menu

ताजा समाचार

प्रगतिवाद पदावली भ्रमपूर्ण छ : डा. ऋषिराज बराल

डा. ऋषिराज बराल माओवादी आन्दोलनको विचार बोक्न सक्ने दुर्लभ आख्यानकार हुनुहुन्छ । २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिलामा जन्मनुभएका बराल त्रिभुवनटोल, विराटनगरहुँदै अचेल जोरपाटी, काठमाडौँमा बसोबास गर्नुहुन्छ । आख्यान, समालोचना, निबन्ध, शब्दचित्र, संस्मरण आदिमा कलम चलाउनुहुने बरालका आख्यानात्मक कृतिहरूमा 'भावना' (२०३४), 'गाउँको कथा भन्छु है त' (२०४२), 'भग्नावशेष' (२०४४), 'कामरेड हुतराज राजधानी प्रस्थान '(२०४८), 'बयान' (२०५२) 'वनमान्छेको कथा' (२०५४), 'सैन्यउपहार' (२०५८), 'पैयुँ फुल्न थालेपछि' (२०६३), 'समरगाथा' (२०६४), 'ऋषिराज बरालका प्रतिनिधि कथाहरू' (२०६७) र 'बर्की नम्बर १३९९९' (२०७१) रहेका छन् । 'कथालिका' का लागि सम्पादक प्रोल्लास सिन्धुलीयसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “आख्यानमा कलम चलाउनु जीवनभित्र पस्नु हो । त्यसमा पनि कथा लेख्दा थोरै शब्दमा धेरै कुरा भन्नुपर्ने हुन्छ ।”
----------------------------------------------------------------------------------------------------------
तपाईं मूलतः कथाकार कि समालोचक ?

म कथाकार पनि र समालोचक पनि । तर, म आफूलाई आख्यानकार भन्न मन पराउँछु । समालोचना पनि सिर्जना हो । परन्तु, कथा त यथार्थको पुनर्सिर्जन हो । कथा लेख्दा नै मलाई आनन्दबोध हुन्छ ।
 
नेपाली कथाकारिताको वर्तमान अवस्थालाई कसरी बुझ्नुभएको छ ? के यो अचेल कमजोर भएको हो ?


आख्यानमा कलम चलाउने भनेको तपाईं जीवनभित्र पस्ने हो, सामाजिक जीवनको जटिलताको सामना गर्ने हो । त्यसमा पनि कथा लेख्ने कुरा अलि फरक नै छ । तपाईंले थोरै शब्दमा धेरै कुरा भन्नुपर्ने हुन्छ । तपाईंको अभिव्यक्तिको शैली, संरचनागत वैशिष्ट्य र कलाचेत र सौन्दर्यचेत सबै कुराको एकैचोटि परख हुन्छ कथालेखनमा । त्यसैले लामो समयसम्म कथालेखनलाई निरन्तरता दिने स्रष्टाहरू थोरै हुन्छन् । सरसरती हेर्दा सिङ्गो साहित्यिक आन्दोलनमा केही गतिमन्दता छ र यसको असर कथालेखनमा पर्नु स्वाभाविक छ । होहल्ला, चर्चापरिचर्चाका दृष्टिले कथालेखन र कथाकारहरूको चर्चा आजभोलि अलि कम भएजस्तो लाग्छ । पहिलेपहिले कथागोष्ठीहरू र कथाबारे विमर्शात्मक कार्यक्रमहरू हुनेगर्थे, आजभोलि यस किसिमका कार्यक्रम कमै हुन्छन् । चर्चापरिचर्चा अलि कम भएको हो तापनि कथालेखन नै कमजोर भएको चाहिँ होइन । स्तरीय कथा लेख्नेहरू थोरै छन्, तर छन् । अहिलेका लेखकहरूमा आत्मसङ्घर्षको अभाव छ । सबैले थाहा पाउने गरी कथालेखनमा नयाँ प्रतिभा देखापर्न सकेको स्थिति छैन । नयाँ पुस्तामा भर्भराउँदो अनुहार लिएर कुनै कथाकार देखापरेको अनुभूत मैले गर्न सकेको छैन । तर, सम्भावनाप्रति विश्वस्त छु ।

नेपाली समालोचना कम्तीमा ५० वर्षअघि नै रुमल्लिरहेको आरोप छ, यस्तै हो त ? कि आजकलका साहित्य समालोचनायोग्य नभएका हुन् ?

नेपाली साहित्य र समालोचकहरूको इतिहास हेर्दा अधिकांश समालोचकहरूको सम्बन्ध विश्वविद्यालयसित रहेको पाइन्छ । डाक्टर-प्रोफेसरहरू नै बढी समालोचकका रूपमा परिचित र स्थापित छन् । हेराइ र बुझाइमा भिन्नता भए पनि साहित्य-सिद्धान्तसम्बन्धी ज्ञान र अध्ययनका लागि अनुकूल वातावरण हुने भएकाले पनि होला, विश्वविद्यालयका उत्पादनहरू नै समालोचकका रूपमा बढी परिचित र स्थापित छन् । पेसागत उन्नतिको डोरो गाँसिएकाले पनि उनीहरूको रुचि समालोचनालेखनतर्फ केन्द्रित भएको हुन सक्छ ।

