menu

ताजा समाचार

माकेभित्रको विद्रोहको रेखाचित्र

वामपन्थ र कम्युनिस्ट पार्टीका नाममा संसदवादी राजनीतिमा चुर्लुम्म डुबेका नव-प्रतिक्रियावादी पार्टीहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकताको प्रक्रियाको थालनीसँगै माकेसम्बद्ध कतिपय केन्द्रीय  नेताहरूमा असन्तुष्टि, आक्रोस र विद्रोहभाव बढ्दैगएको र केन्द्रीय स्तरमा देखिएको यो स्थिति जिल्लास्तरसम्म विकसित हुनथालेको देखिएको छ ।
 
कतिपयले ओली र प्रचण्डबीच भएको पार्टी एकतासम्बन्धी सम्झौतापछि एकताले गति लिएको र  विभिन्न किसिमका समिति र उपसमिति बनेका कारण छिटै एकताले ठोस रूप लिने भनेर टिप्पणी गरे पनि प्रचण्ड र ओली दुबै एकअर्काप्रति विश्वस्त हुन नसकेको र उनीहरू एकताका नाममा सरकार  र सदनमा आफ्नो स्थिति बलियो बनाउनमा नै बढी केन्द्रित रहेको भनेर पनि कतिपयले टिप्पणी गर्ने गर्दछन् । खासगरेर भारतीय विदेशमन्त्री सुषमा स्वराजसितको भेटघाटपछि ओलीको सोचाइ र व्यवहारमा आएको परिवर्तन र महन्थ ठाकुर र उपेन्द्र यादबलाई सरकारमा ल्याउन गरिएको प्रयासपछि प्रचण्ड बढी सशंकित भएको भन्ने पनि गरिन्छ तापनि दुवै विदेशी स्वार्थमा काम गर्ने र पार्टी मुलुक र कार्यकर्ताप्रति त्यति गम्भीर नभएकाले उनीहरूको निजी स्वार्थ मिल्नेबित्तिकै दुवै एकाकार हुने हुनाले यसमा विवाद गर्नु आवश्यक छैन भन्ने भनाइ पनि कतिपयको रहेको छ । उनीहरूबीचको समस्या  भनेको प्रतिक्रियावादी कित्ताबीचको समस्या हो र उनीहरूको चिन्ता भनेको बाह्य प्रतिक्रियावादी शक्तिको आडमा आफ्नो भूमिकालाई कसरी सुरक्षित राख्ने  भन्ने मात्र हो । वास्तवमा कार्यकर्तामा बढ्दो आक्रोस र विद्रोहलाई ध्यानमा राख्दै र  आफूलगायतका केही “प्रभावशालीहरू” हरूको पदीय व्यवस्थापनको चित्त बुझ्दो अवस्था नआउन्जेल प्रचण्डले अनेक बहाना बनाएर एकताप्रक्रियालाई पछि सार्न सक्छन् । अहिले आएर गत साल चुनावको सन्दर्भमा भएको समझदारीको मिति वैशाखमा एकता हुने भनेर उनको नजिकका माध्यमहरूले समाचार प्रकाशित गर्नथालेका छन् ।

एकताको प्रक्रियाले एमालेका कार्यकर्ता बढी खुसी भएका देखिन्छन् ।  प्रचण्डहरूलाई आफनो विचार, राजनीतिक नीति, योजना तथा कार्यक्रममा ल्याएर एक हिसाबले आत्मसमर्पणको स्थितिमा पुर्याएको अवस्था भएकाले उनीहरू निकै उत्साहित भएका देखिन्छन् । उनीहरू खुलेरै समस्या प्रचण्डहरूसितको एकता नभएर अन्तरपार्टी व्यवस्थापन हो भन्दछन् र प्रचण्डभन्दा बढी ओलीको मनपरितन्त्र, गुटवाद र अन्तरपार्टी आतङ्कको आलोचना गर्छन् ।

