menu

ताजा समाचार

२०५२ साल फागुन १ गते जारी गरिएको पर्चा

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ

आदरणीय जनसमुदाय,

आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ पुर्यायो ? त्यसले नेपाललाई इथोपियापछिको संसारकै दरिद्र देशको स्तरमा पुर्यायो । आत्मनिर्भर एवम् राष्ट्रिय अर्थतन्त्रको दिशामा सियोसम्म नबनाउने यो राज्यसत्ताले आज देशको सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल एवम् नोकरशाही पुजीपति वर्गका एक दर्जन परिवारका हातमा केन्द्रित गराएको छ । ती मुट्ठीभर लुटेराहरू अरबौंपति बनेका छन् भने यो देश र यो सम्पतिका मालिक आमश्रमजीवी जनता अभाव र गरिबीको दुश्चक्रमा परी अस्तित्वको विकराल समस्या भोग्न बाध्य बनाइएका छन् । बेरोजगारी र गरिबीले आक्रान्त नेपाली मजदुर र किसानका छोराछोरीहरू रोजीरोटीका लागि भारत र विश्वका विभिन्न मुलुकमा अपमान र तिरष्कारको नारकीय जीवन बिताउन विवश बनाइएका छन् । विदेशी पुँजीपतिहरूसंग भीख मागी नेपाली जनताका भावी सन्तति समेतलाई ऋणको भार बोकाएर यहाँका सामन्त नोकरसाह र दलाल पुँजीपतिहरूले त्यसमा ब्रम्हलुट मच्चाउँदै आएका छन् । अहिले विदेशी पुँजीपति वर्गकै स्वार्थ र इसारामा निजीकरण र उदारीकरणका नाममा सिङ्गो देश नै दलाल एवम् नोकरसाह पुँजीपतिहरूलाई बेच्ने प्रक्रिया जोडतोडले बढिरहेको छ । यो सब आर्थिक दुरावस्थाको मार जनसङ्ख्याको ९० प्रतिशत रहेको किसान वर्गले नै बढी भोग्नु परिरहेको छ । यो राज्यसत्ताअन्तर्गत बन्ने हर नयाँ सरकारले देशलाई आर्थिक रूपले झन्झन् टाट पल्टाउँदै लगेको र लाने कुरा इतिहाससिद्ध भएको छ ।


एउटा धर्म, भाषा र जातिको प्रभुत्वका लागि यो राज्यसत्ताले सयौं वर्षदेखि अन्य धर्म भाषा र जातिका जनतामाथि भेदभाव, शोषण र दमनको प्रक्रिया चलाएर देशको समुचित विकास र शुरक्षाका लागि अपरिहार्य राष्ट्रिय एकताको शक्तिलाई विखण्डित पार्ने षड्यन्त्र गर्दै आएको छ । उता विदेशी साम्राज्यवाद र विस्तारवादका अगाडि भने घुँडा टेकेर बारबार नेपालको राष्ट्रियता र सार्वभौमिकताको सौदाबाजी गर्दैआएको छ । नेपालको प्राकृतिक जलसम्पदादेखि नेपाल आमाको छातीमा समेत बुट बजार्न वर्तमान सत्ताले निर्लज्जतापूर्वक छुट दिंदै आएको छ । यो प्रक्रिया अझ केही समय जारी रहन दिने हो भने नेपालको अस्तित्व नै लोप हुन जाने कुरामा कुनै पनि देशभक्त, विवेकशील र स्वाभिमानी नेपालीका बीचमा दुई मत हुन सक्तैन ।

