menu

ताजा समाचार

माओवाद र जनयुद्ध विरुद्धका निरर्थक बहसहरू

डा. ऋषिराज बराल
कतिपय अनलाइन माध्यमहरूले “माओवाद र जनयुद्धका सन्दर्भमा उठेका विवाद र बहसका कारण अमुक पार्टी फूटको सँघारमा”  जस्ता समाचार र टिप्पणीहरू प्रकाशित गरेका छन् । सम्बद्ध पार्टीले यसका बारेमा केही नबोलेको र आधिकारिक दस्ताबेजहरू सार्वजनिक नभएको स्थितिमा सन्दर्भसहित केही भन्न सक्ने थिति छैन तापनि आमरूपमा यसबारे टिप्पणी गर्नुचाहिँ स्वाभाविक नै हुन्छ ।
 
मार्क्सवाद-लेनिनवाद-माओवाद आजको विश्वको सर्वहारावादी क्रान्तिको सार्वभौम सिद्धान्त हो भनेर विश्वका क्रान्तिकारीहरूले निकालेको निष्कर्ष र त्यसका आधारमा अगाडि बढाइएको व्यावहारिक गतिविधि अहिलेको सत्यतथ्य हो । सबैभन्दा पहिले पेरू कम्युनिस्ट पार्टी (साइनिङ पाथ) ले माओवादको आवश्यकता र औचित्य पुष्टि गर्दै सन् १९८२ मा पार्टीको निर्देशक सिद्धान्तका रूपमा मार्क्सवाद-लेनिनवाद-माओवाद घोषणा गरेको थियो । यसबारेको गोन्जालोको दस्ताबेजलाई अहिले पनि आधारभूत दस्ताबेजका रूपमा लिइन्छ । अब माओवादबारे ठेलीका ठेली रचनाहरू प्रकाशित भएका छन् र अध्ययन गर्न चाहनेहरूका लागि ती सहजै उपलब्ध हुन सक्छन् ।   क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन रिम ले सन् १९९३ मा र कम्पोसा (२००१) को गठनपछि आबद्ध पार्टीहरूले पनि माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अँगालेका छन् । भारतमा चुनावको “क्रान्तिकारी उपयोग गर्ने” विनोद मिश्रलगायतका गुटहरू बाहेक माओका योगदानप्रति प्रतिबद्ध सबैले माओवादलाई अँगालेका छन् ।

नेपालमा सबैभन्दा पहिले माओवादको आवश्यकता र औचित्यप्रति कमरेड किरणको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले जोड दिएको थियो र नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद-लेनिनवाद-माओवादप्रति सैद्धान्तिक तथा व्यावहारिक प्रतिबद्धता जनाएको थियो  । अहिले मालेमाप्रति प्रतिबद्ध विश्वका क्रान्तिकारीहरूले यसलाई सार्वभौम सिद्धान्तका रूपमा अगाडि बढाएका छन् र आआफ्नो देशको विशिष्टतामा क्रान्तिको वैचारिक तथा भौतिक तयारी गरिरहेका छन् । एक हिसाबले यो टुङ्गो लागेर केन्द्रीकृत भइसकेको विषय हो ।
 
पहिले नेकपा(मशाल) र पछि एकताकेन्द्रको निर्माणका समयमा उठेको यो प्रश्नलाई त्यतिबेर सम्मेलनमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण गरेर हल गरिएको थियो । त्यसैको सेरोफेरोमा कमरेड भक्तबहादुरको ‘माओवाद किन’ र कमरेड किरणको ‘माओवाद : एक टिप्पणी’ र ‘माओवादी दर्शन’ नामका महत्वपूर्ण रचनाहरू प्रकाशित भएका थिए । ‘शान्तिप्रक्रिया’ मा आएपछि दक्षिणपन्थीहरूको बहुमत बनाएर पार्टीलाई संशद्वादी चुनावी पार्टीमा परिणत गर्न प्रचण्डले नारायणकाजीलाई भित्र्याउँदा पनि “माओ विचारधारा’ मा बहस गराएर भाँडभेलो गर्न खोजिएको थियो र यसलाई राष्ट्रिय भेलाद्वारा हल गरिएको थियो ।  अहिले आएर आफ्नो पार्टीलाई क्रान्तिकारी पार्टी भन्ने कुनै पनि पार्टीले फेरि “माओ विचारधारा” का लागि ढोका खुला गर्छ भने, त्यहाँ पार्टीको गन्तव्य-दिशाप्रति नै प्रश्न उठाउनुपर्ने स्थिति हुन्छ  । यसलाई इतिहासबाट शिक्षा नलिएको अथवा लिन नचाहेको भन्न सकिन्छ । एकता गरेर ठूलो पार्टी बनाउन र चुनावमा बढी सिट जित्न विगतमा गरिएका अभ्यासलाई हेर्दा माओवादलाई विवाद र बहसको विषय बनाउनुका पछाडि कतै यसै मोहले काम गरेको त छैन भनेर सशङ्कित हुनुपर्ने स्थिति छ ।
 
