menu

ताजा समाचार

मोहनविक्रम-जलजला प्रकरणको अन्तर्कथा

(अलिकति सम्पादकीय टिप्पणी : 'नेपालखबर' अनलाइनले २५ मङ्सिरमा 'अलबिदा कामरेड जलजला ! यस्तो अनुभव भइरहेछ-जलजलाको मृत्युसँगै मेरो जीवनमा सधैँका लागि सूर्यास्त भएको छ' शीर्षकमा कमरेड मोहनविक्रम सिंहको एउटा संस्मरण प्रकाशित गर्यो l त्यस कालखण्डमा निकै ठूलो प्रकरण बनेको, मोहनबिक्रम सिंहलाई पार्टी कारबाहीको स्तरसम्म पुगेको 'जलजला प्रकरण' बारे आजको पुस्तालाई एकदमै कम थाहा छ l त्यति मात्र नभएर यसै सन्दर्भमा मोहनविक्रमबाट 'गंगा-कावेरी एक्सप्रेस' जन्मेको र कमरेड चैतन्यबाट त्यसको  सौन्दर्यशास्त्रीय समीक्षा भएको सन्दर्भ पनि रोचक छ l

त्यति बेला 'जलजला' को मृत्यलाई पनि सहजरूपमा लिइएको थिएन, यसबारे अनेक शंका-उपशंका र टिप्पणी भएका थिए l 'जलजला' को मृत्यसन्दर्भतर्फ अहिले नगएर त्यति बेलाका नेता कमरेड सेरसिंह अर्थात् भक्तबहादुर श्रेष्ठको  'जलजला-मोहनविक्रम प्रकरण' सम्ब
न्धी संस्मरण पाठकका लागि एउटा महत्त्वपूर्ण सामग्री हुन् सक्छ l फोटो पनि हामीले 'नेपालखबर' बाटै लिएका हौं l )

एकचोटि के घटना भयो भने (त्यसबेला चित्रबहादुर के.सी.जी पनि हुनुहुन्थ्यो) हामी बसेको कोठामा मोहनजीले इमरजेन्सी बैठक भनेर बेलुकी बोलाउनुभयो । त्यस्तो के परेछ त भनेर के.सी.जी र म उहाँको कोठामा गयौँ । दिउँसो के भएको थियो भने जलजलाको कोठामा जलजलासहित हामी बसेर नास्ता गर्यौं । त्यो नास्तामा मह पनि थियो । के.सी.जीले प्वाक्क, ''यसरी धेरै मह खाँदा यो कोठा भनेर जाउली नी मोहनजीको  सामुन्नेको कोठामा" भन्नुभएको थियो  । मोहनजीलाई लागेछ—जलजला र आफूबीचको सम्बन्ध छ भन्ने के.सी.जीलाई थाहा रहेछ । होइन, छैन भनेर सफाइ दिन बोलाउनुभएको रहेछ । के.सी.जीले “मलाई त्यो शुभशङ्कै छैन, जिस्किने बानी प्याच्च त्यसै भन्नआएछ” भनेपछि त्यो इमरजेन्सी बैठक सिद्धियो । तर, मलाई कताकता चिसो पस्यो— किन झस्केर इमरजेन्सी बैठक बोलाइयो ? तैपनि त्यस्तो त हुनु नपर्ने हो भनेर मन बुझाएँ । अनि मैले केही दिनपछि मोहनजी र जलजलाजीको कोठा हटाएर सबै एउटै घरमा बस्ने प्रस्ताव राखेँ  र त्यहीअनुसार भयो । हामीहरू सबै एउटै घरमा बस्यौँ ।

पछि मोहनजीले गोरखपुरमा डेरा खोज्नुभएछ र गोरखपुरमा पनि केही मानिस बस्नुपर्छ भन्ने प्रस्ताव राख्नुभयो । मैले यहाँ भएको डेरामा त भनेको बेलामा बहाल तिर्न सकिएको छैन, किन दुईदुई ठाउँमा डेरा राख्ने भनी  नामन्जुर गरें  । होइन, गोरखपुर नेपाल नजिक पर्छ, सम्बन्ध भइरहन्छ, राख्नैपर्छ भनेर अड्डी लिनु भएपछि उहाँको अगाडि मेरो जोर चलेन । त्यहाँ गोरखपुरमा, मोहनजी, जलजलाजी र दीपक (स्टाफ टेकनाम), उहाँहरू गोरखपुर बस्नुभयो

