menu

ताजा समाचार

समिह अल कासिम अर्थात् अरबका लोर्का

समिह अल–कासिमका बारेमा नेपाली साहित्यका पाठकहरूलाई त्यति सारो जानकारी छैन । पछिल्लो पुस्तालाई त झनै छैन । नेट–इन्टरनेटको सुविधा प्राप्त भए पनि त्यसलाई अधिकतम सकारात्मक प्रयोग कसरी गर्ने भन्नेमा पनि नेपाली मार्क्सवादी लेखक–पाठकहरूको रुचि रहेको पाइँदैन । समिह अल–कासिमका सम्बन्धमा जानकारी नहुनु पनि यसै समस्याको परिणाम हो । कविताका सन्दर्भमा पछिल्लो पुस्तालाई को–मोजो, मायाकोव्स्की, पाब्लो नेरुदा, बर्तोल्ट ब्रेख्त, नाजिम हिक्मत, लोर्का आदिको नाम र कामप्रति पनि त्यति सारो रुचि रहेको देखिँदैन ।

नेपाली साहित्यका पाठकबीच कम जानकारी भएका तर विश्व प्रतिरोधी साहित्यका बहुचर्चित कवि हुन्— समिह अल–कासिम । समिह अल–कासिमको जन्म सन् १९३९ मा जोर्डनको जाक्र्वामा भएको थियो । त्यतिबेर उनका पिता अरबका तर्फबाट त्यहाँको सरकारका सम्पर्क अधिकारी थिए ।  दोस्रो विश्वयुद्धपछि उनको परिवार त्यतिबेरको प्यालेस्टिनी भूमि अहिलेको इजराइल अधीनस्थ क्षेत्र रमा फर्कियो । यो नै उनको गाउँ थियो । उनी ९ वर्षको छँदा अरब– इजराइल युद्ध चर्कियो । उनी १९४८ को त्यो युद्धलाई नै आफ्नो जन्मदिन ठान्दछन् । उनका भनाइमा यो समय नै आफूले पहिलोपल्ट अस्तित्वबोध गरेको अवधि थियो ।  त्यो युद्ध र त्यसले ल्याएको परिणामसित आफ्नो अस्तित्व र प्यालेस्टिनी जनताको इतिहास गाँसिएकाले उनी त्यो दिनलाई विशेष दिन ठान्दछन् । त्यो घटनामा  प्यालेस्टिनले इजराइल छाड्नु परेको थियो र लाखौँ जनताले गाजा र वेस्ट ब्याङ्कमा शरण लिनुपरेको थियो । यो यस्तो घटना थियो, जसमा लाखौँ प्यालेस्टिनीहरूको परिचय फेरिएको थियो । जन्मभूमिको सन्दर्भ र  त्यसपछिको घनाले नै उनलाई माटोप्रति, प्यालेस्टिनी जनता र भूमिप्रति माया र श्रद्धा जगाएको थियो र इजराइल र अमेरिकाप्रति घृणा उत्पन्न गराएको थियो ।

 उत्पीडित जनताका पक्षमा आफ्नो विचार र प्रतिबद्धता जाहेर गर्नका साथै हस्तक्षेपकारी साम्राज्यवादीहरूका विरुद्ध प्रतिरोध गर्न उनले पत्रकारिता, निबन्ध, लेख आदि क्षेत्रलाई अभिव्यक्तिको माध्यम बनाए । उनले थुप्रै पत्रिकाहरू पनि सम्पादन गरे । विभिन्न विधामा कलम चलाए पनि उनको मूल विधा कविता रह्यो र कविताले नै उनलाई चर्चित र प्यालेस्टिनी जनताका सर्वाधिक लोकप्रिय कवि बनायो ।

१८ वर्षको उमेरदेखि उनले कविता लेख्न थालेका थिए ।  उनका प्राथमिक कवितामा प्यालेस्टिनी जनता र राष्ट्रियताप्रति तीव्र मायाँ र इजराइली सत्ताप्रति घृणा पाइन्छ । १९६७ सम्म आइपुग्दा उनी सङ्घर्षशील कविका रूपमा प्यालेस्टिन क्षेत्रमा मात्र नभएर सिङ्गो अरब क्षेत्रमा परिचित भएका थिए । उनका कवितामा पाइने प्रतिरोधी चरित्रका कारण नै  उनी क्रान्तिकारी, जुझारु र   “कलमका योद्धा” भनेर  स्थापित भए । उनको नामको अगाडि प्रतिरोधी कवि भनेर लेखिन थाल्यो र उनलाई एक्काइसौँ शताब्दीका पाब्लो नेरुदा, नाजिम हिक्मतका साथै अरबका लोर्का पनि भन्न थालियो ।

