menu

ताजा समाचार

लालीगुराँसजस्तै 'गुराँस'को गोर्खाल्यान्ड विशेषअङ्क

गुराँस भारतीय नेपाली साहित्यका प्रगतिशील साहित्यिक-सांस्कृतिककर्मीहरूद्वारा प्रकाशित अनलाइन साहित्यिक प्रकाशन हो । 'समकालीन राजनीति- अर्थनीति अनि समाजको सन्दर्भमा दार्जीलिङबाट प्रकाशित प्रगतिवादी विचारको नेपाली पत्रिका''  गुराँसको  पछिल्लो अङ्क २३ (जुन-जुलाई २०१७) गोर्खाल्यान्ड अङ्कको रूपमा प्रकाशित  छ । वर्गीय तथा जातीय उत्पीडनमा परेका जनताका पक्षमा कलम, कुची र मादलको माध्यमबाट आवाज उठाइरहेका चर्चित स्रष्टाहरूका लेख,  निबन्ध र कविताहरू यसमा समाविष्ट छन् । गोर्खाल्यान्ड आन्दोलन के हो र किन भारतीय नेपालीहरू त्यसमा पनि दार्जीलिङ, कालेबुङ र डुवर्सका रैथाने नेपाली भाषी  ‘गोर्खेहरू’ ले यस किसिमको आन्दोलनको आवश्यकता र  औचित्यमाथि  जोड दिएका छन्  भन्ने कुरालाई समाविष्ट रचनाहरूले  सरल र कलात्मक ढङ्गले प्रस्ट पारेका छन् ।

यस  अङ्कमा   टिका ‘भाइ’ को, ‘जाति मुक्तिको सङ्ग्राममा सांस्कृतिक आन्दोलनको अपरिहार्यता’, प्रदीप लोहागुणको ‘हामीले रोजेको बाटो’, लेखनाथ क्षेत्रीको  'साँप र लट्ठी’, सङ्गीता खेवाको  'राज्यआतङ्क दिनदिनै बढ्दै छ’, अम्बिका राईको  'जुन परम्परालाई हामी स्मरण गर्छौँ : स्वतन्त्रता सङ्घर्षमा गोर्खाहरू’, परागको  'उत्पीडित राष्ट्रियताहरूको एक कारागारः देशको नाम-'भारत’!, प्रियाशिखा राईको 'आत्मनिर्णयको अधिकारबारे’, कपिल तामाङको  'गोर्खा जाति गठनको इतिहास’, निकिता लामाको 'बङ्गालमा दार्जीलिङ कहिले गाभियो ?!’ शमीक चक्रवर्ती,को 'अनिवार्य बङ्गा भाषाशिक्षा एक व्यक्तिगत नोट’, छेवाङ योञ्जनको  'बोक्रे विकास र उडन्ते तर्क’ शीर्षकका गद्य रचनाहरू रहेका छन् भने डिके. वाइबाको 'ओ सरकार !’, पुकार पारदर्शीको 'कानुनको खेती’, भिमा राई ' तोलाछा’ को  'कञ्चनजङ्घा’, पवित्रा लामाको 'उसलाई थाहा थियो’, प्रदीप लोहागुणको ' देशको दुस्मन’, राजु तामाङको  'गोर्खाल्यान्ड’, सुभाष सोताङको 'यसबेला...’, शीर्षकका कविताहरू पनि यसमा समाविष्ट छन् । साथै विपुल चक्रवर्ती लिखित र सङ्गीता खेवाद्वारा अनूदित कविता  'पहाडे साथीबाट चिठी’ लाई पनि यसमा राखिएको छ ।

'गणतन्त्र र गोर्खाल्यान्ड !!’ शीर्षको सम्पादकीय रहेको गुराँसको यो अङ्क निकै पठनीय छ । गोर्खाल्यान्ड आन्दोलनका बारेमा सांस्कृतिक क्षेत्रबाट गरिएका साङ्गितिक, साहित्यिक तथा सडक नाटकजस्ता कार्यक्रमहरूको सङ्क्षिप्त समाचारहरू पनि समाविष्ट भएको भए आन्दोलनका सम्बन्धमा सांस्कृतिक क्षेत्रको भूमिकाको आयाम बुझ्न थप सघाउ पुग्नेथियो  ।
 
