menu

ताजा समाचार

कवि, छापामार र बाल्कोनीमा बस्नेहरू

फेरि लालभन्ज्याङमा उभिएरमा एउटा शीर्षक छ— ‘साइँला ! मनको असल साथी त कविता नै रहेछ’ । त्यसमा यस्तो लेखेको थिएँ/रहेछु :

"जब सत्य आफ्नै अगाडि नराम्रो गरी छटपटिन्छ र झूटले जितको तिघ्रा ठोकेर अट्टाहास गर्छ, फुट्तो रहेछ पीडा र आक्रोशको ज्वालामुखी । त्यतिबेला मलाई कविता र डायरीले मात्रै पुग्दैन । म त्योभन्दा ठूलो परिवेश र फैलिने आकास र  विस्तारित हुने जमिन खोज्छु । म कलममा बारुद भर्न थाल्छु ।"

साँच्चै हो,  यही त हो  विद्रोह भनेको  । जब विद्रोहको समय  आउँछ कलमहरू छापामारमा फेरिन्छन्  । कलमहरूमा मसी होइन, बारुद भरिन थाल्छ । मेटिन्छन् साँध र सीमाहरू । बारुद कवितामा रूपान्तरित हुन्छ र कविता बारुदझैँ तातो र रातो बन्छ । दुवै दुस्मनका विरुद्ध लड्छन् र ती आफैँभित्रका विकृतिका विरुद्ध पनि लड्छन  । लेख्नु काला शब्दसित खेल्नु मात्र होइन, यो त युद्धमोर्चामा सहभागी हनु हो । गजबको हुँदो रहेछ यो मोर्चा, एउटै लडाइँ घरीघरी लड्नु  पर्दो रहेछ, कहिले चलायमान युद्ध र कहिले छापामार युद्धका झैँ । यसैलाई  क्रान्तिकारीहरूले भन्न गरेका रहेछन् — निरन्तर क्रान्तिको सिद्धान्त । यसैलाई हामीले अर्को  नाम दियौँ —क्रान्तिभित्र क्रान्तिको अभियान । ओहो ! हामी महान् आदर्शमा लामबद्ध थियौँ ।

 एउटै कुरा घरीघरी लेख्नु, त्यो पनि आफ्नै सेरोफेरोबाट  लेख्नु त्यति रुचिकर लाग्दैन । पढ्ने-सुन्नेलाई  पनि लाग्दो हो— लेखकहरू आफ्नै कुरा बढी भन्छन्, आफ्नै गन्थन बढी लेख्छन् । साँचो भनौँ ? निबन्ध आफैँमा एउटा गन्थन हो— रागात्मकतासित घोलिएर व्यक्त भएको यथार्थ । म अहिले लेखिरहेको छु भन्नुको अर्थ म शब्दमार्फत सत्य भनिरहेको छु —हो । तपाईँ यसलाई जेसुकै भन्नुहोस्, म तपाईंलाई विस्तारै नदीको किनारबाट गहिराइतर्फ लाँदैछु । उतारिरहेको छु शब्दमा जस्ताको तस्तै,  जे छ त्यही । म जे भन्छु, सत्यसत्य भन्छु । सत्यसिवाय अरू केही पनि भन्दिन । मैले फेरि लालभन्ज्याङमा उभिएरमा पनि यसै भनेको थिएँ ।

भनिन्छ निबन्ध बढी रागात्मक हुन्छ । खुल्छन् यसमा मनका कुरा धेरै । यसो होइन । हरेक विधामा लेखकले पहिले आफूलाई अगाडि राख्छ, आफैँलाई उभ्याउँछ । स्रष्टा अर्थात् प्रत्येक लेखकले पहिले आफ्नै अनुभव, अनुभूति र भोगाइलाई प्रस्तुत गर्छ र त्यसलाई सामान्यीकरण गर्छ, प्रारूपीय स्वरूप  दिने प्रयास गर्छ । र पनि प्रस्ट कुरा के हो भने हरेक स्रष्टाले आफ्नै अनुभव र अनुभूतिबाट शब्द र रङ्ग लिएर खाली ठाउँ भर्न सुरु गर्छ र समग्रतामा प्रवेश गर्दछ ।