 पछिल्ला दिनमा समालोचना कार्यमा गम्भीरताको अभाव देखिएको कुरा केही हदसम्म सही हो । अग्रज पुस्ताका कतिपय समालोचकहरूमा अध्ययनको गम्भीरता पाइए पनि समालोचक भनेर भनिने आजभोलिका कतिपय व्यक्तिहरू नामले मात्र समालोचक बनेका छन् । एक थरी साँच्चिका समालोचकहरू छन्, ती अध्ययनशील र गम्भीर छन् । एकथरी विद्यार्थीका लागि सहयोग सामग्री ‘निर्देशिका’ (गाइड) लेखक-समालोचकहरू छन्, र ती ‘कपी एन्ड पेस्ट’ समालोचकहरू हुन् । र, एक थरी साप्ताहिक-दैनिक पत्रिकामा पुस्तक परिचय र टिप्पणी लेखेर समीक्षक र समालोचक कहलाउन र दरिन रहर गर्ने टापटिपेहरू छन् । पहिलो थरी नै असली समालोचकहरू हुन् । बजारमा अहिले टलक्क टल्किने नक्कली मालको चर्चा बढी हुन्छ, ट्रेडमार्क र लोगोको बढी हल्ला हुन्छ । यो भनेको चटके प्रवृत्ति हो र यो अल्पायुको हुन्छ । लेखन योजनाबद्धताको अभाव, स्तरीय पत्रपत्रिकाको अभाव, डिजिटल माध्यमहरू र फेसबुके प्रवृत्तिको अतिक्रमणजस्ता समस्याले अरू विधालाई जस्तै समालोचनालाई पनि पिरोलेको छ तापनि मौसमी टिप्पणीकारहरूलाई हेरेर समालोचनाको भविष्य मूल्याङ्कन गर्नु सही हुँदैन ।
 
नेपाली समालोचना ५० वर्षअघिमै रुमल्लिएको कुरा स्वीकार गर्ने पक्षमा म छैन । केको आधारमा यसो भनिएको हो, थाहा भएन । अहिले सिर्जनाको क्षेत्रमा स्तरीय कृतिहरू थोरै छन् भन्ने कुरा पनि सत्य हो । कमजोर कृतिहरू च्यापेर बजार-होहल्लामा बाँचेकाहरूमा पहिलो नम्बरका असली समालोचकहरूलाई आकर्षित गर्न सक्ने क्षमता देखिएन र छैन । तिनीहरूप्रति असली समालोचकहरूले ध्यान दिनु नै आवश्यक ठानेको देखिएन । जताततै उपभोक्तावादको चकचकी छ । गम्भीर र गहन कृति लेखेरभन्दा होहल्लाका भरमा चर्चामा आउन खोज्ने, रातारात ‘सेलिब्रेटी’ हुन खोज्ने ‘लेखकहरू’ जस्तै एक थरी मान्छेहरू ‘सेलिब्रेटी’ समालोचक हुन खोज्छन् । सञ्चारमाध्यमहरूले खोटा मोहोरहरूलाई असली मोहोर बनाएर बजारमा जबर्जस्ती चलाउने प्रयास गर्छन् र टिप्पणीकार 'समालोचकहरू' यसका कारिन्दा बनेका हुन्छन् । समालोचना-लेखनलाई विकृत बनाउने यस्तैखाले टापटिपेहरू हुन् ।

 “नेपाली समालोचना कम्तीमा ५० वर्षअघि नै रुमल्लिरहेको” आरोपमा म कुनै तर्कपूर्ण वस्तुगत आधार पाउँदिनँ । आफ्ना ताल न बेतालका रचनाहरूप्रति गम्भीर समालोचकहरूले ध्यान नदिँदा र चर्चा नगरिदिँदा पनि कतिपयले समालोचकहरूमाथि धारे हात लगाउने गरेको पाइन्छ । आफ्ना रचनाको कमजोरीप्रति गम्भीर हुनुसाटो समालोचकहरूमाथि दोष थुपार्ने प्रवृत्ति पनि देखिन्छ । फेसबुकमा पाइने ‘वाहवाह’, ‘दामी’ र ‘दमदार’ लाई नै आफ्नो रचनाको उत्कृष्टताको आधार ठान्नेहरूको जमातबाट बेलाबेलामा समकालीन समालोचनाका बारेमा यस्ता बेतुकका तर्कहरू आइरहने कुरा नयाँ होइनन् । समकालीन नेपाली समालोचनाको राम्रोसित अध्ययन नगरेको मान्छेले मात्र “....५० वर्षअघि नै रुमल्लिरहेको” निष्कर्ष निकाल्छ । समालोचनाका क्षेत्रमा नयाँ पुस्ता जसरी प्रतिस्पर्धा गर्दै आउनुपर्ने थियो, त्यो देखिएको छैन भन्ने कुरामा चाहिँ सहीथाप्न सकिन्छ । अवश्य पनि केही समस्या छन्, यस्ता समस्याहरू अन्य विधामा पनि छन् । तर, नेपाली समालोचना ५० वर्षअघिमै रुमलिएको भन्नु मनोगत बुझाइमात्र हो । लेखकहरूले समालोचकहरूप्रति प्रश्न उठाउनुभन्दा स्वयम् आफ्नो सिर्जनयात्रा र क्षमताप्रति आत्मसमीक्षक हुनु जरुरी छ ।

 ऋषिराज बराललाई नेपाली कथाकारितामा वैचारिक तर कलात्मक र हृदयस्पर्शी कथा लेख्ने दुर्लभ प्रगतिवादी कथाकार मानिन्छ । तर, राजनीतिक व्यक्तित्व हावी भएर आफ्नो साहित्यिक व्यक्तित्वको उचित मूल्याङ्कन नभएको ठान्नुहुन्न ?

