menu

ताजा समाचार

प्रचण्डको छाता ओढ्न खोज्नेहरू पलायन हुनु आश्चर्यको विषय भएन : हरिभक्त कडेल ‘प्रतीक’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का भेरी-कर्णाली इन्चार्ज धनजित शाही ‘आदर्श’ सहित सोही राज्य समितिका केही सेक्रेटरी प्रचण्डको नेतृत्वमा रहेको पार्टी प्रवेशको विषयलाई लिएर हामीले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कडेल ‘प्रतीक’सित  जिज्ञासा राखेका थियौँ ।  प्रस्तुत छ उहाँसितको छोटो कुराकानी :

१. जनयुद्ध कालमा समेत महत्त्वपूर्ण जिम्मेवारी लिएका पुराना र इमानदार भनिने भेरी-कर्णाली इन्चार्ज धनजित शाही ‘आदर्श’ सहित सोही राज्य समितिका केही सेक्रेटरी र थुप्रै कार्यकर्ताहरू प्रचण्डको पार्टीमा गए भन्ने छ नि त ?

प्रतीक  : हेर्नुस्, पहिलो कुरो वैचारिक इमानदारीको हो । कसैले पनि विचार र अन्य केही कुरामा  चित्त बुझेको छैन भने पार्टीमा कुरा राख्ने हो, बहसछलफल चलाउने हो । उहाँ पुरानो कमरेड हो,  जनयुद्धकालको कमरेड, उहाँ देखिँदा इमानदार र सरल देखिने तर,  आफ्नू कुरा  खुलेर पार्टीमा नराख्ने हुनुहुँदो रहेछ , कहिल्यै प्रस्ट कुरा राख्नु भएन, घुसघुसे टाइपको ।  वहाँको अंशन्तुष्टि के हो बुझ्नै गारो भो’, नत्र बहसछलफल गरिन्थ्यो । 

२. तपाईँहरू त तीनमहिने वैचारिक-साङ्गठनिक जनपरिचालन अभियानमा हुनुहुन्थ्यो, होइन र ?
 
प्रतीक : हो, यसले वैचारिक-साङ्गठनिक तथा जनपरिचालनको क्षेत्रमा राम्रो प्रभाव पनि परेको थियो । तर उहाँ त अर्कै अभियानमा भित्रभित्रै लाग्नुभएको रहेछ । अहिले आएर थाहा भयो । अलिअलि अशंतुष्टिका कुरा गर्नुहुन्थ्यो । विप्लव छुट्टिँदा पनि उता जानेजस्ता कुरा सुनिएका थिए । वहाँलाई भेकको जिम्मेवारी दिने कुरामा प्रश्न उठ्दाउठ्दै पनि पुरानो साथी भनेर जिम्मेवारी दिइयो, धोका दिनुभयो ।

३. यत्रो आन्तरिक तयारी गर्दा पनि थाहा भएन त ? कस्तो तपाईँहरूको सङ्गठन ?

प्रतीक :  त्यति पर पुगिसकेको जस्तो लागेको थिएन । बेलाबेलामा आर्थिक समस्याको कुरा गर्नुहुन्थ्यो, यो समस्या भनेको इमानदारीपूर्वक क्रान्तिमा लाग्नेहरू सबैको समस्या हो । पार्टीकै समस्या हो ।  तर यसैलाई आधार बनाएर उहाँ जानुहोला जस्तो लागेको थिएन । अरू साथीहरूले पनि समयमै सङ्केत गरेनन् ।

४. पैसाकै कुरो हो त ?

प्रतीक : मूल कुरा त विचार नै हो,  पैसालाई जोड दिने कुरा पनि विचारकै कुरा हो  ।  विचारबाट  पलायन भएपछि  यस्तो हुन्छ । थाके साथीहरू, क्रान्तिको लामो यात्राप्रति साथीहरूमा विश्वास भएन, अनि यसमा आर्थिक उत्प्रेरणा पनि गाँसियो । आर्थिक लोभमा परेर थुप्रै साथीहरू विचारबाट पलायन भए । प्रचण्डको त धन्धा नै यही हो । उनी अहिले यसैको ठेकेदार भएका छन्-पैसा र पद दिएर विचार र मान्छे किन्ने  ठेकेदार ।

५. चुनावसम्बन्धी अन्योलका कारणा त वहाँहरूले पार्टी छोड्नुभएको होइन ?