मेरो अनुभव र अध्ययनले यसै भन्छ ।

युद्धजीवनका अनुभव र अनुभूतिका केही पाटालाई लिएर मैले फेरि लालभन्ज्याङमा उभिएर लेखें । मेरो स्रष्टा जीवन, कलाचेत, सौन्दर्यचेत र पार्टी कार्यकर्ताको अनुभवको एउटा अंशलाई घोलेर मैले अनुभव र अनुभूतिको एउटा पक्षलाई राखें । गर्व छ मलाई, म महान् आदर्शका लागि महान् यात्रामा हिँडेको थिएँ । कुरा र भाषणमा के के र जे जे भने पनि यथार्थ के हो भने मान्छेलाई सबैभन्दा बढी आफ्नै जीवन प्यारो लाग्छ, आफ्नै परिवार प्यारो हुन्छ । केही कुरा बाध्यताका पनि होलान्, तर प्रमुख कुरा प्रतिबद्धता हो । महान् आदर्शभित्र नपसी र जीवनको नयाँ परिभाषाभित्र नपुगी मान्छे युद्धको त्यत्रो भीषण यात्रामा लाग्दैन । युद्धमा होमिने कुरा रहर र लहडको विषय बन्न सक्तैन । छापामारलाई कलममा उतार्ने र कलमलाई छापामार बनाउने त्यो अभियान मेरा लागि एउटा अद्भूत र अनुपम अनुभव र अनुभूति थियो । महान् ध्वंस र महान् निर्माणको अंश बन्दै कलमलाई छापामार बनाएर सँगसँगै कुद्नुजति आनन्दानुभूति अन्त कतै हुँदैन होला ।

मैले भनें । कोरें  । र लेखेँ  । मैले धेरैजसो रातै देखेँ। रातैरातो लेखेँ । तर यति मात्र देखिनँ । रातैरातोभित्र पनि, गाढा रातोभित्र पनि केही कालो पनि देखेँ । र त्यसलाई पनि टिपें । ढकमक्क फुलेको लालीगुराँसका बीचमा धतुरो पनि फुलेको देखें । र क्यामेराले त्यसलाई पनि क्लिक गरें— क्लिकक्लिक ।

हामीले भन्यौं — क्रान्ति मुखमुख त प्रतिक्रान्ति घाँटीघाँटी ।
हामीले भन्यौं — आफ्नै टाउकामा आफैंले  आगो लगाऔँ  ।
जमेको पोखरी होइन, छङ्छङी बग्ने कर्णाली— हामीले यो पनि भन्यौं  ।

र मैले कोट्याइदिएँ । मैले अलिकति देखाइदिएँ— कमरेड ! त्यहाँ प्वाल परेछ । त्यहाँ अलिकति उक्किएछ, त्यहाँ अलिकति दाग लागेछ । त्यहाँ फोहोरमैला जमेछ । त्यहाँ ऐंजेरू पलाएछ— सफा पार्नुपर्छ है । ''धरोधर्म, सतोसत'',  मैले गरेको यत्ति हो । ठीक लागेरै यसो गरें । गर्नैपर्छ भनेर यसो गरें । कस्तो असहिष्णुताको संस्कृति ! बर्सिए ममाथि ढुङ्गामुढा । तर म डगिनँ । सत्यका पक्षमा मैले प्रतिरोध गरिरहें । अर्थात् मैले सत्य लेखिरहें । कलमको छापामारीलाई निरन्तरता दिइरहें खबरदारी गरिरहें— ''लौ आयो छापामार कलम भिरेर ।" अलिकति चिमोटेकै हुँ कमरेड, कलमलाई छापामार बनाएकै हुँ कमरेड !

तीन वर्षयताका पन्नाहरू पल्टाउँछु । सबै कुरा लथालिङ्ग र भताभुङ्ग छन् । कति दुःखका साथ निर्माण गरेका थियौं हामीले यो ठूलो चित्रशाला, यो भव्य बिम्ब । ती भव्य चित्रहरू हराएका छन् । गायब पारिएका छन् र च्यातिएर बेवारिसेझैँ बनेका छन् । रूखहरू सुकेका छन् र ऐंजेरुहरू लहलह छन् । घरमौरीहरू बासको खोजीमा भौंतारिइरहेका छन् र बच्छ्यूंहरूको जगजगी छ महको चाकामा । कवि पूर्ण विरामले ‘अलपत्रमा परेको युद्ध’ मा भनेझैँ, भान्छामा वनसाङ्लाहरूको रगरगी छ र चारैतिर सलबलाएका छन् छेपाराहरू । विरक्त लाग्दो छ दृश्य ! आक्रोश उत्पन्न हुने खालको छ परिदृश्य ।

