ताजा समाचार
क्रान्तिकारीहरूबीच एकताका लागि कार्यकर्ताहरूको दबाब
नवप्रतिक्रियावादमा पतन भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गर्ने भनेर दुई पार्टीबीच सहमति भएदेखि नै उनीहरूले फिँजाएका भ्रमबाट जनतालाई मुक्त पार्न छरिएर रहेका क्रान्तिकारी शक्ति तथा व्यक्तिहरूबीच एकता तथा ध्रुवीकरणको प्रक्रिया अघि बढाउनु पर्ने “अनिवार्य आवश्यकता” लाई ध्यान दिँदै केही समूहबीच सहकार्यको थालनी पनि भएको थियो र सहकार्य गर्ने भनेर हस्ताक्षर गरेबाहेकका समूह तथा व्यक्तित्वहरूबीच पनि प्रत्यक्ष र परोक्ष किसिमले कुराकानी र छलफलहरूको थालनी भएको थियो ।
एकता भएको खण्डमा आफूले खाईपाई आएको मौजा गुम्ने हो कि भनेर भयभित हुनेहरू तथा एकता भएपछि आफ्नो भूमिका के हुने हो भनेर अस्तित्व चिन्ताले चिन्तित भएकाहरूबाहेक, त्यसमा पनि हरेक समूहका तल्लो तहका नेता तथा कार्यकर्ताहरू एकताको पक्षमा बढी उत्साहित देखिएका थिए । कमरेड किरणको नेतृत्त्वमा प्रचण्डसित सम्बन्ध विच्छेद गरेर आएका र विभिन्न कारणबस पछि सामूहिक तथा व्यक्तिगत रूपमा सम्बन्ध विच्छेद गरेका शक्ति तथा व्यक्तित्वहरू एकै ठाउँमा केन्द्रीकृत हुनुपर्ने कुरामा कार्यकर्ताहरूको विशेष जोड थियो । जनयुद्धको विरासतसित जोडिएकाहरूबीच सहमति भएपछि नै जनयुद्ध बेठीक थियो, माओवाद होइन, माओ विचारधारा भन्नेहरूसित एकता र सहकार्यको पहल गर्नुपर्ने धारणा एकताप्रति उत्साहित अधिकांश नेता तथा कार्यकर्ताहरूको थियो र अहिले पनि यथावत छ ।
खासगरेर नेकपा (क्रान्तिकारी माओवादी) को पोखरा सम्मेलनको सेरोफेरोमा यसलाई गति दिने काम भएको थियो । परन्तु, नेकपा (क्रान्तिकारी माओवादी) ले “चुनाव उपयोग” को नीति लिएपछि एकता र सहकार्यको वातावरण बिग्रेको थियो र चुनाव सकिएपछि माओ दिवसको सेरोफेरोमा यसले पुनः गति लिएको थियो । यसैक्रममा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-विप्लवबीच “अनिवार्य एकता” को अवधारणा सार्वजनिक भएको थियो र नेकपा (क्रान्तिकारी माओवादी) को पोलिटब्युरोले “छरिएर रहेका क्रान्तिकारी समूह तथा व्यक्तित्वसित एकता र ध्रुवीकरणको प्रक्रिया अगगाडि बढाउने” भनेर निर्णय गरेको थियो ।
केही समयसम्म सहकार्य गरेसँगै एकताका आधार खोज्दै जाने भनेर सहमतिमा हस्ताक्षर गरेका “चार समूह” बीचमै आधारभूत वैचारिक-राजनीतिक पक्षमै मतभेद देखा पर्नथाल्यो र अघोषित रूपमा यो सहकार्य तोडिएर उनीहरू एक्लाएक्लै हिँडेको स्थिति देखियो । मोहनविक्रमबाहेक अरूले सहकार्य विथोलिनुका पछाडि निहित कारण प्रस्ट नपारे पनि एक हिसाबले यो प्रस्ट नै थियो । मोहनविक्रमले घोषितरूपमै एमाले-माओवादीलाई मित्र शक्ति ठानेको र नेकपा-बिप्लवले एकता होइन, ध्रुवीकरण भन्दै अरू शक्ति र व्यक्तिहरू आफ्नो समूहमा मिसिन आउनुपर्ने गैरमार्क्सवादी चिन्तन र एक्लेवीर प्रवृत्ति प्रदर्शन गरेपछि सहकार्य र एकताका लागि नेकपा (क्रान्तिकारी माओवादी) ले गरेको प्रयासले मूर्त रूप पाउने स्थिति बन्न सकेन । मोदी-ओली राष्ट्रघाती प्रकरणजस्तो गम्भीर मुद्धामा पनि “चार पार्टी” सँगै जान सक्ने स्थिति बन्न सकेन ।
