
पुष्पकमल दाहालको कुण्ठाक्रान्ति

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा अगुवा कार्यकर्ताहरूबीच अभिव्यक्त भनाइहरू “लास्ट पर्यो भने नयाँ क्रान्ति गर्छु”, “दुस्मनले माओवादी नेताहरूलाई बदनाम गर्ने र मार्ने षड्यन्त्र गरेको छ”,“मिडियाले हामीलाई सघाएनन्”, निकै टीकाटिप्पणी, हाँसो र व्यङ्ग्यका विषय बनेका छन् । समाचार माध्यम तथा सामाजिक सञ्जालहरू रोचक र घोचक टिप्पणीले भरिएका छन् । कतिपयले प्रचण्डको यस किसिमको अभिव्यक्तिलाई “बाबुरामले अब जनयुद्ध गर्छु" भनेजस्तै हो भनेर टिप्पणी गरका छन् भने कतिपयले प्रचण्डको अभिव्यक्ति कुण्ठा, निराशा र निरीहताको परिणाम र प्रतिबिम्बन हो भनेका छन् । विचार सकिएपछि भावनात्मक आवेग उत्पन्न गरेर कार्यकर्तालाई थामथुम पार्नु तथा आफ्ना कमजोरी र गल्तीहरूलाई ढाकछोप गर्न अरूमाथि आक्रोस पोख्नु स्वाभाविक हो र प्रचण्डले त्यही गरेका छन् ।
प्रचण्ड नेपाल सरकारका प्रधानमन्त्री हुन् र सञ्चारमन्त्रालय पनि उनकै हातमा छ । समग्र सरकारी माध्यमहरू उनकै अधीन छन् । आफू र परिवारको हितका लागि उनले लगानी गरेका अमुकअमुक अनलाइनहरू पनि हरहमेसा उनकै वरिपरि फन्का मारिरहेका हुन्छन् । नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान र रासस हुँदाहुँदै पनि मिडियाले आफूलाई सहयोग गरेनन् भन्नुको अर्थ बुझिनसक्नु छ । यसले त सञ्चारमन्त्रालयको ताल्चासाँचो पनि अर्कैको हातमा छ भन्ने अर्थ लाग्छ ।
यसरी रोइकराई गर्नुपर्ने अवस्था आउला भन्ने कुरामा उनले कहिल्यै ध्यान दिएनन् । उनले सिङ्गो माओवादी आन्दोलन सिध्याउन, राष्ट्रिय स्वाधीनतालाई भारतको पोल्टामा सुम्पिन गरेका कुकृत्यहरू, २५ बुँदेदेखि प्रणव मुखर्जीको भ्रमणसन्दर्भमा गरेका लम्पसारवादी व्यवहारका बारेमा पनि केही बोलेका छैनन् । राष्ट्रियताको पक्षमा लडेका नेपाली जनता किन उनका पछि लागेनन्, किन इमानदार माओवादी कायकर्ता उनको पक्षमा उभिएनन् भनेर उनले कहिल्यै सोचेनन्, सोच्नु आवश्यक पनि ठानेनन् । आफू उभिएको जमिन भासिएर धेरै तल पुग्दा पनि आफू सगरमाथाको टाउकामै छु भन्ने भ्रम उनमा रहिरह्यो । उनले कार्यकर्ताका सामु धेरैपल्ट बाघ र भेडाको बथानको कथा सुनाए । आफू बाघ भएकाले अब भेडाको बथानको पछि नलाग्ने पनि भने । उनी भेडाको पछि त लागेनन्, तर ब्वासाँहरूको बथानमा मिसिन पुगे । आवश्यकता थियो आत्मसमीक्षाको, परन्तु यसको सट्टा क्रान्तिकारी हुनुको कथा हालेर माओवादका नाममा उनले ठगी धन्धा चलाइरहे । बादशाह नाङ्गै भए पनि राम्रो ! राम्रो ! भन्ने हनुमानहरूबाहेक इमानदार मान्छेहरू अहिले उनका साथमा कोही छैनन् । लगानी गरेवापत हनुमान चालिसा गाउनेहरू पनि हातमा कान्छी नानी पर्न छाडेपछि अर्का नायकहरूको बखान गर्न थाल्नेछन् । उनी उभिएको धरातल यही हो ।