०००
त्यसबेला हेडक्वाटरमा म र बसन्तसिबाय कोही थिएन । जयगोविन्दजी पनि दरभङ्गामा छुट्टै डेरा लिएर बस्नुभएको थियो । निर्मलजी ग्ल्यान्ड टिबि भएकोले आराम गरेर दबाइ गर्न दार्जिलिङमा हुनुहुँथ्यो । मोहनजी पनि हुनुहुन्थेन । कागजपत्र अस्तव्यस्त भएकोले कागजपत्रहरू एकएक केलाउँदै नचाहिने फाल्ने र चाहिने फाइल गर्दै राख्न थालेँ । अकस्मात् एउटा चिठ्ठी हात पर्यो  । फाल्ने कि राख्ने भनेर त्यसलाई पढनथालें । म त आकाशबाट तल खसेझैँ भएँ । यसो त होइन होला भनेर दोहोर्याएर  पढेँ । फेरि एकएक अर्थ सम्झेर पढेँ । कुरा त हो । त्यो पत्र थियोजलजलाजीले मोहनजीलाई लेखेको पत्र । अक्षर जलजलाजीकै लेखोट हो । त्यो चिठ्ठीको सारांश थियो — “म तपाईंलाई असाध्दै माया गर्छु, तपाईंबिना बस्न सक्तिन । तर, दिदी पनि बनारसै आउने रे, दुईजना एकै ठाँउमा कसरी बस्नु” ।

 यस्तैयस्तै थियो । यो हिसाबले त पक्कै २ जनाको मायाप्रिती भई लसपससमेत भएको पक्का अर्थ लाग्थ्यो । मेरा मनमा अनेक तर्क उठे र भुवँरी खेल्न थाल्यो । अनि मलाई यस अगाडिका घटनाहरूको सम्झना भयो । पहिले केसीजीले मह खाँदा “यो कोठा भनेर त्यो कोठामा पसौली नि” भनेको, अनि इमरजेन्सी बैठक बोलाएको, ठाउँको गुफाहरू हेर्नुपर्छ, पछि गुरिल्लायुद्धलाई काम लाग्छ भनी जलजलासहित त्यो हेर्न जाँदा आठदस दिन हराएको, राती १०/११ बजेसम्म खानै नखाई राजघाट पुल घुम्न गएको, भिन्दै कोठा लिएको, म मोहनजी र जलजला मात्र हुँदा तिहारमा बनारसको बखान गरी बेलुकी हेर्न जानुपर्छ भनी आखिरमा मलाई मात्र पठाएको आदि । यी सबै कुरा तस्बिरझैँ मेरो मनमा देखापरे । अनि मलाई कस्तोकस्तो भइरह्यो । यो कुरा साथीहरूलाई भन्दा पार्टीलाई नै ठूलो धक्का लाग्छ भनी कसैलाई नभन्ने, बिस्तारैबिस्तारै जलजला र मोहनजीलाई एकै ठाँउमा बस्न नदिने कुरा मिलाउनुपर्छ भनी त्यो चिठी गुपचुपमा जन्तर बनाएर राखेँ ।
 
