menu

ताजा समाचार

लाल भन्ज्याङका सम्बन्धमा प्रचण्डसित कुराकानी

ऋषिराज बराल
चैत २१, २०६२
मलाई थाहा थियो– आधारइलाकाका विसङ्गति कोट्याउनु एकहिसाबले त्यसरी औँला ठड्याउनु निकै जोखिमपूर्ण थियो— शारीरिक रूपले पनि । एकहिसाबले मैले साहसपूर्ण (दुस्साहस ?) काम गरेको थिएँ । तर म सत्यको पक्षधर थिएँ । कान्छाबहादुर पनि “व्यक्तिको चरित्र हत्या गर्ने ? यो  आत्मकेन्द्रित व्यक्तिवाद” हो भनेर ममाथि आरोप लगाउँदै रातापिरा भए । के के भने के के । मैले सुनिरहेँ–व्यङ्ग्यका साथ ।  ठीक छ भनेँ । एउटा सिर्जनामा पार्टीनिर्णयका सबै शब्द र अक्षर नखौजौँ भने । उनलाई लागेको रहेछ मैले आत्मालोचना गर्छु भनेर । म गलत थिइन, सत्यउद्घाटित गरेवापत म आत्मालोचना गर्ने स्थितिमा थिइन । सङ्घर्ष गर्छु, वैचारिक बहस चलाउँछु, केही नलागे विद्रोह गर्छु, सही कुराबाट विमुख हुन्न भन्ने अडानमा म थिएँ । समयले देखाउला सबै कुरा भनेँ मनमनै ।

बेलुकातिर स्याटेलाइट फोनमार्फत दिल्लीमा प्रचण्ड कमरेडसित सम्पर्क भयो । कान्छाबहादुरले सबै कुरा सुनाएको हुनुपर्छ भन्नेलाग्यो  । अर्थात् “बराल आफ्नो अडानबाट टसमस भएन” भनेको हुनुपर्छ । मान्छेलाई अरूभन्दा अलि छिटै बुझ्ने क्षमता र कलामा माहिर प्रचण्डले मेरो मनोविज्ञान नबुझ्ने कुरै भएन । फोनमा मजले कुरा भयो । वहाँले भन्नुभयो —“कृतिका बारेमा ०४१ सालमै किरणजीसित छलफल हुँदा कृतिको साहित्यिक र सौन्दर्यात्मक पक्ष र नियम हुन्छ,  साहित्यकला र सिर्जनालाई अलि फरक किसिमले हेर्नुपर्छ, पार्टीको लाइन जस्ताको तस्तै र शब्दशब्द खोज्नु वैज्ञानिक हुन्न भन्ने भएकाले म चाहिँ प्रस्ट छु । आधारइलाकाका साथीहरूमा भावनात्मक पक्ष अलि बढी उद्वेलित हुनु स्वाभाविक छ, तर कला र सौन्दर्यको कुरा बुझेपछि सबै मिल्छ ।"

उहाँले मसित सेटेलाइट फोनमा लामो कुरा गर्नुभयो, आधी घण्टाजति । रविन्द्रसित मेरो राम्रो छैन र वैचारिक रूपमा नभए पनि व्यावहारिक रूपमा मणिसित मेरो सम्बन्ध राम्रो छ भन्ने कुरा पार्टीमा धेरैजसोलाई थाहा थियो । उहाँले भन्नुभयोः “रविन्द्र गयो । मणि पनि गयो ।'' मैले भनेँ, “दिल्लीमा छँदा तपाईँहरूले हामीलाई पञ्जावमा गएर बस्न भन्नुभएको थियो, जाती भए छ, म माथि आएको, नत्र के के हुने र’छ  ।''  उहाँ हास्नुभयो  । मैले रविन्द्रको खुलेरै विरोध गरेँ र दिल्लीको बसाइमा मणिजीका कुरा सुन्दा उहाँमा पनि निरासा र कुण्ठा बढेको जस्तो लाग्यो भनेँ । रविन्द्र, मणिलगायत मेरा लेखहरू र शब्दचित्रका बारेमा आफूलाई लागेको कुरा राखेँ— रचनाहरू राम्रोसित अध्ययन नै नगरी साथीहरू अनावश्यक रूपमा आवेग र उत्तेजनामा आउनु भो, भनेर  राखेँ ।