एमालेभित्र विगतदेखि नै गुटउपगुटको समस्या चलिरहेकाले त्यो त्यति जटिल विषय होइन । मूल प्रश्न प्रचण्ड र उनको पार्टीले एमालेसित गर्न थालेको एकता प्रक्रिया देखिएको छ  । लाभको पद सुखसुविधा र सम्पन्नता आर्जन गरेका केहीहरूबाहेक प्रचण्ड र उनको निर्णयप्रति माकेका अधिकांश कार्यकर्ता त्यसमा पनि तलका र मध्यम तहका कार्यकर्ता पटक्कै सन्तुष्ट भएको देखिएन । यो पूर्वी प्रदेशका कार्यकर्ताको मात्रै सन्दर्भ नभएर माकेभित्रको आम समस्या बनेको देखिन्छ । प्रचण्डले जनयुद्ध, क्रान्ति र नेपाली जनतालाई धोका दिए नै,  उनले अझै केही गर्छन् कि भनेर पछि लागेका नेता-कार्यकर्तालाई पनि धोका दिए, उत्पीडित जनताका सामु टाउको निहुराउनु पर्ने स्थितिमा पुर्याए भन्ने आम कार्यकर्ताको भनाइ रहेको छ । प्रचण्डले माओवाद र  माओवादी आन्दोलनको बदनाम त गरेगरे, जनताका सामु उभिन नसक्ने स्थिति उत्पन्न गरे भन्ने आम कार्यकर्ताको भनाइ छ । उनले काङ्ग्रेससित मिलेर छोरीलाई चुनाव जिताए र आफूले कतैबाट जित्ने स्थिति नबनेपछि आफ्नो निजी हितका  लागि एमालेसामु आत्मसमर्पण गरे भन्ने ठहर अधिकांश कार्यकर्ताको रहेको छ । पूर्वको मात्रै सन्दर्भ हेर्दा पनि कार्यकर्तामा कताकता निरासाभाव, पीडा र आक्रोस भरिएको पाइन्छ । कान्तिहीन छन् तिनका अनुहारहरू, आत्मबल र  दृढताका साथ ती यो एकता सही हो भन्न सकिरहेका छैनन् । कतिपय अनुरोध नै गर्छन् —“छिटै विकल्प तयार होओस्, प्रचण्डले आत्मसमर्पण गरे पनि क्रान्तिको झण्डा हातमा छ भनेर चित्त बुझाउन पाइयोस्, छाती खोलेर जनतामाझ जाने स्थिति बनोस् ।” प्रचण्ड-ओली एकताको असर विस्तारै प्रदेश र जिल्लामा पर्न थालेको देखिन्छ तापनि भरपर्दो विकल्प देखा नपरुन्जेल जिल्लामा खुलेर आउने स्थिति छैन । मार्क्सवाद-लेनिनवाद- माओवाद र  नयाँ जनवादी क्रान्तिका आधारमा नयाँ क्रान्तिकारी केन्द्र बनाउनु आवश्यक छ भन्नेमा अधिकांशको सहमति छ  ।

केन्द्रीय स्तरमा लोकेन्द्र विष्ट, गोपाल किराँती र आहुतिले माकेबाट ‘विद्राह’ गरेका छन् र पार्टीले उनीहरूमाथि कारबाही पनि गरिसकेको छ । यद्यपि यी तीन जनामा पनि एकरूपता छैन । लोकेन्द्र विष्ट रुकुमका पुराना नेता हुन् र जनयुद्धको पहल गर्दाका १७ जना केन्द्रीय सदसयमध्येका  एक हुन् । उनले आफू माओवादी केन्द्र पुनर्गठन अभियानमा भन्दा बैद्य तथा विप्लवबीच एकता गराउने प्रयासमा रहेको भनेका छन् र यो सकारात्मक  पक्ष हो ।  गोपाल किराँतीले आफू पुनर्गठन अभियान अर्थात् विद्रोही माओवादी केन्द्र निर्माणमा लागेको भनेका छन्, यो पनि सकारात्मक पक्ष हो । बहुदलीय संसदीय व्यवस्था, अहिलेको संविधान र नेपाली क्रान्तिको स्वरूप चरित्र र दिशाका बारेमा तिनै थरी नेताको धारणा भने प्रस्टताका साथ आएको छैन । उनीहरूको मूल प्रश्न प्रचण्डले एमालेसामु आत्मसमर्पण गरे  भन्ने रहेको छ । त्यसको तुलनामा तलका कार्यकर्ताहरूमा प्रस्टता देखिन्छ । उनीहरूको सोचाइ र बुझाइ नेकपा (क्रान्तिकारी माओवादी) को नजिक रहेको पाइन्छ ।

लोकेन्द्र विष्टको क्षेत्र रुकुम भए पनि त्यहाँ उनले भरपर्दो जनाधार निर्माण गर्न सकेको देखिँदेन । पुर्बी रुकुममा प्रचण्डका विश्वासपात्र गणेशमान पुन छन् भने पश्चिम रुकुममा पार्टी र सरकारमा जनार्दन शर्मा ‘प्रभाकर’ को हालिमुहाली देखिन्छ । रुकुमको सन्दर्भमा कमरेड सुदर्शन र विष्ट दुवै जिल्ला स्तरमा प्रभाकर प्रवृत्ति  र केन्द्रीय स्तरमा प्रचण्ड प्रवृत्तिबाट पीडित नेता  हुन् र अहिले सुदर्शन र विष्टबीच समझदारी र सहयात्राको स्थिति बन्न सक्ने देखिन्छ । यो पनि सकारात्मक पक्ष हो ।