 प्रतीक : चुनाव कार्यनीतिक प्रश्न हो, यो आउँछ, जान्छ, जनयुद्धको समयमा पनि प्रतिक्रियावादी सत्ताले चुनाव गराएको थियो । यसले रणनीतिक उद्देश्यको सेवा गर्छ भने यसलाई प्रयोग पनि गर्नुपर्छ । चुनावको भण्डाफोर, क्रान्तिकारी उपयोग र सक्रिय बहिष्कार आवश्यकता र परिस्थित अनुसार चालिने कदम हुन् । के गर्दा जनतासम्म पुगिन्छ, क्रान्तिलाई हित हुन्छ, त्यही गर्ने हो । पार्टीको लाइन भण्डाफोर हो । तर केही साथीहरू निरपेक्ष बहिष्कार र निरपेक्ष सहभागिताको भ्रममा फसे । चुनाव र क्रान्तिकारी रणनीतिक उद्देश्यलाई बुझेनन्, एकाध साथीहरूबाट प्रचण्डकै चुनावचिन्हमा उसैको छातामुनि रहेर, उसकै कार्यकताझैँ बनेर  चुनाव लड्ने कुरासमेत आउँनथालेको संकेत थियो र आदर्शजीमा पनि यही पलायनवादी सोचले काम गरेजस्तो लाग्यो । वास्तवमा चुनाव बहाना मात्र हो, उहाँहरू विचारबाट पलायन भएर र क्रान्तिबाट थाकेर संसद्वादीमा फोरमैलामा प्रवेश गर्नुभएको हो ।

६. अब के हुन्छ त, पार्टी त  सिद्धिने  भयो ?

प्रतीक  : त्यसो होइन, पहिलो कुरा के हो भने  ५ जना गए भने ५०० गए भनेर हल्ला गरिन्छ, केही साथीहरू शाहीसित गए पनि गएभन्दा बढी हल्ला भएको छ र प्रस्ट खाका आएको  छैन । अर्को कुरा जाने मात्रै छैनन्, आउने पनि उत्तिकै छन् । आउनेहरूतिर पनि ध्यान दिनु आवश्यक छ । के के न गर्छु भनेर विप्लवहरू गए, के के भनेर हिँडेका थिए, के गर्दैछन् र कता लाग्दैछन्, त्यो पनि देखिँदैछ, प्रस्ट हुँदैछ, धेरै दिन लुक्तैन भ्रम । बादलहरूको हालत पनि देखिँदैछ । हामी निरास छैनौँ ।  माओवादी  आन्दोलनभित्र विघटन, विखण्डन र सङ्क्रमणको स्थिति अझै जान्छ, एकचरण अझै धुवीकरण चल्छ ।  । यताबाट उता, उताबाट यता आउने क्रम चलिरहन्छ । शून्यमा जान पनि सक्छ,  खरानी पनि हुनसक्छ ।  हामी त्यही खरानीमा नयाँ बिउ छरेर फेरि हरियो बनाउँछौँ, हामी आत्तिएका छैनौँ । र पार्टीका कमरेडहरूलाई पनि नआत्तिन भन्छौँ । क्रान्तिको इतिहासमा यस्तो हुन्छ, हुँदैआएको छ । हामी क्रान्तिकारी आशावादका साथ अघि बढौं भन्छु ।

७. त्यसो त भन्नुभयो , तर अरू पनि जान खुट्टा उचालेर बसेका छन् भनिन्छ नि ?

प्रतीक :   यो विचारको कुरा हो, कसैलाई क्रान्तिप्रति विश्वास छैन र संसदीय व्यवस्थामा सबै कुरा पाइन्छ भन्ने लाग्छ भने रोकेर रोकिने कुरा छैन, उसलाई जे पद र जिम्मेवारी दिए पनि रोकिँदैन जान्छ,यो त विचार र प्रतिबद्धताको कुरा हो । र पनि अब जिम्मेवारी दिने कुरामा भने नयाँ किसिमले सोच्नुपर्छ । समस्या कहाँनेरी छ भने  विमति अथवा असन्तुष्टि विचारमा हो कि, सङ्गठन, कार्यदिशा र कार्यक्रममा हो कि पदको हो कि ,इमानदारपिूर्वक आइदिए हुन्थ्यो । यताबाट जाने मात्र छैनन् । अरू समूहका असन्तुष्ट कार्यकर्ताहरू पनि अहिले हाम्रो सम्पर्कमा आइरहेका छन् । भरिसक्के साथीहरूमा वैचारिक उत्साह र विश्वास जगाएर क्रान्तिमा अघि बढ्ने हो, पलायन नै हुन्छन भने के लाग्छ । ४ जना जान्छन् ८ जना आउँछन् ।
 
८.आफूरूमा पनि केही समस्या छन् भन्ने लाग्दैन ? दस्ताबेजमा क्रान्तिका कुरा गर्ने, तर व्यवहारमा जाने कुरामा चाहिं अलिकति पनि पहल नगर्ने भन्ने छ नि त ?

