menu

ताजा समाचार

एकताको चर्चासँगै बैद्य समूहमा आन्तरिक किचलो

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ का एकतासम्बन्धी पछिल्ला भनाइहरू चर्चाको विषय बनिरहेको अवस्थामा उनको पार्टीभित्र भने अल्पमत र बहुमतको द्वन्द्व तीव्र हुन थालेको कुरा सो पार्टीको काठमाडौँ जिल्लासित सम्बद्ध घटनाक्रमले प्रस्ट पारेको छ । सो पार्टीको आगामी असोज २१ देखि २५सम्म पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि छनौटको विषयलाई लिएर आन्तरिक निर्वाचनको स्थिति नै आएपछि सो समूहभित्र केन्द्रमा चलेको अल्पमत र बहुमतको रडाको जिल्लाजिल्लामा पुगेको आकलन गर्न सकिन्छ ।

आगामी सम्मेलनका लागि तयार पारिएको दस्तोबेजमै दसबर्से जनयुद्ध बेठीक थियो र जनताले चलाएको जनयुद्ध थिएन भन्दै “सशस्त्र सङघर्षसम्बन्धी मालेमावादी दृष्टिकोणबाट भन्दा पनि बढी ब्लाङ्की च्वेग्वेभराको दष्टिकोणबाट भयो” भनेर सो पार्टीका ५ जना कार्यालय सदस्यमध्ये एक जना  रामसिंह श्रीसले फरक मत राख्नु र पोलिट ब्युरो सदस्य सिताराम तामाङले माओवाद होइन, माओ विचारधारा ठीक भन्दै “क.माओका योगदानहरू सार्वभौम हुँदैमा वाद भन्न पर्दछ भन्ने केही छैन” भनेर  फरक मत तलसम्म लाने गरी दस्ताबेजीकरण भएपछि माओवादको आलोकमा महान् जनयुद्धको बलिदानपूर्ण इतिहासको विरासत बोकेर बाँकी कार्यभार पूरा गर्न अझै बलिदानको बाटो रोज्न तयार कार्यकर्ताहरू असन्तुष्ट बनेको र यसले सो पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किन थालेको कुरा नाम बताउन नचाहने एक जना केन्द्रीय सदस्यले बताएका छन् ।
 
प्रचण्डहरूसित एकता गर्ने सन्दर्भलाई लिएर बादलहरूसित पार्टीमा अन्तर्द्वन्द्व चर्किरहेको विशिष्ट अवस्थामा एकता प्रक्रियामा आएको विगतमा संसदीय चुनावमार्फत प्रतिक्रियावादी सत्ताको स्वाद लिइसकेको  ‘परि थापा समूह’ ले परिचित समूहका सदस्यले पार्टीमा फरक मत राख्नुको कारण पार्टीमा स्थायी गुटको अस्तित्व राखिराख्ने प्रयास र पार्टीलाई चुनाववादी पार्टीमा रूपान्तरण गर्ने  योजनाबद्धता हो भनेर पनि बैद्य समूहका कार्यकर्ताले भन्ने गरेका छन् । रामसिंह श्रीसहरू माओवाद होइन, विचारधारा ठीक र विगतको जनयुद्ध बेठीकको धारणासहित चुनावमा भाग लिने लाइनलाई पार्टीमा लागु गराएर मोहन विक्रमसिंहसित पार्टी एकता गर्ने/गराउने पक्षमा रहेका छन् भन्ने भनाइ पनि सो पार्टीका एक जना केन्द्रीय सदस्यको रहेको छ ।  रामसिंह श्रीस र सिताराम तामाङले अगाडि सारेका कुराहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले माओवाद अँगालेर जनयुद्धको थालनी गरेदेखि नै मोहनविक्रम सिंहले भन्दैआएका कुरा हुन् । क्रान्तिकारी विचार राख्ने बैद्य समूहका इमानदार तथा क्रान्तिकारी कार्यकर्ता तथा नेताहरू विप्लव समूहसित एकताका लागि आधार र प्रयास तयार पार्नुपर्ने  कुरामा जोड दिन्छन् भने रामसिंह, परिथापा र सिताराम तामाङहरूको प्रयास मोहनविक्रम सिंहसितको एकतालाई प्राथमिता दिनुपर्ने रहेको छ  भन्ने भनाइ पनि ती केन्द्रीय सदस्यको रहेको छ । ती सदस्यको भनाइअनुसार नेकपा (क्रान्तिकारी माओवादी) का इमानदार र क्रान्तिकारी कार्यकर्ताहरू माओवाद र दसबर्से जनयुद्धलाई कान्तिका लागि ऊर्जा र सम्पति ठान्दछन् र माओवाद र जनयुद्ध विरोधीलाई नेता मान्न तयार छैनन् ।

