
माकेको एमालेमा विलय प्रक्रियाको तीव्रतासँगै विद्रोहको प्रक्रियामा पनि तीव्रता

यसै क्रममा एक हप्ताअघि झापाको दमकमा भएको एक नम्बर प्रदेशका विद्रोहीहरूको भेलाले जिल्ला संयोजकहरू तोकेको र अहिले धमाधम जिल्लाजिल्लामा विद्रोहीहरूको भेला भइरहेको समाचार ‘जनमेल’ लाई प्राप्त भएको छ । पहिले गोपाल किराँती इन्चार्ज भएको एक नम्बर प्रदेशमा माकेले अहिले राम कार्कीलाई इन्चार्ज बनाएर पठाए पनि उनको त्यहाँ खासै पकड नभएको र प्रचण्ड समूहमा मिसिन गएको बादल समूह त्यहाँ बढी प्रभावकारी भएकाले एक नम्बर प्रदेशलाई मिलाउन राम कार्कीलाई निकै कठिन हुने भन्दै एक थरीले सावित्री काफ्ले इन्चार्ज नबनाएकोमा असन्तुष्टि पोखेको कुरा पनि प्राप्त समाचारमा उल्लेख छ । पूर्व माकेहरूले भने सावित्री काफ्लेलाई पार्टी भन्दा परिवारवाद र गुटबन्दीमा रमाउने नेता भनेर आलोचना गर्ने गरेका छन् । प्रदेश सरकारमा पनि बादल समूहको वर्चस्व रहेकाले पूर्वमा गुटबन्दी तीव्र बनेको कुरा समाचारमा उल्लेख गरिएको छ ।
विराटनगरस्थित झापा विद्रोहदेखिका एक जना अनुभवी नेताका अनुसार पूर्वमा किरण समूहमा रहेकाहरू तुलनात्मक रूपमा इमानदार रहे पनि वरिष्ठ नेताहरू नभएको र भएकाहरूले पनि गतिशीलताका साथ राजनीति अघि बढाउन नसकेको, बिप्लवहरूको जनस्तरीय कामभन्दा हल्ला मात्रै धेरै र विचारले भन्दा आर्थिक उत्प्रेरणाले कार्यकर्ता परिचालित गरिएको स्थितिमा माकेबाट विद्रोह गर्नेहरू पनि विकल्पका सन्दर्भमा अलमलमा रहेका छन् । उनका भनाइमा यतिबेर पूर्वमा किरण समूहले जनसम्बन्ध विस्तार गरी साङ्गठनिक तथा राजनीतिक गतिविधिलाई तीव्र बनाउनु आवश्यक छ ।
यसैबीच गोपाल किराँतीका पछिल्ला कतिपय अभिव्यक्तिहरू, त्यसमा पनि हिटलरले अघि सारेको ‘राष्ट्रिय समाजवाद’ सम्बन्धी धारणाप्रतिको उनको प्रतिबद्धता आदिलाई लिएर माकेबाट विद्रोहको तयारीमा लागेकाहरूमा तीव्र असन्तोष उत्पन्न भएको कुरा माकेका पूर्व केन्द्रीय सदस्य तथा एउटा जिल्लाका संयोजकले जनाएका छन् । उनका भनाइमा कार्यदिशाको प्रश्न, नयाँ जनवादी क्रान्ति कि, “राष्ट्रिय समाजवाद” , कोसित संयुक्त मोर्चा बनाउने, कोलाई नेता बनाउने र कोसित एकता गर्ने कुरा उनको निजी कुरा होइन, यो त सामूहिक निर्णयको कुरा हो । गोपाल किराँतीले आआफ्नै सोचाइअनुसार बोल्दै र लेख्दै जाने हो भने उनको विरुद्ध पनि विद्रोह हुनु विज्ञानको नियम हो भन्ने भनाइ पनि उनको रहेको छ । सामूहिकतामा नजाने हो र उनको भनाइ नै सर्वोपरि ठान्ने हो भने किन प्रचण्ड समूबाट विद्रोहको कुरा गर्नु भन्ने भनाइ पनि उनको रहेको छ ।
गोपाल किराँतीको कमजोर वैचारिक धरातल, जातिवादी चिन्तन, अस्थिरतावादी सोचाइ, महत्वाकाङ्क्षी प्रवृत्ति र प्रचारमोहका कारण उनबाट लामो समयसम्म वैचारिक तथा साङ्गठनिक नेतृत्व हुन नसक्ने हुँदा उनको विकल्पको खोजी गर्नुपर्ने बहस माकेबाट विद्रोहको तयारीमा लागेकाहरूबीच चल्न थालेको कुरा पनि पूर्वबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
यसैबीच माकेका एक नम्बर प्रदेशका पोलिट ब्युरो सदस्यसित सम्पर्क राख्दा गोपाल किराँतीको जिल्लामै उनको पछि लाग्नेहरू छैनन् भने अरू जिल्लामा उनले के प्रभाव पार्छन् होलान् र भन्ने भनाइ उनको रहेको छ ।
भिडियो फिचरview all