
नेकपा (क्रान्तिकारी माओवादीको ) को अपिल

एमाले र माकेबीच भएको एकताका सन्दर्भमा आफ्नो पार्टी सम्बद्ध अनलाइनमा प्रतिक्रिया दिंदै नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता तथा 'देजमो' का अध्यक्ष सिपि गजुरेल भन्छन् :
''यो एकतालाई प्रतिक्रियाबादी सत्तालाई बलियो बनाउनका लागि गरिएको एकता हो । माओवादी केन्द्रका साथीहरू अब एमालेसँग एकता हुँदैन भन्दै थिए । अध्यक्षले एमालेसँग एकता नगर्ने स्ट्यान्ड लिइसक्नुभयो भन्दै थिए । तर, अब ती साथीहरुको पनि भ्रम साफ भयो । उनले पार्टीलाई एमालेमा लगेर बिलय गराइछाडे ।अब एमालेसँग एकतामा नजाने साथीहरू र हाम्रो पार्टीबीच पनि एकता हुन्छ । एमालेमा नगएका कांग्रेसमा जाने कुरा भएन, राप्रपामा जाने कुरा भएन, अब हुने भनेकै क्रान्तिकारी शक्तिहरूको ध्रुवीकरण र एकता हो ।"
त्यसै गरी नेकपा (क्रान्तिकारी माओवादी) प्रवक्ता तथा स्थायी समिति सदस्य हरिभक्त कँडेलले आज एक वक्तव्य जारी गर्दै माके र एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी नेता कार्यकर्तादेखि समर्थक जनतासम्मलाई नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारमा ध्रुवीकृत हुन अपिल गरेका छन् । वक्तव्यमा भनिएको छ : ''प्रतिक्रियावादी बाटो पकडिसकेको दक्षिणपन्थी संशोधनवादीहरुको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते/अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेनालगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन नेकपा (क्रान्तिकारी माओवादी) हार्दिक अपिल गर्दछ ।"
वक्तव्यको पूर्णपाठ यस्तो छ :
देशमा दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अघि बढ्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र जनसंघर्ष र दशवर्षे जनयुद्ध भए । परिवर्तनका यी सबै महान प्रक्रियामा जनताका हजारौं छोराछोरीले सहादत प्राप्त गरे, हजारौं वेपत्ता पारिए, कैयौं योद्धाहरु घाइते÷अपाङ्ग बनाइए । परन्तु, आन्दोलन तथा जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो । फलतः पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ । त्यसैको पछिल्लो कडीको रुपमा माके–एमालेले एकताको तथाकथित नाटक मञ्चन गरेका छन् । मालेमावाद र जनयुद्धको विचार, आदर्श र मूल्य मान्यतालाई परित्याग गरिसकेको माके आजैबाट औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको छ ।
प्रतिक्रियावादी बाटो पकडीसकेको दक्षिणपन्थी संशोधनवादीहरुको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते÷अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेना लगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन नेकपा (क्रान्तिकारी माओवादी) हार्दिक अपील गर्दछ । माके र एमालेभित्र रहनु भएका देशभक्त तथा क्रान्तिकारी साथीहरु ! यो कथित वाम एकताविरुद्ध आवाज उठाउनुहोस् र आफ्नो विद्रोही भावना र अभिमत जाहेर गरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने ऐतिहासिक तथा महान प्रक्रियामा अघि बढ्ने अठोट गर्नुहोस् । आउनुहोस्, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महासमरमा सामेल हुने प्रतिबद्धता जाहेर गरौं ! संसदवादी तथा दक्षिणपन्थी संशोधनवादीहरुको कथाकथित एकता प्रक्रियालाई निस्तेज पार्दै नयाँ जनवादी क्रान्तिको तयारी र समग्र क्रान्तिको प्रक्रियालाई घनिभूत पारौं ! भविष्य क्रान्तिकारीहरुकै हातमा छ । क्रान्तिकारी अभिवादन सहित !
भिडियो फिचरview all