आहा ! हाम्रो आधारइलाका ।

कमरेड ! हृदयदेखि भनौं  ? त्यो धरोहर आँखामा नाच्यो, छातीमा बाँच्यो, खोइ बचेन यथार्थमा । नत्र भन्थेँ, छाती ठोकेर भन्थेँ— क्याबात् कमरेड ! ''त्यो काख जलजलाको...हाम्रो फलामे किल्ला, किल्ला बनिरहन्छ"— बरु केही छैन, ढुङ्गामुढा बर्सिरहून् बरालहरूमाथि र जलिरहून् फेरि लालभन्ज्याङमा उभिएरहरू । तर, खोइ बचेन त्यो यथार्थमा !

भएन कमरेड, त्यस्तो भएन ।
भत्किएका छन सहिदद्वारहरू, चिरिएका छन् सहिद बा-आमाका छातीहरू ।
लालचौतारीहरू के-केका अखडा बनेका छन् र
सुनेको हुँ, साँझ  पर्दानपर्दै थवाङमा अर्कैअर्कै कुराको बजार लाग्छ ।
कमरेड लली रोका ! सुन्दा पनि लाज लाग्छ, मन कस्तोकस्तो हुन्छ ।
उता सहिद र बेपत्ता परिवारको आँसुको भेल बग्छ ।
यता कटुवाल बाबुसाहेबकोमा ‘कमरेडहरू’ को भोजभतेर चल्छ ।
कसलाई आफ्नो भन्नु कसलाई पराइ भन्नु,
बहुरङको कोलाजमा सबै भ्रमभ्रमझैँ लाग्छ ।

हेर्छु म मानचित्र । मानचित्र पनि अहिले अर्कै पो छ । कति सुन्दर थियो त्यो मानचित्र । एउटा गाउँ थियो । रगतको इतिहाससित गाँसिएको गाउँ, बलिदानको गाथासित जोडिएको गाउँ । हाम्रो एउटै परिवार थियो । हामी त्यसलाई नयाँ गाउँ भन्थ्यौं । दिनभरि श्रम गरेर आउँथ्यौं र बेलुका समवेत स्वरमा गाउँथ्यौं — ''आऊ है साथी जनकम्युन हेर्न जाउँ , रगतले लेखिएको हाम्रो प्यारो गाउँ  ।" सोध्न मन लाग्छ अहिले, बडे कमरेड ! यो नयाँ  मानचित्रमा ''हाम्रो प्यारोप्यारो गाउँ" कहाँनेर छ ? कुन दिशामा पर्छ यो रातो गाउँ , त्यो नयाँ गाउँ  ? भन्नोस् न कमरेड भन्नोस्, किन यति चाँडै खुइलियो हाम्रो गाउँको रङ ? किन यति छिटै कच्याककुचुक्क भयो हामीले कोरेको मानचित्र ?

तात्छ छाती । पोल्छ मुटु । आँखाहरू बल्न थाल्छन् । र त लेख्छु । गन्थन भन्नुहोस् अथवा कथन, म यी सबै लेख्छु । सत्यसत्य भनौँ ? म फेरि लालभन्ज्याङ लेख्छु  । जलजला, लालभन्ज्याङ र त्यसको छेउमै रहेको त्यो सानो गाउँ डम्फू र मझिवाङको महागाथा  फेरि लेख्छु । धमिराहरू महाख्यानको अन्त्यको घोषणा गर्ने शब्दजाल बुनिरहेछन् । माओवादको क्यानभासमा ट्रट्स्कीहरू फस्टाइरहेछन् । म  यसका विरुद्ध पनि लख्छु , सबै लेख्छु । हनुमानदासहरू नाङ्गेझार भएर उफ्रीपाफ्री गरिरहून्, म यी सबैको 'महान बहस' लेख्छु । अब  लेख्नु पर्छ 'महान बहस' । यतिखेर मसित कलम मात्र छ । थाहा छ मलाई, समय  आउँदा यो बन्दुकभन्दा खतरनाक बन्नसक्छ । उनीहरू कलमदेखि डराउँछन् । उनीहरू ? हो उनीहरू  ।