यसैबीच मोहन बैद्यले आगामी राष्ट्रिय सम्मेलनका लागि तयार पारेको  दस्ताबेज पत्रकारहरूमाझ पुगिसकेको छ र त्यसलाई लिएर  समाचार पनि प्रकाशमा आइसकेका छन् । सो दस्ताबेजमा नेपालका विभिन्न पार्टीसम्बन्धी धारणा व्यक्त गरेको पाइन्छ । ‘राजनीतिक शक्तिहरूको विश्लेषण’ दिइएको शीर्षकमा बैद्य समूहले सर्वहारा वर्गको  प्रतिनिधित्व गर्ने पार्टीका रूपमा आफ्नो पार्टीलाई राखेको छ र ‘विभिन्न वाम राजनीतिक समूह’ का रूपमा “नेकपा विप्लप समूह, नेकपा कट्टेल समूह र नेमकिपा हुन् ” भनेर किटान गरेको छ ।  सो दस्ताबेजमा विप्लव समूहका बारेमा यस किसिमको धारणा राखिएको छ :

 “विप्लव समूहले मार्क्सवाद-लेनिनवाद-माओवाद  र राजनीतिक कार्यक्रमका रूपमा नयाँ जनवाद-समाजवादलाई मानेको कुरा बताउँछ  । यो समूह  नयाँ जनवादी तथा समाजवादी क्रान्तिका बेग्लाबेग्लै चरणबारे अस्पष्ट तथा सारसङ्ग्रहवादी रहेको देखिन्छ । एकीकृत जनक्रान्ति भनेको के हो, त्यो पनि शब्दाडम्बरयुक्त, अस्पष्ट र भ्रामक रहेको छ । यसले साम्राज्यवादलाई  उत्तर साम्राज्यवाद बताएर साम्राज्यवाद समाप्त भएको टुङ्गोमा पुगेको छ र यस प्रश्नमा उत्तर–मार्क्सवादसित साइनो जोडेको छ । यसले सत्ता साझेदारीको सिद्धान्त स्वीकार गर्दैआएको छ । यो समूह रूपमा वाम देखिए पनि सारमा दक्षिणपन्थी विचलनमा फँस्न पुगेको छ ।”

दस्ताबेजमा तिनै समूहसित क्रान्तिको पक्षमा आवश्यक वार्ता तथा संवाद चलाउँदै जानुपर्दछ भनेर पनि उल्लेख गरिएको  छ ।

बैद्य समूहले  मोहनविक्रम र सिपी मैनालीको पार्टीलाई ‘दक्षिणपन्थी संशोधनवादी समूह’ का रूपमा लिएको छ र “यी समूहलाई आन्दोलनको पक्षमा ल्याउन वार्तासंवाद पनि गर्दै जानुपर्दछ” भनिएको छ ।

त्यसैगरी “प्रतिध्रुवीय समूह” अन्तर्गत “पहिले लामो समयदेखि राजनीतिक रूपमा सङ्घर्ष गर्दै आए पनि वर्गीयरूपमा केही हदसम्म पृथक रहेका कतिपय पार्टीहरू यतिबेला वर्गीय तथा राजनीतिक रूपमा एउटै ठाउँमा खडा भएका छन् । नेपालमा तिनलाई पुनरुत्थानवादी, प्रतिक्रियावादी शक्तिहरूका रूपमा बुझ्नुपर्दछ । त्यस प्रकारका शक्तिअन्तर्गत मुख्यतः राप्रपा, नेका, एमाले, नयाँशक्ति माके पर्दछन् ” भनिएको छ ।  दस्ताबेजमा माकेले  “ साम्राज्यवाद र विस्तारवादसित आत्मसमर्पण गर्दै तथा भूमण्लीकृत साम्राज्यवादद्वारा अगाडि ल्याइएको उदारीकरण तथा खुला बजार अर्थतन्त्रको मान्यतालाई स्वीकार्दै आएको छ । यसको पनि प्रतिक्रियावादीकरण भएको छ”  भनेर  निष्कर्ष निकालिएको छ ।
 
