
राजकुमार कुँवरसहित १० जनाले नेकपा (क्रान्तिकारी माओवादी) केसको जिम्मेवारी त्यागे

सम्मेलन शत्रमा कतिपयले कार्यदिशामा चित्त नबुझेर र कतिपयले चुनावमा भाग लिने नीतिप्रति असमति जाहेर गरेर र कतिपय पूर्णकालीन हुन नसक्ने भनेर ४५ जनाले हात उठाए पनि पार्टी नै रित्तिने स्थिति हुने देखेर ६ महिनाभित्र यो निर्णयलाई व्यवस्थापन गर्ने नीति अघि सारिएको थियो । तर श्रीमान-श्रीमती दुवै पूर्णकालीन हुन नसक्ने, जागिर छोड्न नसक्ने, काठमाडौँ छाडेर अन्यत्र जान नसक्नेहरू तथा एनजिओ-आइएनजिओमा काम गर्नेहरू र अध्ययनचिन्तनमा लाग्ने भनेर प्रस्ताव राख्ने १० जनाले भने केन्द्रीय समितिबाट पोखरा बैठकबाट बिदा पाएका थिए ।
एनजिओ-आइएनजिओको कुरा गर्दा इच्छुक प्रतिष्ठान र भक्तबहादुर प्रतिष्ठानको कुरा उठे पनि ती पार्टीसम्बद्ध संस्था भएकाले तिनमा सो नियम लागु नगरिएको भनिएको थियो । परि थापा समूहबाट आएका एकजना एनजिओकर्मीका साथै बुद्धिजीवी मञ्चका अध्यक्षको आइएनजिओ संलग्नता र त्रिविका एक जना प्राध्यापकको पेसा र पूर्णकालीनताका बारेमा पनि प्रश्न उठेको थियो । उमेर र बिरामीका कारण पार्टी काममा समय दिन नसक्ने, सक्रिय हुन नसक्ने र दिनभरि फेसबुकमा रमाउनेहरूका बारेमा पनि सम्मेलनमा सहभागीहरूले प्रश्न उठाएको र होल टाइमरको परिभाषा प्रस्ट हुनुपर्ने कुरामा पनि सम्मेलनमा कुरा उठेको कुरा सहभागी एक जना प्रतिनिधिले बताएका छन् ।
यसैबीच पोलिट ब्युरो सदस्य हर्कबहादुर शाहीले पनि उमेर र बिरामीका कारण पार्टीको जिम्मेवारीबाट बिदा मागेको कुरा थाहा हुनआएको छ ।
पोखराबाट बिदा पाउने केसहरूमा बद्री बजगाईँ, राजकुमार कुवँर, अम्बिका रेग्मी, जयन्ती लुइँटेल, बृन्दा मगर, शिवराम यादब, दीपक शाहीलगायतका रहेका छन् । केसबाट बिदा लिए पनि अन्य जिम्मेवारी यथावत रहने छ । पोखरामा केसबाट मात्रै बिदा लिने र अन्य जिम्मेवारी यथावत राख्ने भने पनि शिवराम यादवले भने आफू नेकपा (क्रान्तिकारी माओवादी) को कुनै पनि पदमा नरहेको र पार्टी परित्याग गरेको कुरा फेसबुकमार्फत सार्वजनिक गरेका छन् । वास्तवमा क्रान्तिकारी स्पिरिट भनेको तल झर्ने होइन, समस्या हल गर्दै पूर्ण सक्रियताका साथ काममा लाग्छु भन्ने हो र पार्टीले पनि काममा लाग्ने/लगाउने वातावरण बनाउनु हो । यो आन्दोलनका लागि शुभसंकेत होइन । यो पछाडि फर्काइ हो ।
राजकुमा कुँवरले चाहिँ विभिन्न कारणबस २/४ महिना आफू भौतिक रूपमा सक्रिय हुने स्थिति नरहेकाले केसको जिम्मेवारीबाट हटेर जनयुद्धको इतिहास, जनयुद्धका सहिदको इतिहास लेख्ने भनेर बिदा लिएको कुरा थाहा हुनआएको छ ।