रगतले लेखिएको यो महागाथा— सुरेश वाग्ले, सेरमान कुँवर, मोहनचन्द्र, तेजमान घर्ती, रीतबहादुर, कृष्ण सेन, चुनु, शिव, च्याङ्बा, त्यसै निर्माण भएको छैन यो गाथा । प्रत्येक मोर्चाको समाचार र एउटा कमरेडको सहादतमा कविता जन्माएर युद्धलाई ऊर्जा दिने पूर्ण विरामहरू अझै पनि हेरिरहेका छन् पूर्वी दिशातिर । ती हरहमेसा जाग्राम छन्, खबरदारीमा छन् । भन्छन् : ‘फेरि चे ग्वेभारालाई चिठी लेख्नैपर्ने भयो’ भनेर । कस्तो विडम्बना ! चलेको छ रजाईं बाघको छालामा स्यालहरूको । बारीको डिलमा उभिएर बेपत्ताकी आमा अझै आशाका आँखा  बाटाभरि बिछ्याइरहेकी छिन् ।

आहा ! कति ठूलो घरका कति ठूला मान्छे हामी ! आफ्नै  घरमा हामी आफैं  अपरिचित, आफै  बिरानो । हाम्रा टाउकाका मूल्य तोकिंदा  श्रव्यदृश्यमा हाम्रा फोटाहरू हेरेर मनोरञ्जन गर्नेहरू को को थिए र उपरखुट्टी लगाएर चन्द्रकान्ताका विदूषकहरू हेरेर ताली पिट्नेहरू को को थिए, तथ्याङ्क खोतल्नु आवश्यक  छैन । एकएक थाहा छ, कमरेड ! एकएक थाहा छ । एकजना चैतुरामले हिजो राती निकै अर्तीउपदेशसहित दर्शन र राजनीतिको गफ छाँटयो । अलिकति धम्कीको रङ पनि मिसायो । पहिले त म व्यङ्ग्यले मुस्कुराएँ, तर मलाई केही पीडा पनि भयो । म तल भुइँमा थिएँ र ऊ बाल्कोनीमा बसेर मलाई ढुङ्गा हानिरहेको थियो । कति नरमाइलो दृश्य ! साह्रै पोल्छ यस्तो दृश्यले ।

यो सबै देखेर पोल्छ छाती । त्यसैले लेख्छु । लेख्छु कमरेड गन्थन वा कथन जेसुकै भन्नोस्, सबै लेख्छु । मेरो भूगोलको  सिमानामा विदेशी बुटहरूले परेड खेल्दा मलाई दुख्छ, म यो लेख्छु । लालगढका लालमान्छेहरूको बहादुरी देखेर मेरो मन उद्वेलित हुन्छ, म यो पनि लेख्छु । पूर्ण विरामलाईझैं मलाई पनि ‘चन्द्रमानका चित्रहरू’ मन पर्छन् । आगोको बीउ हराउन थालेको बेला चन्द्रमानले आगोको खेती गर्न बाइपङ्खी घोडा चढेर उत्तर दिशातिर हुँइकिएको चित्र कोर्छ । तपाईं कमरेडहरूलाई यस्तो चित्र मन नपर्न सक्छ । यसले तपाईं-हजूरहरूको निद्रा बिगार्न सक्छ । तर हामी त ‘चन्द्रमानका चित्रहरू’ जस्तै चित्र मन पराउँछौं  । चित्र कोर्न कहिले कुमारी बुढाको गाउँतिर जान्छौं — कलम, कुची र मादल लिएर । कहिले सेरमान कुँवरको गाउँ सिन्धुली अमलेतिर लाग्छौं, कहिले बेथान र दोरम्बा पुग्छौं र कहिले शिव लडेको मोर्चा गोर्खाको रिट्ठेपानी र ताकुकोट पुगेर गीत गुनगुनाउँछौं  — “हामी लालसेना, हामी छापामार..कलम बोकेर...।”