आफूलाई क्रान्तिकारी, नयाँ जनवादको पक्षधर भन्ने जोकोहीबाट पनि माओवादमाथि प्रश्न उठाएर त्यसको ठाउँमा “माओ विचारधारा” को औचित्य स्थापित गर्ने प्रयास हुन्छ भने उसलाई माओले दार्शनिक, सैद्धान्तिक, वैचारिक तथा व्यावहारिक क्षेत्रमा पुर्याएको योगदानका बारेमा रत्तिभर ज्ञान रहेनछ भन्नु पर्ने हुन्छ । साथै यताको करिब चार दशकको विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका गतिविधिबाट पनि ऊ एकदमै विमुख भएको रहेछ र भर्खरै निद्राबाट ब्युंझेर हुलमुलमा कुनै पार्टीको माथिल्लो तहमा पुग्न सफल भएछ भन्नुपर्ने हुन्छ । त्यति मात्र नभएर त्यस्तालाई नेता बनाउनुपर्ने बाध्यात्मक स्थितिले खास पार्टीको वैचारिक र साङ्गठनिक सङ्कटलाई पनि द्योतन गर्छ । माओवादप्रति नै विमति राख्ने मान्छेले कसरी आजको  माओवादी आन्दोलनको नेतृत्व गर्नसक्ला भनेर प्रश्न उठ्नु स्वाभाविक छ । माओवादको यति लामो यात्रा पार गरेर फेरि “माओ विचारधारा” का लागि ढोका खुला गर्नु भनेको वास्तवमा  पश्चगमनतर्फको पाइला हो ।
 
त्यसैगरी अब आएर कसैले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपाली जनताले चलाएको दस बर्से महान् जनयुद्धलाई “जनताको जनयुद्ध” नै थिएन “ दुईचार जनाले गरेको उग्रवादी क्रियाकलाप थियो”, जनयुद्ध चलाउने बेलै भएको थिएन” भन्छ भने उसलाई माओवादी जनयुद्ध, छापामार सङ्घर्ष र यसको दीर्घकालीन चरित्रबारे केही पनि थाहा रहेनछ भन्नुपर्ने हुन्छ । यो कुरा हिजो अरूले मात्र नभनेर “नयाँ जनवादी क्रान्ति’ र “माओ विचारधारा’ मान्ने नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र मोहनविक्रम-चित्रबहादुरहरूले पनि भन्ने गरेका थिए ।
माओवादीहरूले सल्लाहकार बनाएका कृष्णदासहरू पनि माओवाद र जनयुद्धलाई मान्दैनथे/मान्दैनन् । यसो होइन भने, हिजो जनयुद्धको समयमा जनयुद्ध दबाउन बनेका ‘प्रतिकार समति’ मा बसेर “माओवादीहरूको सिकार खेलेको” घङ्धङीबाट अझै कतिपय ‘कमरेडहरू’ मुक्त हुन सकेका रहेनछन् भनेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । जनयुद्धकालको केन्द्रीय आधारइलाका भूगोल तथा सत्ता ब्युरोसित सम्बद्ध बागलुङ तथा अर्घाखाँचीका कमरेडहरूले भोगेको  पीडाको कथा बाहिर आउन अझै बाँकी नै छ ।
 
यो सत्य हो । नेतृत्वमा रहेका केहीले, मूलतः प्रचण्ड-बाबुरामले गद्दारी गरे ।  तिनले बाह्य प्रतिक्रियावादी शक्तिहरू खासगरेर अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र तिनका नेपाली दलालहरूका सामु आत्मसमर्पण गरे । यो इतिहासबाट शिक्षा लिने कुरा हो । यो  नजिरको रूपमा रहेको विश्वकम्युनिस्ट आन्दोलनसित सम्बद्ध परिघटना हो । “विश्वबाट मार्क्सवादको अन्त्य भयो”, “कम्युनिस्ट आन्दोलन महाख्यानको इतिहास बनेर विगतको विषय बन्यो ।” भनेर विश्व साम्राज्यवाद र तिनका मतियार बौद्धिक जमातले होहल्ला गरिरहेको, शून्यवादी-उत्तरवादी धारणाको पुर्पक्ष गरिरहेको र “अब माओवादी आन्दोलनको औचित्य र आवश्यकता छैन”, “चीनले नै माओलाई गलत साबित गरिसक्यो” भनेर संशोधनवादीहरूले ढोल पिटिरहेको समयमा नेपाली जनताले “माओवादको झण्डामुनि क्रान्ति सम्भव” छ भनेर जसरी बन्दुक उठाए, जसरी आधारइलाकाहरू र जनसत्ताको निर्माण गरे, यो दुईचार जनाको लहडको विषय थिएन ।  रमाइलोको लागि गरिएको युद्ध थिएन । यो त ऐतिहासिक, संज्ञानात्मक र गरिमामय, साथै विश्वलाई चकित पार्ने युद्ध थियो । यसलाई जनयुद्ध होइन भन्नु, थिएन भन्नु, यो जनताले गरेका होइन भन्नु महान् जनयुद्धका सहिद र बगेको रगतको उपेक्षा र अबमूल्यन  हो । केही कमीकमजोरी भए अथवा थिए भन्न सकिएला, तर जनयुद्ध नै होइन र थिएन भन्नु एक हिसाबले बलिदानको इतिहासप्रति अपराध नै  हुन्छ । यो प्रश्न अमुक पार्टी तथा समूहमा उठेको बहसमा मात्र सीमित प्रश्न होइन, यो सिङ्गो जनयुद्ध र त्यसको गरिमामय मूल्यलाई कसरी हेर्ने, बुझ्ने तथा मूल्यबोध गर्ने भन्ने आम प्रश्न हो ।