नारायणकाजीको प्रभावमा रहेको गुटका केही विद्यार्थीहरूमा असन्तुष्टि रहेको पाइएको छ तापनि त्यसको प्रस्ट रूपरेखा बाहिर आएको छैन ।  आहुतिको पछाडि त्यति सारो जनमत नरहेको र वैचारिक रूपबाट पनि उनी प्रस्ट नभएको स्थिति हो ।  पछिल्ला दिनमा मार्क्सवादभन्दा समाजशास्त्रवादी धारणाको वकालत गर्ने गरेका कारण मार्क्सवादलाई आधार मान्नेहरू उनका पछाडि लाग्ने सम्भावना देखिँदैन । उनले पुनर्गठन  नभएर नयाँ पार्टी बनाउने कुरा गरेका छन् र यो त्यति भरपर्दो टिम पनि होइन।  उनको स्थिति भनेको ध्रुवीकृत हुने/गराउने  स्थिति हो ।
 
अस्तिसम्म  प्रचण्ड विश्वकै  महान् नेता हुन्, उनकै नेतृत्वमा समाजवाद प्राप्त हुन्छ भन्दै प्रचण्डपथको विकल्प छैन भनेर गोपाल किराँतीले भन्ने गरेका हुन् ।  विचारका दृष्टिले एकदमै कमजोर, मार्क्सवाद र वर्गीय प्रश्नमा भन्दा जातीय पहिचानमा जोड दिने व्यक्ति,  महत्वाकाङ्कक्षाद्वारा परिचालित हुने, विचार विवेक र तर्कका आधारमा भन्दा आवेग र आक्रोसका आधारमा निर्णय गर्ने अस्थिर र अराजक किसिमका पात्र हुन् भनेर गोपाल किराँतीकै  नजिकका कतिपयले भन्ने गर्दछन् । तर,  माकेको 'एक नम्बर प्रदेश' का इन्चार्ज नेता भएकाले माकेको पूर्वको पार्टीमा उनको प्रभाव हुन सक्छ र किराँतीको ‘विद्रोह’ ले माकेको पूर्वको सङ्गठनात्मक स्थितिमा केही फरक पर्न सक्छ  भन्ने भनाइ पुर्बेली राजनीतिक विश्लेषकहरूको रहेको छ ।
 
माकेका एकतामा जाँदा बादल समूह मात्र नगएर मात्रिका यादव, मणि थापासहित अन्य सानासाना  टोलीहरू पनि गएका हुन् । मात्रिकाले जे चाहेका थिए, पाए । बादलले पनि भनेजस्तो स्थान पाए । प्रचण्डले युद्धकालमा “मणि पागल भयो” भनेर बैठकमै भन्ने गरेको भए पनि स्थानीय  र केन्द्रीय चुनावमा खटेर लागेका र पछिल्ला दिनमा प्रचण्डको  भक्तिभावमा निकै समय र शब्दहरू खर्च गरेका मणि थापालाई भने प्रचण्डले लाभको पद र सुविधाका सन्दर्भमा निरास नै पारेको देखिन्छ । प्रचण्डले मणिसितको युद्धकालको बदला राम्रोसित लिएको देखिन्छ । मणिथापाले  फेसबुकमार्फत केही असन्तुष्टि पोखे पनि उनी खुलेर आएका छैनन् र आउने स्थिति पनि छैन । तर उनीसित प्रचण्डहरूसित एकतामा आएका उनका कतिपय केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूले भने उनलाई साथ दिने स्थिति छैन भन्ने कुरा पनि पूर्वको स्थितिले  प्रस्ट पारेको छ । यस अर्थमा मणिभन्दा  उनका कार्यकर्ता वैचारिक दृष्टिले बढी सचेत रहेछन् भन्न सकिन्छ ।

