menu

ताजा समाचार

वास्तविक वामपन्थीहरूको जिम्मेवारी

भक्तबहादुर श्रेष्ठ  'सेरसिंह'

नेपालका वामशक्तिहरू भनेको नेपालको सन्दर्भमा मार्क्सवादी सिद्धान्त मान्नेहरू नै हुन् । मार्क्सवादीहरूले केवल आंशिक सुधारमा मात्र ध्यान दिँदैनन्, उनीहरूको लक्ष्य आमूल परिवर्तनकारी दिशातर्फ अगाडि बढ्दै अन्तमा समाजवाद-साम्यवादसम्म पुग्नु हो । आज नेपालका वामशक्तिहरू सङ्गठनात्मक रूपमा विभाजित छन्, कार्यदिशामा मतमतान्तर छ, तर उनीहरूको मूल लक्ष्य एउटै छ र मूल प्रहारको निसाना एउटै छ, त्यो हो सामन्तवाद र साम्राज्यवाद । यो देशको आमूल परिवर्तनको मुख्य बाधकको रूपमा रहेको साम्राज्यवाद-विस्तारवाद र सामन्तवादलाई ढाल्ने दिशामा अघि नबढेसम्म आमूल परिवर्तनको लक्ष्यमा पुग्न सक्तैनौँ भन्ने कुरा पनि मौखिक रूपमा सहमत नै छन् । आज नेपालमा गणितीय हिसाबले हेर्दा वामशक्ति सशक्तरूपमा अगाडि देखिन्छ । तर पनि किन यहाँ सशक्त सङ्घर्षको ज्वार उठिरहेको छैन, किन सामन्तवाद र साम्राज्यवादका दलालहरूले राइँदाइँ चलिरहेको छ भन्ने प्रश्नहरू उठिरहेका छन् । यसलाई वामशक्तिहरूले त्यति गम्भीरताका साथ लिएको पाइँदैन । स्थिति गम्भीर र जटिल बनिसकेको छ । अझ पनि गम्भीर बन्न सकेनौँ भने नेपाल र नेपालीले झन् दुर्दशा भोग्नु पर्ने छ र वामशक्तिहरूको अस्तित्व पनि खोज्नुपर्ने स्थिति पनि आउन सक्छ ।

मार्क्सवादीहरूले कारणहरूको पत्ता लगाई त्यसको निराकरण गर्दछन् । त्यसको कारणको खोजीमा नलागी, समस्या  निराकरण गर्नुपर्ने महसुस नगरी आआफ्नो डम्फु बजाएर आफैँलाई श्रेष्ठ देखाउने र अरूको जरोकिलो उखेल्नेप्रति नै बढी ध्यान दिएकाले वामशक्तिहरू कतै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सामन्तवाद र साम्राज्यवादको खेलौना त बनिरहेका छैनौँ भनेर सोच्ने बेला आएको छ । नियतवश त्यस्तो नहोला, तर हाम्रो दूराग्रहपूर्ण भावनाले, हाम्रो सङ्कीर्ण मानसिकताले र हाम्रो निम्नपुँजीवादी स्वार्थ र सोचाइले हाम्रो सिद्धान्त र व्यवहारबीचको अनमेलले हामीलाई यस्तो स्थितिमा पुर्याएको छ । हामी बलियो भएर पनि दुर्वल बनेका छौँ र शक्ति भएर पनि शक्तिहीनजसता बनेका छौँ । त्यसैले हामी जुन पर्खाल ढाल्ने कुरा  गरिरहेका छौँ, प्रत्यक्ष वा  अप्रत्यक्ष रूपमा त्यसै पर्खालको अडेसो बन्न पुगेका छौँ । योभन्दा चिन्ताको विषय अरू हुन सक्तैन । हामी वास्तविक मार्क्सवादी-लेनिनवादी हौँ र हाम्रो सिद्धान्त मार्क्सवादी द्वन्द्ववाद हो भने सङ्घर्षको साथसाथ एकता पनि खोजेर, हाम्रा अगाडि बाधकको रूपमा रहेको पर्खाल ढाल्न सशक्त रूपमा प्रतिबद्धताका साथ अगाडि बढ्नु आवश्यक हुन्थ्यो । हामीमा गम्भीर कमजोरी रहेका छन् भनेर हामीले जिम्मेवारीपूर्ण ढङ्गले सोच्नु आवश्यक छ  ।