भ्रष्ट, छाडा साम्राज्यवादी विकृत संस्कृतिको बाढी लगाएर वर्तमान राज्यसत्ताले नेपाली जनताको राष्ट्रिय संस्कृतिको विकासका विरुद्ध युद्ध नै छेडेको छ । जनवादी सांस्कृतिक मूल्यमान्यता र आदर्शका विरुद्ध यौनवादी, शून्यवादी, अराजकतावादी मान्यता स्थापित गर्न सामन्तवादी र सनम्राज्यवादीहरू जोडतोडले लागिरहेका छन् । जनतालाई सांस्कृतिक रूपले विकृत पारी आफ्नो लुटको स्वर्गलाई बचाउने प्रतिक्रियावादी वर्गको यो भयानक षड्यन्त्रको परिणाम हो । आज समाजमा व्याप्त लागूपदार्थ, तस्करी, चोरी कालोबजारी, लूट, हत्या र बलात्कारका पछाडि विकृत सांस्कृतिक मान्यता कम जिम्मेवार रहेको छैन ।

मरणासन्न अवस्थामा पुगेको यो राज्यसत्ताअन्तर्गत अहिले आफ्नो राष्ट्रघात र जनहत्याका निम्ति नेपालको इतिहासमा कुख्यात पञ्च र काङ्ग्रेस गठबन्धन सरकार बनेको छ । यसले नेपालका मजदुर किसान मात्र होइन, सबै तह र पेसाका जनतालाई अभाव, अन्याय र आतङ्कको सन्त्रासमा बाँच्न विवश तुल्याएको छ । नेपाली महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा लिँदै आएको यो राज्यसत्ताले अहिले झन् बलात्कार, बेचबिखन र विज्ञापनको साधन बनाउने प्रक्रियालाई तीव्र पारेको छ । सम्पूर्ण शिक्षाक्षेत्र सत्ताको दास बनाउने ढङ्गले सञ्चालित छ र त्यहाँ अराजकता व्याप्त छ । यसरी आज के मजदुर, के किसान, के महिला, के शिक्षक, के विद्यार्थी, के साना व्यापारी र साना कर्मचारी, के डाक्टर, के प्राध्यापक जनताका सबै तप्का, यहाँसम्म कि देशभक्त राष्ट्रिय पुँजीपतिहरूसम्म यो सामन्त, नोकरसाह र दलाल पुँजीपतिहरूको राज्यसत्ताको सिकार बनाइएका छन् । सबै क्षेत्रमा आमूल परिवर्तनविना सुधारको सम्भावना अब मृगतृष्णा बनेको छ ।

प्रजातन्त्रको दुहाइ दिने सत्ताधारी वर्गले आफ्नो स्वार्थविपरीत राजनीतिक आस्था राख्ने राजनीतिक कार्यकर्ता एवम् सर्वसाधारण जनताका विरुद्ध बारम्बार बन्दुकको भाषा बोल्दै आएको छ । राष्ट्रियता जनतन्त्र एवम् जनजीवीकाको पक्षमा जनताले शान्तिपूर्ण रूपबाट आफ्नो विरोध र अभिमत जाहेर गर्दा “प्रजातन्त्र” को ठेकेदार सम्झने यो राज्यसत्ताले दूधमुखे बालकदेखि वृद्धसम्म नेपाल आमाका अनगिन्ती छोराछोरीहरूको रगत पिउँदै आएको छ । न्यायको आवाज उठाउने लाखौं लाख नेपालीहरू भयानक शारीरिक यातना र मानसिक प्रताडनाका सिकार बनाइएका छन् । निर्दलीय पञ्चायतीकालमा मात्र होइन, आजको राजतन्त्रात्मक संसदीय कालमा जनहत्या र दमनको त्यो फासिस्ट प्रक्रिया घट्नुको सट्टा झन् बढ्दै गएको यथार्थ नेपाली जनताले आफ्नो वास्तविक जीवनमा भोगिरहेको तीतो यथार्थ हो ।
आज यो प्रक्रिया सत्य र न्यायको पक्ष लिने निरपराध जनताका विरुद्ध सशस्त्र दमन अभियानका रूपमा विकसित भएको छ । पश्चिम नेपाल र देशका विभिन्न भागमा हालै चलाइएको सशस्त्र अपरेसन र राज्यआतङ्कले सत्ताधारी वर्ग खुलमखुला  जनताका विरुद्ध अन्यायपूर्ण युद्धमा उत्रिसकेको तथ्य दिनको घामझैँ छर्लङ्ग भएको छ । गरिब किसान र मजदुरका छोराछोरीहरूलाई नै भाडाका सिपाहीका रूपमा पुलिस र सेनामा भर्ती गरेर उनीहरूलाई आफनै भोकानाङ्गा आमाबाउ, दाजुभाइ, दिदीबहिनीका विरुद्ध हतियार उठाउन लगाउने प्रतिक्रियावादी सत्ताको घृणित खेल खुला रूपले देखा परेको छ । समयका साथ निश्चय नै ती पुलिस र सेनाले पनि वास्तविकता बुझ्ने छन् । त्यो अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण युद्धको झन्डा उठाउनुबाहेक जनताका अगाडि अस्तित्वको अर्को विकल्प छैन ।

