menu

ताजा समाचार

महाश्वेता देवी :अक्षरहरू नै अस्त्र बन्छन्

(जुलाई २६, २०१६ मा भारतीय साहित्यमा उत्पीडित वर्गकी बहुचर्चित लेखिकाका रूपमा स्थापित महाश्वेता देवीको निधन भयो। सन् १९२६ मा जन्मेकी महाश्वेता देवी नेपाली पाठकबीच 'हजार चौरासीकी आमा' उपन्यासकी स्रष्टाकी रूपमा बढी परिचित छन् । दर्जनौँ उपन्यास र कथासङ्ग्रहकी स्रष्टा महाश्वेता देवीका केही उपन्यासमा फिल्म पनि बनेका छन् । 'हजार चौरासीकी आमा', 'अग्निगर्भ', 'अक्लान्त कौरव' उनका बहुचर्चित उपन्यासहरू हुन् । आदिवासी क्षेत्र र नक्सलवाडी अन्दोलन उनको लेखनको मूल क्षेत्र हो । सम्झनास्वरूप यहाँ हामीले उनका अन्तर्वार्ताहरूबाट केही महत्त्वपूर्ण अंश प्रस्तुत गरेका छौँ । हामीले यी अंशहरू  चर्चित हिन्दी साहित्यिक प्रकाशन 'भोर\, २, २०१३ बाट लिएका हौँ ।)
 
साक्षात्कार : १
(अमर मित्र र सव्यसाची देवका साथ कुराकानी : इन्डियन लिटिरेचर मे-जुन, १९९७)

अमर मित्र र सव्यसाची देव : आजभन्दा पच्चिस वर्षपहिले सन् १९७१/७२ मा हजार चौरासीकी आमा  जेलसम्म नक्सलपन्थी बन्दीहरूको हातहातमा पुगेको थियो । यसको सिर्जनाको पृष्ठभूमि  बताइदिनुहुन्छ कि ?

महाश्वेता देवी : ल सुन्नुस्, भन्छु । नक्सल आन्दोलनसित जोडिएका युवाहरू गाउँलाई सहरसित जोड्नका लागि गाउँमा गएर बसेका थिए । परन्तु उनीहरू धेरै दिनसमम टिक्न पाएनन् । उनीहरू कलकत्ता फर्किन लागे । सहरमा पुलिस र विभिन्न राजनीतिक पार्टीहरू एकएक गरेर उनीहरूलाई गोली ठोकेर हत्या गरिरहेका थिए ।  त्यतिबेर म विजयगढ कलेजमा पढाउँथेँ । यो उपन्यासमा मैले त्यसै पृष्ठभूमिको प्रयोग गरेकी छु । एउटा कुरा म तपाईँलाई भन्छु—हामीहरू सबैलाई दुइटा सामूहिक हत्याको एकदमै राम्रो जानकारी छ, बारासात र बारानगरको सामूहिक हत्या । त्यहाँ समूहका समूह नक्सलपन्थी युवाहरूको हत्या गरिएको थियो । परन्तु योभन्दा पहिले नै विजयगढको नजिक, श्री कोलोनीमा केहीको हत्या भयो । मेरो एउटा विद्यार्थी सुजित गुप्ताको त्यहाँ हत्या गरियो । उसका पिता एक जना डाक्टरकोमा कम्पाउन्डर हुनुहुन्थ्यो । यस घटनाको केही अंश मैले आफ्नै आँखाले देखेँ र बाँकी मेरो छोरा नवारुण भट्टाचार्यबाट, अनि अरू मान्छेहरूबाट सुनेँ ।