त्यसपछि फेरि भन्नुभयो— “किरणजी जेलमा हुनुहुन्छ, मणि हिँडिगो", अब तपाईँ नै हो किरणजीपछि, सबै मिलाएर गर्नुहोला, अलि यसो मिलाउनु होला है, म कमान्ड इन्चार्जसित पनि कुरा गर्छु।" अन्तिममा आफ्नो कुरा पनि प्रस्टताका साथ राखेँ —“ सिर्जना र सौन्दर्यशास्त्रीय कुरालाई यसरी निषेध गरेर प्रतिबन्धै लगाउने र डढाउने  गरियो भने त काम गर्न गाह्रो हुन्छ, सौन्दर्यशास्त्रीय प्रश्नमा बहसछलफलमा जानुपर्छ।"

किरण कमरेड जेलमा रहेको स्थिति, रविन्द्रसँगै मणि पनि लागेको अवस्थामा म पनि बाउँठिएँ भने सांस्कृतिक क्षेत्रमा समस्या पर्छ भनेर हो वा केले हो मप्रतिको प्रचण्डको व्यवहार फोनमा सकारात्मक नै रह्यो । त्यसपछि प्रचण्डले आधा घण्टा जति कान्छाबहादुर  कमरेडसित कुरा गर्नुभयो । प्रचण्डको कुराकानीपछि कान्छाबहादुरमा  पनि परिवर्तन देखियो । अघि रिसाउँदै ममाथि के के विशेषण थोपर्दै थिए, अहिले त उनको शैली र व्यवहार नै अर्कै भयो । क्या गजब छ हाम्रो क्रान्तिकारी संस्कृति पनि ।

 मलाई सही लागेको कुरामा म अडिग रहेँ ।  म गल्तीमा पनि हुनसक्छु, तर विरोध र आलोचनाको यो शैलीप्रति म सहमत छैन । मेरो लेखाइ र  वैचारिक पक्षबारे बहस चलाइयोस् र यसको सौन्दर्यशास्त्रीय समीक्षा र छलफल गरौं, तर किताब नै प्रतिबन्घ लगाउने र जलाउने कुरामा मेरो सहमति मात्र होइन, आपत्ति नै छ  भनेर मैले प्रचण्ड कमरेड र कान्छाबहादुरलाई भनेँ, साहसका साथ भनें । त्यसपछि मैले गण्डकक्षेत्रतिर जान्छु भनेर कान्छाबहादुरसित कुरा राखेँ र हिँडेँ सरासर प्यूठानतिर ।

चैत २३, २०६२
पहिले सम्बोधन र पछि मूल्याङ्कनमा छापिएको कथा ‘प्रति+जोड आगमन=प्रत्यागमन’ र फेरि लालभन्जयाङमा उभिएरले निकै तहल्का मच्चाएछ । यता प्यूठान र अर्घाखाँचीमा आएपछि  थप थाहा भयो  । प्यूठानका इञ्चार्ज कमरेडको निर्देशनमा फेरि लालभन्ज्याङमा उभिएर जलाइएकै हो  रहेछ । कथामा ''मेरो अनुहार आयो'' भनेर पूर्णले कुरा उठाएका रहेछन् बैठकमा । आफूले त माओवादीभित्र हुर्कँदै गरेको हङ्कङे संस्कृति र प्रवासका केही कमरेडहरूको जीवनशैलीलाई लिएर एउटा कथा लेखेको मात्र हुँ । मैले कसैलाई लक्षित गरेर वा कसैको अनुहार देखाउने वा कसैलाई खुइल्याउने उद्देश्यले त्यो कथा लेखेको होइन र थिइन । पार्टीभित्रका विकृतिहरूलाई यथावत राखेर बाहिरका विकृति र विसङ्गतिहरूको विरोध गर्नुको अर्थ छैन भन्ने मेरो भनाइ हो ।