निम्न-पुँजीवादी स्वार्थले उब्जाएको चिन्तन  नै अहिले सबैभन्दा बढी बाधक बनेको छ । यस चिन्तनले हामीले जतिसुकै मार्क्सवादी-लेनिनवादी सिद्धान्तको गफ छाँटे पनि जतिसुकै आमूल परिवर्तनको र क्रान्तिका कुरा गरे पनि हामीलाई मार्क्सवादी- लेनिनवादी बन्नदिएको छैन,  क्रान्तिको दिशामा जान दिएको छैन । आफू अगाडि बढ्न नसकेपछि बढ्न खोज्नेहरूका अग्रगामी चेतना र कदमलाई पनि यही निम्न-पुँजीवादी महत्वाकाङ्क्षा बाधक बनेको छ ।  प्रोत्साहन र सहयोगको सट्टा अनेक विशेषणहरू दिएर बदनाम गर्न खोजिन्छ । यसले गर्दा हामी जुन पर्खाल ढाल्ने कुरा गरिरहेका छौँ,  उल्टो त्यसको अडेसो हुन गइरहेका छौ । यति सामान्य सोचाइ पनि नहुनु भनेको मार्क्सवादबाट विचलन हो । मार्क्सवादबाट विचलित भएपछि त्यहाँ निश्चित रूपले संशोधनवादले प्रवेश गर्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा भएको नै यही हो । समय भड्किसकेको छैन, अझै पनि सोच्न सक्यौँ भने वामशक्तिहरूको विकासले नेपाललाई ऐतिहासिक विकासको स्थितिमा पुर्याउँछ । यसका लागि दुइटा कुरा हामीले महत्वपूर्ण रूपमा ग्रहण गर्नुपर्छ— सैद्धान्तिक र वैचारिक मतभेद हुनासाथ दुस्मनको पङ्क्तिमा लगेर सत्रुवत् व्यवहार गर्ने पद्धति त्याग्ने र अर्को जतिसुकै मतभेद भए पनि देश र जनताका सवालमा एकताबद्ध भएर जाने । द्वन्द्ववादकै भाषामा भन्ने हो भने विपरीत तत्वहरूको एकता र सङ्घर्षमा सत्रु पक्षसँग सङ्घर्ष र मित्रहरूको पक्षमा एकता-सङ्घर्ष-एकताका रूपमा अघि बढ्नुपर्छ । सत्रु पक्षहरूका बीचमा गुणात्मक रूपकै अन्तर्विरोध हुने हुनाले गुणात्मक रूपबाट अन्तर्विरोध समाधान गरिन्छ भने मित्र पक्षहरूको बीचको अन्तर्विरोध जनवादी ढङ्गबाट हल गर्नुपर्छ । मित्रहरूमा केही कमजोरी देख्नासाथ सत्रुपक्षलाई बल पुग्ने गरी गुणात्मक रूपको अन्तर्विरोधको रूपमा लिन पुगियो भने यसले सत्रु पक्षलाई नै बल पुर्याउँछ  । वामपन्थीहरूले यसलाई व्यवहारमा उतार्न सक्यौँ भने यसले निकै सकारात्मक योगदान पुर्याउँछ ।

वैचारिक मतभेद हुनासाथ त्यसलाई गुणात्मक रूपको अन्तर्विरोध सम्झेर सत्रुवत व्यवहार गर्ने र एकताको नाउँमा वैचारिक सङ्घर्ष नगर्ने यो अधिभूतवादी चिन्तन हो, यो मार्क्सवादी द्वन्दवाद होइन ।  मार्क्सवादीहरू शिष्ट हुन्छन् । उसले राजनीतिक भाषाहरू बोल्नुपर्छ र त्यसैअन्तर्गत वैचारिक मतभेदमा सैद्धान्तिक, वैचारिक दिशामा सुधार गर्ने उद्देश्यले ध्वंसात्मक नभई सिर्जनात्मक ढङ्गले आलोचना गर्नुपर्छ ।  शिष्ट भाषामा पनि निर्मम किसिमले प्रस्तुत हुन सकिन्छ । दुस्मनको खेमामा नपुगुञ्जेल दुस्मनलाई प्रयोग गर्ने भाषा प्रयोग गर्नु अशिष्ट मात्र नभएर फाटो बढाउने काम मात्र हुन्छ ।  यसलाई पनि गतिको रूपमा हेर्नुपर्छ । जतिजति दुस्मनको खेमामा जान्छ, त्यतित्यति निर्मम प्रहार गर्नुपर्छ । तर उद्देश्य सकारात्मक हुनुपर्छ, सकेसम्म दुस्मनको खेमामा नजाओस् भनने उद्देश्य हुनुपर्छ । यसले वामशक्तिहरूको विकासमा सहयोग पुर्याउनेछ । हाम्रो उद्देश्य दुस्मनको घेरा सानो र मित्र शक्तिको घेरा फराकिलो पार्ने नै हुनुपर्छ । क्रान्तिकारीहरूका लागि यो झन् महत्वपूर्ण कुरा हुनजान्छ ।