आज राष्ट्रियता जनतन्त्र एवम् जनजीवीकाको यो भयानक अवस्था र जनताका विरुद्ध सत्ताको खुला युद्धको स्थिति कसरी आयो ? ऐतिहासिक र वैज्ञानिक भौतिकवादको आधारमा के कुरा स्पष्ट छ भने यो स्थितिको बीऊ नेपालको इतिहासमा धेरै वर्ष पहिलेदेखि नै रोपिएको थियो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकाससँगै संसारका सबैजसो उत्पीडित देशहरूमा झैं नेपालमा पनि सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक आर्थिक  संरचना खडा गराइयो l सामन्तवादले विदेशी साम्राज्यवादका अगाडि घुँडा टेक्ने तथा साम्राज्यवादले सामन्तवादलाई काखी च्यापेर आमजनतालाई लुट्ने उपक्रम सुरु गरियो । नेपालमा यो प्रक्रिया ठोस रूपमा सन् १८१५/१६ को अंग्रेज-भारतसँगको सुगौली सन्धिपश्चात् स्थापित गरिएको हो । यो प्रक्रियाको अनिवार्य परिणाम के हुनगयो भने त्यसले राष्ट्रिय पुँजीको विकासविरुद्ध जमिनदार र साम्राज्यवाद दुवैको हित गर्ने नोकरसाही पुँजीको विकासका लागि बाटो बनायो । यो लामो ऐतिहासिक अवधि यथार्थमा त्यही नोकरसाही पुँजीको जन्म, विकास र विनाशको प्रक्रियाको अवधिका रूपमा रहेको छ ।

नेपाली समाजमा १०४ वर्ष लामो राणासाही अत्याचार यही संरचनाअन्तर्गत चल्यो । निर्दलीय पञ्चायती तानासाही र अहिलेको कथित राजतन्त्रात्मक बहुदलीय शासन पनि यसै संरचनाअन्तर्गत चलिरहेको छ । यो स्थितिका विरुद्ध नेपाली जनताले चलाउँदै आएको सङ्घर्ष मुख्य रूपमा अन्तर्राष्ट्रिय राजनीतिमा आउने उतारचढावसँगै सत्ताको अंशवण्डा मिलाउन कहिले उदार र कहिले कट्टर बन्दै व्यवस्था र सरकारका नाम फेरिएका छन्, तर यो राज्यसत्ताको मूल संरचना अविच्छिन्न कायमै छ । ७, १७, ०३६ र ०४६ सालका राजनीतिक घटनाक्रमहरूलाई त्यसरी मात्र बुझ्न सकिन्छ । ०७ सालयताको इतिहास मात्रमा ध्यान दियो भने पनि के कुरा छर्लङ्ग छ भने प्रतिक्रियावादी राज्यसत्ताभित्र गरिने सानातिना सुधारको गर्भमा देश र जनताका लागि झन् ठूलो सङ्कट हुर्कने गरेको छ ।