प्रचण्ड आज्ञाकारी सिपाही बनेर ओली सरकार ढाल्न तत्पर भए । कुन उद्देश्य पूरा गर्न उनी प्रधानमन्त्री भएका थिए भन्ने कुरा सबैले बुझ्ने र देख्ने गरी समयले देखाइसकेको छ । अहिले सुगौली सन्धि र १९५० को सन्धिको खारेजीलाई लिएर बहस र छलफलहरू चलिरहेका छन् । नेपाल राष्ट्रको हितविपरीतका सबै सन्धिसम्झौताहरू खारेज गर्नुपर्छ भन्ने जनमतविपरीत प्रचण्डले दिल्ली गएर खतरनाक २५ बुँदे सहमति गरेर नेपाललाई “भुटानजस्तै सुखी” बनाउने भन्ने भारतीय नेताहरूको मनोकाङ्क्षा पूरा गरिदिएका छन् । यस्तो बेला प्रचण्डले प्रशंसा पाउने भनेको भारतीय मिडियाबाट हो, नेपालका जनता र नेपालका सञ्चारमाध्यमहरूबाट होइन । राष्ट्रघात गर्नेहरूलाई नेपाली जनताले साथ दिएको इतिहास छैन र एकाध पालिएकाहरूबाहेक नेपालका सञ्चारमाध्यमहरूले पनि राष्ट्रघात गर्नेहरूको जयगान गाएको इतिहास छैन । माध्यमहरूले साथ दिएनन् भनेर धारे हात लगाउनु अथवा रोइकराइ गर्नुको कुनै अर्थ छैन ।
नेपालको नागरिकता बोकेका भारतीय सत्ताधारी वर्गका दलालहरूलाई अघि सारेर भारतले भूकम्पले थिल्थिलिएका नेपाली जनताका विरुद्ध ६ महिनाभन्दा बढी नाकाबन्दी लगाएर राजनीतिक रूपबाट आत्मसमर्पण गराउन खोज्यो र नेपालीलाई भोकभोकै मार्न खोज्यो । अरू कुरा जे–जे भए पनि यस मामिलामा ओली सरकारले दरिलो अडान लियो र नेपाली जनताले साथ पनि दिए । त्यतिबेला चीनले सुखदुखको साथी र असल छिमेकीको व्यवहार देखाउँदै सहयोगको हात बढायो । यातायात, पारवहन र व्यापारका क्षेत्रका केही महत्वपूर्ण सहमति भए । परन्तु, यी सहमतिहरूले ठोस आकार र अन्तिम स्वरूप ग्रहण गर्नुअघि नै नेपाल राजनीतिक र आर्थिक पक्षमा आफ्नो एकाधिकारबाट बाहिर जान पाउँदैन भन्दै भारतले नवऔपनिवेशिकतावादी प्रवृत्ति देखायो, चिनियाँ प्रभाव रोक्ने नाममा षड्यन्त्रका तानाबुना बुन्नथाल्यो ।
ओली सरकारको विघटन यसै षड्यन्त्रको उपज थियो र यसमा पुष्पकमल दाहाल उर्फ प्रचण्ड आवश्यक परे नयाँ लेन्डुपे बन्ने अवतारका साथ ‘उदाएका’ थिए । चीनसित भएका समझदारी खारेज गर्न र राष्ट्रपति सिजिपिङको भ्रमण रोक्न अर्थात् चिनियाँ प्रभाव रोक्ने जिम्माका साथ सिंहदरवारको कारिन्दामा पठाइएका प्रचण्डले आखिर स्वामीइच्छा पूरा गरेरै छाडे । २५ बुँदेमा मात्र होइन, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका सन्दर्भमा उनले देखाएको व्यवहारले उनको स्वामीभक्ति अझ राम्रोसित प्रस्टियो । चिनियाँ राष्ट्रपति सिजिपिङको भ्रमण रोकियो । यस किसिमको स्थितिमा कसरी नेपाली जनताले प्रचण्डको गुनगान गर्छन् र कसरी यो देशलाई माया गर्ने नेपाली सञ्चारमाध्यमहरूले उनको जयगान बोल्छन् ! फेरि पनि भन्छु राष्ट्रघातीहरू र लम्पसारवादीहरूको गुनगान गाउने विरासत नेपाली जनता र माध्यमहरूको रहेन र रहने पनि छैन ।
भारतसित लम्पसार पर्ने चरणको एउटा अध्यायपछि प्रचण्ड सरकार अहिले खुलेर चीन विरोधी गतिविधिमा लागेको छ । यो सरकार नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार हो । यसले गरेका कामकारबाही, राम्रानराम्रा सबै कुरामा दुवै पार्टी भागिदार हुन्छन् । आश्चर्यको कुरा के भएको छ भने प्रचण्ड खुलेर भारतका सामु लम्पसार परेका छन् र शेरबहादुर देउबा खुलेर चीन विरोधी अभियानमा सरिक छन् । यो गजबको तर, राष्ट्रियता र छिमकीहरूबीचको सम्बन्धका दृष्टिले जटिल मात्र नभएर डरलाग्दो स्थिति पनि हो ।
