ताजा समाचार
नेपाली भाषाविरूद्ध प्रायोजित अभियान
नेपाली भाषाको वर्णविन्यासको मुद्दा अब भाषाका पण्डितहरूबाट अदालतको विषय बनेको छ र अब यो 'भाषावैज्ञानिकहरू' को मात्र चासोको विषय नभएर नेपालीभाषी आमजनमानस, प्रवासी नेपालीहरूको समेत चासो र चिन्ताको विषय बनेको छ । यतिबेर देशभित्र र बाहिर विभिन्न किसिमका बहस र छलफलहरू जारी छन् ।
नेपाली भाषालाई पहाडिया भाषा, खस भाषा, पर्वते भाषा, बाहुन—क्षेत्रीहरूको भाषा, शासक वर्गको भाषा भन्दै एक थरीहरू प्रायोजित किसिमले हिजोकै दिनदेखि लागेका थिए । अब आएर अर्काथरीहरू पनि नेपाली भाषालाई सरल, सहज, व्यावहारिक र समय सुहाउँदो बनाउने नाममा नेपाली भाषाको विकृतीकरणतर्फ लागेका छन् । नेपाली जनताले साम्राज्यवादका विरुद्ध लडेको इतिहासलाई विकृत बनाउन विदेशी जुठोपुरोमा रमाउनेहरू र डलर र युरोद्वारा निर्देशितहरू लागिरहेको बेला अब आएर भाषामाथि पनि प्रहार हुनथालेको छ । त्यति मात्र होइन, नेपालको तराईमा बोलिने मातृभाषाहरू मैथिली, भोजपुरी, थारू आदि भाषाविरुद्ध उभिँदै सिंहदरवारमा बसेकाहरू भारतमै पनि विवाद र बहसको विषय बनिरहेको हिन्दी भाषालाई नेपालको सरकारी भाषा बनाउनु पर्ने भनेर अभिमत दिइरहेको स्थिति छ । यस्तो बेला नेपाली भाषाका विरूद्ध जुनसुकै कोणबाट किन नहोस्, प्रहार हुने कुरा सामान्य छैन । यो योजनाबद्ध र सोचीविचारी गरिएको कार्य हो भन्नुपर्ने अवस्था उत्पन्न भएको छ । नेपाली भाषाका स्थानीय रूपहरूलाई (भाषिकाहरूलाई) अलग भाषाको मान्यता दिएर नेपाली भाषाको आयाम खुम्च्याउने कार्य भइरहेकै थियो । नेपाली भाषालाई विवादको विषय बनाएर यसको सार्वभौम र सार्वकालिक महत्त्व घटाउने तथा अविश्वासको स्थिति निर्माण गर्ने काम नेपाली भाषा विरोधी अभियानको व्यावहारिक रूप हो ।
नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रिय भाषा हुन् । तर नेपालमा हिन्दी मातृभाषा भएका नेपाली छैनन् र जेजति प्रतिशत देखाइएको छ, त्यो पनि सही छैन, कृत्रिम हो । अहिले प्रायोजित किसिमले हिन्दी मात्रीभाषीहरूको संख्या बढाउने र यसलाई नेपालको सरकारी भाषा, राष्ट्रिय भाषा बनाउने योजनाबद्धताको थालनी भएको छ र यसप्रति सबै सजग हुनु आवश्यक छ ।
भाषाको भाषावैज्ञानिक नियम हुन्छ, यसको चरित्र गतिशील हुन्छ, परीवर्तनशील हुन्छ । तर यसले निश्चित आकार र रूप लिन र व्यवहारमा मान्यता पाउन समय लिन्छ । कसैलाई मन लाग्यो भन्दैमा, लहडका रूपमा यसको आकार र रूप फेर्ने काम वैज्ञानिक हुनसक्तैन । यसलाई सरल र व्यावहारिक बनाउनुपर्छ, तर यसका आधारभूत नियम, पद्धति तथा भाषावैज्ञानिक आधारहरूमा परिवर्तन तथा परिमार्जन गर्ने कार्यले वैज्ञानिक र वस्तुगत आधार खोज्छ ।
नेपाली भाषाप्रति चिन्ता व्यक्त गर्ने तथा यसको जगेर्ना गर्ने नाममा एकथरीहरू संस्कृत युगतिर, नेपालको सन्दर्भमा भन्दा मध्यचन्द्रिका भन्दा पनि उतै फर्किनुपर्ने जिकिर गरिरहेका छन् र अर्का थरीहरू साँध-सिमाना सबै मिचेर अराजकता र पूरै भाँडभैलोमा लागेका छन् । आदिम युगतिर फर्कने र नेपाली भाषालाई समय सुहाउँदो बनाउने नाममा अराजकता, मनपरीतन्त्र तथा चीरहरण गर्ने काम दुवै गलत छन् । अहिले नेपाली भाषाको हुर्मत लिने काममा केही मात्रामा त्रिवि नेपाली केन्द्रीय विभाग र सबैभन्दा बढी संसद्वादी राजनीतिक पार्टीहरूको कोटामा चलेको 'नेपाल प्रज्ञा प्रतिष्ठान' मा भारतीय झण्डा फहराउने कथित प्राज्ञहरू अग्रपंक्तिमा उभिएका छन् ।
