menu

ताजा समाचार

'समकालीन साहित्य र संस्कृति’: हाम्रो समयको सिंहावलोकन

साहित्यिक क्षेत्रमा मूलतः कवि तथा निबन्धकारका रूपमा स्थापित र राजनीतिक क्षेत्रमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा परिचित अनिल शर्माको पछिल्लो कृति समकालीन साहित्य र संस्कृति पाठकसमक्ष आइपुगेको छ । यसको शीर्षकले नै यसभित्र केकस्ता रचनाहरू समाविष्ट छन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध सांस्कृतिक मोर्चाद्वारा प्रकाशित प्रस्तुत पुस्तक ‘सिर्जना’ र ‘समालोचना’ गरेर दुई खण्डमा विभाजित छ र यसै सङ्ग्रहमा समाविष्ट एउटा रचनालाई लिएर यस पुस्तकको नामाङ्कन गरिएको छ ।

‘सिर्जना’ खण्डअन्तर्गत ‘संस्कृति र संस्कार’, ‘सिर्जना र अन्तर्वस्तु’, ‘धर्म र कम्युनिस्ट’, ‘प्रगतिवाद र रचनाधर्मिता’, ‘कला, ‘साहित्य र संवेदना’, ‘प्रगतिवादी साहित्य : लोकप्रियकरणको प्रश्न’,‘इतिहासलेखनको नयाँ प्रयोग र जनपक्षधरता’,‘जनयुद्धपक्षधर साहित्य र विद्रुपीकरणको प्रश्न’ शीर्षकका रचनाहरू समाविष्ट छन् ।
 
त्यसैगरी ‘समालोचना’ खण्डअन्तर्गत ‘समकालीन साहित्य र संस्कृति’, “‘बेलाइती दैनिकी’ मा हरिहर खनाललाई नियाल्दा’, ‘खुलापत्र : अर्को महान् बहस र नेपाली क्रान्तिका समस्या’, सार्थक हस्तक्षेप :  वर्गसङ्घर्ष, बलिदान र दलित’, ‘ढकालका कवितामा बयल खेल्दा’, ‘गद्य विधामा इच्छुकलाई नियाल्दा’, जनयुद्धका अनुभूतिमा गङ्गा श्रेष्ठ’, ‘जनयुद्धीय आदर्श र शारदा स्मृति पुरस्कार’, ‘प्रगतिवादी साहित्यमा क्यान्टोन्मेन्ट र अरू कविताहरू’, ‘सिर्जनामा राष्ट्रियता र गणतन्त्रको अभिव्यक्ति’,‘शक्ति लम्सालको समालोचकीय व्यक्तित्व’, ‘सिर्जनात्मक पाटोमा सहिद रितबहादुर खड्का’, ‘उषाजी, शब्दचित्र लेखिरहनुस् है’, ‘जनयुद्धको आँखीझ्याल : उथलपुथलका दश वर्ष’, युद्धका प्रतिबिम्बहरूभित्र विद्रोहको स्वर’, ‘युद्ध साहित्य र कविता’, ‘उत्खनन : पुरातन विरुद्धको स्वर’, ‘संस्कृतिको सेरोफेरोमा पोखरेल’, ‘मदनमोहन जोशी :  व्यक्तित्व र कृतित्व’, ‘देवकोटा, झिल्टुङ र कुन्जिनी’, ‘आख्यानक्षेत्रमा बर्की नम्बर १३९९९’, ‘रसुवा र नुवाकोटमा सामना’, “कवितासागरमा ‘इतिहास र लाल झा’”, राणशासन मकै पर्व र प्रगतिवाद’, ‘जगत बा: देशभक्तिका सतिसाल’, ‘वीरता र सौन्दर्यको पुञ्ज’, “‘१०८४ की आमा’ मा जनयुद्धको खोजी’”, “भावना र विचारको सुन्दर प्रस्तुति ‘प्रियजनहरूको सम्झनामा’”,“‘समरका स्मृतिहरू’मा जनयुद्धको जीवन्त गीत” ‘चितवनका छन्द कवि चेतकान्त :  एक दृष्टि’, ‘जनमनका कवि केवलपुरे किसान’ शीर्षकका रचनाहरू रहेका छन् ।