अवश्य पनि हो, म अरूभन्दा अलि पृथक  हुन चाहन्छु । खास गरेर गाउँको कथा भन्छु है तबाट कथाकारका रूपमा मेरो एउटा भिन्नै परिचय बन्यो । “तपाईंका कथा पढ्दापढ्दै आँसु आउँछन् र यो आँसुबाट विद्रोह जन्मिन्छ,” भनेर पारिजात दिदीले भन्नुभएको मलाई अहिले पनि सम्झना छ । तपाईंले भन्नुभएझैँ म मेरा कथाहरूलाई कलात्मक र हृदयस्पर्शी नै बनाउन चाहन्छु । म विषयवस्तुप्रति मात्र नभएर कथा संरचनाप्रति पनि असाध्यै सचेत छु । कथा संरचना गर्ने भनेको कथावस्तु घटना र चरित्रको जोडजाडमात्र होइन, यो विचारको कलात्मक संरचना हो । आफूले लिएको कथावस्तु जति प्रभावकारी र प्रभावशाली किसिमले प्रस्तुत गर्न सक्यो, त्यति नै राम्रो भन्ने मेरो लेखनधारणा भएकाले म शिल्पप्रविधि र प्रयोगशीलताप्रति पनि सचेत छु । म मेरा शुभचिन्तकहरूलाई मात्र नभएर, मेरा विरोधीहरूलाई पनि मेरा रचना पढ्न बाध्य पार्न चाहन्छु । सुन्दर विचारलाई कलात्मक र  सम्प्रेषणीय किसिमले प्रस्तुत गर्न अँगालिने प्रविधिप्रति मार्क्सवादीहरू गम्भीर हुनुपर्छ भन्ने मेरो धारणा छ ।

यताका दिनमा म अलि बढी राजनीतिक पक्षमा अलमलिएको कुराचाहिँ सत्य हो । पहिले मेरो समय बढी प्राज्ञिक क्षेत्रमा बित्थ्यो । विश्वविद्यालय छाडेर जनयुद्धमा सामेल भएपछि राजनीतिक क्षेत्र प्रधान बन्यो । तर, त्यहाँ पनि मेरो जिम्मेवारी सांस्कृतिक र सञ्चार क्षेत्र नै थियो । जनयुद्धले मलाई सङ्घर्षरत जनताको झन् नजिक पु-यायो । जनयुद्धले वर्गसङ्घर्षका क्षेत्रमा दिएको सघन अनुभव र अनुभूति नै मेरो लेखन-सम्पत्ति हो । मसित त्यो समृद्ध अनुभूति र अनुभवको अथाह भण्डार छ र त्यसले मलाई ऊर्जाशील बनाएको छ । र पनि, जनताको लेखक, त्यसमा पनि माओवादी कित्ताको प्रतिनिधि लेखकका रूपमा भन्दा माओवादी राजनीतिक नेताका रूपमा मेरो पहिचान बढी बनेजस्तो चाहिँ मलाई लाग्दैन । सङ्घर्षरत त्यो जीवन, बलिदानको त्यो महागाथा ऋषिराज बरालले नलेखे अरू कसले लेख्छ भन्ने पनि लाग्छ मलाई । मेरा कथासङ्ग्रहहरू वनमान्छेको कथा, सैन्यउपहार, पैयुँ फुल्न थालेपछि' सबै जनयुद्धका सौर्यगाथा हुन् र यो गाथाको पछिल्लो कडी बर्की नम्बर १३९९९ हो ।

कोबाट मूल्याङ्कित हुने ? यो पनि अहम् प्रश्न हो । मार्क्सवादी लेखन र लेखकप्रति पूर्वाग्रह राख्नेहरूबाट चर्चा नहुनु र सस्तो प्रचार र होहल्लाको पात्र नबन्नुलाई म मूल्याङ्कनको आधार मान्दिनँ । फोस्रो हल्ला र क्षणिक चर्चाप्रति मेरो विश्वास छैन, र कहिल्यै रहेन । पाठकको ठूलो सङ्ख्या मसित छ । स्नातक तहका विद्यार्थीको पाठ्यक्रमसित मेरा कथाहरू सम्बद्ध हुनु आफैँमा उच्च मूल्याङ्कनको स्थिति हो भन्ने मलाई लाग्छ । फेसबुके चर्चा, साँझपखको रमझम, चिया पसलको जमघट र बहुराष्ट्रिय कम्पनीद्वारा सञ्चालित दैनिक पत्रिकाका टिप्पणीकारहरूसितको उठबसमा मूल्याङ्कनको आधार खोज्नु भनेको आफूले आफ्नै अवमूल्यन गर्नुमात्र हो । समय हुने रहेछ । प्रचार र होहल्लामा रमाउने, गुणभन्दा सङ्ख्यामा जोड दिने पनि एउटा समय हुने रहेछ । ऋषिराज बरालले अब यो कालखण्ड पार ग-यो । बर्खाको खहरे अथवा ठाडो खोलो बगेको आवाज अलि बढी सुनिन्छ, तर मैदानी भागमा बग्ने नदीको गति र आयाम थाहा पाउन तपाईं त्यसको नजिकै पुग्नुपर्छ । त्यसको गति र चाल नै फरक हुन्छ । कानले भन्दा हृदयले स्पर्श गरेको स्पन्दन स्थायी र चीरकालिक महत्त्वको हुन्छ । र पनि साहित्यिक मूल्याङ्कन अपुग भएको भन्ने तपाईंको चासो र चिन्ताप्रति म समर्थन जनाउँछु ।

 प्रशंसा गर्नेजति राम्रो, नगर्ने खराब मान्ने संस्कार हाबी छ । तपाईं त निकटकालाई पनि कटु आलोचना गर्न छाड्नुहुन्न, विरोधी बढ्छन् भन्ने डर लाग्दैन ?

