
नेकपा (मसाल) ले चेतावनी फिर्ता लिन चेतावनी दिँदै भनेको छ :
“ राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रतिनिधिलाई “तपाईं पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हुँदा” भन्ने भनाइलाई हामीले पूरै गलत मान्दछौँ र तीव्र शब्दमा त्यसको विरोध गर्दछौँ । त्यसका साथै हाम्रा कुनै प्रतिनिधिका विरुद्ध अपनाइने त्यस प्रकारको चेतावनीलाई तुरुन्त फिर्ता लिनका लागि हामीले उनीहरूलाई चेतावनी दिंदै त्यस प्रकारको कुनै कारवाही गरिएमा त्यसको कडा प्रतिरोध गर्ने समेत चेतावनी दिन्छौँ ।"
नेकपा (मसाल) ले अबका दिनमा नेकपा-विप्लवसित कुनै पनि किसिमको सहकार्य हुन नसक्ने भनेर पनि वक्तव्यमा उल्लेख गरेको छ :
''गत बैशाख ४ गतेको एउटा संयुक्त कार्यक्रममा परस्परमा सहमति भएका विषयहरूमा मात्र आफ्ना विचारहरू लैजाने भन्ने सहमति भएकोमा उनीहरूले त्यो सहमति वा आचार संहितालाई उल्लङ्घन गरेकोले हामीले उनीहरू समेतसित त्यस प्रकारको कार्यगत एकता वा औपचारिक भेटघाट समेतलाई स्थगित गरेका थियौँ । तर गत जेष्ठ १५ गते उनीहरू समेतसित बसेको अनौपचारिक बैठकमा हामीले ४ गते उनीहरूले आचार संहिताको उल्लङ्घन गरेको विषयमा समेत पुनरावलोकन गरेका थियौँ । त्यो बैठकमा का. बिप्लवको नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक गतिविधिहरू सञ्चालन गरेको हुनाले र हाम्रो पक्षका कतिपय गाउँपालिकाहरूमा समेत कारवाही गर्ने धम्की दिने गरेकाले उनीहरूसित कार्यगत एकतामा समस्या पैदा भएको कुरा पनि बताएका थियौँ । उनीहरूसित पुनः बैठक गरेर उक्त विषयहरूमा समझदारी बनाउने ठेगान भएको थियो । अहिले उनीहरूले झिम्रुक गाउँपालिकाका अध्यक्षलाई चेतावनी दिएर पठाएको पत्र नै प्राप्त भएको हुनाले हामीले नेकपासित कुनै भेटघाट नगर्ने र उनीहरूसित कुनै कार्यगत एकता पनि नगर्ने निर्णय गरेका छौँ ।"
त्यसै गरी वक्तव्यमा अगाडि भनिएको छ :
''नेकपाको स्थानीय तहका जनप्रतिनिधिहरूलाई खारेज गर्ने नीतिसित हाम्रो मौलिक विरोध रहेको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यसका साथै उनीहरूमाथि गरिने कुनै पनि प्रकारको जोरजर्वजस्ती वा बलप्रयोगको कारवाही हामीलाई सह्य हुने छैन । हाम्रो पार्टीको सबै प्रतिक्रियावादी र विभिन्न दक्षिणपन्थी वा उग्र“वामपन्थी”हरूका दमन, हत्या, गुण्डागर्दी, आतङ्क समेतका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको गौरवपूर्ण इतिहास छ । त्यस प्रकारको पृष्ठभूमिमा नेकपासित सम्बन्धित जनपरिषद्ले दिएको कुनै धम्कीका अगाडि हामीले कुनै आत्मसमर्पण नगर्ने र उनीहरूले त्यस प्रकारको कुनै कारवाही गर्ने प्रयत्न गरेमा त्यसको दृढतापूर्वक सामना गर्ने कुराको पनि हामीले घोषणा गर्न चाहन्छौँ ।"
वक्तव्यमा थुप्रै विवादास्पद भनाइहरू छन्। तलका भनाइले मसाल समूहको मार्क्सवादप्रतिको बुझाइप्रति नै शङ्का उत्पन्न हुन्छ :
''राज्यले आतङ्क मच्चाएको नाममा उनीहरूले (नेकपाले) पुनः कुनै पनि प्रकारले आतङ्क मच्चाउने नीति अपनाएमा त्यसको पनि हामीले कडा शब्दमा विरोध वा भ्रत्सना गर्ने हाम्रो नीति हुनेछ र उनीहरूसित आफ्ना त्यस प्रकारका सबै गतिविधिहरूलाई बन्द गर्नका लागि मैत्रीपूर्ण अनुरोध गर्दछौँ ।"
राज्यले दमन गर्दा जनता र जनताको प्रतिनिधित्व गर्ने पार्टीहरूले प्रतिरोध गर्छन् । सरकारले मच्चाउने राज्यआतङ्क र जनताले गर्ने प्रतिरोध आतङ्क फरकफरक कुरा हुन् ।कुनै पनि मार्क्सवादीले राज्यआतंक र प्रतिरोध अभियानलाई समान ठान्दैन । मोहनविक्रमले स्वेतआतङ्क र लाल आतङ्कलाई एउटै तहमा राखेर आफ्नो र आफ्नो पार्टीको राज्यसत्तासम्बन्धी धारणा प्रस्ट पार्नुका साथै वर्तमान सरकारप्रतिको भक्तिभावलाई पनि राम्रोसित उजागर गरेका छन् ।
भिडियो फिचरview all