नवारुण कम्युनिस्ट पार्टीसित जोडिएको थियो र उसले विभिन्न किसिमले नक्सलपन्थीहरूलाई सहयोग गर्ने प्रयाश गर्यो । त्यसपछि बाङ्गलादेश युद्धका बेला पूरै सहर ब्ल्याकआउट रहन थाल्यो ।  साँझ ७ बजेपछि बाटाहरू सुनसान हुन्थे । पुलिसका गााडीहरू सडकमा गस्ती लगााउँथे । त्यतिबेला म कबिर रोडका गणेश बाग्ची र सुदेशना बाग्चीको घरमा सधैँजसो आवतजावत गरिरहन्थेँ, म उनको साथ अक्सफोर्ड युनिभर्सिटी प्रेसका लागि आनन्द मठका लागि काम गरिरहेकी थिएँ । त्यहाँ म साँझ सात बजे जान्थेँ र घर जानका लागि १० बजे त्यहाँबाट हिँड्थेँ  । हरेक दिन रात पर्नेबित्तिकै सडक सुनसान हुन्थ्यो । न कुनै बस, न कुनै गाडी, न अन्य साधन । जब म घर फर्किरहेकी हुन्थेँ, कति दिनसम्म मैले निरन्तर देखेँ, केही युवाहरू पूरै टाउकोसम्म बर्को ओढेर फुटपाथमा मसँगसँगै  हिँडिरहेका हुन्थे, अर्थात् केही युवकहरू मेरो पछि लागेका हुन्थे  ।

एक दिन बाटामा रोकिएर मैले उनीहरूसित सोझै प्रश्न गरेँ—“तपाईँहरू किन मेरो पछि लाग्नुभएको हो ? मसित किन यसरी सँगसँगै हिँडिरहनुभएको छ ?”

 उनीहरूले उत्तर दिए—“तपाईँ यति राती एक्लै जानेआउने गर्नुहुन्छ अनि...।”

“पुलिसले मलाई केही गर्नसक्तैन । तपाईँहरू जान सक्नुहुन्छ ।”

उनीहरू गए । म त्यहाँ एक्लै उभिएँ । केही दिनपछि, एक साँझ कलाकार चन्द्रावती देवीको घरको भित्तामा लेखिएको नारामा मेरा आँखा केन्द्रित भए । भित्तामा लेखिएको थियो—“तपा र भानुको रातो रगतले लालबजारलाई डढाइदेऊ, आगोले भष्म पार ।”

लालबजारमा प्रहरीको मुख्यालय  थियो । मलाई थाहा भयो, यो नारा नक्सलपन्थी युवा  भूपतिले लेखेको हो । केही दिनपछि ऊ पनि प्रहरीको गोलीको सिकार भयो, उसको हत्या गरियो । यस्तै केही दिनपछि एउटा मध्यम वर्गीय परिवारको घरको भित्तामा मैले लेखेको देखेँ—“घृणा गर । निसाना लगाऊ र ध्वस्त पार... ।” त्यतिबेला कलकत्ताको दक्षिणी क्षेत्र उदार क्षेत्र मानिन्थ्यो  । नक्सलपन्थी तथा नक्सल विरोधी दुवै थरी त्यहाँ केही समयका लागि सुस्ताउन जान्थे । यसै क्रममा मेरो लेखनमा नक्सल आन्दोलनको चर्चा हुनथाल्यो । ‘जलसत्र’, ‘पिण्डदान’,  ‘कानाई बैरागीकी आमा’ आदि कथाहरू मैले लेखिसकेकी थिएँ । एक साँझ  दुई जना युवा मलाई भेट्न मेरो घर आए र बरन्डामा बसेर मलाई पर्खिए ।

मसितको भेटमा उनीहरूले सोधे—“ तपाईँले गाउँ र देहातको बारेमा त धेरै लेख्नुभयो, सहरको बारेमा कसले लेख्छ ?”