कलासाहित्यका साथै उनी राजनीतिमा पनि त्यतिकै सक्रिय भए । १९६७ मा उनी इजराइलको कम्युनिस्ट पार्टी हदासमा सामेल भए । तर उनको क्रियाशीलता साहित्य र पत्रकारितामार्फत प्यालेस्टिन जनताको पक्षमा र आक्रमणकारी इजराइलको विरुद्धमा जनमत सिर्जना गर्ने काममा नै बढी केन्द्रित रह्यो ।  पछिका दिनमा प्यालेस्टिनी जनता र इजराइलबीच सङ्घर्ष निरन्तर रूपमा चर्कियो । उनलाई घरमै नजरबन्दमा राखियो ।  तर उनी प्रतिरोधमा सडकमा ओर्लिए र प्यालेस्टिन जनताका पक्षमा नारा र जुलुसमा सामेल भए ।  उनलाई जेलमा राखियो । निगरानी, यातना र मानसिक दबाबका बीच उनलाई शिथिल बनाउन खोजियो । उनी जेलमा निरास भएनन् । उनले जेलबाटै उद्घोष गरे : “प्यालेस्टिनी जनता स्वतन्त्र हुनेछन्, अरब संसार एकताबद्ध हुने छ र विश्वमा सामाजिक न्याय विजयी हुनेछ  ।”

वास्तवमा उनी स्वाभिमानी र इमानदार, प्रतिरोध र प्रतिबद्धताका कवि थिए । उनी जुन समुदायबाट आएका थिए,  त्यसको सरकारी  सेवामा आफ्नै एउटा परम्परा थियो । उनी ड्रिउज खानदानका एउटा यस्तो सदस्य थिए, जसले इजराएली सैन्य सेवा बहिष्कार गरेको थियो  । उनले प्रधानमन्त्री डेभिड बेन गुरिनलाई चिठी लेखेर जवाफ पठाए : “उनी कविताका लागि जन्न्मेका हुन्, बन्दुकका लागि होइन ।” यसरी जवाफ दिए पनि, सही कुरा के थियो भने उनी इजराइली सैन्य सेवामा जान चाहँदैनथे । वास्तवमा कवितालाई नै  बन्दुक बनाएर उनी जनताको पक्षमा लडिरहेका थिए । सरकारी सैन्य सेवाको जागिर खानुभन्दा जनताको पक्षमा कलम चलाउनुलाई उनले गरिमामय र स्वाभिमानपूर्ण जीवन ठाने । यो निर्णय यो समय र समाजका लागि निकै  ठूलो चुनौती थियो ।

 उनले लामा,  छोटा, मुक्तक शैलीका र गद्यात्मक शैलीका सबै किसिमका कविताहरू लेखेका छन् ।  सरल किसिमले गहन अर्थका कविता लेख्नु उनको विशेषता हो ।  उनका कवितामा बिम्ब र व्यङ्ग्य दुवै तŒवको प्रयोग गरिएको पाइन्छ । उनका थोरै मात्र कविता अङ्ग्रेजी भाषामा अनूदित छन् । उनको अङ्ग्रेजी कविताको सङ्ग्रह स्याडर द्यान बेटर हो । उनका सम्पूर्ण कविताले साम्राज्यवादप्रति व्यङ्ग्य, प्रतिरोध र विद्रोहको आवाज बोल्छन् । उनका कविता प्यालेस्टिनी जनताको सङ्घर्षप्रति ऊर्जाशक्ति बनेका छन् । उनी क्रान्तिकारी आशावादले भरिएका कवि हुन् । अरबका जनताको उभार ‘अरब स्प्रिङ’ मा उनी खुलेर उभिए ।  टुयुनिसियाका जनता सडकमा निस्कँदा उनले हर्षका साथ उद्घोष गरे :  “आन्दोलन चर्काउनलाई म ट्युनिसिया जानेछु र खाली खुट्टा नाच्नेछु” ।  नभन्दै आन्दोलन चर्केको बेला उनलाई ट्युनिसिया बोलाइयो पनि ।

यसरी समग्र रूपमा जनताको पक्षमा इजराएली हस्तक्षेप र अमेरिकी साम्राज्यवादका विरुद्ध उभिएका कवि समिह अल–कासिमको मृत्यु  अगस्त १९, २०१४ मा  क्यान्सरको लामो विरामीपछि रमल्लामा भएको थियो । गाँजा क्षेत्रमा इजराएली आक्रमण तीव्र बनेकै बेला उनको मृत्य भएको थियो । त्यतिखेर स्कुलहरू, पुस्तकालयहरू र  वालवालिका खेल्ने उद्यानहरूसमेत इजराएली बमबर्षक विमानका तोपगोलाका कोपभाजनमा परेका  थिए । साना वालकका क्षतविक्षत लासहरूले समाचारका पन्नाहरू भरिएका थिए । उनको मृत्युमा बहुचर्चित कवि एलाइस वाकरले कविता लेखे । जनता सडकमा निस्केर उनको सम्झनामा नारा लगाए । रमल्ला, गोलनहाइट लगायत विभन्न ठाउँबाट इजराएली बन्धन तोड्दै आमजनता उनको श्रद्धान्जली सभामा सामेल भए । प्यालेस्टिन र सिरियाली झन्डासहित  खासगररे ड्रिउज समुदायका जनताले उनको श्रद्धाञ्जलीमा समवेत गीत गाए: “तिम्रो मृत्य प्यालेस्टिनी जनताका लागि सबैभन्दा दुखद क्षण हो ।”