 एमालेसित चुनावी कार्यगत एकतासम्म सही भए पनि पार्टी एकता सही होइन भन्नेमा माकेभित्र पूर्वदेखि पश्चिमसम्मका कार्यकर्ताहरूको ठूलो सङख्या रहेको देखिन्छ । हिजो प्रचण्ड नै सम्पूर्ण हुन् भनेर बसेकाहरू (अर्थात् कमरेड किरणसित विद्रोहमा सामेल नभएकाहरू) माकेका मोरङलगायत '१ नम्बर प्रदेश' का कतिपय कार्यकता नेतासमेत पनि यो एकता ठीक भन्ने स्थितिमा देखिएनन् । खासगरेर पछि एकताका नाममा प्रचण्डसित मिसिएका मणि तथा बादलसित सम्बद्ध केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूमा एकताप्रति असहमति भाव अत्यधिक मात्रमा देखिएको छ  ।  उनीहरू एमालेमा आत्मसमर्पण गर्न प्रचण्ड समूहमा  गएका होइनौँ भनेर खुलेरै आउन थालेको देखियो ।  लाभको पद र सरकारमा सुविधा पाउन सफलता पाएका एकाधबाहेक बादलसित गएर प्रचण्डसित मिसिएकाहरू कोही पनि  सन्तुष्ट छैनन्/देखिएनन्  । माकेको सङ्गठनात्मक स्थिति तुलनात्मक दृष्टिले बलियो भएको ठाउँमा त्यति समस्या नभए पनि एमालेको वर्चस्व भएको ठाउँमा माकेका कार्यकर्ताले हीनत्वभाव, कुण्ठाबोध र उपेक्षाभाव बोध गरेको पाउनुले  एकतापछि स्थिति त्यति सहज हुन्छ जस्तो देखिँदैन ।

खासगरेर यतिखेर बादल र मणिका साथ माकेमा फर्केकाहरू एकदमै सन्तुष्ट छैनन्  र उनीहरू खुलेरै अबको स्थिति विचार  , सङ्गठन र आन्दोलनको रक्षाको स्थिति हो र यसका लागि कमरेड मोहन बैद्यको विकल्प छैन भन्ने निर्णयमा पुगेको देखिन्छ । कतिपय कुरा चित्त नबुझ्दा भए पनि '१ नम्बर प्रदेश' को इन्चार्ज नेता भएकाले हाल गोपाल किराँतीले आरम्भ गरेको पुनर्गठन अभियानमा सामेल हुनु प्रारम्भिक तहमा आवश्यक र सही देखिए पनि  अन्ततः कमरेड किरणको नेतृत्वमा गोलबद्ध हुनुको विकल्प छैन भन्ने विचारप्रति उनीहरू सहमत भएको पाइयो । उनीहरू आफ्नो नाम र अन्य कुरा तत्काल बाहिर ल्याउने स्थितिमा नभए पनि केन्द्रीय स्तरकै नेताहरू माके र एमाले बीचको एकतामा सामेल हुन  नचाहनुले माकेको '१ नम्बर प्रदेश' ले विद्रोहको झण्डा राम्रैसित उठाउन सक्ने देखिन्छ ।
 
पूर्वाञ्चल त्यसमा पनि मोरङ, सुनसरी र झापा विगतमा  लामो सङ्घर्ष गरेका  क्षेत्र हुन् र राजनीतिक रूपबाट निकै सचेत क्षेत्र पनि हो यो  । त्यस क्षेत्रमा मोहन बैद्यप्रति विश्वास र आस्था भए पनि  पार्टीका पुराना कार्यकर्ता तथा स्थानीय केन्द्रीय नेताहरूको अभाव, केन्द्रबाट आउने नेताहरू पनि अतिथि बन्न मात्र आउने गरेका कारण बहसछलफल, प्रशिक्षणको अभाव र सङ्गठनात्मक समस्या रहेको कुरामा कार्यकर्ताहरूको गुनासो थियो । विद्रोही मानसिकता बोकेका माकेका कार्यकर्ताहरूका भनाइअनुसार अहिलेको समयमा नेकपा (क्रान्तिकारी माओवादी) ले  पूर्वलाई विशेष ध्यान दिनुपर्ने अवस्था छ, अहिलेको जस्तो स्थितिले पुग्ने अवस्था  छैन।

माओवादको झण्डाको रक्षाका लागि किरणको विकल्प छैन भन्ने अभिमत राख्नेहरूको सङ्ख्याको वृद्धि हुनु सकारात्मक पक्ष हो ।अहिले किराँतीको नेतृत्वमा पुनर्गठित अभियानलाई साकार रूप दिए पनि अन्ततः कमरेड किरणको नेतृत्वमा गोलबद्ध हुनुको विपल्प छैन भन्ने भनाइ '१ नम्बर प्रदेश' का माकेका विद्रोहीहरूको रहेको छ । साँच्चिकै मालेमावाद र क्रान्तिकारी विचार, माओवादी आन्दोलनको रक्षा र विकासप्रति हामी प्रतिबद्ध छौँ भने पूर्वदेखि पश्चिमसम्मका क्रान्तिकारीहरूको सोचाइ अहिलेको अवस्थामा यही हुनु  आवश्यक छ र यो नै समयको निष्कर्ष हो ।

('एक नम्बर प्रदेश' को अध्यनपछि जनमेल टिप्पणीकार ) 
भिडियो फिचरview all