menu

ताजा समाचार

फेरि पनि भन्छु, मान्य छैन विप्लववाद

 डा. ऋषिराज बराल    
यही मङ्सिर ८ गते नेकपा-माओवादीबाट नेत्रविक्रम चन्द ‘बिप्लव’ सम्बद्ध समूहले सम्बन्ध विच्छेद गरेको तीन वर्ष हुन्छ  । 'बिप्लव समूह', नेकपा, माओवादी, नेकपा (माओवादी) हुँदै अहिले यो समूह नेकपा मात्रै भएको छ । काम गराइको शैलीले बेलाबेलामा चर्चामा आइरहने यस समूहको नाम फेराइको गतिशिलता देख्दा माओवाद र माओवादी पदावलीप्रति यसको रुचि घट्तै गएको बोध गर्न सकिन्छ  ।

तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न ‘फरकमत’ को दस्ताबेज प्रस्तुत गरेपछि भएका बहस-छलफलका  क्रममा मेरा आफ्नै किसिमका मत र विचारहरू थिए । सरसरती हेर्दा सिङ्गो पार्टी दुई कित्तामा विभाजित जस्तो देखिए पनि त्यहाँ मूलतः तीनओटा धार थिए—कमरेड किरण र  बिप्लव दुवैको दस्ताबेजप्रति  विमति जनाउने अर्को धार  पनि थियो ।

२०६९ सालको पुसमा बसेको नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकले २०७० साल जेठमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र कार्यदिशालाई समृद्ध पार्ने भनेर निर्णय गर्यो  । राष्ट्रिय सम्मेलनको  निर्णय र तयारीसँगै दस्ताबेज निर्माणको पनि तयारी चल्यो । यसैक्रममा पार्टी अध्यक्ष कमरेड किरणको आधिकारिक दस्ताबेजसँगै पार्टी सचिब कमरेड बिप्लवबाट समेत दस्ताबेज आउने चर्चा चल्यो । नभन्दै भेलाभन्दा अघि २०७० जेठमा बसेको केन्द्रीय समितिको बैठकमा विधिवत रूपमा दस्ताबेज केन्द्रीय सदस्यहरूमाझ वितरण भयो ।

पिबिभन्दा तल, के.स.मा समेत कमरेड विप्लवको  दस्ताबेज नलैजाने, लगे पनि बहसछलफल गर्न नपाइने र जिल्ला तहसम्म त झन् लाँदै नलैजाने भन्ने कुरा सुनिएको भए पनि बिप्लवको दस्ताबेज तलसम्म पुग्यो र पत्रकारहरूका हातहातमा पनि पुग्यो । त्यसअघि बिप्लवले छोटा टिप्पणीमूलक लेख मात्रै लेखेको, यति लामो लेखादि लेखेको नपाइएको भन्दै कतिपयले सो दस्ताबेज बाबुरामको नेतृत्वमा तयार भएको, रविन्द्र श्रेष्ठले तयार पारेको, अमुकले तयार पारेको भनेर टीकाटिप्पणी गरेको पनि सुनियो ।

