menu

ताजा समाचार

ओली-मोदी गठबन्धन र क्रान्तिकारी शक्तिहरू

डा. ऋषिराज बराल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै मुलुकको कुनै राज्यको भ्रमण सकेर फर्केझैँ बडो रजगज र सानका साथ फर्किए । जे गर्न उनी आएका थिए, नेपालका उनका भक्तहरूले त्यो पूरा गरिदिए । सरकारले उनको भ्रमण “सफल” भनेर घोषणा गरिसक्यो । पत्रपत्रिकामा भने जनकपुरदेखि मुक्तिनाथसम्मका सन्दर्भहरू अहिले पनि टिप्पणीका विषय बनेका छन् ।  यो देशलाई माया गर्नेहरू,  राष्ट्रिय स्वाधीनताप्रति समर्पितहरू र क्रान्तिकारीहरू गम्भीर हुने नै भए,  ओलीको लम्पसारवादका विरुद्ध सामान्य नागरिक पनि सडकमा निस्किएका छन् । ‘२ नम्बर प्रदेश’ र ''नागरिक अभिनन्दन" सित जोडिएका गम्भीर प्रसङ्ग र प्रकरणपछि “सङ्घीयता चाहिँदैन, देश टुक्रयाउन पाइँदैन” जस्ता नारा लागेका छन् । नाकाबन्दीको समय “ना” पनि उच्चारण नगर्ने सबैभन्दा बढी लम्पसारवादी शक्तिहरू नेपाली क्राङ्ग्रेस र मधेसवादी भनेर चिनाउने  नेताहरू चर्को राष्ट्रवादको ढोल पिटिरहेका छन् । काङ्ग्रेसीहरू  ओलीको घुँडामा भ्वांग परेको कुरा उठाइरहेका छन् र उपेन्द्र यादवहरू  चर्को राष्ट्रवादी बनेर  पोशाकको नारा उछालिरहेका छन्  । ओलीले समाचार र टिप्पणीका लागि गजबको सामग्री प्रदान गरेका छन् ।

कर्नाटकको चुनावलाई प्रभावित पार्ने गरी ओलीको भ्रमण तिथिमिति तारतम्य उतैबाट तोकिनु, जानकी मन्दिरका नाममा २ नम्बर प्रदेशलाई केन्द्र बनाउनु, पटनाबाट आउने भनेर सोझै दिल्लीबाट आउनु, नेपालको सुरक्षा निकायप्रति अविश्वास गरेर आफ्नै मुलुकको प्रान्तझैं गरी जनकपुरदेखि मुक्तिनाथसम्म भारतीय सैन्य कमान्डोको तामझाम देखाउनुले प्रश्न उठाएकै थिए, जनकपुरको “नागरिक अभिननन्दन” प्रकरण, नेपालका पत्रकारहरूमाथि दुर्व्यवहार र छापामार शैलीमा गरिएको ‘अरूण तेस्रो” को उद्घाटन कार्यक्रमले थप प्रश्न उठाउनु स्वाभाविक थियो । नेपालको झण्डाको बेइज्जत र कार्यक्रमस्थलमै '' स्वतन्त्र मधेस'' को ब्यानर र नारा लाग्नु सबै कुरा एकैचोटि भएका थिए ।

नागरिक अभिनन्दनका नाममा जनकपुरमा जेजस्तो परिदृश्य देखियो,  यो साँच्चिकै गम्भीर प्रकृतिको थियो । ओलीको पहिरन, नेपाली झण्डाको बेइज्जती, '' स्वतन्त्र मधेस" को नारा र ब्यानर प्रदर्शनका साथै  २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबुको भाषण र भारतीय जनता पार्टीका बिहारी नेता कीर्ति आजादको कथन सबै पूर्वनियोजित शृङ्खलाका उपजका  रूपमा देखापरे  ।  सिङ्गो परिवेश र कार्यक्रम भारतीय योजना र तजबिजमा भइरहेको छ झैँ बोध हुने वातावरण बनाइएको थियो । ओली मार्काका दलालहरूलाई खासै फरक नपर्ला,  कतै पनि नदुख्ला, तर नाकाबन्दीमा भोकै मर्न, तर झुक्न तयार नभएका नेपाली जनता, यो देशको सार्वभौम सत्ता र अखण्डताप्रति चिन्तित नेपाली नागरिकका  लागि “मोदीको अभिनन्दन” सित जोडिएर आएका सन्दर्भहरूले ठूलो पीडा दिएका छन्  । जितेका नेपालीलाई ओली र लालबाबुजस्ता दलालहरूले  आत्मपीडाको स्थितिमा पुर्याएका छन् ।
 
