
तेइसौं जनयुद्ध दिवसका अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) द्वारा जारि प्रेस वक्तव्य

त्यसैगरी जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्यबारे प्रस्ट पार्दै वक्तव्यमा भनिएको छ : ''मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहररूलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढ्नु नै तेइसौं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हो ।"
वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
हामी तेइसौं जनयुद्ध दिवस मनाउँदै छौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा तेइस वर्षअघि २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । सो जनयुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जाने उद्देश्यमा आधारित थियो । दस वर्षसम्म सञ्चालित जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुग्दै थियो । परन्तु, पार्टीको मूल नेतृत्वबाटै गम्भीर धोका दिइनुको कारण त्यसप्रकारको जनयुद्धले गम्भीर धक्का खान पुग्यो ।
महान् जनयुद्धको प्रक्रियामा हजारौं वीर योद्धाहरुले सहादत प्राप्त गरे । कैयौं राज्यद्वारा बेपत्ता पारिए । कैयौं घाइते तथा अपाङ्ग बनाइए । तेइसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी जनयुद्धका महान् अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । बेपत्ता योद्धाहरुको स-सम्मान संस्मरण गर्दछौं । साथै, जनयुद्धमा घाइते अपाङ्ग बनेका सम्पूर्ण योद्धाहरुप्रति पनि हामी सम्मान जाहेर गर्दछौं । साथै, हामी वीर सहिद तथा बेपत्ता योद्धाहरुका परिवारजनहरूप्रति पनि सम्मान प्रकट गर्दछौं । यसैगरी हामी पार्टीका सम्पूर्ण कमरेडहरू, क्रान्तिका शुभचिन्तक, परिवर्तनकामी जनसमुदाय र अन्तर्राष्ट्रिय क्षेत्रका मित्र, भाइचारा पार्टी तथा विश्वसर्वहारावर्गप्रति पनि हार्दिक शुभकामना तथा अभिवादन व्यक्त गर्दछौं ।
दस वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्वहाली गरी संविधान बनाइयो । देश र जनताका मुक्ति र स्वतन्त्रताका सपना साकार हुन सकेनन् । यस वर्ष स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावी नौटङ्की पूरा गरी संसदवादी संविधान कार्यान्वयनको झ्याली पिंटिदै छ । वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र बन्दै गएको छ । यस जटिल स्थितिमा हामी मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहररूलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौं । यसै उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै तेइसौं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हो । फेरि पनि हार्दिक शुभकामना ! क्रान्तिकारी अभिवादन !! लाल सलाम !!!
’
२०७४ फागुन १
भिडियो फिचरview all