उपर्युक्त स्थितिका विरुद्ध नेपाली जनता अविरल सङ्घर्षमा छन् । सङ्घर्षको त्यो प्रक्रियामा जनताले पटकपटक प्रतिक्रियावादी दमन र षड्यन्त्रको मात्र होइन, सुधारवादीहरूको धोका र विश्वासघातको सिकार पनि बन्दै आउनुपरेको छ । आज सामन्तवाद र साम्राज्यवादको दलाली गरेर त्यही प्रतिक्रियावादी सत्ताको जुठोपुरो चाट्न पुगेका कम्युनिस्ट नामधारी संशोधनवादीहरूले नै जनतालाई सबैभन्दा बढी विश्वासघात गरेका छन् । आमूल परिवर्तन र कम्युनिस्ट पार्टीप्रति जनताको आस्थामाथि गरिएको विश्वासघात र हजारौं सहिदहरूको रगतमा टेकेर प्रतिक्रियावादी कुर्सीमा जाने ती गद्दारहरूलाई नेपाली जनता र नेपालको इतिहासले कहिल्यै माफी दिने छैनन् । अहिले पनि यदि कसैले यही प्रतिक्रियावादी सत्ताभित्र सुधारवादी सङ्घर्षमा नै सीमित रहने कुरा गर्दछ भने त्यो अर्को गद्दारीको प्रक्रियामात्र हुनेछ भन्ने तथ्य अब इतिहाससिद्ध भएको छ ।

ठीक यहींनेर बिसर्न नहुने अर्को कुरा के छ भने प्रतिक्रियावादी दमन, षड्यन्त्र तथा सुधारवादी धोका र विश्वासघात जस्तो नकारात्मकताको पटकपटकको पुनरावृत्तिले आमजनता राजनीतिक रूपले सचेत बन्ने तथा जनताको वर्गसङ्घर्ष एवम् त्यसप्रकारको सुधारवादका विरुद्ध लामो र भीषण विचारधारात्मक सङ्घर्षका बीचबाट नेपाली जनतालाई आफ्नो मुक्तिको एकमात्र क्रान्तिकारी सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवाद प्राप्त हुने सकारात्मक स्थिति जन्मिएको छ । आज त्यो सर्वशक्तिमान क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीको विकास आम नेपाली श्रमजीवी   समुदायको लामो सङ्घर्ष एवम् हजारौं  सहिदहरूको रगतले सिंचिएको सुन्दर  पुष्पगुच्छाका रूपमा रहेको छ । यस बिरुवालाई निमोठ्न आज तमाम प्रतिक्रियावादी र संशोधनवादीहरू पागल बनेर लागिरहेका छन् भने क्रान्तिकारी जनताबाट त्यसको रक्षा र विकास गर्ने काम भइरहेको छ ।

आदरणीय जनसमुदाय,

इतिहास र वर्तमानका उपर्युक्त तथ्यहरूबाट के कुरा स्पष्ट हुन्छ भने देशको आजको यो सङ्कटग्रस्त स्थिति एकातिर सामन्त, नोकरसाह र दलाल पुँजीपतिवर्गको राज्यसत्ताद्वारा जनतामाथि चलाइएको शोषण, उत्पीडन तथा अर्कोतिर त्यसका विरुद्ध जनताले चलाएको अविरल सङ्घर्षका बीचको अन्तर्विरोधको विकासको परिणाम हो । आफ्नो त्यो मरणासन्न र सङ्कटग्रस्त प्रतिक्रियावादी राज्यसत्ताको रक्षका लागि सामन्तवाद र साम्राज्यवादले नेपाली जनताका विरुद्ध अन्यायपूर्ण युद्ध खुलेआम थोपरिरहेका छन् । त्यो अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण जनयुद्धको झण्डा उठाएर त्यसमा विजयी बन्न नसकेमा नेपाली जनता र नेपाल राष्ट्र भयानक अन्धकारमा डुब्न जानेछन् ।