ओली-मोदी  गठबन्धनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानप्रति सारै नराम्रो प्रहार गरेको छ । कीर्तिआजादको  भनाइ, लालबाबुको राष्ट्रघाती व्यवहार, नेपालको सुरक्षानिकायप्रति अविश्वास र उपेक्षा अनि भारतलाई अरूण सुम्पिने कुराहरू कम खतरनाक छैनन् । यसलाई सामान्य घटनाका रूपमा लिन मिल्दैन । नेपाली जनताले हिजोका दिनदेखि नै नेपालको भूराजनीतिक स्थिति र विशिष्ट चरित्रका कारण सङ्घीयताको आवश्यकता र औचित्यमाथि प्रश्न उठाइरहेका थिए र समयले  नेपाली जनताले जाहेर गरेको चिन्ता र चिन्तन सही रहेछ भन्ने कुरा प्रमाणित भएको छ । ''मधेस एक प्रदेस' को नारामा निहित यथार्थ पनि प्रस्ट भएको छ । नेपालको  केन्द्रीय र प्रादेशिक सरकार दुवैले नेपाल र नेपाली जनताको छातीमै प्रहार गरेका छन् ।

यसपल्ट नेपाल. भारतीय दलाल शक्तिहरू र राष्ट्रिय स्वाधीनताप्रति सचेत र प्रतिबद्ध शक्तिका रूपमा विभाजित भयो । समयले एकथरी अनुहारलाई सबैले देख्ने र बुझ्ने गरी सतहमा ल्याइदियो । सत्ताको बागडोर हातमा नहुनुको पीडा र छटपटीका कारण कतिपयले  आफूलाई राष्ट्रप्रेमी देखाउन खोजे पनि क्रान्तिकारी शक्तिहरूले मात्रै विचार र राजनीतिको तहबाट  घटनाको विश्लेषण गर्दै मोर्चाबद्ध हुन आव्हान गरेका छन् ।

राष्ट्रिय स्वाधीनता, जनजीवीका र अक्टोबर क्रान्तिको शतवार्षिकी लगायतका  महत्वपूर्ण सन्दर्भमा सँगै जान गतसाल नेकपा (क्रान्तिकारी माओवादी) सहित ''चार पार्टी" ले सहमति गरेका थिए । ओली भारत गएर अरूण-३ को उद्घाटन गर्ने समाचार  आएपछि यसको विरोधमा कार्यक्रम पनि गरेका थिए ।  तर पछिल्लो चरणामा नेकपा (मसाल) ले ''अहिलेको सरकार वामपन्थी र जनताले विश्वास गरेको सरकार भएकाले यसका  विरुद्ध नजाने" भनेर एकतर्फी रूपमा सहमति तोड्यो । र अहिले मोदीको  भ्रमणसित गाँसिएको सन्दर्भले सिङ्गो मुलुकलाई तताएको बेला नेकपा (मसाल) को कुनै प्रतिक्रिया आएको छैन ।

“चार पार्टी” ले राष्ट्रिय स्वाधीनता  र जनजीवीकाका प्रश्नमा सहकार्य गर्ने भनेर गरेको निर्णय खारेज भएको भनेर घोषणा नगरे पनि व्यवहारमा अहिले यो भङ्ग भएको कुरा पछिल्ला घटनाक्रमहरूले प्रस्ट पारेका छन् । मोहनविक्रम अलग भए पनि अरू “तीन पार्टी” ले पनि यसलाई निरन्तरता दिन सकेको देखिएन । “चार पार्टी” भित्रको  नेकपा-कट्टेलको अहिलेको सन्दर्भमा कतै नामगाम सुनिएन र “चार पार्टी” भित्रका  नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-बिप्लवबीच पनि सहकार्य हुनसकेको देखिएन । मोदीको भ्रमण अवधिभर केही नगरेको बिप्लव समूहले मोदी फिर्ता गएपछि गरेको  “नेपाल बन्द” को कार्यक्रम टिप्पणीको विषय बन्नु स्वाभाविक थियो । बरू “चार पार्टी” मा नअटाएको कम्युनिस्ट न्युक्लिअस, नेपालले नेकपा ((क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा “देशभक्त जनगणतान्त्रिक मोर्चा” ले ओली-मोदी गठबन्धन र राष्ट्रघातका विरुद्ध गरेको कार्यक्रमप्रति ऐक्यबद्धताका साथ आफूलाई प्रस्तुत गरेर सहकार्यको हात बढायो  ।

