
भारतमा माओवादी विरुद्ध जेलसार अभियान

पश्चिम बङ्गालको भङ्गारमा बृहत् विजुली परियोजना स्थापना गर्ने नाममा जनताले भोगचलन गर्दैआएको ४०० बिघाभन्दा बढी जमिनबाट उनीहरूलाई जबर्जस्ती उठाउन खोजेपछि ‘जोमी, जीवीका, पोरिवेश ओ वास्तुतन्त्र रक्षा कमिटी’ बनाएर जनता सङ्घर्षमा होमिएका छन् । यसैक्रममा १६ तारिखका दिन प्रहरी र कमान्डो फोर्स प्रयोगद्ले अन्धाधुन्ध गोली चलाएर एक जनाको मृत्यु र सयौँ घाइते बनाएको थियो ।
त्यहाँ ''सिङ्गुर र नन्दीग्रामलाई कहिल्यै बिर्सन्नौँ", '' हत्याको बदला लिएरै छाड्छौँ", जस्ता नारा लाग्न थालेको र आन्दोलनको प्रभाव सहरी क्षेत्रमा पनि विस्तार हुनथालेपछि ममता बनर्जी सरकारले विरोधीलाई आतङ्कित पार्न भङ्गारमा भएको प्रतिरोध आन्दोलनलाई ‘नक्सली’ घुसपैठ भनेको छ । प्रतिरोधका लागि बनाइएको कमिटीमा सबै वाम तथा प्रगतिशील समूहहरू समाविष्ट छन् । पश्चिम बङ्गाल सरकारले राज्यका विभिन्न जिल्लाप्रशासनलाई एलर्ट रहन पनि निर्देशित गरेको छ ।
आन्दोलित किसानको हत्या भएपछि गाउँबाट सहरतिर प्रवेश गरेको आन्दोलनको प्रभाव र दबाब रोक्न ममता बनर्जीले जेललाई असुरक्षित महसुस गर्दै जेलमा राखिएका माओवादी नेता तथा कार्यकर्ताहरू विरुद्ध जेलसार अभियान चलाएकी छन् । अहिले पश्चिम बङ्गालमा भाकपा (माओवादी) का १०० जनाभन्दा बढी नेता तथा कायकर्ताहरू जेलमा छन् र यसमा कमरेड दीपकलगायत जन नेता भनेर चिनिने छत्रधर महतो पनि छन् ।
खास गरेर नेताका रूपमा चिनिएका माओवादीहरूलाई अति सुरक्षित भनिएको कलकत्ताको मूल जेलमा सार्न थालिएको कुरा समाचार माध्यामहरूले जनाएका छन् ।
जेल विभागका उच्च अधिकारीको भनाइ भनेर हिन्दुस्तान टाइम्स लेख्छ : “माओवादीहरू निगरानीमा छन् र उनीहरू उच्च सुरक्षाको घेरामा छन् । उनीहरूलाई सेलहरूमा राखिएको छ । उनीहरू २४ सै घण्टा सिसिटिभीको निगरानीमा छन् । साथै हामीले जेलको सुरक्षालाई पनि दोब्बर पारेका छौँ । जेलभित्र कुनै पनि किसिमको गतिविधि अमान्य छ ।”
भिडियो फिचरview all