उनीहरूलाई ध्यानमा राखेर नै मैले हजार चौरासीकी आमा लेखेँ, जुन बाङ्ला भाषाको एउटा फिल्मी पत्रिका प्रसादमा छापिएको थियो  ।

त्यसो त यो आन्दोलनमा प्रत्यक्षरूपमा कहिल्यै पनि जोडिइन । त्यसैले मेले एउटी यस्ती गैरराजनीतिक  आमाको बारेमा लेखेँ, जसको समग्र पुस्ता आफ्नो आउने पुस्ताका बारेमा एकदमै अन्धकारमा थियो । तथाकथित वामपन्थीहरूका केटाकेटीहरू पनि सडकमा निस्केका थिए र उनीहरूले आफ्ना बाबुआमाको वामपन्थी विचार झूठो  र नक्कली भन्दै त्यसलाई दुत्कारेका  थिए । मैले ती कटाकेटीहरूमा आदर्श देखेँ । उनीहरू निस्वार्थ त्याग गर्दथे र उनीहरूमा अलिकति पनि लोभलालच थिएन । यो देखेर म द्रवित भएँ, अनि प्रसाद कुनै किसिमले जेलसम्म पनि पुग्यो । नक्सल बन्दीहरूले मेरो रचना पढे र उनीहरूले आफूलाई मेरा प्रियजनहरू ठान्नथाले । त्यसो त व्यक्तिगतरूपमा म यस उपन्यासलाई त्यति भरोसा गर्न लायक मान्दिन । अँ, अवश्य पनि असङ्ख्य पाठकले यो उपन्यास पढे, बस, म यति मात्र भन्नसक्छु ।

अमर मित्र र सव्यसाची देव : यसै प्रसङ्गमा तपाईँसित हाम्रो एउटा प्रश्न छ— के तपाईँलाई लाग्छ, लेखकको सामाजिक दायित्व पनि हुन्छ ?
महाश्वेता देवी : हजुर, कुनै पनि लेखकका लागि सामाजिक दायित्वको बोध हुनु एकदमै जरुरी छ । हो, समाजप्रति उसको एउटा कर्तव्य हुन्छ । उसले आफ्नो जिम्मेवारीको पूर्ण बोधका साथ  लेख्नुपर्दछ ।
 
 साक्षात्कारः २
(अख्तरुज्जमान इलियासका साथ कुराकानी : बाङ्लादेशको पत्रिका शैलीमा १९९७ मा प्रकाशित)

अख्तरुजमान इलियास : ...अनि साहित्य हिंसातर्फ प्रवृत्त हुन्छ भन्नुभएको हो ?

महाश्वेतादेवी : हो, मेरो भनाइ हिंसातर्फ नै हो । मान्छेलाई हिँसा अर्थात् भायलेन्सको पूरा हक छ । क्रान्ति पवित्र हुन्छ । क्रान्ति सूर्यको तरह हुन्छ । क्रान्ति बल्दछ, सल्किन्छ र साहित्यकार प्रतिबद्ध हुन्छ, उसका अक्षरहरू बल्नथाल्दछन् । उसका अक्षरहरू नै हतियार बन्दछन् ! यस्तो अस्त्र, जसले पहाडलाई समेत हल्लाउन सक्छ ।  तिम्रो देशको यो मान्छे, तिम्रो अगाडि बसेको यो अख्तरुजमान इलियास ! यसको साहित्य पढ त ! इतिहासबिना कुनै पनि रचना, रचना हुँदैन । यिनको उपन्यासमा जब हड्डी खिजिरको मृत्यु हुन्छ, अनि ती मान्छेहरू जो विद्रोहमा सहिद भइसकेका थिए, उनीहरू अगाडि आउँछन्–अन्याय र विद्रोहमा जसले आफ्नो ज्यान गुमाएका थिए, तिनीहरू पनि आउँछन् । त्यो दिन मेले पनि यही भनेकी थिएँ— विभिन्न किसिमका आदिवासीहरूको जुन विद्रोह भयो... निरन्तर चलिरह्यो, त्यसको परिणाम के निस्कियो ? तिनीहरूलाई घिसारेर बङ्गालको प्रेसिडेन्सीमा ल्याइयो ।  उनीहरू जङ्गल सफा गर्छन्, सुन्दर वनका रेलहरूको सफाइ गर्छन्, केही मान्छेहरू हिमलको नजिक चिया बगानको माटो तयार पार्न जुटेका छन् ।