यताका साथीहरू, त्यसमा पनि रुकुमरोल्पाका साथीहरू हरेक कुरामा नकारात्मकता देख्छन् । तर्क र विवेकले भन्दा आवेग र भावनाले काम गर्छन् । अलिकति पनि आलोचना सहन सक्तैनन् । आफूमा कुनै पनि गल्ती-कमजोरी देख्तैनन् र अरूमा समस्याको थुप्रो देख्छन् । मैले ‘एकीकृत जनप्रतिरोध अभियान’ मा  केन्द्रित भएर सम्बोधनमा एउटा लेख लेखेँ ।  त्यसमा ९९ प्रतिसत रुकुमरोल्पाको प्रशंसा र १ प्रतिशत टिप्पणी गर्दै लेखेको थिएँ– “रुकुमरोल्पामा जन्मनेबित्तिकै कोही जन्मजात क्रान्किारी हुन सक्तैन र सहर वा काठमाडौँमा जन्मिएका जति सबै संशोधनवादी र सुविधाभोगी हुँदैनन् ।” यो पनि पचेन छ । तुलनात्मक रूपमा अलि भद्र, अध्ययनमा रुचि र चासो राख्ने अनि अलि  बुझ्झकी ठानेको रश्मि कमरेडले समेत त्यसबारे मसित टिप्पणी गर्नुभयो भने अरू त्यसमा पनि संतोष बुढा, क्रान्ति, कुलमान र वसन्तजस्ता मान्छेले त नसोच्ने कुरा नै भएन । त्यति असल रश्मिजीले क्रान्तिजस्ती त्यति रद्दी जीवनसाथी कसरी रोज्नुभयो, अचम्म लाग्छ  !

अहिले ममाथि आधारइलाकाविरोधी लगायत के के विशेषण थोपरिएको छ । म आधारइलाकाविरोधी पनि होइन र आधारइलाका नाममा हरेक विकृतिको समर्थन गर्ने व्यक्ति पनि होइन ।  हामी सहरिया जति रूकुमरोल्पा र थवाङको प्रशंसामा यताकाहरूले पनि लेखेका छैन होलान् । क्षेत्रीयतावादी मनोभाव र अनुभववादी–सङ्कीर्णताबाट ग्रस्त बनेका साथीहरूले जे जे सोचे र  भने पनि आफूले गलत नलेखेको बरु नकारात्मताको विकास र विस्तार नहोस् भनेर चिन्ता जाहेर गरेको मात्र  हो । खुसी हुनुपर्ने थियो, तर आधारइलाकाका नाममा अहम्, असहिँष्णुता र कुण्ठा बोकेका साथीहरू ममाथि दुस्मनकै रूपमा खनिएका छन्,  प्यूठान हुँदै यता पसेपछि झन् धेरै थाहा भएको छ ।

लेखनका सन्दर्भममा म कसैको आदेश र निर्देश मान्दिन । एउटा स्वाभिमानी कलमले, मार्क्सवादी कलमले यसो गर्न पनि मान्दैन । क्रान्तिकारी विचार के हो त्यो मलाई थाहा छ । पार्टीअवधारणा र नीति के हो त्यो पनि मलाई थाहा छ । यस विषयमा विप्लव र कान्छा बहादुरहरूले पनि मार्क्स , लेनिन र माओ राम्रोसित पढून् र सृजनविशिष्टताको अध्ययन गरून् । म मेरो स्वाभिमानका विरुद्ध सम्झौता गर्दिन । लेखकीय इमानदारीका विरुद्ध जान सक्तिन । मैले विसङ्गतिका विरुद्ध लेखेवापत, मैले सत्यको उद्घाटन गरेवापत मलाई कारबाही हुन्छ भने हवस्, म भोग्न तयार छु, तर बेठीक लेखेँ र गलत लेखेँ भनेर सत्यका विरुद्ध आत्मसमर्पण गर्दिन । गोर्की पनि समाजवाद आएपछि पनि लेनिनसित चित्त नबुझेर १९२१ मा रूस छोडेर हिँडेका थिए ।  म अन्तिमसम्म लड्छु । केही नलागे पार्टी छोड्छु र कलममार्फत युद्धघोष गर्छु,  तर गलत कुरा स्वीकार गर्दिन । मैले  सत्यको उद्घाटन गरेको हुँ, अपराध गरेको होइन र छैन  ।

(सलाम रोल्पाबाट)
०००  


भिडियो फिचरview all