तपाईंले भनेको सही हो । नराम्रोलाई पनि राम्रो, गलतलाई पनि सही भनिदिनुस्, प्रशंसा गरिदिनुस्, सबै खुसी हुन्छन् । यो मानवीय प्रवृत्ति हो र यस किसिमको प्रवृत्ति लेखक-कलाकारमा अझ बढी हुन्छ । म सत्य बोल्छु, सत्य लेख्छु । यसो गर्दा कसैलाई पीर पर्छ, कसैलाई मन पर्दैन । मन नपर्नु मेरो दोष होइन । सत्यको सामना गर्न नसक्ने, आलोचना पचाउन नसक्ने अमुक-अमुकहरूको दोषको भागीदार म किन हुने ? वर्गयुक्त समाजमा सबैको प्यारो हुने स्थिति नै हुँदैन । ‘निकट’ र ‘निकटता’ पनि देशकाल, परिस्थितिसापेक्ष हुन्छ । म आक्रामक लेखनमा विश्वास गर्छु । मलाई समालोचकलाई चुनौती दिने रचना मन पर्छन् । लेखकको जीवन-व्यवहारबाट उसको रचनालाई अलग राख्न मिल्दैन भन्ने कुरामा विश्वास राख्ने भए पनि, समालोचना लेख्दा मेरो अगाडि को उभिएको छ र मैले कसको पुस्तक हातमा लिएको छु, अथवा कसको बारेमा लेखिरहेको छु भन्दा पनि म पुस्तकभित्र के खोजिरहेको छु भन्ने कुरामा बढी ध्यान दिन्छु । किताब अध्ययनपछि मात्रै म लेखकको खानतलासी गर्छु ।

धेरै मान्छेहरू खुल्न चाहँदैनन् । चित्त नबुझेका कुरा सामाजिक-राजनीतिक जीवनमा पनि र लेखकीय जीवनमा पनि खुलेर राख्छु म । मेरा कति विरोधी बढे अथवा कति घटेभन्दा पनि लेखनप्रति म आफैँ कत्तिको इमानदार हुन सकेँ भन्ने कुरामा म बढी चिन्ता गर्छु । पारिजात दिदी सबैको सम्मानित पात्र, मेरो पनि श्रद्धाको पात्र हुनुहुन्थ्यो । उहाँको परिभाषित आँखाहरू उपन्यास त्यति बेलाको समयअनुसार प्रकाशित हुनुअघि नै बहुप्रचारित पुस्तक बनेको थियो । “सुयोगवीरलाई बिर्साउने पात्र छ उपन्यासमा,” भनेर उहाँले अन्तर्वार्ता नै दिनुभएको थियो । त्यो उचाइमा पुगेको लेखकबाट आएको कृतिको समग्रताप्रति म सन्तुष्ट हुन सकिनँ । 'परिभाषित आँखाहरूको केन्द्रीयतामा पारिजातको औपन्यासिकता’ शीर्षकमा समालोचना लेखेँ । शिरीषको फूल यथार्थवादी उपन्यास हो भनेर मार्क्सवादी समालोचक भनिनेहरूले समेत पारिजात दिदीलाई खुसी पारिरहेको अवस्थामा मेरो लेखनले दिदीको चित्त दुखेछ । एउटा अन्तर्वार्तामा उहाँले मलाई, “ऋषिराज बराल विषालु समालोचक हुन्,” भनेर विशेषण दिनुभयो । दिदीको अनुहार हेरेर विचारसित सम्झौता गरेको भए मलाई पछिसम्म पीडा हुन्थ्यो, सत्य लेखेकामा आफैँप्रति गर्वानुभूति भयो । त्यसैले कोही रिसाउँछ अथवा खुसी हुन्छ भन्दा पनि आफैँप्रति इमानदार हुने कि नहुने भन्ने प्रश्न प्रधान हो । एउटा लेखकको सबैभन्दा विरोधी पक्ष भनेको शासकवर्गीय राज्यसत्ता हो । विरोधी बढ्छन् भनेर डराउने हो भने कलम नचलाए हुन्छ । म औसतमा रमाउने मान्छे परिन । म हरेक स्रष्टालाई भन्छु, परैबाट चिनिने छुट्टै परिचय बनाउनुस् । तर, यसको आधार तपाईंको लेखन र जीवन-व्यवहार हुनुपर्छ, होहल्ला होइन । होहल्ला त आउँछ-जान्छ । बाँच्ने त कृति नै हो । मैले मेरो परिचय निर्माण गर्न गरेको लेखन-सङ्घर्षबाट कोही त्रसित हुन्छ भने ऊ राज्यसत्ता हो र सत्ता कुनै पनि इमानदार, स्वाभिमानी र क्रान्तिधर्मी लेखकको मित्र हुन सक्तैन ।

 जसका लागि साहित्य लेखिने हो, त्यहाँसम्म साहित्य पुग्दैन भनिन्छ । के यस्तै हुने हो ? हो भने यस्तोमा साहित्यलेखनको औचित्य के त ?