रगतको यो इतिहासलाई अबमूल्यन तथा  अपहेलना गर्ने छुट कसैलाई छैन । यो कुनै समूहसित सम्बद्ध प्रश्न मात्र होइन, यो जनयुद्धको बलिदानी इतिहाससित जोडिएका तथा जनयुद्धको राजनीतिप्रति विश्वास गर्नेहरूसित सम्बद्ध प्रश्न हो । आधारभूत सिद्धान्तमै विमति राख्नेहरूलाई नेतृत्व तहमा राखेर कस्तो किसिमको क्रान्तिको तयारी हुन्छ होला भन्ने प्रश्न सँगसँगै जोडिएर आउनु पनि स्वाभाविक हुन्छ । जनयुद्धको समीक्षा गर्नुपर्छ,  इतिहासको वैज्ञानिक मूल्याङ्कन गर्नुपर्छ, को कोबाट, कसरी र कहाँकहाँ कमीकमजोरीको भए भनेर पनि लेखाजोखा गर्नुपर्छ, तर, माओवाद बेठीक हो, जनयुद्ध बेठीक थियो भनेर होइन । अबको बाटोका लागि पाठ र शिक्षा ठान्दै जनयुद्धको इतिहासलाई सम्पति बनाएर अघि बढ्नका लागि पनि वैज्ञानिक समीक्षा आवश्यक छ । नेपाली जनताले चलाएको जनयुद्ध महान् जनयुद्ध नै थियो र समयले नयाँ परिस्थितिअनुसारको नयाँ विशेषताको जनयुद्ध फेरि माग गरेको छ, सत्य यही हो ।

 मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तिन जादुगरी हतियार र सशस्त्र सङ्घर्ष नेपाली क्रान्तिका आधारभूत र सार्वभौम पक्ष हुन् । नेपालको विशिष्ट स्थितिमा सशस्त्र सङ्घर्षको स्वरूप के हुने र  कसरी र कस्तो हुने भन्ने विषयमा बहस र छलफल हुनसक्छ । यस टिप्पणीकारका बुझाइमा कार्यदिशाका सम्बन्धमा जे- जे नाम दिए पनि नेपाली क्रान्तिले समग्र जनयुद्ध अर्थात् नेपाली विशिष्टताको जनयुद्धको बाटो नहिँडी धरै छैन ।

विडम्बनाको कुरा के छ भने कोही दस्ताबेजमा मालेमावाद राखेर साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर माओवाद र जनयुद्धको इतिहासप्रति एकपछि अर्को गरेर गद्दारीको अभिलेखको पहाड बनाउनमा तल्लिन छन् र अझै आफूलाई क्रान्तिकारी भनिरहेका छन् ।   कोही “पेरिस कम्युन’ देखि  माओसम्मको इतिहास र त्यसले निर्माण गरेका बाटाहरू असान्दर्भिक” भनेर “नयाँ र आजको सन्दर्भ सुहाउँदो विचार र कार्यदिशा” भन्दै शून्यवाद र ‘उत्तरवाद’ को मोहजालमा लट्ठिएका छन् । अनि सापेक्षित रूपमा सही भनिएकाहरू पनि इतिहासको पाङ्ग्रोलाई पछाडि फर्काउन सहज हुने किसिमले ढोका खुला गरिरहेका छन् । वास्तवमा जुन सङ्गठनमा क्रान्तिकारीहरू टिक्न र अट्न नसक्ने र अवसरवादीहरु रमाउने स्थिति हुन्छ, त्यसको नियति भनेको दक्षिणपन्थी विसर्जनवाद नै हो । यसबाट नेपालको माओवादी आन्दोलन जटिल र गम्भीर स्थितिमा छ भनेर बुझ्नुपर्ने हुन्छ ।
 
अहिले  विचार रक्षाको प्रश्न अहम् प्रश्न बनेको छ र आन्तरिक रूपमा वैचारिक सङ्घर्ष र वाह्यरूपमा वर्गसङ्घर्ष सारमा भन्नु पर्दा वर्गसङ्घर्षलाई तीव्रता दिनु अहिलेको आवश्यकता बनेको छ । वर्गसङ्घर्षबिना विचारको रक्षा हुने स्थिति छैन र बन्दैन । अहिलेको यथार्थ यही हो ।
०००

भिडियो फिचरview all