उनका लामा–छोटा सबै थरी कविताहरू चर्चित छन् । छोटा  कविताहरूमा 'टिकेटहरू' र 'मूत्यु' को निकै चर्चा गर्ने गरिन्छ ।  'सूर्यको दुस्मन'  उनको बहुचर्चित र निकै प्रभावकारी कविता हो ।  क्यान्सरले  पीडित भएको अवस्थामा लेखिएको कविता 'मृत्यु' लाई उनको सबैभन्दा पछिल्लो कविता भनिएको छ ।  सदैव प्यालेस्टिनी जनताको स्वतन्त्रता र मुक्तिको पक्षमा  उभिएका कवि समिह अल–कासिम दृढता र प्रतिबद्धताका कवि हुन् । कवि समिह अल–कासिम  युवा पुस्तालाई  सदैव उत्साहित पार्ने प्रेरणाका प्रतीक हुन् । त्यसैले उनको मृत्युलाई “प्रतिरोधको तेस्रो खम्बा ढल्यो” भनेर बिम्बमा उल्लेख गरिएको पाइन्छ । प्रस्तुत छ, उनको महत्त्वपूर्ण कविता 'सूर्यको दुस्मन' । 

सूर्यका दुस्मन

तिमी जेसुकै गर,
मैले मेरो रोटी गुमाउनु परे पनि
मैले मेरा लुगाफाटा र विछ्यौना बिक्री गर्नु परे पनि
मैले गिट्टी फोर्ने काम गर्नु परे पनि
भरिया अथवा
डोम बन्नु परे पनि
मैले तिम्रो गोदाम सफा गर्नु परे पनि
अथवा खाना खोज्दै फोहरको डङ्गुरमा हात चोबल्नु परे पनि
ओ! सूर्यका दुस्मन,
तर म  झुक्ने छैन,  
अन्तिम घडीसम्म म लडिरहने छु ।

तिमी मेरो भूमिको अन्तिम टुक्रा कब्जा गर्न  सक्छौ,
मेरो युवा जीवनलाई कालकोठरीमा सडाउन सक्छौ,
तिमी मेरो विरासतलाई ध्वस्त पार्न सक्छौ,
तिमी मेरा किताब र कविताहरू भष्म पार्न सक्छौ,
अथवा मलाई टुक्राटुक्रा पारेर कुकुरलाई खुवाउन सक्छौ,
तिमी मेरा गाउँका छानाछनामा आतङ्को लहर फ्रैलाउन सक्छौ
ओ ! सूर्यको दुस्मन,
तर म आत्मसमर्पण गर्ने छैन,
म अन्तिम साससम्म  लडिरहनेछु ।

तिमी मेरा आँखामा आगो झोस्न सक्छौ,
तिमी मलाई मेरो आमाको काखबाट खोस्न सक्छौ,
तिमी मेरो इतिहास ध्वस्त पार्न सक्छौ,
तिमी मेरा बाआमा र हितैषीहरूमाथि गोली ठोक्न सक्छौ
तिमी मेरा बालबच्चा र आफन्तहरूको हाँसो खोस्न सक्छौ,
तिमी त्रसित अनुहारका साथ उनीहरूलाई मूर्ख बनाउन सक्छौ,
तिमी मेरा आँखामा अपमानको पीडा भरिदिन सक्छौ
मेरो चारैतिर आतङ्क पैदा गर्न सक्छौ,
ओ ! सूर्यका दुस्मन
तर म  झुक्ने छैन,  
अन्तिम घडीसम्म लडिरहने छु ।

बन्दरगाहरूमा सिग्नलहरू देखिएका छन्,  
हावामा एक किसिमको गुञ्जन सुनिन थालेको छ
मुटुमा उद्द्वेलन पैदा भएको छ,
हावा र छालहरूलाई चुनौती दिँदै,
क्षितिजमा डुङ्गाहरूको पाल देखिएको छ
हराएका मान्छेहरूको समुन्द्रबाट फर्केको ऊ
युलिसस हो,
निर्वासित मेरा प्रियजनहरूसँगै
सूर्य पनि फर्केको छ,
ऊ र उनीहरूका लागि
म प्रतिज्ञा गर्छु, म झुक्ने छैन
मेरो अन्तिम साससम्म
म लडिरहने छु, म लडिरहने छु,
म लडिरहने छु !!
(विचारप्रधान पत्रिका 'विकल्प' बाट)
०००

भिडियो फिचरview all