प्रचण्डसित सम्बन्ध विच्छेद गर्दाताका प्रचण्डसित बिप्लवको राम्रो सम्बन्ध नभए पनि बाबुरामसित राम्रो सम्बन्ध थियो । बाबुरामलाई प्रधानमन्त्री बनाउने सूत्रधारमध्ये एकजना बिप्लव पनि थिए भन्ने बुझाइ थियो र यसमा हितमान, पम्फा, सोनाम आदिको नाम पनि गाँसिएको थियो  । बाबुराम प्रधानमन्त्री हुँदा प्रचण्डको दबाबमा राजिनामा नगर्न भनेर सल्लाह दिन बिप्लव बालुवाटार पुगेको भन्ने किसिमका समाचारहरू पनि आएका थिए । वास्तवमा बाबुराम- बिप्लवको ''विशेष सम्बन्ध" सार्वजनिक नै थियो, एउटै पार्टीका नेताहरूबीचको सम्बन्ध लुक्नु/लुकाउनु आवश्यक पनि थिएन । बिप्लवले किरणसित सम्बन्ध विच्छेदको मानसिकता बनाइरहेको बेला उता बाबुराम पनि प्रचण्डसित मोलमोलाइ गरिहेका र सम्बन्ध विच्छेदको तयारीमा लागेको स्थिति  थियो । यसका लागि संबिधान जारी गर्ने भनिएको दिन २०७० माघ ८ को सन्दर्भ पनि जोडिएको थियो। बाबुरामसँगै रविन्द्रसित पनि बिप्लवको सम्बन्ध सुमधुर भएका कारण सो दस्ताबेजको लेखनसम्बन्धबारे कतिपयले प्रश्न उठाएका थिए । प्रश्न उठाउनेले बिप्लवको गाडीमा रविन्द्र पनि सँगै हिंडने गरेको सन्दर्भ जोड्ने गरेका थिए । नेकपा-माओवादीसित सम्बन्ध विच्छेदअघि गरिएको दोस्रो आन्तरिक गुटभेलामा बिप्लवले “रविन्द्र श्रेष्ठले पनि हामीलाई सघाउने भन्नुभा’ छ” भनेर पार्टीमा ल्याउने प्रस्ताव राखेको पनि हो । यो प्रस्तावप्रति हामी सबै आश्चर्यचकित भएका पनि हौँ ।

“बिप्लवसित दस्ताबेज लेख्ने क्षमता र हैसियत छैन" भनेर एक थरीले खिसिट्युरी गर्दै उडाए पनि दस्ताबेज आएको थियो र त्यसको व्याख्याता पनि उनी नै थिए । तर सो दस्ताबेज हात परेपछि यो टिप्पणीकार भने तीनछक पर्यो  । त्यसमा त पेरिस कम्युनदेखि माओसम्मको समग्र इतिहास निषेध छ, त्यो इतिहासको अब काम छैन भनिएको छ । नयाँ जनवादी क्रान्तिको कुरा पनि छैन,  नेपाली समाजको व्याख्या पनि अचम्मको छ, सत्ता साझेदारीका कुरा छन् र एकीकृत क्रान्ति भनिएको छ । यस्तो पनि दस्ताबेज हुन्छ-मार्क्सवादको सामान्य ज्ञान पनि  नभएको मान्छेले लेखे जस्तो भन्ने मलाई लाग्यो । मैले  यस किसिमको कमजोर दस्ताबेजको कल्पना पनि गरेको थिइन । यहाँ त मार्क्सवाद र यसको इतिहास नै गायब छ । दस्ताबेज त उत्तरआधुनकतावादी चित्रकलाजस्तो पो छ ।

 केन्द्रीय समितिको बैठकमा किरण कमरेडको दस्ताबेजमाथि मात्रै बहस गर्न पाइने भनिए पनि दुवै दस्ताबेजबारे टिप्पणी भइरहेका थिए ।  भरिसक्के बिप्लवको दस्ताबेजमाथि खारेजीको टिप्पणी नगरौँ, यसलाई छलफल गरेर परिमार्जन गर्नुपर्छ/गर्न सकिन्छ भनेर सुरुमा दस्ताबेजप्रति म केही मात्रामा संयमित  थिएँ । त्यसैले मैले केन्द्रीय समितिको बैठकमा “दुइटा दस्ताबेज आएछन्, अझै दुई-चारवटा दस्ताबेज आउन सक्छन्” भनेर दुवैप्रतिको आफ्नो विमति जाहेर गरेको थिएँ  । किरण कमरेडको दस्ताबेजप्रति अरू कुराभन्दा बढी विमति कार्यदिशामै थियो । तर बिप्लवको दस्ताबेजमा त कार्यदिशा नै भेट्टाउन गारो पर्यो !