यो स्रष्टाको जात, त्यसमा पनि गीत र कविता लेख्नेहरूको जात अचम्मको हुँदो  रहेछ । यो त छापामारझैं गतिवान् हुँदो रहेछ । पुग्दो रहेछ जहींतहीं । कविताबाट कविता जन्माउँदा रहेछन्, तिनीहरू — छापामारबाट छापामार जन्माएझैं, हतियारबाट हतियार जन्माएझैँ । हतियारबाट हतियार जम्मा गर्छ छापामारले । हामी पनि अहिले छापामारहरू जन्माइरहेका छौं — कथा लेख्छौं,  निबन्ध लेख्छौं  र कविता र गीत लेख्छौं  । तपाईं कमरेडहरूलाई मन पर्दैनन् यी छापामारहरू । यिनले तपाईंलाई कुन लुगा सुहाउँछको विवरण र फेहरिस्त प्रस्तुत गर्दैनन् । तपाईंको जुँघाको स्टाइलको प्रशंसा गर्दैनन् र तपाईंको कपालको पपगीत पनि लेख्दैनन् । यिनले तपाईं कमरेडको नाममा हनुमानचालिसा पनि भज्दैनन् ।

दुस्साहसी छन् यिनीहरू ! यिनले बादशाहलाई घोडाबाट खसाल्ने कुरा मात्र गर्छन् । यी ‘हुरीचराको गीत’ गाउँछन् र ‘रातो लालटिन’ को बाटो हिंड्ने सल्लाह गर्छन् । मान्य छैन यिनलाई तपाईं कमरेडहरूको दक्षिणढोका । यी त सगरमाथाको उँचाइको कुरा गर्छन् । यिनले डटेर ''उत्तर-वाद" को विरोध गर्छन् । 'हरामी’ छन् यिनीहरू ! यिनले त ''उत्तर-जनयुद्धकाल '' को पनि विरोध गर्छन् । मलाई थाहा छ, तपार्इंलाई छापामारको गीत मन पर्दैन र कविता सुन्न पनि मन लाग्दैन । तपाईंलाई मन परोस्/नपरोस्, म तपाईंलाई कविताका दुई टुक्रा अवश्य सुनाउँछु :

१.छापामार योद्धाजस्तै एउटा कवि हुन्छ
रूख, झाडी र चट्टानसित एकाकार
बहुआयामिक, तर सारगर्भित
गतिको नियमसित अभ्यस्त
र असङ्ख्य बिम्बहरूसित परिचित ।


२. घाँटी अठ्याएर हत्या गरियोस् र लास गायब पारियोस्
स्टेनगनको गोलीले शरीर छियाछिया पार्न खोजियोस्
र पनि कविताको गाउँबाट कविताको सहरलाई घेर्नु जरुरी छ ।

तपाईंहरूलाई थाहा छ कि छैन पहिलो कविता फिलिपिन्सका क्रान्तिकारी नेता तथा कवि जोसे मारिया सिसोनको हो र दोस्रो कविता बङ्गाली क्रान्तिकारी कवि नवारुण भट्टाचार्यको हो ।

साँच्चै हो, एकपल्ट फेरि कविताको गाउँले  कविताको सहर घेर्ने समय आएको छ । फेरि कवितालाई असल छापामार नबनाइनहुने समय आएको छ । कविता धेरै दिनसम्म क्यान्टोनमेन्टको बन्दी बन्न सक्तैन । अब क्यान्टोनमेन्टका चारै ढोकाहरू खोल्नुपर्ने बेला आएको छ । पहिलेभन्दा जटिल छ यो लडाइँ, भित्रै लड्नुपर्छ, बाहिरै लड्नुपर्छ । दुवै मोर्चा एकैचोटि लड्नैपर्छ । हात उठाउनोस् कमरेडहरू ! यो महायात्रामा खाजासामल जोरजाम गर्न को को तयार हुनुहुन्छ ? कलमलाई छापामार बनाउने यो अभियानमा लामबद्ध हुन को को इच्छुक हुनुहुन्छ ? नाम दर्ता गराउनोस् कमरेड, भन्नुहोस् यस मोर्चाको अगुवाइ गर्न तपाईं कमरेडहरू को को तयार हुनुहुन्छ ?
000

(कुहिरो र घोडचढीहरूबाट)


भिडियो फिचरview all