मोदीभ्रमण र राष्ट्रघातको सन्दर्भलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी) ले माथिल्लो तहका नेताहरूको अगुवाइमा गरेको कार्यक्रम सारतत्वका दृष्टिले निकै प्रभावकारी रह्यो ।  यो सह्राहनीय पक्ष हो । वाम पक्ष र कम्युनिस्टहरूको सरकार भनेर एक थरीहरू भारतीय विस्तारवादका सामु लम्पसार परिरहेको अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा भएको सडकसङ्घर्षले यो देशमा भारतीय दलालहरू मात्र छैनन्,  राष्ट्रियता र जनतन्त्रप्रति गम्भीर शक्तिहरू पनि छन् भन्ने कुरा सबैले थाहा पाउने गरी सन्देश दिएको छ ।
 
मोदीको भ्रमणका सन्दर्भमा राष्ट्रिय हित र स्वाभिमानितासित सम्बद्ध जे-जस्ता घटनासन्दर्भहरू  देखापरे, यी सामान्य थिएनन् । राष्ट्रिय स्वाधीनताको पक्षधरहरू सबैलाई समेटेर सङ्गठित किसिमले सङ्घर्षमा जानु पर्नेमा सहमति गरेका चार पार्टी भनिएकाहरू नै छरपस्ट हुनुले राष्ट्रियताका आवाज कमजोर हुनु र विरोधीलाई फाइदा पुग्नु स्वाभाविक छ । यो त्यति सकारात्मक पक्ष होइन ।यस्तो सम्बेदनशील मुद्धामा संयुक्त रूपमा जान नसक्नुले थुप्रै प्रश्न उठाएको छ ।

अबका दिनमा  जनवर्गीय मोर्चाहरूबीच कार्यगत एकता हुन सके पनि पार्टीगत रूपमा मोहन विक्रमहरूसित सहकार्य हुन सक्ने सम्भावना कमै देखिन्छ भने नेकपा-बिप्लवका पछिल्ला गतिविधि, सोचाइ र बुझाइ हेर्दा उसित पनि सहकार्यको सम्भावना कमै देखिन्छ ।  वस्तुगत स्थितिले ''अनिवार्य एकता" को आवश्यकताको कुरा गरे पनि यथार्थमा यसको मूर्तता  निकै जटिल छ भन्ने कुरा व्यवहारले प्रस्ट पारेको छ  ।  सही कुरा के हो भने अहिलेको स्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-बिप्लवबीच एकताको सम्भावना सारै कम छ, र  केही गरी एकता भइ नै हाल्यो भने पनि बिप्लव समूहको चिन्तन र व्यवहारका कारण एकता दीर्घजीवी हुने स्थिति छैन भन्ने कुरा यो टिप्पणीकारलाई लागेको छ ।  यस्तो बेला  नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो जिम्मेवारीलाई  कसरी अघि बढाउँछ भन्ने कुरातर्फ सबैको ध्यान जानु स्वाभाविक छ ।

अहिले कम्युनिस्ट न्युक्लिअस, नेपाल र भर्खरै माकेबाट “विद्रोह” गरेका दुई समूह पनि आआफ्नै किसिमले चलेका छन् । केही कुरामा भिन्नता भए पनि कम्युनिस्ट न्युक्लिअस, नेपालले आधारभूत रूपमा  आफ्नो  नजिकको शक्ति नेकपा (क्रान्तिकारी माओवादी) हो भनेको छ र उसले ओली-मोदी  गठबन्धन विरुद्धको  वैशाख २८/२९ गतेको कार्यक्रमप्रति ऐक्यबद्धता पनि जनाएको छ   । माकेबाट विद्रोह गरेर आएका दुई समूह वैचारिक र राजनीतिक पक्षमा त्यति प्रस्ट देखिँदैनन् तापनि  नेकपा (क्रान्तिकारी माओवादी) ले कम्युनिस्ट न्युक्लिअस, नेपाल  र माकेबाट विद्रोह गरेर आएकाहरूसित बहसछलफलको प्रक्रियालाई अघि बढाउनु  आवश्यक छ । माके-एमाले गठबन्धनबाहिर रहेका र  जनयुद्धको इतिहाससित गाँसिएकाहरूबीचको ध्रुवीकरण अहिलेको प्राथमिक आवश्यकता हो । यति मात्र नभएर माकेभित्रका इमानदार   कार्यकर्ताहरूलाई पनि विश्वासमा लिने प्रयास गनुपर्छ । ओली-मोदी गठबन्धन र भ्रमण-प्रकरण खासखास घटनासन्दर्भमा मात्र सीमित छैन, यसले पार्ने प्रभाव दीर्घकालीन प्रकृतिको छ र क्रान्तिकारीहरूका लागि चुनौतीपूर्ण पनि छ ।
००० 


भिडियो फिचरview all