त्यतिबेर बिप्लव समूहमा मेरो बढी छलफल कमरेड असारे, कमरेड विरही र कमरेड दीपकसित हुन्थ्यो । कमरेड दिपक र म पुर्बेली अभियानमा सँगै रह्यौँ र पश्चिम कमान्डमा पनि । बिमति जाहेर गर्नुअघि मैले कमरेड असारे र कमरेड विरहीसित, ''तपाईँहरूले अनुमोदन गरेको हो, यो दस्ताबेज", भनेर कुरा राखेँ  । ''यो दस्ताबेज तयार पार्दा आफुहरूसित पनि कुनै सल्लाह-सुझाव नलिएको, आफूहरूले पनि एकैचोटि बैठकमा मात्रै हेरेको र यसलाई परिमार्जन गर्दै जानुपर्छ भन्ने लागेको हो" भनेर उहाँहरूले भन्नुभयो । “जुन कुरालाई किरणको दस्ताबेजमा  अपुग भयो भनिदैछ, ती कुरा मात्र होइन, यसमा त थुप्रै कुरा मार्क्सवादसम्मत  छैनन्, कसरी यसलाई मानेर हिँड्न सकिन्छ । हाम्रो रिस व्यक्ति किरणसित त होइन, ” भन्ने मेरो भनाइ भएपछि  बिप्लवसित भेटेर छलफल गर्ने कुरा भयो  ।

चाबहिलको कोठामा भेटघाटको सन्दर्भमा मैले यो दस्ताबेजमा यसोयसो गर्न पाए राम्रो हुन्थ्यो, दस्ताबेज अझ बढी प्रभावकारी हुन्थ्यो, केही कुरा प्रस्ट भएनन् र  केही कुरा पुगेनन् जस्तो लाग्यो भनेँ र बिप्लवको दस्ताबेजका सम्बन्धमा मलाई लागेका कुराहरूको ९ पृष्टको अभिमत  हातमा दिएँ  । त्यो अहिले पनि मसित सुरक्षित छ । “ क्रान्तिसम्बन्धी माओका विचार र बाटोलाई निषेध गरेर नेपाली क्रान्ति सम्पन्न गर्न सकिएला र, म त अलि बढी नै माओप्रति आस्थावान छु ” भनेर विचार राखेँ । ''उसोभए तपाईँ आफैँ दस्ताबेज तयार पार्नुहोस् न त", भन्ने बिप्लवको उत्तर आयो  ।  उहाँ सो दस्ताबेजमा ‘कमा’  र ‘पूर्णविराम' पनि थप्ने तथा हटाउन सक्ने स्थितिमा हुनुहुँदो रहेनछ भन्ने कुरा बोध भयो । यसले मलाई गम्भीर बनायो  । मलाई हाँक्ने मान्छे, मभन्दा योग्य, सक्षम, अनुभवी, अध्ययनशील र भरोसायोग्य र विश्वस्त हुन सकिने मान्छे हुनुपर्छ भन्ने मेरो धारणा थियो/छ  । फेरि कपनमा भएको आन्तरिक भेलामा प्रकाण्डले “मार्क्सले किसानलाई प्रतिक्रियावादी भनेका छन्, हिजो हामीले गरेको जनयुद्ध पनि ठीक लाइनमा नगएको” भन्ने भाव दर्शाउने धारणा राखेपछि कस्तो किसिमको क्रान्ति गर्न खोजिएको हो भन्ने कुराले म झन् अन्यौल र आश्चर्यमा परेँ । अलिअलि कुरा ‘फोकोवाद’ का पनि उठेका थिए । नेता तथा कार्यकर्ताहरूबीच बहस-छलफल गर्ने र विचार र कार्यदिशालाई प्रस्ट पर्ने, तलसम्म जनमत तयार पार्ने कुरामा भन्दा पनि एकदमै हतारिएजस्तो, कसैले यति दिनभित्र, यो मितिभित्र छिटोभन्दा छिटो नयाँ पार्टी बनाउ भनेर आदेश दिएजस्तो गरी बृहत् भेला र छिनोफानो गर्ने कुरा राखेपछि म झन् आश्चर्यमा परेँ ।

