menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) भित्र खैलाबैला

पार्टीको विस्तारित बैठक नै डाकेर आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनको ''क्रान्तिकारी उपयोग'' गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को सङ्गठनात्मक स्थिति अराजकताको स्थितिमा पुगेको कुरा विभिन्न जिल्ला सङ्गठनहरू आआफ्नो इच्छा अनुसार चल्नु र अन्य सङ्गठनहरूमा विलय हुनुबाट अवगत गर्न सकिन्छ ।

यताको एक हप्ताभित्र क्रान्तिकारी माओवादीका तीनवटा जिल्ला समिति धादिङ, रुकुम र धनकुट्टा अन्य पार्टीमा विलय भएको समाचार प्रकाशनमा आएका छन् । यस्तो समाचार आउँदा पनि  सो पार्टीबाट कुनै प्रतिक्रिया नआउनु र कुनै प्रतिवाद नहुनुले प्रकाशमा आएका समाचारहरू सही भएको प्रमाणित हुन्छ ।

पहिले विप्लवको समूह र पछि बादल गुट बैद्यको नेतृत्वमा रहेको माओवादी पार्टीबाट अलग्गिएपछि जनयुद्धबाट आएको टिम कमजोर भएको र परिथापाहरू हाबी हुन थालेको स्थिति र वरिष्ठ भनिएका पुराना नेताहरूसमेत वैचारिक अडानबाट खस्किँदै गएको अवस्थामा चौथो महाधिवेशनदेखि वैचारिक पक्षमा खबरदारी गर्दैआएका मोहन बैद्यले मात्रै अब क्रान्तिकारी माओवादीको वैचारिक र सङ्गठनात्मक अवस्था धान्न नसक्ने र त्यहाँ मिलेरावादीहरू हाबी हुने भनेर टीकाटिप्पणी भइरहेको अवस्थामा अहिले जेजस्ता परिदृश्यहरू देखिनथालेका छन् यसबाट सो टिप्पणी बिनाविश्लेषण आएको होइन रहेछ भनेर भन्नुपर्ने अवस्था पनि आएको छ ।
 
नेकपा (क्रान्तिकारी माओवादी) का एक जना मध्य कदका नेताअनुसार नेकपा (क्रान्तिकारी माओवादी ) माथि प्रतिक्रियावादी कित्ताबाट मात्र नभएर नेपालमा मार्क्सवाद–लेनिनवाद–माओवाद मान्ने र सशस्त्र सङ्घर्षद्वारा नयाँ जनवादी सत्ता स्थापना गर्ने पार्टीलाई सिध्याउन सबै थरी लागेका छन् । उनका भनाइअनुसार  : “माके र विप्लवहरूको समेत दोहोरो  प्रहार छ र यसलाई सिध्याएर उनीहरू आफ्नो ढुकुटी भर्न चाहन्छन् । संसद्वादमा आत्मसमर्पण गर्न गएको बादल गुट जसरी पनि यसलाई सिध्याउन चाहन्छ, यसका लागि  नेता कार्यकर्ता मात्र नभएर सिङ्गो पार्टी नै  पैसाले किनेर भने पनि सिध्याउन चाहन्छ, विप्लवले पनि  फरक ढङ्गले माकेलाई नै गुरू थापेका छन् ।”

सक्रिय बहिष्कार गर्ने वस्तुगत स्थिति नभएको र पार्टीको आत्मगत स्थिति पनि कमजोर भएको कारण “क्रान्तिकारी उपयोग” को राजनीति अंगाल्नुपर्ने भनेर क्रान्तिकारी माओवादीले  निर्णय गरेसँगै क्रान्तिकारी माओवादीको पहिले धादिङको जिल्ला पार्टी र पछि रुकुम र धनकुट्टाको जिल्ला पार्टी अन्यत्र विलय भए । चुनाव चिन्ह नभएको अवस्थामा उहिल्यै जनमोर्चाकालमा झैँ साझा चुनाव चिन्हको प्रस्ताव प्रचण्ड समूहले राखेको र कतिपय कार्यकर्ता र नेतासमेत यसप्रति आकर्षित भएको कुरा चर्चामा आइरहेको अवस्थामा गजुरेलको नेतृत्वमा रहेको मोर्चाले माके र सरकारमा रहेकासित नमिल्नेभन्दै बाबुरामसित गठजोड गर्ने निर्णयपछि जनयुद्धसित जोडिएका र बाबुराम सबैभन्दा ठूलो गद्दार हो भनेर धारणा बनाएका कार्यकर्ताहरू भड्किने स्थिति बनेको कुरा पनि अहिले चर्चाको विषय बनेको छ । अझ बाबुरामसितै नारिएर मोर्चाका अध्यक्ष चन्द्रप्रसाद गजुरेल “देश खारेज” गर्ने  नारामा मिसिन पुगेपछि कार्यकर्ताहरूमा आक्रोस उत्पन्न भएको र यसले सिङ्गो पार्टीमा खैलाबैला मच्चिएको कुरा पनि एकजना केन्द्रीय सल्लाहकारले जानकारी गराएका छन् ।