चीनका सम्बन्धमा नेपालको आधारभूत नीतिविपरीत देउबा गोवा पुगेर दलाइ लामाको सरकारका मन्त्रीसित कुम जोड्दै स्वरमा स्वर मिलाए । देउबा सामान्य नागरिक अथवा ‘स्वतन्त्र मानअधिकारवादी’ पात्र होइनन् । उनी सत्ता गठबन्धनको प्रमुख पार्टीका नेता र पूर्व प्रधानमन्त्री पनि हुन् । यस्तो संवेदनशील विषयमा उनको अलिकति पनि गम्भीरता देखिएन । काठमाडौँमा ताइवानको झण्डा फहराएर कार्यक्रम गरियो, कूटनीतिक मर्यादा विपरीत मन्त्री विमलेन्द्र निधीले चिनियाँ प्रतिनिधिमण्डलसित भेट गर्न समय दिएनन् । एक हिसाबले सरकारले नै खुलारूपमा चीन विरोधी गतिविधि गर्यो । यस्ता सन्दर्भहरूलाई लिएर चीन नेपाल सरकारका सामु जसरी प्रस्तुत भयो, कूटनीतिक दृष्टिले यो सामान्य कुरा होइन/मानिदैन ।
संविधान संशोधनका नाममा सरकार राष्ट्रियतासम्बन्धी अर्को अपराधमा लागेको छ । अङ्गीकृत नागरिकलाई राष्ट्रको सर्वोच्च पदमा पुर्याउने षड्यन्त्रमा प्रचण्ड सरकार क्रियाशील छ । यो भनेको मुलुकलाई फिजीकरणतर्फ अग्रसर गराउनु हो । यस प्रकरणले प्रचण्डको पाखण्डपन राम्ररी उदाङ्गिएको छ । यस्तो स्थितिमा सरकार, प्रधानमन्त्री, गठबन्धन पार्टीहरू र तिनका नेताहरूको पक्षमा जनताले ताली पिट्ने कुरै आउँदैन र सञ्चारमाध्यमहरू प्रतिरक्षामा उभिने कुरै आउँदैन । आफू सर्वाङ्ग नाङ्गै हिँड्ने अनि टिप्पणीको विषय बनाइयो भनेर कोकोहोलो मच्चाउनुको अर्थ छैन ।
प्रचण्डले “लास्टै परे क्रान्ति गर्ने” अभिव्यक्ति पनि दिएका छन् । यो साँच्किै घतलाग्दो व्यङ्ग्य र टीठ लाग्दो अभिव्यक्ति हो । माओवादी जनयुद्धप्रति गद्दारी गरेर र जनमुक्ति सेना दुस्मनलाई बुझाएर तिनका नाममा आएको अकुत सम्पति विदेशी ब्याङ्कमा थुपारेर परिवारवादको रमझममा रमाएका प्रचण्डले कसका विरुद्ध, कसलाई साथ लिएर कस्तो क्रान्ति गर्लान् ? प्रश्न उठ्नु स्वाभाविक छ । उनले कसलाई दुस्मन भनेका हुन्, यो पनि बुझीनसक्नु छ । उनी प्रभानमन्त्री हुन्, प्रहरी र सेना उनको सरकारका रक्षक हुन् । राष्ट्रियताका दुस्मनसित लडेर क्रान्ति गर्ने हो भने उनले आफू इमानदार दलाल हुनुको परिचय दिइरहेका छन् । प्रतिक्रियादी वर्गसित क्रान्ति गर्ने हो भने नेपाली समाजको प्रमुख अन्तर्विरोधको प्रतिनिधित्व गर्ने प्रमुख दलाल शक्तिसित हातेमालो गरेर सरकार चलाइरहेका छन् । उनको क्रान्तिको परिभाषा बुझीनसक्नु छ ।
देशीविदेशी प्रतिक्रियावादीहरूले मुसालाई सिंह बनाएर प्रयोग गर्छन् र स्वार्थ पूरा भएपछि फेरि मुसो बनाउँछन् । प्रचण्ड यस्ता पात्र हुन्, जो शक्ति र साधन पाए भने फासिवादको अभ्यास गर्न पनि पछि पर्दैनन् । अब उनको वर्ग फेरिएको छ । उनका वर्गसखाहरू फेरिएका छन् । यस अर्थमा अब उनले प्रतिक्रियावादी सत्ता र राष्ट्रघातीहरूका विरुद्ध लडिरहेका उत्पीडित नेपाली जनता, तिनका पार्टी र नेताहरूविरुद्ध क्रान्ति गर्नेछन् ।
त्यसैले उनका भनाइहरू व्यङ्ग्य र हाँसोको विषय बन्नु स्वाभाविक छ । यो उनमा बढ्दो निराशा र कुण्ठाको अभिव्यक्ति हो । यस्तो बेला मान्छे कि त नित्सेको शरणमा पुग्छ, कि त हिटलरको समाजवाद पढ्नथाल्छ । मनोविज्ञानले भन्छ, निराशाले ग्रस्त मान्छले कि त आत्महत्या गर्छ, कि त अपराधको बाटो समात्छ । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता प्रचण्ड क्रान्तिको सिकार नबनोस् भनेर कामना गरौँ । हेरौँ र पर्खौ पनि, उनले गर्ने क्रान्तिको स्वरूप कस्तो हुन्छ ।
०००
भिडियो फिचरview all