कपनको भेलामा बिप्लवजीले राजधानी बाहिर समूहको भेला राख्ने र सो दस्ताबेज पारित गर्ने निर्णय सुनाउनुभयो । यो भेला नवलपरासीमा भयो । काठमाडौँमा भएका सानासाना छलफल त्यति आपत्तिको विषय नभए पनि विधिवत रूपमै समूहगत भेला गरेर दस्ताबेज पारित गर्ने कुरा अलि अर्कै कुरा थियो  । भेला  किरण कमरेडलाई जानकारी दिएर गरिएको भनिएको थियो । पछि मात्रै थाहा भयो, त्यसो होइन रहेछ । पार्टी एउटै छँदा कसरी यसरी अलग्गै भेला गरेर दस्ताबेज पारित गर्न सकिन्छ,  यो त अलग पार्टी निर्माण गर्ने कुरा पो भयो भन्ने जिज्ञासा एकातिर ममा थियो भने अर्कातिर सो दस्ताबेजप्रति मेरो अलिकति पनि सहमति छैन भने म कसरी त्यो  भेलामा जाने र पारित गरेर आउने भन्ने कुराले मभित्र हुँडलो मच्चाउन थाल्यो  । म मूल पार्टीभित्रै रहेर दुवै दस्ताबेजमाथि व्यापक छलफल गरेर अनि मात्रै निर्णय गर्नुपर्छ भन्ने पक्षमा थिएँ । यसका लागि  छिटोभन्दा छिटो राष्ट्रिय भेला तोक्न किरण-बादललाई दबाब दिनुपर्छ भन्ने मेरो भनाइ  थियो । किरण-बादल समूहको भनाइचाहिँ बिप्लवले निर्णय गरिसकेका छन्, उनी पर्खिने स्थितिमा छैनन्, सम्मेलनको मिति तोके पनि उनी अडिने स्थितिमा छैनन्, उनको  कुरा अर्कै छ, यहाँ अर्कै खेल छ भन्ने थियो  । मैले घटना-सन्दर्भलाई त्यसरी सोच्न सकेको स्थिति थिएन । त्यतिबेर राष्ट्रिय सम्मेलनको मिति तोकेको भए बिप्लवलाई भन्ने आधार हुन्थ्यो, सम्मेलनको मिति नतोकिनु किरण-बादलको गल्ति थियो भन्ने अहिले पनि मलाई  लागिरहेको छ  । मिति तोकिदिएको भए बिप्लवले चाहेको कुरा के हो प्रस्ट हुन्थ्यो ।

चाबहिलमा भएको एउटा सानु जमघटमा कमरेड असारे र कमरेड विरहीलाई पनि दस्ताबेजबारे कुरा राखेँ  । ''व्यक्तिगत रूपमा बिप्लव कमरेडको स्पिरिटको सराहना गर्न सकिए पनि यो दस्ताबेजप्रति मेरो सहमति छैन, यो क्रान्ति गर्ने दस्ताबेज होइन, पार्टीबाट सम्बन्ध विच्छेद गरेर आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाउने  प्रयोजनका लागि  ल्याइएको दस्ताबेज जस्तो भयो यो त, म नवलपरासी भेलामा जाने मानसिकतामा छैन, बरु राष्ट्रिय सम्मेलनका लागि किरण कमरेडहरूलाई दबाब दिऔँ " भनें  । “अहिले यही दस्ताबेजमा टेकेर जाऔँ,  भेलापछि दस्ताबेज परिमार्जन गरौँ, विस्तारै परिमार्जन हुँदैजान्छ, उनीहरू (किरण-बादल) अल्पमतमा परिन्छ भनेर राष्ट्रिय भेला गर्दैनन्, एकएक बहाना बनाएर टारिरहन्छन् । अब ढिलो गर्नु हुँदैन”, भन्ने उहाँहरूको भनाइ रह्यो ।

किरण-बादलको काम गर्ने ढाँचाढर्रा, सङ्गठन परिचालनको शैली, सारसङ्ग्रहवादी कार्यदिशा, रुटिनबद्धता, जसरीतसरी दिन काट्नेजस्तो सोचाइ, थाकेको जस्तो र कताकता प्रचण्डसित सम्बन्ध विच्छेद गर्न हतार गरिएछ कि भनेर पश्चाताप गरेजस्तो उहाँहरूको मानसिकताका कारण म उहाँहरूप्रति सन्तुष्ट थिइन । परन्तु, कहाँ  पुगिन्छ भन्ने टुङ्गो नभएको अँध्यारो गुफामा, त्यो पनि रातको अन्धकारमा पसेजस्तो गरी बिप्लवको पछि लाग्नु मलाई उचित लागेन, मैले सही ठानिन ।  म किन बिप्लव समूहमा संलग्न भइन भन्ने कुरा केही मात्रामा दीपकलाई र बढी असारे र अनिल कमरेडहरूलाई थाहा थियो । अरूले भने आफ्नै किसिमका अर्थ लगाएका थिए । बिप्लवका  रिकुटे ठेट्नाले त केके लेखे, केके भने, अहिले त्यसको कुरा नगरौं   ।