 त्यसको आठ-दस दिनपछि बैठक अयोध्यामा हुनेवाला थियो । निर्मलजी, आजादजी, काजी साहेब सबै बनारस आइपुग्नुभयो, त्यो कुरा कसैलाई भनिन । मौका पारेर निर्मलजीलाई त्यो कुरा फ्ल्यास नहुने कबोल गराएर भन्छु भन्नेथियो । अरू साथी अन्तैबाट अयोध्या पुगिसकेका थिए । हामी अयोध्या गयौँ । त्यहाँ केन्द्रीय समितिको बैठक भयो । बैठकको कार्यक्रम सिद्धिएपछि आलोचना-आत्मालोचनाको प्रचलन हुन्छ । यसै समयमा मोहन वैद्यजीले मोहनजीको आलोचनाको समयमा प्युठानका सिद्धिलाल जी.सी.ले भनेको भनेर मोहनजी र जलजलाको सम्बन्ध छ भन्नुभयो । मोहनबिक्रमले उहाँलाई त्यस्तो लाग्नसक्छ तर, होइन भनेर इन्कार गर्नुभयो । काजी साहेब त ''त्यो भन्नेलाई कारबाही गर्नुपर्छ" भनेर समेत उफ्रिनुभयो । मोहनजीले नै इन्कार गरेपछि सबैले यो हुनसक्तैन, उहाँलाई बुझनुपर्छ र भ्रम परेको छ भने सम्झाउनुपर्छ भनेर बैठक सकियो । म केही बोलिन र हो भनेर चिठी पेस गर्न सकिन । त्यो मेरो कमजोरी हो कि  के हो मलाई केही थाहा भएन ।  चिठी पेस गर्नासाथ विष्फोट हुन्छ, पार्टीमा आघात पर्छ, बरु कसैले थाहा नपाई सल्टाउन सकिन्छ भनेर त्यो नदेखाएको हो ।
 
 मोहनजी र जलजलाजी लखनऊतिर लाग्नुभयो । म, जयगोविन्द साह, निर्मल लामा बनारसतिर लाग्यौँ । मैले जयगोविन्दजीले पनि थाहा नपाउने गरी लामाजीलाई भने । लामाजीलाई एकदम बाचाबन्धन बाँधेर त्यो कुरा कसैलाई नभन्ने र जस्तो मैले भन्छु त्यसै गर्ने भनेर मन्जुरी गराएँ । मैले भने मोहनजीको र जलजलाजीको सम्बन्ध यथार्थ हो । “यी हेर्नुस्, यो चिठी, यसले के भन्छ” भनेर चिठ्ठी दिएँ । उहाँले हेर्नुभयो र भन्नुभयो, हो त रहेछ । “तपाईंले मोहनजीलाई एउटा गोप्य चिठ्ठी लेखेर कसैले थाहा नपाएको झैं खामबन्दी गर्नुस् र मैले पनि त्यसभित्र के छ थाहा नपाए झैँ गर्छु” भनेँ ।  जसो भनेको लामाजीले त्यसै गर्नुभयो । चिठीमा के लेखिएको थियो भने तपाईं र जलजलाको बारेमा साथीहरूलाई धेरै भ्रम भएछ, त्यो भ्रम निवारण गर्न तपाईं र जलजलाजी बेग्लै बस्नुपर्छ, त्यसैले जलजलालाई अन्तै पठाउनुस् भन्ने थियो । उहाँ दार्जिलिङतिर जानुभयो । त्यो चिठी मैले उहाँलाई दिएँ । अहँ, त्यो चिठ्ठीले उहाँलाई असर परेन । झन् साथसाथै लिएर हिड्न मात्र थाल्नुभएन, बनारसमा स्थायी बसाउन छात्रसङ्घको चुनाउमा प्रेसिडेन्टमा नै उठाउनुभयो । त्यो चुनाउमा हारेपछि पनि दुवैजना गोरखपुरमा बस्न थाल्नुभयो । निर्मल लामाजीको चिठीको उहाँलाई केही असर परेन । त्यो चिठीका बारेमा कसैलाई पनि भनेका थिएनौँ ।

    गोरखपुरको जमुनियाँ बाग भन्ने ठाउँमा बस्नुभएको थियो । त्यो भुइँघरको अगाडिपट्टि बरन्डा र बरन्डाको ढोका छिरेपछि पूर्वपट्टी सानो अर्को टहरो र पश्चिमपपट्टी त्यहीं  जोडिएको २ कोठा भएको घर थियो ।  ती कोठाहरूमा जाने बाहिरैबाट भिन्नाभिन्नै ढोका थिए । पछि त्यही घरमा २०४२ सालसम्म हाम्रो हेडक्वार्टर रहेको थियो । त्यही घरमा एउटा कोठामा जलजला र मोहनजी, अर्को कोठामा सिराहा गोल बजारको, दीपक ( सूर्यमान) बनारस पढ्ने पनि र स्टाफको काम पनि गर्थे, बस्नुभएको थियो । अर्को हेडक्वार्टर बनारसमा मेरो जिम्मामा थियो, सबै सम्बन्धहरू त्यहीँबाट कायम हुन्थ्यो ।