रचनाहरूको शीर्षक तथा तिनमा निहित विषय र विचार अध्ययन गर्दा के-कति कारणले रचनालाई ‘सिर्जना’ र ‘समालोचना’ खण्ड भनेर छुट्याइएको हो, त्यसको आधार प्रस्ट हुँदैन, समान प्रवृत्ति र प्रकृतिका रचना दुवै खण्डअन्तर्गत समाविष्ट गरिएका छन् । सामान्यतः कथा, कविता, उपन्यास, निबन्ध, नाटक, संस्मरण, शब्दचित्र लगायतका रचनालाई सिर्जना र गद्यमा लेखिएका अन्य रचनालाई लेख, समीक्षा, समालोचना, आदिमा राख्ने गरिएको  छ । ‘समालोचना’ अन्तर्गत राखिएका रचनाहरू अधिकांश पुस्तक परिचयमा आधारित छन्, तिनलाई समालोचनाभन्दा समीक्षा भन्नु राम्रो हुन्छ । ‘संस्कृति र संस्कार’,  ‘सिर्जना र अन्तर्वस्तु’ लाई ‘सिर्जना’ अन्तर्गत राखिएको छ भने उस्तै खाले रचना ‘समकालीन साहित्य र संस्कृति’ लाई ‘समालोचना’ खण्डअन्तर्गत राखिएको छ । यस्ता थुप्रै मेल नखाने किसिमका सन्दर्भहरू छन् । यसो हुनुमा सम्पादन पक्षमा ध्यान नपुगेको भन्न सकिन्छ ।

त्यसैगरी विशिष्ट कालखण्डमा,  खासगरेर भारतीय साहित्यको प्रभाव र पञ्चायती सत्ताले मार्क्सवाद पदावली पचाउन नसकेका कारण हामीले हिजोका दिनदेखि नै ‘प्रगतिवाद’ पदावली प्रयोग गर्ने गरेका थियौँ र प्रगतिवादको व्याख्या मार्क्सवादी कोणबाट गर्ने गरेका थियौँ ।
 
मार्क्सवादलाई अगाडि राखेर ‘प्रगतिशील’ र ‘प्रगतिवाद’ बीच भिन्नता देखाउने र दर्शाउने गरका थियौँ । ‘प्रगतिवाद’ पदावली विरोधाभासपूर्ण छ । हामी मार्क्सवादी (मार्क्ससिस्ट) हौँ  ‘प्रोग्रेसिस्ट’ होइनौँ । ‘प्रोग्रेसिज्म’ ले ‘मार्क्सिज्म’को अर्थ र वजनलाई बहन गर्दैन । यस अर्थमा अबका दिनमा प्रगतिवाद,  प्रगतिवादी पदावली होइन, साहित्यका सन्दर्भमा पनि मार्क्सवाद र मार्क्सवादी  पदावली प्रयोग गर्नु उचित हुन्छ ।

 रचनाहरूको संयोजन गर्दा शीर्षक ज-जे र जताजता परे पनि विचारको केन्द्रीयतामा रचनाको सर्वेक्षण र सिर्जना गर्नु अनिल शर्माको वैशिष्ट्य हो । कतिपय रचनाको वैचारिक  चिरफार आवश्यक छ तापनि उनले जेजस्ता प्रश्न उठाएका छन् र जेजस्ता उत्तर दिएका छन्, यसले दूरगामी महत्व राख्दछ । अरूले कम महत्व दिएका विषयवस्तु र ओझेलमा परेका स्रष्टाहरूलाई उनले अगाडि ल्याएका छन् । उदाहरण्का रूपमा चेतकान्त र जगत बाको सन्दर्भलाई लिन सकिन्छ ।
 
त्यसैगरी जनयुद्ध र साहित्यिक लेखनका हस्ती ऋषिराज बराल र ‘जिउँदो सहिद’ नामले परिचित गङ्गा लामालाई “जनयुद्ध विरोधी लेखक, “जनयुद्धको विदु्रपीकरण गरेको” भनेर साहित्य कला र सौन्दर्यशास्त्रसम्बन्धी रत्तिभर ज्ञान नभएका तर, आफूमा विश्वका सबै विषयमा ज्ञान छ झैँ गरी कलम चलाउने अमुक व्यक्तिद्वारा व्यक्त वैचारिक दरिद्रता र पाखण्डपनप्रति पनि अनिल शर्माले सम्यक टिप्पणी गरेका छन् । उनले प्रस्टताका साथ ऋषिराज बराल र गङ्गा लामा जनयुद्ध विरोधी लेखक, जनयुद्धको विद्रुपीकरण गर्ने लेखक भनेर किटान गर्न सकिँदैन र यसो गर्नु उल्टै विद्रूपतामा फस्नु हो भनेका छन् । ‘जनयुद्धपक्षधर साहित्य र विद्रुपीकरणको प्रश्न’ शीर्षकमा उनी लेख्छन् :