यो सित गाँसिएको अर्को सन्दर्भ पनि छ । नवलपरासी भेलाका सन्दर्भमा बिप्लवको दस्ताबेज प्रकाशित हुने भनेर पुस्तिकाको कभरसहित विज्ञापन भएको थियो । पार्टी फुटेको छैन, एउटै पार्टी छ, दस्ताबेज तल नलाने भनिएको छ, तर छापेर बाहिर आइसक्यो, त्यसैले बिप्लवको दस्ताबेज बाहिर आउने हो भने म पनि त्यसप्रति  मेरो धारणा सार्वजनिक रूपमा बाहिर ल्याउँछु भनेर त्यतिबेर असारे र अनिल कमरेडलाई साक्षी राखेर मैले भनेको थिएँ । नभन्दै नवलपरासी भेलाअघि नै बिप्लवको दस्ताबेज  उहाँको सन्देशसहित छापिएर आयो । र मैले नवलपरासीमा बिप्लव गुटको भेला चलिरहँदा अन्नपूर्ण दैनिकमा लेखेँ : “मान्य छैन  विप्लववाद” । त्यसमा मैले निष्कर्षमा भनेको थिएँ  :

''भोलि परिमार्जित भएर बिप्लवको दस्ताबेज कसरी आउला अथवा दस्ताबेजका सम्बन्धमा आएका प्रतिक्रयाहरूलाई बिप्लव कमरेडले कसरी संश्लेषण गर्नुहुन्छ, त्यो पछि नै थाहा होला । यो दस्ताबेजका आधारमा चाहिँ बिप्लव कमरेडले माओले देखाएको जनयुद्धको बाटो र ‘नयाँ जनवादी क्रान्ति’ लाई छोडेको बोध हुन्छ । बिप्लव कमरेडको नीतिले ‘घुमन्तु विद्रोही’ को सम्झना गराउँछ । साथै यसमा माओले भनेझैं ‘विप्लववाद’( putschism) तिर विचलित हुने खतरा र दक्षिणपन्थी विसर्जनवादमा पतन हुने सम्भावना पनि त्यत्तिकै प्रबल छ । सरसरती अध्ययन गर्दा बिप्लवको दस्ताबेजका ७ ओटा कुराप्रति मेरो ध्यानाकर्षण भएको छ : १. नेपाली समाजको विश्लेषण, २. अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी बुझाइमा रहेको त्रुटी, ३. इतिहासको मूल्याङकनप्रति गलत दृष्टिकोण, ४. प्रधान र गौण अन्तरविरोधका सम्बन्धमा अन्योल, ५. मध्यम वर्गप्रति जोड, ६. भारतीय विस्तारवादप्रति नरमपन र ७. एकीकृत क्रान्तिको सिद्धान्तक नाममा भ्रमपूर्ण विचार ।"

यो ३ वर्षअघि बिप्लव समूहका बारेमा मैले व्यक्त गरेको अभिमत हो  । यो अहिले पनि www.thenextfront.com पढ्न सकिन्छ  ।

त्यसपछि  मैले यस विषयमा लगातारजसो दुइटा लेख लेखें : 'एकीकृत क्रान्तिको सिद्धान्तको चिरफार'  र अर्को 'बिप्लवको नयाँ क्रान्ति र सशस्त्र संसोधनवाद' । यी दुवै www.thenextfront.com मा अहिले पनि हेर्न सकिन्छ ।

लेखमा उल्लेख गरेको  'विप्लववाद' लाई लिएर कतिपयले बिप्लवको वाद, उनको विचार र गुटसित असहमत भनेर पनि अर्थ लगाए । वास्तवमा यो पदावलीको अर्थ ‘विद्रोह’ र ‘विप्लव' हो र यसमा वाद थप्दा  विप्लववाद (putschism) भएको हो ।