चुनावमा सहभागी हुने निर्णयप्रति फरक मत दर्ता गर्ने प्रदेश नं १, ५ र ७ का १० ओटा जिल्लाका सेक्रेटरी तथा कतिपय जिल्लाका सदस्यहरूले चुनावभरि निस्क्रिय रहने र त्यसपछि कार्यदिशाका सन्दर्भमा वैचारिक सङ्घर्ष चलाउने भनेको कुरा कुरा पनि थाहा हुनआएको छ । यो पक्षले सम्मेलनमा आफूहरूले चुनावको विषयलाई लिएर मात्रै फरक मत दर्ता गराए पनि मूल समस्या कार्यदिशाकै हो र अबको वैचारिक सङ्घर्ष यसैमा केन्द्रित हुने कुरा बताएको छ ।
उमेर र अन्य कारणले पार्टीका लागि समय र श्रम दिन नसक्नेहरूलाई बिदा दिने र अन्य जिम्मेवारी दिने, युवाहरू तथा इमानदारीपूर्वक पार्टी काममा लागेका तलका नेता तथा कार्यकर्ताहरूलाई अवसर दिने कुरा सही हो । पोखरा सम्मेलनको यो स्पिरिट स्वागतयोग्य छ । कतिपय कार्यकर्ताका भनाइमा ''दस्ताबेजको स्पिरिट राम्रो भए पनि समस्या माथि नै छ र शुद्धीकरण माथिबाटै हुनपर्छ , नेतृत्त्व-टिममा रहेका चुनाववादी- मिलेरावादीहरूबाटै शुद्धीकरण नगर्ने हो भने दुईचार केस हटेर केही हुनेवाला छैन ।"
त्यस्तै अर्थ न बर्थका सल्लाहकारको जमात सङ्गठन लागि बोझ भएको र सम्मेलनले यसलाई हटाउने निर्णय गरेकोले यसलाई कडाइका साथ लागु गर्नुपर्ने कुरा पनि के.स.को जिम्मेवारीबाट हटेका एक जनाले बताएका छन् ।
शुद्धीकरण अभियान राम्रो भए पनि यसले कतिपय सन्दर्भमा व्यावहारिक जटिलता पनि ल्याउन सक्छ । पछिल्लो पुस्तामा देखिएको दार्शनिक, सैद्धान्तिक, वैचारिक ज्ञानको अभाव, अध्ययन-चिन्तनप्रति अरूचि, फेसबुके प्रवृत्ति र आन्दोलनलाई व्यक्तिगत चाहना र कामना पूरा गर्ने माध्यम र संगठनलाई आर्थिक उत्प्रेरणाको माध्यम ठान्ने प्रवृत्तिलाई प्रशिक्षण र सही स्कुलिङद्वारा निर्देशित र नियन्त्रित गर्न सकिएन भने पछिका दिनमा विचार र नेतृत्वको प्रश्न झन् जटिल बन्ने पनि हुनसक्छ । यो कुरा विप्लव समूहमा देखिएको वर्तमान स्थितिबाट पनि बोध गर्न सकिन्छ ।
शुद्धीकरण आभियान राम्रो र आवश्यक भए पनि आवश्यकता र स्वतन्त्रताको द्वन्द्वात्मकता अनुसार भएन भने यसको कुनै अर्थ नरहने कुरा पनि प्रस्ट छ । कार्यदिशाको प्रश्न त छँदैछ, सङ्गठनात्मक समस्या झन् जटिल छ । माथि नै प्रतिक्रियावादी चुनाव भनेपछि हुरुक्क हुनेहरूको जमघट भएको नेकपा (क्रान्तिकारी माओवादी) ले अघिसारेको ५ ओटा बुँदाको स्वागत गर्न सकिए पनि माथिकै समस्या हल नगरी तल मात्र चलाइएका शुद्धीकरण अभियानले गुणात्मक फल दिने आशा भने कमै गर्न सकिन्छ ।
०००
भिडियो फिचरview all