यसको सम्बन्ध वर्गपक्षधरतासित छ र हुन्छ । साहित्य उत्पीडित वर्गका लागि भन्नुको अर्थ वर्गपक्षधरता हो । कसको पक्षमा तपाईं बोल्ने, लेख्ने र उभिने भन्ने कुरा हो । कतिपयले पढेर, कतिपयले सुनेर र कतिपयले देखेर यथार्थसित आफूलाई समाहित गराउँछन् । नेपाली समाजमा सामाजिक चेतना, वर्गबोध र वर्गसङ्घर्षको उठानमा साहित्यकलाको अहम् भूमिका रहेको छ । ‘जाग जाग ...’, ‘पहाडी पुकार’, ‘आमाको सपना’ आदि रचनादेखि अहिलेसम्मको सिर्जन इतिहासले साहित्यकलामा वर्गपक्षधरता कति प्रभावशाली हुन्छ भन्ने कुरा प्रमाणित गरिसकेको छ । यहाँ ‘जसका लागि’ भन्नुको अर्थ कुन वर्ग, कुन समुदाय, कुन समस्यामा केन्द्रित हुने भन्ने हो । हाम्रा रचनामा प्रकट हुने विचार, चिन्तन र पक्षधरताले चेतना निर्माणमा सहयोग पु-याउँछन् । त्यसैले मार्क्सले “विचार जब मान्छेको मनमस्तिष्कमा पुग्छ, त्यो भौतिक शक्तिमा फेरिन्छ,” भन्नुभएको हो । सबैले 'स्वस्थानी व्रतकथा' तथा 'भानुभक्तीय रामायण' वाचन गर्न सक्ने कुरा नभए पनि त्यसका पछाडि लाग्नेको जमात थियो र अझै छ । नपढेको मान्छेलाई पनि ‘रामायण’ कण्ठ थियो/छ । कुरा चेतना निर्माणको  हो । कस्तो किसिमको सामाजिक चेतना निर्माण गर्ने भन्ने हो, र यो भनेको पक्षधरताको प्रश्न हो । कुन वर्गको सेवामा चेतना निर्माण गर्ने भन्ने प्रश्न नै प्रधान पक्ष हो ।

 नेपाली साहित्यमा प्रगतिवाद र नारावाद पर्यायवाची देखिन्छन्, नाराविनाको साहित्य प्रगतिवादी नहुने हो ?


प्रायः गरेर यस्ता प्रश्नहरू विगतमा निकै उठ्ने/उठाउने गरिएका थिए । तपाईंको प्रश्न हेर्दा आजभोलि पनि यदाकदा यस्ता प्रश्नहरू उठ्ने गरेका रहेछन् भनेर चाहिँ बुझ्न सकिन्छ । खास गरेर कवितालेखनको सन्दर्भमा यो कुरा बढी आउने गर्छ । नाराकै कुरा गर्ने हो भने पनि कसको कवितामा नारा छैन र हुँदैन ? भन्न सकिन्छ । नारा विचार हो, भाव हो, रचनाले दिने सन्देश हो, लेख्ने मान्छेले भन्न खोजेको कुरा हो । रचनामा यो सन्देश कसरी अभिव्यक्त छ भन्ने कुराचाहिँ अर्थपूर्ण हुन्छ । तिनै कविहरू, जो समाज र सामाजिक सङ्घर्षसित जोडिए, जसले सङ्घर्षको अभिन्न अङ्ग भएर यथार्थको कलात्मक प्रतिबिम्बन गरे, तिनका रचनाहरू जीवन्त भए, कालजयी बने । किन घरीघरी देवकोटाको ‘पागल’ को नाम लिइन्छ ? किन रिमालको ‘आमाको सपना’, भूपीको ‘होचिमिन्हलाई चिठी’, पारिजातको ‘सहिद’, विमल निभाको ‘आगोनेर उभिएको मानिस’ र कृष्ण सेन ‘इच्छुक’ को ‘बन्दी र चन्द्रागिरि’को नाम लिइन्छ ? यी रचनाहरू आआफ्नो समयका कलाचेत र सौन्दर्यचेतका सुन्दर नमुना हुन् । यी रचनाहरू नेपाली समाजको वर्गसङ्घर्षका कलात्मक दस्ताबेज हुन् । कतिपयलाई यी रचना पनि नारावादी लाग्न सक्छ । वास्तवमा यो वर्गीय पक्षधरताको कुरा हो, पाठकमा निहित सौन्दर्यचेतनाको कुरा हो ।

जहाँसम्म प्रगतिवादको कुरा हो, यो पदावली भ्रमपूर्ण छ । अब यो पदावलीको प्रयोग गर्न छाडिदिनु उपयुक्त हुन्छ । प्रगतिवादलाई हामीले मार्क्सवादी सृजनकार्यको साहित्यिक पर्यार्यका रूपमा लिएका हौँ । भारतीयहरूले ‘प्रगतिवाद’ पदावलीलाई बढी प्रयोग गरे र हामीले पनि यसलाई भित्र्यायौँ । विदेशी साहित्यमा यसको प्रयोग छैन । मार्क्सवाद भनेको ‘प्रोग्रेसिज्म’ होइन र प्रगतिशीलताले पनि मार्क्सवादको समग्र सारतत्त्वलाई समेट्न सक्तैन । पञ्चायती व्यवस्थाको समयमा मार्क्सवाद पदावली शासक वर्गलाई मन नपर्ने पदावली थियो र पठनपाठनलगायत साहित्यिक क्षेत्रमा यसलाई ‘प्रगतिवाद’ भनेर सम्बोधन गरियो, व्यवहारमा यसै गरी चल्दै आयो । अब सोझै ‘मार्क्सवादी लेखन’ भन्नुपर्छ । यथार्थवादको ऐतिहासिक निरन्तरतासित जोडेर यसलाई समाजवादी यथार्थवादी लेखन पनि भन्न सकिन्छ तापनि अहिलेको सन्दर्भमा मार्क्सवादी लेखनले नै व्यापकतालाई समेट्छ । जहाँसम्म प्रगतिवाद र नारावादको कुरा छ, नारावादको विरोध गर्नु आवश्यक छ, तर नाराको होइन । मार्क्सवादप्रति आस्था राखे पनि कलासिर्जनाका विशिष्ट नियमसङ्गतिहरूको ज्ञान र सिर्जन अनुभव नभएका कतिपय नयाँ लेखकहरूले विचारको हुटहुटीलाई कलात्मक किसिमले व्यक्त गर्न नसकेका कारण रचनामा नारावादी प्रभाव देखिनेगर्छ । तर, यो मार्क्सवादी लेखनको आधारभूत र आमप्रवृत्ति होइन । अहिलेका प्रतिनिधि स्रष्टा भनेका मार्क्सवादी क्षेत्रका लेखकहरू हुन् र समकालीन लेखनको प्रतिनिधित्व उनीहरूले नै गरेका छन् । शून्यताबोध, कुण्ठा, निराशा, भोगवादमा आधारित लेखनचाहिँ नारावादी नहुने अनि जीवनप्रति उत्साह, वर्गबोध, सङ्घर्षचेत र क्रान्तिकारी आशावादले भरिएका रचनाहरूचाहिँ नारावादी हुने हुन्छ र ! कसका लागि नारावादी ? प्रश्न यसमा पनि छ ।