आजको अवस्थामा वामशक्तिहरूको काँधमा गम्भीर जिम्मेवारी आएको छ । यही जिम्मेवारीका कारण हामीले अनेकतामा एकता खोज्नु परेको छ । एकताको नाममा पछाडि फर्कने दिशातिर होइन,  अग्रगामी चेतना बोकेर, जसरी प्रतिक्रियावादी शक्तिहरू अगाडि बढ्छन् त्यसको मुकाबिलाका लागि गतिका साथ अघि बढ्न सक्यौँ भने मात्र देश र जनताप्रतिको गहन जिम्मेवारी बहन गर्न सक्छौँ । हामीले बारम्बार धोखा खाइरहेका छौँ । २००७ साल,२०१७ साल, ०३६ साल र २०४७ सालमा हामीले धोका पायौँ । यसैको परिणाम आज हामीले भोगिरहेका छौँ । ०४६ सालको जनआन्दोलनपछि आएको राजतन्त्रात्मक संसदीय व्यवस्थाबाट जनताले केही आशा गरेका थिए । जनताका गाँसबासकपासको समस्या समाधान हुने र असमान सन्धिहरू खारेज भई राष्ट्रिय अखण्डता र एकता प्रबल रूपमा सुदृढ हुने आशा गरेका थिए । तर जनताको आशामाथि आरम्भका दिनहरूदेखि नै निर्मम प्रहार भएको छ ।

दस वर्षको यस अन्तरालमा राष्ट्रियताको खतरा झन् बढ्दैगएको छ । नेपाललाई हातखुट्टा फैलाउन नपाउने गरी विस्तारवादले बाँधिराखेको असमान सन्धिहरू जस्तोतस्तै छन् । झन् यस अवधिमा राष्ट्रघाती महाकाली सन्धि भएको छ । नेपालको धर्तीमा भारतीय विस्तारवादको सेनाले परेड खेलिरहेको छ । भारतद्वारा सीमा अतिक्रमण जारी रहेको छ । खुलाबजार, निजीकरण, साम्राज्यवादी हस्तक्षेप आदिले नेपालको राष्ट्रिय अर्थतन्त्र चौपट छ । भ्रष्टाचारको जगजगी, महँगी र बेरोजगारीले जनताको जनजीवन अस्तव्यस्त भएको छ । शिक्षा, स्वास्थ्यजस्ता कुराहरू पनि पुँजीवादीकरण हुँदै गइरहेका छन् र आमजनता सामान्य स्वास्थ्योपचारबाट समेत बञ्चित हुनुपरेको छ । न्यायव्यवस्था पनि जनताको स्थितिभन्दा बाहिर भएको छ ।  मुठ्ठीभर व्यक्तिहरूले सत्ताको आडमा लुट मच्चाएका छन् भने देश र जनता कङ्गाल बन्दैगइरहेका छन् । संविधानप्रदत्त सीमित अधिकारहरू पनि खोसिँदै गएका छन् ।  राज्यआतङ्क तीव्र बनेको छ । सत्ताधारी वर्ग फासिवादको अभ्यासमा लागेको छ । यसै स्थितिबाट फाइदा लिन पुनरुत्थानावादीहरूको चहलपहल बढेको छ । आजको वास्तविक वस्तुगत स्थिति यही हो ।  त्यसैले वामपन्थी शक्तिहरू सतर्क हुनुपर्ने र आमजनतालाई सतर्क गराउनु पर्ने आवश्यकता बढेर गएको छ

