ताजा समाचार
इतिहास ओढेर निदाएका कमरेडहरू
डा. ऋषिराज बराल
एक वर्षअघि ठीक यसै समयमा मैले ‘इन्डियन ब्लकेड एन्ड नेप्लिज माओइस्टस्’ शीर्षक लेखमा भनेको थिएँ : “नेपालमा माओवादीहरू छन्, तर माओवादी पार्टीहरू छैनन् ।”
आज ठीक एक वर्षपछि म यही कुरा दोहोर्याइरहेको छु ।
कम्युनिस्टहरू सर्वहारा अन्तर्राष्ट्रियतावादमा विश्वास गर्छन् । उनीहरू संसारको जुनसकै कुनामा भएका उत्पीडित वर्गीय आन्दोलनको पक्षमा र प्रतिक्रियावादका विरुद्धमा हुन्छन् । परन्तु सर्वहारावादी मानवतावाद, अन्तर्राष्ट्रियता तथा भाइचारा पार्टीहरूसितको सम्बन्धका सन्दर्भमा नेपालका माओवादीहरूको जेजस्तो प्रवृत्ति देखिएको छ, यसले प्रश्न मात्र नउठाएर आश्चर्यचकित नै पारेको छ । व्यवहार देख्दा नेपालका माओवादीहरू अन्तर्राष्ट्रिय माओवादी आन्दोलनबाट एकदमै काटिएका छन् भन्ने लाग्छ । उनीहरू भाइचारा पार्टीहरूका गतिविधिप्रति बेवास्ता गर्दछन् र त्यसप्रति उनीहरूको कुनै चासो नै छैन झैँ बुझिन्छ । वास्तवमा एउटा क्रान्तिकारी पार्टीले अर्को क्रान्तिकारी पार्टीसित बनाउने भाइचारा सम्बन्ध र सहकार्यका दृष्टिले नेपालका माओवादीहरू निर्जन टापुका बासिन्दाझैँ लाग्छन् । एक अर्थमा उनीहरूले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध र सर्वहारावादी मानवतावादी मूल्यलाई परित्याग गरेको बोध हुन्छ ।
नेपालको माओवादी आन्दोलनभित्र भारतपरस्त प्रतिनिधि पात्रका रूपमा परिचित कुख्यात पात्र बाबुराम भट्टराईले आफ्नो कोर्स पूरा गरेका छन् । माओवादी आन्दोलनलाई ध्वस्त पार्न जेजे गर्नुपर्थ्यो गरिसकेका छन् र 'नयाँ शक्ति' नामको नयाँ बुजुर्वा पार्टीका नेता भएका छन् । माओवादी आन्दोलनको इतिहाससित जोडिए पनि अब उनको भूमिका माओवादी आन्दोलनको विरुद्धमा नै सक्रिय हुनेछ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा भ्रष्ट पात्रका रूपमा रहेका र माओवादी आन्दोलनमा अन्तर्राष्ट्रिय स्तरमै गद्दार पात्रका रूपमा चित्रित प्रचण्डले अझै पनि पार्टीका दस्ताबेजहरूमा मार्क्सवाद–लेनिनवाद–माओवाद लेखेर माओवादको बदनाम गर्नुका साथै आमकायकर्ता तथा जनमानसका सामु ठगी धन्धा चलाइरहेका छन् । प्रचण्डले माओवादी आन्दोलनप्रति गद्दारी मात्र गरेनन्, उनले राष्ट्रियताका सन्दर्भमा पनि आत्मसमर्पणको लज्जाजनक इतिहास निर्माण गरेका छन् । पछिल्ला घटनाक्रमहरू, खासगरेर ओली सरकारबाट रहस्यमय किसिमको बर्हिगमन, प्रधानमन्त्रीका रूपमा भारतीय विस्तारवादसित गरेको राष्ट्रिघाती २५ बुँदे सहमति र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका सन्दर्भमा प्रदर्शित आत्मसमर्पणवादको उत्कर्ष स्वरूपका कारण उनी माओवादी आन्दोलनको इतिहासमा मात्र नभएर सिङ्गो राजनीतिमा एउटा कलङ्कित पात्रका रूपमा बिम्बित भएका छन् । वास्तवमा अब उनको वर्ग फेरिएको छ, स्वार्थ फेरिएको छ ।