समस्या एकता, सामूहिकता, वर्गपक्षधरताको मूल्यमा विश्वास गर्ने मार्क्सवाद र प्रतिबद्धतामा होइन, ‘भिन्नताको सिद्धान्त’ को पुर्पक्ष गर्दै ‘पहिचानवाद’, ‘सांस्कृतिक अध्ययन’ र ‘स्थानीयतावाद’ का नाममा समाज र मान्छेलाई जात-जाति, क्षेत्र, लिङ्ग र वर्णका आधारमा विखण्डित पार्ने उत्तरआधुनिकतावादी शून्यवादमा छ । कलाका नाममा आउने ठाडा नाराप्रति विमति जनाउने कुरामा विवाद छैन, तर मूल लडाइँ यतातिर छ । मार्क्सवादी-लेखनमा नारा देख्नेहरूले विखण्डन र विभाजनको भाइरस बोकेर सिङ्गो मानवजीवन र सङ्घर्षरत मान्छेलाई विखण्डित र विभाजित गर्ने प्रवृत्तिविरुद्ध मार्क्सवादी लेखनले लडेको लडाइँलाई चाहिँ किन देख्न नसकेको होला भनेर प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ । ‘नारावादी’ लेखन होइन, साहित्यलाई सामाजिक सम्बन्ध, सामूहिकता र समग्रता र समाज रूपान्तरणकारी भूमिकाबाट कटाएर एकान्तवादी र एकान्तवासी बनाउने प्रवृत्ति अहिलेको प्रमुख चुनौती हो ।

 साहित्य प्रगतिशील/वादी र अप्रगतिशील/वादी कसरी हुन्छ ? कुनै वामपन्थी दलको सदस्यले लेख्दैमा प्रगतिशील/वादी हुने, अन्यले लेखेको नहुने हो त ?

यो प्रश्न पनि माथि सोधिएको प्रश्नकै पूरक प्रश्न हो । राणाकालीन स्तुति पनि साहित्य हो । देवकोटाको ‘प्रमिथस’ पनि साहित्य हो । साहित्यमा व्यक्त विचार, भावचेतना र सामाजिक सम्बन्ध आदिआदिका कारण तिनको चरित्र निर्धारित हुन्छ । वामपन्थी दलको सदस्यले लेख्दैमा प्रगतिशील अथवा प्रगतिवादी भइहाल्ने र पार्टी सदस्य नभएको, तर सामाजिक सङ्घर्षमा सहभागी भएको भए पनि उसको रचना प्रगतिवादी नहुने र नठहरिने भन्ने होइन । मार्क्सवादी कलाचिन्तनले यसरी सपाट घोषणा कतै गरेको छैन र गर्दैन पनि । यो त विश्वदृष्टिकोणको प्रश्न हो । यो भनेको उत्पीडक र उत्पीडितमा विभाजित समाजमा तपाईंको कित्ता कतापट्टि हो भन्ने प्रश्न हो । तपाईंको लेखनले कुन वर्गचेतनालाई सघाउ पु-याउँछ भन्ने कुरा नै मूल प्रश्न हो । व्यक्ति मार्क्सवादप्रति प्रतिबद्ध भए पनि उसको रचनामा कलाका विशिष्ट नियमसङ्गतिहरूको सही प्रयोग हुन सकेन भने त्यो साहित्य बन्दैन र खास पात्र कुनै वामपन्थी पार्टीको सदस्य छैन, तर सामाजिक जीवनमा भएका सङ्घर्षहरूलाई उसले नजिकैबाट हेरेको/बुझेको छ, वर्गसङ्घर्षका विविध रूपहरूसित गाँसिएको छ भने, ऊसित समाजको वैज्ञानिक अध्ययन गर्ने द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण छ भने उसले सक्रिय र निष्कृय यथार्थको पहिचान र परख गर्न सक्छ र यथार्थको कलात्मक प्रतिबिम्बिन गर्न सक्छ । लेखन प्रतिबद्धतालाई पार्टी प्रतिबद्धतामा फेर्न सके अझ सङ्घर्षरत जीवनको नजिक पुग्न सकिन्छ, लेखनलाई जीवनसित गाँस्न सकिन्छ, सही विचार र अनुभवले समृद्ध हुन सकिन्छ । सही विचार यही नै हो । तर, प्रतिबद्धता मात्र पनि सम्पूर्ण होइन, सिर्जनकार्य अलि विशिष्ट कलाकार्य हो । नत्र पार्टीसम्बद्ध सबै लेखक महान् लेखक बन्थे । पार्टीमा ठूलै नेता भए पनि र साहित्यिक-सांस्कृतिक क्षेत्रको अधिपति भए पनि लेखनमा दम छैन भने लेखकका रूपमा उसको भूमिकाको अर्थ छैन । तपाईंसित सही विश्वदृष्टिकोण छैन, जीवन्त र मृत, सक्रिय र निष्क्रिय यथार्थलाई खुट्ट्याउन र छुट्ट्याउन सक्ने सौन्दर्यचेत नै छैन भने तपाईं चित्रण त गर्नु होला, राम्रो फोटोकपी पनि तयार पार्नुहोला, तर साहित्य फोटोकपी होइन, यो त जीवनको पुनर्सिर्जन हो— यथार्थको प्रारूपीय प्रतिबिम्बन ।