अब, हिजो त्रिवि नेपाली केन्द्रीय विभागले गल्ती गरेकै हो भनेर प्रस्टताका साथ भन्नैपर्ने हुन्छ । जजसले गल्ती गरे तिनले ''हामीले गल्ति गरेकै हो" भनेर सार्वजनिक रूपमै घोषणा गर्नुपर्छ । पहिलो गल्ती 'उच्च माध्यमिक शिक्षा परिषद्’ को तजबिजमा 'साझा प्रकाशन' बाट प्रकाशित कक्षा ११ को पुस्तक सबैको नेपाली (२०६७) बाट भयो । यस पुस्तकको सम्पादकमा केशव सुवेदी, महादेव अवस्थी, जीवेन्द्रदेव गिरी, ताराकान्त पाण्डेय, रमेश भट्टराई, महेश्वर न्यौपाने, देविका राई, लेखनाथ गुरागाईँ, हेमनाथ पौड्याल, बद्रीविशाल भट्टराई मात्र होइन प्राध्यापक ठाकुर पराजुली पनि हुनुहुन्छ भन्ने कुरा यहाँ स्मरणीय छ । साँचो-झुठो के हो, यसमा ठूलै आर्थिक खेल भएको कुरासमेत चर्चामा आएका छन् l वास्तवमा योजनाबद्ध रूपमा विकृति प्रवेश गराउने काम यसै पुस्तकबाट भएको हो । यसले भित्र्याएको विकृतिलाई समयमै सच्याउनुको सट्टा नेपाली केन्द्रीय विभागका संयोजक प्राध्यापक देवी गौतम , पारस भण्डारी र रामनाथ ओझा सम्पादक रहेको स्नातक नेपाली (२०६९) ले त्यसै विकृतिलाई अनुमोदन गर्यो । यो नेपाली केन्द्रीय विभागले गरेको गम्भीर गल्ती थियो । नेपाली भाषालाई विकृत पार्ने प्रवृत्तिका विरुद्ध लड्नुपर्ने संस्था नै गलत दिशातिर उन्मुख भयो ।
अब आएर 'नेपाल प्रज्ञा प्रतिष्ठान' ले विश्वास गुमाइसकेको छ । लाज पचेका कथित प्राज्ञहरूहरू अझै गलत कुरालाई ढाकछोप गर्न प्रयासरत देखिन्छन् । नेपाली बृहत् शब्दकोष २०७२ को बिक्रीवितरण पूर्णरूपमा बन्द गरिनुपर्छ र यो संस्थालाई नेपाली भाषा विरोधी संस्थाका रूपमा सूचीकृत गरिनुपर्छ । र सबैको नेपाली लाई नेपाली भाषा विकृतिको पहिलो आधार पुस्तक भनेर किटान गरिनुपर्छ ।
नेपाली केन्द्रीय विभाग नेपाली भाषा र साहित्यको अगुवा संस्था हो र बन्नुपर्छ । ढिलै भए पनि अहिले आएर यसले आफ्नो गल्ती स्वीकारेको छ र २०७३/६/१४ मा यसले गरेको निर्णय सकारात्मक छ । यसले अघि सारेका ११ ओटा बुँदा सही छन् र आगन्तुक शब्दहरूका बारेमा पनि धारणा प्रस्ट पारिएको भए अझ राम्रो हुन्थ्यो । केही फेरि 'शहीद' तिर फर्कनुपर्ने कुरा गरिरहेका छन्, हामी 'सहिद' कै पक्षमा छौं र यही नै सही हो ।
नेपाली भाषाको वर्णविन्यासमा गरिएको मनपरीका विरुद्ध अदालतमा मुद्दा परे पनि, यो जोडघटाउ र वकिलहरूको बहसले निर्णय गर्ने विषय होइन l यो त नेपाली भाषाको समृद्ध परम्परा,यसको निजत्व, यसको विकाशको निरन्तरता, यसको सार्वभौम विशेषता, भाषावैज्ञानिक आधार र नेपालीभाषी जनमानसको मनोदशासित गाँसिएको पक्ष हो । नेपाली भाषासँग सम्बद्ध नीतिनियम र वर्णविन्यास सम्बन्धी निर्णय, हो–होइन भनेर ठाडो निर्णय गर्ने अथवा मन्त्रलयको तोकआदेशले चल्ने विषय होइन । यो नेपाली भाषा बोल्ने र लेख्ने विश्वभरि छरिएर बसेका नेपालीहरूको चासो, चिन्ता र अस्मितासित जोडिएको विषय हो ।
भिडियो फिचरview all