नव–प्रतिक्रियावादी दलाल पुँजीपति वर्गको प्रतिनिधिका रूपमा अब उनको स्तरोन्नति भएको छ । विश्वकम्युनिस्ट आन्दोलनमा उनी नकारात्मक शिक्षाका पछिल्ला प्रतिनिधि पात्र बनेका छन् । यस्ता पात्रले पार्टीको नाम माओवादी राखे पनि उनको वर्गसखा सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टीहरू नभएर प्रतिक्रियावादी वर्गका पार्टीहरू हुन् । प्रचण्डले नयाँ जनवादी क्रान्तिका लागि लडिरहेका भारतका माओवादीलाई आतङ्ककारी भन्दै सोनियाँ गान्धीलाई चिठी लेख्नुबाट पनि यस कुराको पुष्टि हुन्छ । प्रचण्डले चाँडोभन्दा चाँडो पार्टीका नाम र दस्ताबेजबाट माओवादी पदावली हटाइदिएहुन्थ्यो भनेर कामना गर्नुबाहेक अरू केही छैन ।
अब बाँकी रहन्छन्, कमरेड मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) र कमरेड नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा (माओवादी) । यिनका गतिविधिहरू पनि वर्ष दिनमा एकपल्ट फेरि लगाउने ‘जोगी’ का जस्ता भएका छन् ।
विप्लव समूहको बारेमा धेरै भन्नु म आवश्यक ठान्दिन । यसको दस्ताबेजमा कतै पनि सर्वहारा अन्तर्राष्ट्रियतावादको चर्चा पाइँदैन र विश्वमा चलिरहेका क्रान्तिकारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउने कुराको उल्लेख पनि कतै पाइँदैन । समग्र दस्ताबेजको अध्ययन र यसका दैनिक गतिविधिको अध्ययन गर्दा यसले बढीभन्दा बढी यसले सडक सङ्घर्षलाई जोड दिएको देखिन्छ । ‘पेरिस कम्युन’ देखि यताको कम्युनिस्ट आन्दोलनको इतिहास खारेज गरेर एकातिर यसले उत्तर–मालेमाको बाटो समातेको छ भने उत्तरसाम्राज्यवादको वकालत गरेर साम्राज्यवादको अन्त्यको पनि घोषणा गरेको छ । यस किसिमको चिन्तनपद्धतिले घरेलु प्रतिक्रियावाद तथा साम्राज्यवादका विरुद्ध लडिरहेका विश्वका जनताको आन्दोलनप्रति चासो राख्ने र चिन्ता गर्ने कुरा आउँदैन । यस अर्थमा विप्लव समूहका लागि अन्तर्राष्ट्रिय सर्वहारावादी भाइचारा सम्बन्धप्रति सरोकार नहुनु स्वाभाविक छ । यो समूह सडकदेखि सडकसम्म रमाउनमा नै गर्व गर्छ l 'एकीकृत क्रान्ति' को कार्यदिशालाई यसले राम्रोसित पुष्टि गरेको छ l
कमरेड किरणको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले अघि सारेको माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियार तथा नेपाली समाजको विश्लेषणका सम्बन्धमा व्यक्त विचार आधारभूत रूपमा सही छ । परन्तु यसको समस्या भनेको कार्यदिशाकै समस्या हो । यसका सन्दर्भमा यो सातौँ महाधिवेशनकै सेरोफेरोमै फन्का मारिरहेको छ । सिद्धान्तलाई व्यवहारमा उतार्नु नसक्नु यसको समस्या हो । नीतिनिर्माण गर्ने, तर व्यवहारमा नजाने समस्याले गर्दा यो समूह अकर्मण्यतामा फसेको देखिन्छ । ५ दशकभन्दा लामो अनुभव भएका नेताहरू यो पार्टीमा भए पनि व्यवहारमा गति देखिदैन र सबै नेताहरू थाकेर चौतारीमा थकाइ मार्न बसेका बटुवा जस्ता लाग्छन् । । पछिल्ला दिनमा खासगरेर परि थापाको नेतृत्वमा रहेको पार्टीसित एकता गरेपछि यो समूहमा अझ बढी जटिलता थपिएको देखिन्छ । वर्गीय प्रश्नभन्दा पहिचानको राजनीतिमा जोड दिनु, कतिपय नेताहरू आइएनजिओसित गाँसिनु, विगतमा जनयुद्धको विरोध गरेका कारण आमकायकर्तामा सकारात्मक भाव उत्पन्न हुन नसक्नुजस्ता सन्दर्भहरू एकातिर छन् भने, अर्कातिर वैधानिक मोर्चाका नाममा गठन भएको चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ लाई लिएर कार्यकर्ताबीचमा प्रश्न र आशंकाहरू उब्जेका छन् । मोर्चा गठनले पार्टीको क्रान्तिकारी धारलाई कमजोर बनाउने, पार्टीलाई चुनावमुखी बनाउने र अन्ततः प्रचण्डकै बाटोमा गएर विसर्जित हुने सम्भावना छ ।
माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्धताको कुरा गर्ने यस पार्टीले पनि विश्वमा चलिरहेका क्रान्तिकारी आन्दोलन खासगरेर भारत, टर्की र फिलिपिन्समा चलिरहेको जनयु्द्धको समर्थन गर्ने कुरा त परै जाओस्, चासो पनि राखेको पाइँदैन । पार्टीको केन्द्रीय समितिको पोखरा बैठकमा निकै ठूलो दबाबपछि भारतीय जनतामाथि त्यहाँको फासिवादी सत्ताले चलाएको हत्या अभियान ‘अपरेसन ग्रिनहन्ट’ को विरोधमा प्रस्ताव पास गरे पनि व्यवहारमा यसलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिइएन । यो पार्टी पनि जनयुद्ध लडिरहेका भाइचारा पार्टीहरूहरूसित सम्बन्ध विस्तार गर्न तथा उनीहरूको सुखदुखमा सहभागी हुन चाँहदैन भन्ने कुरा यसको विचार र व्यवहारले पुष्टि गरेको सत्यतथ्य हो ।
विप्लव समूहबाट यस कार्यमा आशा गर्ने ठाउँ छैन र उनीहरूलाई विश्वका भाइचारा पार्टीहरूले त्यति महत्त्व पनि दिएका छैनन् । आशा गर्ने ठाउँ बैद्य समूहमा भए पनि भाइचारा सम्बन्ध बनाउन तथा प्रतिक्रियावादी सत्ताआतङ्कको विरोध गर्न यस समूहमा देखिएको निस्पृहताले प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ । भर्खरै भारतको आन्ध्र–ओडिसा सीमामा पर्ने मलकानगिरि जिल्लामा भारतीय फासिवादद्वारा भएको नरसंहारका विरुद्ध विश्व बोल्यो, सडकमा नाराजुलुस र विरोध सभाहरू भए । भारतमा आमजनता सडकमा निस्किए । जर्मनी, इटाली, फिलिपिन्समा विरोध कार्यक्रमहरू भए । मानवअधिकारवादीहरू सडकमा निस्किए । तर नेपालका क्रान्तिकारी भन्नेहरू आफूले दसबर्से जनयुद्धको विराशतलाई निरन्तरता दिएको दाबी गर्नेहरूले कार्यक्रम त के एक शब्द पनि बोलेनन्/बोल्नु आवश्यक ठानेनन् । कम्तीमा पनि बैद्य समूहबाट आशा गर्नु स्वाभाविक थियो । तर सो घटनाबारे केही थाहा छैनझैँ गरी सो समूहले पनि बडो निस्पृहता देखायो । 'रिम' तथा कम्पोसासित सम्बद्ध कामरेडहरू, भारतका मानवाधिकारवादी संस्थाहरूले आफूहरूका लडेको लडाइँलाई कमरेड किरण र गौरवले समेत बिर्सिए l यस्तो लाग्छ कमरेडहरू इतिहास ओढेर मस्त निदाउनु भएको छ ।
यसले नेपालका माओवादी आन्दोलन कुन दिशातिर जाँदैछ भन्ने कुराको द्योतन गर्छ । नेपालमा माओवादीहरू छन् र ? भनेर कसैले प्रश्न गर्यो भने आश्चर्य मान्नुपर्ने स्थिति छैन । माओवादीहरू होर्डिंगबोर्डमा सीमित भएका छन् । सत्य के हो भने नेपालमा माओवादीहरू छन्, तर माओवादी पार्टीहरू छैनन् । भारतीय जनतामाथि भएको दमन हामीमाथि पनि हो । त्यहाँ चलेको जनयुद्धको सम्बन्ध विश्वसर्वहारा आन्दोलनसित छ । केही नबोल्ने हो भने प्रचण्डभन्दा फरक हौं भन्नुको अर्थ छैन । सर्वहारावादी अन्तर्राष्ट्रियताका क्षेत्रमा किरण समूहको व्यवहारले क्रान्तिकारीहरूको नजिक होइन, प्रचण्डको नजिक पुर्याएको यथार्थलाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ l यस अर्थमा ''मोहन बैद्य 'किरण' ले नेतृत्त्व गरेको पार्टी पनि प्रचण्डको प्रभावबाट मुक्त हुनसकेको छैन" भनेर किरण समूहका सन्दर्भमा नयाँ रिम निर्माणमा लागेका अन्तर्राष्ट्रिय क्षेत्रका कमरेडहरूले निकालेको निष्कर्ष सही छ भन्नुको विकल्प छैन l
भिडियो फिचरview all