 जनयुद्धलाई नेपाली साहित्यमा यथोचित लिपिबद्ध गर्न किन नसकिएको ? कि गर्नुपर्ने यत्ति नै हो ?

बडो सान्दर्भिक प्रश्न गर्नुभयो । यसमा केही सत्यता छ । जनयुद्ध नेपाली जनताले सामन्त तथा दलाल नोकरसाही पुँजीपति वर्गका विरुद्ध लडेको महान् युद्ध थियो र हो । यसले थुप्रै महागाथाहरू निर्माण गरेको छ । यसबारे थुप्रै लेखिन बाँकी छ । जनयुद्धलाई लिएर राजनीतिक क्षेत्रका झैँ साहित्यिक क्षेत्रमा पनि विभिन्न किसिमको हेराइ र बुझाइ रहेका छन् । कतिपयले जनयुद्धको साहित्यलाई ‘द्वन्द्व’ साहित्यमा सीमित पार्न खोजेका छन् । कतिपयले जनयुद्धलाई आतङ्ककारी गतिविधि भन्दै यसको विरूपीकरण र विद्रूपीकरण गरेका छन्/गरिरहेका छन् । कविता हुन् अथवा आख्यानमा उनीहरूले नाटकीय र अस्वाभाविक पाराले जनयुद्धको बलिदानी गाथामाथि प्रहार गर्ने गरेका छन् । आखिर साहित्य लेखन भनेको सुन्दरको पक्षमा उभिने कि कुरूपको पक्षमा उभिने भन्ने कलाकार्य हो र उनीहरू आफ्नो पक्षधरताअनुसार एउटा कित्तामा उभिएका छन् । जनयुद्धका सम्बन्धमा थुप्रै कथा, कविता निबन्ध, संस्मरणहरू र उपन्यासहरू लेखिएका छन् । केही राम्रा प्रतिभाहरू जनयुद्धको महासमरबाट विकसित भएका छन् । जनयुद्ध नेपाली उत्पीडित वर्ग र समुदायले मुक्तिका लागि लडेको महान् समरगाथा थियो र हो । यसलाई किनारा लगाउने जति प्रयास गरिए पनि यो अहिले पनि केन्द्रमै अवस्थित छ । अहिले पनि नेपाली राजनीति जनयुद्धकै सेरोफेरोमा घुमेको छ र नेपाली साहित्यको समकालीन लेखन पनि त्यसैले उठाएका मुद्दाहरू, विषयवस्तु र सन्दर्भहरूकै सेरोफेरोमा घुमेको छ । सत्य यही हो । र पनि तपाईंले भन्नुभएजस्तै यसलाई लिपिबद्ध गर्न अझै बाँकी छ । र, जे-जति लेखिएका छन्, त्यसलाई पनि स्थापित गर्न बाँकी छ । यस सन्दर्भमा भित्र र बाहिर सानुसानु लडाइँ अझै लड्नुपर्ने अवस्था छ ।

यसका साथै जनयुद्धसित गाँसिएको लेखनको ठूलै हिस्सामा गुणात्मकताको अभाव छ भन्ने कुरा पनि स्वीकार गर्नु आवश्यक छ । ती रचनाहरू रहरले र लहडले, लेख्नका लागि लेखिएका जस्ता पनि छन् ।   साहित्यिक लेखन विशिष्ट कलाकार्य हो । जनयुद्धमा लाग्दैमा राम्रो लेखक भइहालिन्छ भन्ने छैन । कतिपयले जनयुद्धको इतिहासलाई निजी स्वार्थ पूरा गर्ने साधन बनाइरहेको भए पनि अझै पनि जनयुद्धमा जीवन खोज्ने र ऊर्जाबोध गर्ने लेखक-कलाकारको एउटा ठूलो पङ्क्ति निरन्तरतामा छ । एकथरी लेखक-समालोचकहरूले यसलाई किनारा लगाउन खोजे पनि, नाम चलेका भनिएका माध्यमहरूले यसलाई निषेध गर्न खोजे पनि अहिले पनि समकालीन लेखनको केन्द्रमा जनयुद्ध सिर्जित यथार्थ नै छ । खास गरेर आख्यान, कविता र समालोचनाको क्षेत्रमा जनयुद्धको विरासतसित जोडिएका लेखकहरूलाई निषेध गरेर समकालीन प्रतिनिधि स्रष्टाहरूको अभिलेखीकरण सम्भव छैन । जनयुद्ध र साहित्यलेखनको सबैभन्दा बलियो पाटो यही हो । र पनि जनयुद्धको कलात्मक यथोचित लिपिबद्धताको काम गर्न अझै बाँकी छ । गर्नुपर्ने यतिमात्रै त हुँदै होइन ।

 गजल र मुक्तकमा केन्द्रित नयाँ पुस्तालाई कसरी बुझ्नुभएको छ ? अन्य विधाको विकासलाई यसले असर नगर्ला ?