यसै ऐतिहासिक आवश्यकताप्रतिको आफ्नो कर्तव्यमा सचेत भई तपाईं जनसमुदायका हामी छोराछोरीहरूको सर्वहारा वर्गीय पार्टी, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) प्रतिक्रियावादी राज्यसत्तालाई बलपूर्वक ध्वस्त गरी जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाको प्रक्रियामा लाग्न प्रतिबद्ध भएको छ । हाम्रो यो प्रतिबद्धतामा जनताको सेवा गर्ने तथा जनताकै निमित्त समर्पित रहने भावना, मानवजातिलाई वर्गीय शोषणको जुवाबाट सदाका लागि मुक्त गर्ने सर्वशक्तिमान विचारधारा मार्क्सवाद- लेनिनवाद- माओवादप्रतिको निष्ठा र त्यस आधारमा नेपाली समाजको इतिहासको अध्ययनमा आधारित रहेको छ । हामी कुन कुरामा पूर्णतः सचेत छौं भने हजारौं वर्षदेखिको दासताको जन्जिर चुँडाएर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने यो लडाइं निकै कठिन, निकै बाङ्गोटिङ्गो र दीर्घकालीन प्रकृतिको हुने छ । तर, यही र केवल यही मात्र जनताको मुक्तिको महान् र उज्जवल भविष्यको बाटो हो । यो बाटो नेपालको ऐतिहासिक विकासको अवस्थाअनुसार सङ्घर्षका सबै रूपहरूको प्रयोग गर्दै मुख्यतः हामीले भन्दै आएझैं गाउँबाट सहर घेर्ने रणनीतिका आधारमा कृषिक्रान्तिलाई मेरुदण्ड मानी वर्गसङ्घर्षका बीचबाट र त्योसँग एकाकार हुँदै अघि बढ्नेछ र जनयुद्धको यो प्रक्रिया शक्तिसन्तुलनको आजको अवस्थामा रणनीतिक रक्षाको चरणअन्तर्गत छापामार जनयुद्धको प्रक्रियाबाट मात्र अघि बढ्न सक्ने छ ।

 हामी कुन कुरामा विश्वस्त छौं भने विविध सङ्घर्षको यो क्रान्तिकारी प्रक्रियालाई सक्रिय सहयोग र समर्थन प्राप्त हुनेछ र त्यो विजयी बन्नेछ । यसका साथै हामी कुन कुरामा पनि सचेत र विश्वस्त छौं भने यो सङ्घर्षले विश्वभरिका कम्युनिस्ट क्रान्तिकारी एवम् सङ्घर्षशील जनसमुदायको समेत सहयोग र समर्थन प्राप्त गर्नेछ तथा ती सबै क्रान्तिकारीहरूलाई पनि सहयोग पुर्याउनेछ । किन कि हाम्रो यो सङ्घर्ष मानिसद्वारा मानिसमाथि भइरहेको शोषण, उत्पीडन र युद्धको सदाका लागि अन्त गर्न चलिरहेको विश्वसर्वहारा क्रान्तिको अभिन्न अङ्गको रूपमा रहनेछ । यस सन्दर्भमा हामी मार्क्सवाद-लेनिनवाद-माओवादका आधारमा अघि बढिरहेको पेरूको जनक्रान्ति एवम् त्यसै आधारमा सङ्गठित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) लगायत विश्वभरिका क्रान्तिकारी आन्दोलनहरूको विशेष उल्लेख गर्न चाहन्छौं ।

अन्तमा जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाका निमित्त जनयुद्धको प्रक्रियामा अघि बढ्न तथा आआफ्ना ठाउँबाट हरतरहले यसलाई सहयोग र समर्थन गर्न हामी मजदुर, किसान, महिला, विद्यार्थी, शिक्षक, बुद्धिजीवी लगायत सबै तह र पेसागत जनसमुदायसँग हार्दिक अपिल गर्दछौं ।

विद्रोह जनताको अधिकार हो
जनयुद्ध : जिन्दावाद !
प्रतिक्रियावादी राज्यसत्ता : मुर्दावाद !
नयाँ जनवादी क्रान्ति : जिन्दावाद !
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद !


क्रान्तिकारी अभिवादनसहित ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय समिति
१ फागुन २०५२
भिडियो फिचरview all