चन्द्रप्रसाद गजु्रेलको नेतृत्वमा रहेको ‘देजमो’ लाई राष्ट्रिय भेलामा क्रान्तिका तीन जादुगरी हतियारका रूपमा अघि सारिएको र अब चुनाव उपयोगी मोर्चा बनाउने, एउटै चुनाव चिन्हका आधारमा अहिले “क्रान्तिकारी उपयोग” र पछि “संसदको भण्डाफोर” को उपयोगमा प्रयोग गर्ने भन्ने आन्तरिक निर्णय चाल पाएका कार्यकर्ताहरूले यस निर्णयलाई मिहिन पाराले पार्टीलाई चुनाववाद र संसद्वादमा लैजाने परिपञ्चका रूपमा बुझ्न थालेको अवस्थामा देशभक्त मोर्चालाई “देश खारेज”को नारामा धकेल्न थालेपछि क्रान्तिकारी माओवादीभित्रका  इमानदार र क्रान्तिकारी कार्यकर्ताहरू झस्किनु स्वाभाविक थियो । प्रचण्ड समूह  टाढा हुने र भारतको विरोध गर्नु हुन्न भन्ने बाबुरामचाहिँ नजिक हुने कुराले प्रश्न र आशङ्का उत्पन्न हुनु स्वाभाविक भएको र यसलाई प्रस्ट नपारे अन्य जिल्ला पार्टीहरूले पनि स्वविवेकमा निर्णय गर्न सक्ने कुरा पनि अहिले क्रान्तिकारी माओवादीका कार्यकर्ताबीच टिप्पणीको विषय बन्न थालेको छ ।

हिजोदेखि नै संसदीय राजनीतिको स्वाद लिएका परिथापाहरूले जे गर्दा चुनाव जितिन्छ त्यही गरेमा आश्चर्य मान्ने कुरा नभए पनि जनयुद्धको राजनीतिसित जोडिएका र अलिकति पनि क्रान्तिकारी चेत भएकाहरूले प्रश्न उठाउनु स्वाभाविक छ । बाबुराम-उपेन्द्र यादवहरूसित सम्बन्ध विस्तारको नीतिलाई नछोडे पार्टी परित्यागको शृङ्खला विस्तारित हुनसक्ने कुरा पनि राजधानी बाहिरका जिल्लाका एकजना नेताले जानकारी गराएका छन् ।

 कार्यकर्ताको आक्रोस मोर्चाका अध्यक्षमाथि रहेको देखिन्छ । उनीहरूका भनाइमा “गजुरेल प्रचण्ड विरोधी मात्र हुन्, सबैभन्दा बढी चुनाव उनलाई लागेको छ । उनले प्रचण्डका विरुद्ध जोसित पनि र जसरी पनि एकता गर्न चाहन्छन् ।” बाबुरामहरूसित गठजोड बनाएर जाने कुरा गजुरेलको निजी निर्णय नभएर सिङ्गो पार्टीको निर्णय भएकाले यसलाई गजुरेलमाथि आक्रोस पोख्ने माध्यम बनाउनु उचित होइन भन्ने भनाइ पनि कतिपय कार्यकर्ताको रहेको छ ।

यसका सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कडेलसित सम्पर्क गर्दा उनले यसलाई यसरी प्रसट पारेका छन् : “विभिन्न जिल्लाका जोजोहरू जहाँजहाँ गए भनिएको छ, त्यो सत्य हो, त्यहाँ हाम्रो पुगेन र बाबुरामसितको कार्यगत एकता एउटा खास मुद्दामा मात्र हो, दीर्घकालीन होइन, यसलाई इस्यु बनाउनुको कुनै तुक छैन । हाम्रो क्रान्तिकारी उपयोगको नीति हो ।” 

सिद्धान्ततः चुनावको क्रान्तिकारी उपयोग गर्ने कुरामा विवाद नभए पनि आरम्भमै नेकपा (क्रान्तिकारी माओवादी) ले यससम्बन्धी जेजस्तो नीति र व्यवहार देखायो, यसले प्रश्न र आशङ्का दुवै जन्माएको छ र यसले स्वयम्  मोहन बैद्यको भूमिका प्रति पनि प्रश्न उठाएको छ । वास्तवमा माओवादी केन्द्र तथा  विप्लव समूहलाई दोष दिएर मात्र पुग्दैन, आफ्नो घरभित्र फोहोरमैलाको डङ्गुर थुपारेर अरूमाथि औँला ठड्याउनुको अर्थ छैन ।


भिडियो फिचरview all