प्रस्तुत छ यसको सम्पादकीय, 'गणतन्त्र र गोर्खाल्यान्ड !!’ को केही अंश

''गोर्खाल्याण्ड नै चाहिन्छ'' भन्ने माँग अब दार्जीलिङ पहाडमा प्रतिध्वनित भइरहेको छ, हामीले पनि स्पष्टरूपमा यी दाबीसँग आफ्नो आवाज मिलाइरहेका छौँ। भाषामाथि अतिक्रमणको कुरादेखि सुरु भएर क्रमैसँग मानिसहरूमाथि लाठीचार्ज, पहाड़लाई सेनाले छ्यापाछ्याप पारिदिनु, इन्टरनेट र सबै केवल च्यानलहरू बन्द गरेर, र गोली ठोकेर मानिस मारेपछि यसपालिको आन्दोलन त सही अर्थमै जनआन्दोलन हो जस्तो लाग्दैछ । जनताको सहभागिता, नेताहरूमाथि जनताको निगरानी अनि औसरवादी सम्झौताको सम्भावना विरुद्ध सुरुदेखि नै दह्रिलो आवाज यसपालिको सङ्घर्षलाई भिन्नै रूप दिइरहेको छ । जाति मुक्तिको पक्षमा र राज्य प्रायोजित आतङ्कको विरुद्ध दुई चरणमा भएको पहल'को पैदल यात्रामा गीत-कविता, स्लोगन, पोस्टरसित सहभागी भएर, अथवा अरू नाना प्रकारले हामी यो आवाजलाई सघाउँदैछौँ ।

...धेरै घात-प्रतिघातबाट गुज्रेर दार्जीलिङको नेपाली वा गोर्खा मानिसको आफ्नो भाषा-साहित्य-संस्कृति-जीवनचर्या बनेको छ, जुन बङ्गालदेखि एकदमै अलग छ। यताको सङ्घर्षको इतिहास पनि निक्कै पुरानो हो। ब्रिटिसको पालोमा दार्जीलिङमा एकतिर स्वतन्त्रता सङ्ग्रामको बिगुल बज्न थालेको थियो र अर्कोतिर बन्यो खटीखाने मानिसको सङ्घर्ष पनि। एकातिर गुनासो विरुद्ध क्षोभ अनि अर्कोतिर आत्मपरिचयको स्वीकृतिको आकाङ्क्षा— यी दुई पाग्रोमा हिँड़्दाहिँड़्दै अघि बढ़ेको छ दार्जीलिङको इतिहास ।

...यो आन्दोलनमा साम्प्रदायिक भेदभावको प्रवृत्तिलाई जोडसँग रोक्नुपर्छ, यताको अल्पसंख्यक समुदायहरूको गणतन्त्र सुरक्षित राख्नुपर्छ । सरकारले वा शासकहरूले बङ्गाली समुदायलाई यो सङ्घर्ष विरुद्ध उक्साउने, विभिन्न जनजातिको बोर्डलाई सही विकासको काममा उपयोग नगरेर आन्दोलनमा फूट ल्याउन जुन कोसिसहरू गर्दैछन्, त्यसको सत्यतालाई उदाङ्गो पार्नुपर्छ  । यस आन्दोलनलाई हाम्रो पहिचानको लागि, गणतन्त्रको लागि, अनि समाजको खटीखाने मानिसहरूको जीवन-जीवीका, युवाहरूका रोजगार, विद्यार्थीहरूको शिक्षा, मानिसहरूको स्वास्थ्य-सेवा-संस्कृतिको सही विकासको दिशातर्फ लानुपर्छ ।

भावुकतामा नबगेर दूरदर्शी जनताको भूमिका नै यसमा सबभन्दा महत्त्वपूर्ण छ ।
०००


भिडियो फिचरview all