वामशक्तिहरूको तत्कालिक दायित्व भनेको जनतालाई विकल्पबोध गराउन र यस सरकारका तमाम देशघाती, जनघाती र भ्रष्ट आचरणहरूको विरोध गर्दै समस्या समाधान गर्ने सशक्त आन्दोलनको दिशाग्रहण गर्नु हो । तत्कालन व्यवस्था परिवर्तन गर्न सक्तैनौँ भन्न्दै विकल्पको ठाउँमा यसै व्यवस्थमा सुधार गर्ने भन्ने कुरा राजनीतिक सुधारवाद हो । जनतालाई अग्रगामी दिशातिर उन्मुख गराउने भन्दा अलमल्याउने काम भन्ने सुधारवाद  हो । विकल्प प्रस्तुत गर्ने भनेको जनतालाई  क्रान्तिको दिशातिर बढ्न  प्रशिक्षित पार्नु हो । कम्युनिस्टहरूले यस्तै राज्यसत्ता भित्र गर्न सकिने सुधारलाई  इन्कार  नगरे पनि यस्तो व्यवस्था सुधार गरेर आमूल परिवर्तन गर्न सकिन्छ भन्ने सोचाई राख्नु सुधारवाद हो । वामपन्थी शक्तिहरूले यही पुँजीवादी व्यवस्थालाई सुधार गरेर देश र जनताको समस्या समाधान नहुने हुनाले क्रान्तिकारी विकल्प सहित गुणात्मक दिशातिर  अघि बढ्नु  पर्दछ । यस्तो भएपछि मात्र हामीले आजको गहन जिम्मेवारी पूरा गर्न सक्छौँ । तर स्थिति यस्तो छैन । हामी आफूआफूमा विभाजित छौँ । आफ्नै डम्फू बजाइरहेका छौँ ।
 
त्यसैले मलाई के भन्न मन लागेको छ भने हामीले कम्युनिस्ट सिद्धान्त मान्ने कुराको  घोषणा गरे पनि हामी वास्तविक कम्युनिस्ट हुन सकेका छैनौँ । हामीमा पुर्खादेखिका निम्न-पुँजीवादी विचारधाराले जरो गाडेको छ । बाहिरी रूपमा क्रान्तिको चाहना भए पनि आन्तरिक रूपमा हामी आत्मसुरक्षावादी छौँ । त्यसैले हामीलाई वास्तविक कम्युनिस्ट बन्न दिएको छैन । हामी क्रान्तिको चाहना पनि गर्छौं, अर्कोतिर सम्पत्तिको सुरक्षा र वृद्धिको मोहमा नराम्रोसँग फसेका  छौँ । यी प्रवृत्तिहरू सर्वहारा प्रवृत्तिहरू नभएर निम्न-पुँजीवादी प्रवृत्तिहरू हुन् । अनि आफ्ना यी प्रवृत्तिहरू ढाकछोप गर्न, यसलाई सही ठहर्याउँन, यी प्रवृत्तिहरूबाट मुक्त भई देशका लागि मरिमेट्नेहरूका विरुद्ध नै अनेक फत्तुर लगाउँछौँ ।  यो निम्न-पुँजीवादी पूर्वाग्रह हो । आफ्नो  गलत चिन्तनलाई सही साबित गर्न होइन, सिद्धान्तलाई आफ्नो अनुकूल ढाल्ने कोसिस गर्छौँ । आजका वामपन्थी शक्तिहरूको कमजोरी भनेको नै यही हो । यी कमजोरीहरूबाट मुक्त नहोउन्जेल वामपन्थी आन्दोलनले सही धार पक्रन सक्तैन । यसमा हामी सबै गम्भीर बन्नु आवश्यक  छ ।

मार्क्सवादीहरू राज्यसत्तालाई वर्गभन्दा माथि ठान्दैनन् । यसै व्यवस्थालाई सुदृढ पार्दै सुधार गर्दै लाने विचार मार्क्सवादी विचार हुन सक्तैन ।  यही विचारले  वामपन्थी आन्दोलनलाई कमजोर बनाएको छ । यस विचारले पुँजीवादीहरू, सामन्तवाद र साम्राज्यवादीहरूको पुच्छर बनाइदिन्छ । अन्तमा म के भन्न चाहन्छु देश र जनताका मूल विषयमा केन्द्रित भई एकताबद्ध भएर इमानदारीताका साथ आन्दोलनमा उत्रने हो भने वामपन्थीहरूको भविष्य उज्वल छ । आजको इतिहासले पनि यही खोजेको छ ।
०००

(भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ बाट)



भिडियो फिचरview all