menu

ताजा समाचार

मैथिली साहित्यमा विचारहीनता बढ्दै गएको छ

रोशन जनकपुरी

(नेपाली तथा मैथिली दुवै भाषामा उत्तिकै सशक्त किसिमले कलम चलाउने रोशन जनकपुरी साहित्यिक क्षेत्रमा मूलतः कवि र निबन्धकारका रूपमा परिचित हुनुहुन्छ । पछिल्लो समयमा समालोचनामा  पनि कलम चलाउन थाल्नुभएको जनकपुरी मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टाका रूपमा स्थापित हुनुहुन्छ । मैथिली मातृ भाषा भएका कतिपय लेखक तथा मधेशी नेताहरूले हिन्दीलाई राष्ट्र भाषा बनाउन जोड गरिरहेको बेला महाकवि विद्यापतिको विरासत बोकेको समृद्ध मैथिली भाषाका पक्षमा दरिलो किसिमले उभिएर उच्च कोटीको साहित्य सिर्जना गर्न सक्षम स्रष्टाका रूपमा पनि वहाँको नाम लिइन्छ ।

हालै मैथिली विकाश कोष, जनकपुर द्वारा स्थापित मैथिली भाषिक क्षेत्रको बहुप्रतिष्ठित पुरस्कार ‘डा. धीरेन्द्र साहित्यिक  पुरस्कार-२०७३ ’ उहाँलाई प्रदान गरिएको थियो । यसैको सेरोफेरोमा  रहेर जनकपुरस्थित ‘दूधमति ’ अनलाइनका तर्फबाट सम्पादक सुजीतकुमार झाले वहाँसित मैथिलीमा गरेको कुराकानीलाई नेपालीमा अनुवाद गरी नयाँ शीर्षकका साथ यहाँ प्रस्तुत गरिएको छ । )

प्र. ५१ हजार राशीको पुरस्कार प्राप्त गर्दा तपाईँले कस्तो अनुभव गरिहनुभएको छ ?


पुरस्कार प्राप्त गर्नु खुसीको विषय हो । मैथिलीमा पहिलो पुरस्कार पाएको छु, यो भन्दा पहिले 'चित्रगुप्त सेवा समितिले ' ले सम्मान गरेको थियो । पुरस्कार चाहिँ अहिले पाएको छु । २०५८ सालमा 'पारिजात सिर्जनशील पुरस्कार' पाएको थिएँ । जहाँसम्म मेरो कुरा छ , म लेखनमा विश्वास गर्ने मान्छे हुँ । मेरो लेखन जसरी चलिरहेको छ, त्यसरी नै चलिरहन्छ ।

प्र. पुरस्कार पाएपछि लेखकहरू धमाधम पुस्तक प्रकाशित गर्न थाल्छन, तपाईँको चाहिँ के योजना छ नि ?
 
पुरस्कारकै कारण पुस्तक प्रकाशित गर्ने भन्ने कुरा होइन । र  पनि केहि  पुस्तकको  तयारीमा लागिरहेको छु—अस्तव्यस्त जीवनको क्रममा कहिले निस्कने हो थाहा छैन  । पाश्चात्य दर्शनशास्त्र मैथिलीमा लेखिरहेको छु । त्यसैगरी मैथिलीमै एउटा कथा सङ्ग्रह तथा एउटा कविता सङ्ग्रह प्रकाशित गर्ने विचारमा छु । जनकपुरको इतिहास नेपालीमा लेखेको छु, त्यसलाई पनि प्रकाशित गर्ने योजना छ ।

प्र. तपाईँलाई समालोचकका रूपमा पनि हेर्ने गरिन्छ । अझ तपाईँलाई समालोचकभन्दा बढी आलोचक भन्न थालिएको छ, यसको कारण के होला ?

मैले जे खोजेको छु, त्यो आइरहेको छैन, यसै कारण म आलोचक बनेको हुँ । मेरो आलोचनाका कारणले पनि केही महत्वपूर्ण रचनाहरू आउँछन् भन्ने मलाई लागेको छ । भजनमण्डली बनेर तथा स्तुतिगान गरेर हाम्रो उद्देश्य पूरा हुन सक्तैन । आज मान्छेहरूले प्रेमचन्द्र, गोर्कीलगायतकाहरूको सम्झना गर्नुको कारण उनीहरूले कसैको स्तुतिगान गरेकाले  होइन, समाज परिवर्तनको सम्बाहक बनेको कारणले हो । लेखकहरूले जोखिम मोल्नैपर्ने हुन्छ । मैथिली साहित्यमा विचारहीनता बढ्दै गएको छ ।
 
प्र. मैथिली साहित्य कसरी विश्वस्तरीय बन्छ ?

विश्वस्तरको साहित्य लेखनका लागि पनि वैचारिक स्तरमा काम गर्नुपर्छ । मैले पहिले नै भनिसकेको छु स्तुतिगानले विश्वस्तरको साहित्य निर्माण हुँदैन । यथास्थितिवादलाई भत्काउनैपर्छ । के भएर हो, अधिकांश रचना एउटा खास घेराबाट माथि उठ्न नसकेको पाइरहेको छु ।

प्र. तपाईँ डा. धीरेन्द्रको नजिक कहिल्यै रहनुभएन, र पनि तपाईँ आफूलाई वहाँको शिष्य भन्नुहुन्छ । यसो भन्नुको पछाडि के कारण छ ?

वहाँबाट क्लास लिनु मात्र वहाँको शिष्य हुनु होइन, वहाँको व्यवहार र लेखनप्रतिको बुझाइले पनि शिष्य होइन्छ । वहाँ वामपन्थी लेखक हुनुहुन्थ्यो, म पनि हुँ । हाम्रो वैचारिक आधार मिल्छ । म वहाँकै परम्पराको अनुयायी हुँ, वैचारिक रूपले नजिक ।
 
प्र. अलिकति प्रसङ्ग बदलौँ, तपाईँले राजनीति छोडिदिनुभयो जस्तो लाग्छ नि त ?

छोडेको छैन, केही समयका लागि विश्राम लिएको मात्र हुँ । यो विश्रामसँगै  चिन्तन पनि गर्दैछु । राजनीतिबाट  होस् अथवा  साहित्य  लेखनबाट, उत्पीडित वर्ग तथा समुदायको परिवर्तनका लागी काम गर्नु  मेरो उद्देश्य रहिआएको छ । मूल चिन्ता र चिन्तन कसरी शोषणबाट मुक्ति दिलाउने भन्ने नै छ । अहिले तत्कालका लागि  अध्ययनचिन्तनमा लागे पनि  शोषित वर्गका लागि काम गर्न म सक्रिय भएर लाग्ने छु ।

भिडियो फिचरview all