पश्चिम बङ्गालको अरूहरू क्षेत्रमा खेतीका लागि माटो तयार पार्छन् । यी सन्थाल, मुरङ जनताले जब आवादी लायक, जोत्न लायक जमिन तयार पारे, अनि उनीहरूको जमिनको ठूलो हिस्सा जमिनदारहरूले कब्जा गरे । आदिवासी किसानहरूको भोकले नै तेभागाा आन्दोलनको आरम्भ भयो । रूसको निर्देशनमा तेभागा आन्दोलनलाई उग्रतातर्फ लगियो । त्यतिबेला जुन हालत डाँगा, सुन्दरवनको थियो, त्यही हाल वोदा, पोचागढको थियो, चारु मजुमदार अलग भए । उनी, माधव दत्त, सचिन दास  गुप्त नयाँ कम्युनिस्ट पार्टीमा सामेल भए । कसले त्यस आन्दोलनको निर्देशन गर्ने ?  प्रहरी गोली वर्षाउन थाल्यो । बाह्र आदिवासी महिला–पुरुषको हत्या भयो, सायद तिनमा सात जना महिला थिए । त्यसपछि नक्सल आन्दोलन आरम्भ भयो । त्यही नक्सल आन्दोलन, जुन तेभागा आन्दोलनको समानान्तर थियो, किनभने जङ्गलमा सन्थालहरूको जुन लडाइँ जारी थियो, त्यो जमिनको अधिकारको लडाइँ थियो, चिया बगानका मालिकहरूले उनीहरूलाई आफ्नो जमिनबाट बेदखल गरेका थिए । तिनै जमिनका लागि नक्सलबाडी आन्दोलन आरम्भ भएको थियो । सारा भारतमा त्यो आन्दोलन नक्सल आन्दोलनको नामले प्रख्यात भयो । त्यसबेला ठाउँठाउँमा जुन लडाइँ चल्यो, त्यो जमिनको लडाइँ थियो । एउटा समूह त आज पनि आन्ध्रमा कसैले चलाइरहेको छ । शङ्कर गुहा नियोगीले अर्कै बाटो अँगाले । उनी शसस्त्र क्रान्तिमा सामेल भएनन् । गएका भए, के हुन्थ्यो, थाहा छैन । उनले एउटा सुसङ्गठित लडाइँ आरम्भ गरेका थिए । जब म बिहार गएँ, त्यहाँ मैले देखेँ—उही शोषण, बँधुवा मजदुर आदिआदि...। त्यसपछि कृष्णसिंह र उनका साथीले समग्र नक्सल आन्दोलन लिएर आए । उनी मारिए, मारियो उनलाई । यो सिलसिला धेरै दिनसम्म चल्यो ।
 
मेरो भनाइ के हो भने इतिहास नै अन्तिम चेतावनी हो । पुरानो आन्दोलनको साथ तेभागा आन्दोलन पनि गठित भयो र त्यसको परिणाममा नक्सल आन्दोलन । र यस आन्दोलनको आवश्यकताले नै ऊ यो  भूखण्डमा आइपुगेको हो । कुनै समयमा रातो रङ फरफराउँथ्यो । त्यस ठाउँलाई लाल रङपुर भनिन्थ्यो । समग्र तेभागा आन्दोलनको स्थान कम्युनिस्ट पार्टीमातहत थियो । दिनाजपुरमा त एकदमै जोडदार आन्दोलन भयो । त्यसपछि हाटखोलामा, खुलनाको विष्णु विश्वासको डुमुदियर आन्दोलन भयो, कतिवटाको नाम गनौँ ? यो निरन्तर आन्दोलन कहाँबाट भयो ? शोषित वर्गका मानछेहरूको वर्गसंरचनाबाट । यो सबै भूमि बन्जर थियो, माटोबिना केही पनि जीवित रहँदैन, त्यसैबाट तमाम आन्दोलनको जन्म हुन्छ l

०००
(विकल्प :२ बाट )

 

भिडियो फिचरview all