 पदावली र प्रवृत्ति मैले माओको १९२९ को ''पार्टीभित्रका गलत विचारलाई सुधार्ने सम्बन्धमा” शीर्षकबाट लिएको हुँ । १९२७ को क्रान्ति असफल भएपछि चिनियाँ कम्युनिस्ट पार्टी र जनतामा देखापरेको प्रवृत्तिगत स्थितिलाई व्यक्त गर्न माओले यो लामो लेख लेख्नुभएको थियो । त्यतिबेर चीनमा अब केही गर्न सकिँदैन भन्ने आत्मसमर्पणवादी प्रवृत्ति, आक्रोस र रिसले रन्थिनिएर उदण्ड मच्चाउँदै डाङ्डाङडुङ्डुङ गर्ने प्रवृत्ति र स्थितिको आकलन गर्दै नयाँ किसिमले शक्ति संचय गर्दै अगाडि बढ्नुपर्छ भन्ने किसिमका प्रवृत्तिहरू देखापरेका थिए । माओको  लेखको एउटा उपशीर्षक ‘विप्लववादका अवशेषहरूको सम्बन्धमा’ थियो र मैले यसलाई आधार बनाएर टिप्पणी गरेको थिएँ ।

बिप्लवको  दस्ताबेज र आन्तरिक  गुटभेलामा बिप्लव र प्रकाण्डले व्यक्त गरेका भनाइका आधारमा सो समूहबारे मैले त्यतिबेर धारणा निर्माण गरेको थिएँ । अहिले ३ वर्ष  भइसकेको छ र अब त सो समूहका बारेमा धारणा बनाउन पनि सजिलो छ । तर यताका तीन वर्षमा बिप्लव समूहको वैचारिक-राजनीतिक र व्यावहारिक यात्रा हेर्दा त्यतिबेर छोटै समयमा मैले यसको यथार्थिक धरातललाई ठम्याउन सकेको रहेछु भन्ने लागेको छ । नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गर्दा यसले अँगालेको रहस्यमय शैलीजस्तै क्रान्तिसम्बन्धी यसका वैचारिक तथा राजनीतिक धारणा र व्यवहार पनि रहस्यमय नै भएको अनुभूत मलाई भएको छ । खासगरेर आठौँ महाधिवेशनपछि बिप्लव समूह क्रान्तिकारी दर्शन, सिद्धान्त, विचार र राजनीतिका क्षेत्रमा अझ पछाडि धकेलिएको छ र  “उत्तर-सामज्यवाद” अर्थात् साम्राज्यवादको अन्त्य भएको वकालत गरेर यसले आफूलाई झन् रहस्यमय बनाएको छ ।

उल्टो हिँडेर पनि चर्चामा आइन्छ, उटपट्याङ काम गरेर पनि कहिलेकाहीँ चर्चामा आइन्छ । तर क्रान्तिको बाटो भनेको जटिलता र जोखिमपूर्ण बाटो हो । हामीले हिंड्ने बाटो नयाँ जनवादी क्रान्तिको बाटो हो । १९२७ को क्रान्ति असफल हुनुको सबैभन्दा बढी पीडा र चिन्ता माओलाई थियो, हुटहुटी पनि थियो, लि लि सान, वाङमिङसित मात्र होइन कोमिंटर्नसित पनि लड्नु परेको थियो र यो चानचुने कुरा थिएन । आत्मसमर्पणवादी र विप्लववादी प्रवृत्तिलाई चिर्दै त्यसै माओले लामो अभियानरोजेका थिएनन् ।

तारतम्य र मेलोमेसो मिले सरकारमा पुग्ने ''सर्टकट" बाटो हुनसक्छ, ''सत्तासाझेदारी" पनि हुनसक्छ, तर नेपाली क्रान्तिको बाटो भनेको लामो बाटो हो । अलि धेरै घुम्ती र मोडहरू पर्लान्, भीर-पहराहरू पनि थुप्रै पर्लान्, समय पनि लाग्ला, तर एउटै मात्रै बाटो यही नै हो– माओले देखाएको बाटो, जनयुद्धको बाटो ।

त्यसैले, फेरि पनि भन्छु : मान्य छैन विप्लववाद !
०००

भिडियो फिचरview all