प्रस्ट भन्दा गजल र मुक्तकलाई म गम्भीर साहित्यिक ‘विधा’ मान्दिनँ र साहित्य सिर्जनाको लोकप्रिय र स्तरीय साहित्यिक रूपमा लिनु पनि आवश्यक ठान्दिनँ । गजललेखन साहित्यका नाममा समय काट्ने मेलो हो भन्ने मेरो बुझाइ छ । मुक्तकलाई म चुटकिला भन्न रुचाउँछु । गजल र मुक्तकले ‘अन्य विधाको विकास’ लाई असर पार्ने' कुरा छाडौँ, नजिकको साइनो पर्ने कविताको छेउ पनि यसले भेट्टाउन सक्ने स्थिति छैन– सगरमाथाको शिर र फेदीको जस्तो स्थिति छ । नेपाली कविताको गुणात्मक पक्ष यति समृद्ध छ कि यसलाई सानोतिनो हावा र धक्काले अलिकति पनि असर पार्न सक्तैन । यही कुरा शास्त्रीय छन्दका कविताका बारेमा पनि भन्न सकिन्छ । यसको इतिहास माधव घिमिरेसम्म मात्र हो । मैले मेरो पुस्तक मार्क्सवाद र सबाल्टर्न अध्ययनमा सङ्कलित रचना ‘कवितालेखनका समकालीन चुनौतीहरू’ मा यस्तो लेखेको छु— ‘अहिलेको समयमा शास्त्रीय छन्द र लोकछन्दका कविता र गजलका नाममा रुवाइ, हाइकढाइ र उखानटुक्काहरू गम्भीर पाठक र समालोचकहरूको ध्यान तान्न सक्षम छैनन् । सङ्क्षिप्तमा भन्दा कवितामा शास्त्रीय छन्दको युग इतिहासको विषय भइसक्यो, यसले समयको जटिलतालाई सम्बोधन गर्न सक्तैन भनेर ठोकुवा गर्नु सही हुन्छ र यही कुरा गजलका सन्दर्भमा पनि लागू हुन्छ ।’

नेपाली साहित्यमा शास्त्रीय छन्दमा कविता लेख्ने परम्परा पनि छ भनेर विद्यार्थीलाई जानकारी गराउने सन्दर्भमा यसको चर्चा होला, यसका पक्षधरहरूले फेसबुकमा यसलाई जीवित पनि राख्लान्, तर पाठकीय सम्बन्धको आयाम र समालोचकहरूको चासोका दृष्टिले शास्त्रीय छन्दका कविताहरू इतिहासका विषय बनेको यथार्थलाई स्वीकार गर्नुपर्ने हुन्छ । गजलको स्थिति त यो भन्दा पनि कमजोर छ । समकालीन लेखनमा सबैभन्दा कम चासो र चर्चाको विषय हो गजललेखन । मेरो ठहरले कतिपयलाई रिस उठ्ला, आक्रोशित पनि पार्ला । यो मेरो बुझाइ हो र मलाई यही नै सही बुझाइ हो भन्ने लाग्छ ।

 सामाजिक सञ्जालले सतही सिर्जनालाई प्रोत्साहन गरिरहेको छ भनिन्छ, तपाईंलाई के लाग्छ ?

एकदमै सही हो । सामाजिक सञ्जालको सही प्रयोगले अहम् महत्त्व राख्छ, सूचना सम्प्रेषणका दृष्टिले यसको प्रयोग आवश्यक छ, म यसको विरोधी होइन । तर, व्यवहारमा यसको प्रभाव उल्टो भएको छ । अहिले सामाजिक सञ्जालले गम्भीर लेखनमाथि निकै ठूलो असर पारेको छ । सामाजिक सञ्जालमा रमाउने लेखक-समालोचकहरूको आयु र आयाम त्यति व्यापक नभए पनि यिनले साहित्यको गम्भीर पक्ष र यसको व्यापक आयाम, लेखको महत्त्व र भूमिकाका साथै लेखक र जनसम्बन्धलाई नराम्रो गरी खलबल्याएका छन् । नेपाली साहित्यमा ‘सामाजिक सञ्जाल लेखक-समालोचक’ भनेर कित्ता काट्नुपर्ने स्थिति उत्पन्न भएको छ । सामाजिक सञ्जालमा कुनै रचनाको प्रशंसा भयो अथवा गरियो भने त्यो रचना झूर रहेछ भनेर बुझ्नुपर्ने स्थिति बनेको छ । सबै यस्तो नहोला, तर, सरसरती हेर्दा स्थिति यस्तै छ । यसबाट गम्भीर लेखन, पठन र समालोचनालाई बचाउनु आवश्यक छ । वास्तवमा लेखनक्षेत्रको मात्र कुरा नभएर सबै क्षेत्रमा ‘सडक मोर्चा’ शून्य र ‘सञ्जाल मोर्चा’ हाबी होलाजस्तो स्थिति छ । यो सुखद पक्ष होइन ।
 ००
(कथालिका आख्यान पत्रिका, वर्ष १, अङ्क १, २०७४ माघबाट साभार)
भिडियो फिचरview all