माथि नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई समाजवादी कार्यक्रमलाई न्यूनतम कार्यक्रम मान्ने र संसदीय राजनीतिको हिस्सा बन्ने गरेको नारायणमान बिजुक्छे ‘रोहित’ को नेतृत्वमा रहेको ‘नेपाल मजदुर–किसान पार्टी’ सित जोडने कार्य टिप्पणीको विषय  हुन सक्छ , तर माकेलाई प्रतिध्रुवीय कित्तामा  राखेर प्रतिक्रियावादीकरण भएको भनेर गरिएको किटानलाई भने सही विश्लेषण भन्न सकिन्छ । जहाँसम्म कट्टेलको पार्टीको कुरा छ, यो वैचारिक रूपमा प्रस्ट नभएको र कुनै पनि किसिमको साङ्गठनिक आधार नभएको पार्टी हो र यसलाई महत्च दिएर एकता तथा सहकार्यका सम्बन्धमा जोड दिनुको कुनै तुक देखिँदैन ।

मोहन बैद्यको नेतृत्व तहमा रहेका कतिपय नेताहरू तथा विप्लवलगायत  सो समूहका कतिपय केन्द्रीय सदस्यहरूले एकतामा भन्दा आफ्नो समूहको नीति र योजनामा अरूहरू धु्रवीकरण हुनुपर्ने  भनेर जोड दिने गरेका छन् तापनि  दुवै पार्टीका इमानदार र क्रान्तिकारी खास गरेर मझौला र  तल्लो तहका बढीभन्दा बढी कार्यकर्ताहरू छिटोभन्दा छिटो एकताको पक्षमा रहेको  र एकताका लागि दुवै समूहका कार्यकर्ताले नेतृत्वलाई दबाब दिएको कुरा पनि चर्चाको विषय बनेको छ ।

 यथार्थ के हो भने  विप्लव समूहबाट माकेमा बढ्दो पलायन र रामसिंह श्रीस र परि थापाहरूको अनावश्यक कचकच, काम फिट्टी केहि नगर्ने  र अवसरवादी चिन्तन ( बैद्य समूहका एक जना नेताका अनुसार) का  कारण बैद्य तथा विप्लव दुवै समूहका सामु बढीभन्दा बढी एकताका साझा आधारहरू खोजेर एकताको प्रक्रियामा जानुपर्ने वाध्यात्मक साथै  आवश्यक अवस्था आइपरेको देखिन्छ  । साँच्चै मुलुकको हितप्रति चिन्ता छ भने,  राष्ट्रिय स्वाधीनता र जनतन्त्र प्राप्तिप्रति  गम्भीरता छ भने एकताका आाधारहरू तयार पार्न ढिलो गर्नु हुन्न । यसका लागि मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, बलपूर्वक भनौँ सशस्त्र सङ्घर्षद्वारा सत्ता कब्जा, संसदीय व्यवस्था नमान्ने तथा सो अन्तर्गतका कुनै पनि चुनावमा भाग नलिनेजस्ता कुरालाई आधार बनाएर पहिले दुई समूहबीच समझदारी गर्ने र त्यसैका आधारमा  छरिएर रहेका अन्य साना समूहहरू तथा  व्यक्तिहरूलाई समेट्न बहस-छलफल चलाउनु ऊपयुक्त हुन्छ । यसरी मात्र  नयाँ ध्रुविकरणको प्रक्रियाको थालनी हुन्छ । अन्यथा गोलचक्कर र विसर्जनबाहेक अरू केही हात लाग्ने स्थिति छैन
०००
 

भिडियो फिचरview all