 प्रतीक : समस्या छैनन् भन्न सक्तिन, होलान्, तर हाम्रो चिन्ता र चिन्तन नेपालमा नयाँ जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने हो । मान्छे चिन्न र जिम्मेवारी दिन हाम्रा केही कमजोरी रहे । विप्लवको बारेमा त्यही भयो । उनी फुटेर गएपछि पनि कतिपयलाई बढी विश्वास गर्दा हामीले धोका खायौँ । जहाँसम्म दस्ताबेजमा क्रान्तिका कुरा गर्ने, तर व्यवहारमा नजाने भन्ने छ क्रान्ति मनोगत किसिमले गर्ने कुरा होइन, आत्मगत र वस्तुगत स्थितिबीच तालमेल मिलाउने कुरा हो ।  यसमा हामी गम्भीर हुनैपर्छ । आत्मसमीक्षा पनि गर्नुपर्छ ।

९. तपाईँहरू आफूलाई मालेमाप्रति प्रतिबद्ध क्रान्तिकारी  भन्नुहुन्छ, अनि दस्ताबेजदेखि भाषणमा चाहिँ ‘पहिचानवादी' मूलतः जातिवादी प्रश्नलाई अत्यधिक महत्त्व पनि दिनुहुन्छ । यसै क्रममा ‘आत्मनिर्णयको अधिकार’ को कुरा पनि गर्नुभएको छ । तपाईँहरूको प्रमुख सल्लाकारको बारेमा पनि प्रश्न उठेको छ यसले त नयाँ जनवादी क्रान्तिको प्रश्नलाई कुरामा मात्रै सीमित पार्दैन र ?

प्रतीक : हो, केही साथीहरूले वर्गीय प्रश्नभन्दा जातीय प्रश्नलाई बढी जोड दिएको कुरा पनि आएका छन्, टिप्पणीका विषय बनेका छन्, पार्टीका शुभचिन्तकहरूले यसबारे प्रश्न पनि उठाइरहनुभएको छ ।  ।  तर कसले के भन्यो भन्दा पनि पार्टीको लाइन भनेको वर्गीय प्रश्नभित्र सबै उत्पीडित जातजाति, लिङ्ग र क्षेत्रको मुक्तिको बाटो खोज्ने भन्ने हो । त्योभन्दा बाहिर गएर होइन ।  जहाँसम्म ‘आत्मनिर्णय अधिकार’ को कुरा छ, यो पनि नेपालको विशिष्टतामा आत्मनिर्णको अधिकार मेल खान्छ जस्तो लाग्दैन । नेपालको सङ्घीयता रूस-चीन आदिआदिको जस्तो हुँदैन, नेपालकै विशिष्टताको हुन्छ, हुनुपर्छ ।  ‘आत्मनिर्णयको अधिकार’ भन्नुभन्दा स्वायत्त शासन स्वशासन, स्थानीय स्वायत्तता  भन्नु उपयुक्त हुन्छ भन्ने लाग्छ ।  यसलाई भावुकता अथवा अतिमा नभएर वैज्ञानिकतामा हेनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

१०. तपाईँहरूको पार्टीको विस्तारित बैठक भन्ने सुनिएको छ, विस्तारित बैठकजस्तो कुरा चुनावसम्बन्धी निर्णयका लागि मात्रै त होइन होला ?
 
प्रतीक  : चुनावको प्रश्न अगाडि आएकाले यसबारे  प्रस्ट पार्नु आवश्यक भएकाले यो एउटा विषय हुने नै भयो । विस्तारित बैठकजस्तो अहम् महत्त्वको बैठकमा अन्य वैचारिक तथा साङ्गठनिक विषयहरू नहुने कुरा भएन । यसमा दस्ताबेज नै आउँदैछ ।

११. वैचारिक-साङ्गठनिक सबै पक्षमा आत्मसमीक्षा गरेर क्रान्तिकारी दिशाबोधका साथ विस्तारित बैठक सम्पन्न होस् भन्ने जनमेल टिमका तर्फबाट शुभकामाना ।

प्रतीक
: धन्यवाद ।
०००

भिडियो फिचरview all