मार्क्सवाद-लेनिनवाद-माओवादलाई मार्गनिर्देशक सिद्धान्त मानेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउने, बलपूर्वक सत्ता प्राप्तिको मान्यतालाई आत्मसात गर्ने, जनयुद्धको गरिमामय इतिहासप्रति गौरव गर्ने र त्यसको मूल्यप्रति प्रतिबद्धता जनाउनेहरूबीच बहस छलफलको क्रमलाई निरन्तरता दिँदै क्रान्तिकारी कार्यदिशाका आधारमा एकताबद्ध हुनुपर्ने यथार्थ अहिलेको यथार्थ हो । माके र एमालेबीच पार्टी एकता भएपछि यो आवश्यकता अनिवार्य आवश्यकतामा फेरिएको कुरा पनि अहिलेको यथार्थ हो । आवश्यकता स्थितिको गम्भीरताबोध गर्नुसित रहेको छ ।
मोहनविक्रमले नेतृत्व गरेको समूहसित एक हिसाबले कित्ताबाट भइसक्यो । कम्युनिस्ट न्युक्लिअस, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी) ले नवप्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै एकता र सहकार्यमा जोड दिएका छन् । माकेबाट विद्रोह गरेर समूह बनाएकाहरूमा वैचारिक-राजनीतिक अन्योल देखिए पनि उनीहरूलाई सही दिशाबोध गर्दै ध्रुवीकृत गराउनु पर्ने दायित्वप्रति कम्युनिस्ट न्युक्लिअस, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी) गम्भीर हुनु आवश्यक छ ।
यो टिप्पणी तयार पार्दासम्म नेकपा-विप्लवबाट कुनै प्रतिक्रिया आएको नपाइए पनि त्यससित सम्बद्ध जिल्ला तहका नेतादेखि कार्यकर्तासम्मले पनि माके-एमालेको एकताले प्रतिक्तियावादी कित्ता बलियो भएकाले क्रान्तिकारीहरूबीच एकता हुनुपर्छ भन्दै “क्रान्तिकारी वामहरू एक होऔँ” भनेर सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका छन् । कार्यकर्ताको भावनालाई नेताहरू त्यसमा पनि नेकपा-बिप्लवका नेताहरूले गम्भीरताका साथ लिने नलिने कुरा सो समूहका नेताहरूको कुरा हो ।
स्थिति हेर्दा समय सहज किसिमले अघि बढ्ला जस्तो लाग्दैन । बहुमतीय सरकारका नाममा, अब एउटा मात्रै कम्युनिस्ट पार्टी रहनुपर्छ भन्ने नाममा प्रचण्ड-ओली नेतृत्वको पार्टीले क्रान्तिकारी शक्तिहरूलाई प्रधान बाधक शक्ति ठानेर दबाउनका लागि साम, दाम, दण्ड, भेदको व्यवहार नगर्ला भन्न सकिँदैन । फासिवादी अभ्यासको डरलाग्दो सङ्केत देखिन्छ । क्रान्तिकारी शक्तिहरूप्रति आस्था राख्ने जनता र क्रान्तिकारीहरू एकै ठाउँ उभिनु पर्छ भन्ने धारणा राख्ने कार्यकर्ताहरूको भावनालाई आत्मसात गर्ने कि नगर्ने भन्ने प्रश्न नै अहिलेको जीवन्त प्रश्न हो । यस्तो बेला क्रान्तिकारी शक्तिहरू एकताबद्ध र ध्रुवीकृत भएर क्रान्तिकारी केन्द्र निर्माणको दिशामा अघि बढ्नु नै क्रान्तिकारी झण्डा रक्षाको बाटो हो ।
भिडियो फिचरview all