“... हाम्रो समालोचनाका निश्चित मूल्य, धारा र परम्परा छन् । प्रकाशित कृति र कृतिकारको समालोचना गर्दा त्यसको पनि ख्याल राख्नुपर्छ, अन्यथा व्यक्तिवाद र अराजकतावादको विरोध गर्दै त्यही पथका यात्री भइरहने रोग लाग्नसक्छ । आफू रहेको पार्टीको भातृसङ्गठनको औपचारिक धारणा र नेताहरूको धारणामा अन्तर्विरोध हुनु हुँदैन । त्यसप्रकारका धारणामा संस्थागत छलफल हुनुपर्छ । अझ सम्बन्धित विषयका विज्ञ अथवा सङ्गठनकै नेतृत्वबाट धारणा आउनु उचित हुन्छ । त्यसैले विद्रुपीकरणको विरोधमा अर्को विदु्रपीकरण हुन जाने समस्याबाट बच्नुपर्छ र विषयको समग्र ज्ञान राख्नुपर्ने हुन्छ ।...सौन्दर्य चिन्तन र लेखनको क्षेत्रबाट जनयुद्धको सौन्दर्यकरण गर्नमा चैतन्यपछि बराल नै उभिएको यथार्थ कसैले लुकाउन सक्तैन । भविष्यमा को कता पुग्ला, त्यसबारे अहिले नै के भन्न सकिन्छ र ! ?”

कोही रिसाउँछ कि भनेर विचारबाट विलुप्त हुने तथा सम्झौतावादमा फसेर सन्ध्या भाषामा आफूलाई लुकाउनुको साटो निर्भय र प्रस्टताका साथ आफूलाई प्रस्तुत गर्नु अनिल शर्माको विशेषता हो र यसभित्रका रचनाहरूले यसै प्रवृत्तिलाई प्रतिबिम्बित गर्छन् ।  यस सङ्कलनको ‘प्राक्कथन’ मा व्यक्त लेखकीयले पनि यसै कुराको द्योतन गर्छ :

“जनयुद्ध र वर्गसङ्घर्षले जन्माएका भोकानाङ्गा र झुपडीका सन्तानको बेवास्ता, विद्रुपीकरण अन्ततः महान् जनयुद्ध र वर्गसङ्घर्षकै विरुद्ध थिए । आज पनि महान् जनयुद्धका विरुद्ध विदु्रपीकरणको प्रक्रिया जारी मात्र छैन, झन् तीव्र भइरहेको छ । त्यसप्रकारको प्रतिध्रुवीय चेतना र व्यवहारविरुद्ध पौँठेजोरी खेल्दैगर्दा प्रस्तुत रचनाहरू तयार भएका हुन् ।

...सत्ताको लोरी गाउन म कम्युनिस्ट पार्टीतिर आकर्षित भएको होइन । त्यसैले मैले भर्यांङको खुट्किलो  गनेर जोडघटाउ गरेर अथवा गर्दनमा झण्डिएको सत्ताको तरवार हेरेर लेखिनँ । जिब्रो चपाएर लेखिने,  सिर्जना गरिने सामग्रीले समयलाई न्याय दिन सक्तैन ।  कसैले भनेको सम्झिन्छु ‘नो रिजर्भेसन इन गुड राइटिङ’, तर त्यसो भनेर खुला र भित्री वस्त्र पनि उतार्नु पक्कै होइन । यसका बीचमा सन्तुलन कायम गर्न कठिन हुँदो रहेछ । हाम्रो समाज, देश र वर्गको पक्षमा रहेका तर, कयौँ प्रश्नमा आफूसँग  प्रश्न र आलोचना हुनासाथ दुस्मनकै कित्तामा धकेल्ने, त्यसरी बुझ्ने प्रवृत्तिका विरुद्ध पनि रचनाहरू लक्षित छन् । प्रतिध्रुवको प्रशंसाले लट्ठिने तर आफ्नो वर्गको प्रश्न र आलोचना पचाउन नसक्ने, तथ्य र तर्कभन्दा गालीमा उत्रने रोगले प्रगतिवादी धारा ग्रसित छ ।”


समग्रमा यो पुस्तक पढेपछि लेखक कतै  कुनै निर्दिष्ट स्थानमा पुग्न जोडले कुदिरहेको बोध हुन्छ भने कतै चोतारीमा बसेर वरिपरिको वातावरणको गहन र सघन  हेराइमा केन्द्रित भएको बोध हुन्छ । कतिपय सन्दर्भमा भावनात्मक पक्षको आधिक्य देखिन्छ तापनि सारमा यस पुस्तकमा अनिल शर्मा जनयुद्ध र साहित्यका साथै सामाजिक तथा राजनीति जीवनसित सम्बद्ध धर्म, रीतिरिवाज,  नैतिकता र मूल्यसित गाँसिएका थुप्रै पक्षको वैचारिक अभिरेखाङ्कनमा उभिएका  छन् ।  लेखकले उठाएका कतिपय  प्रश्न र सन्दर्भहरूले बहसछलफलको माग पनि गर्दछन् ।

सारमा भन्नुपर्दा हाम्रो राजनीतिक तथा सांस्कृतिक जीवन र मूल्यबोधसित सम्बद्ध विगतदेखि वर्तमानसम्मको बुझाइ र हेराइको सिंहावलोकन हो प्रस्तुत कृति समकालीन  साहित्य र संस्कृति
प्रस्तुति : जनमेल डेस्क
०००

भिडियो फिचरview all