दीपकजीलाई एउटा ठेलागाडा लिइदिनु भएको रहेछ । त्यही ठेलागाडामा राखेर दिनभरि तरकारीहरू बजार घुमाएर बेच्ने काम गराउनुभएको रहेछ । २/३  महिनापछि एक दिन त्यही दीपक (सूर्यमान) बनारस आउनुभयो । जयगोविन्दजीलाई पनि मोहनजी र जलजलाको सम्बन्धबारे घुइरोघुइरो शङ्का लागेको रहेछ । त्यसैले दीपक, मोहनजी र जलजलासँग धेरै दिन सँगै बसेको हुनाले केही घटना भएको हुनुपर्छ भनेर उनीसँग केही थाहा पाउने उद्देश्यले निकै सोधखोज गरी खोतल्ने प्रयास गर्नुभएछ । तर, पटक्कै सफलता नपाएपछि मलाई आएर भन्नुभयो । जलजला र मोहनबारे कुरा लिन प्रयास गरेँ, केही भन्न खोजेझैं  गर्ने, तर नसक्ने स्थितिको अनुभव गरेँ । अवश्य केही त छ, लौ ! तपाईंले प्रयास गर्नुपर्यो  भन्नुभयो । अनि मैले उहाँलाई भनेँ —“दीपकजीलाई मनोविज्ञानको असर पारेर म कुरा लिन्छु । तपाईंले पनि त्यही ढङ्गले भनेर मकहाँ भेट्न पठाउनुस् ।” उहाँले गएर हेडक्वार्टर इञ्चार्जले कमरेडलाई भेटन खोज्नुभएको छ भनेर भन्नुभएछ । म चाहिँ किताबहरू मिलाएर, वरिपरि राखेर, निकै गम्भीर अध्ययन गरिरहेको जस्तो देखाउने वतावरण पारेर ३ तलामाथिको आफ्नो कोठामा बसेँ । रातको ८/९ जति बजिसकेको छ ।

दीपकजी मेरो कोठामा सुत्त पस्नुभयो । अनि मैले, अहो ! कामरेड तपाईं आउनुभएको पनि दुईतीन घण्टाजति अघि थाहा पाएको थिएँ, ल बस्नुस् भनेर बसाएँ । मोहनजी बाहिर गएर आएपछि के के भयो, सबै रिपोर्ट दिनुहुन्छ, निर्मल लामाजी, जयगोविन्द पनि त्यसै गर्नुहुन्छ । यो नियमै हो, दुईतीन महिना गोरखपुर बसेर बल्ल आज आउनुभयो । तपाईंका जीवनमा घटेका घटनाहरू के के छन् ? मोहनजी, जलजलाजीहरू हुनुहुन्छ, बसाइ कस्तो छ, बाहिरबाट कत्तिको सम्बन्ध छ, तपाईँलाई के लागेको छ भनेर सोधेँ । केही छैन, सबै ठीक छ भनेर अलि अनकनाएर भनेपछि अवश्य मनमा केही खुल्दुली त छ भन्ने ठानेर मैले भनें—“हेर्नुस् हामी कम्युनिस्टहरू इमान्दार हुनुपर्छ, कुनै कुरा पनि लुकाउनु हुँदैन । तपाईँमा केही भनौँ कि नभनौँ भन्ने भावना मैले देखेँ, ल खुलस्त भन्नुस्”।
 
 यसो भनेपछि, टाउको कन्याउँदै भन्नुभयो—“पहिले त कस्तोकस्तो लागेको थियो, तर पछि केहीजस्तो लागेन, अरू केही छैन ।” “के त्यस्तो जिब्रो चपाएको खुलस्त भन्नुहोस् न,  के कुरा हो त्यस्तो ?” भनेपछि अनि खुलस्त भन्नुभयो—“मोहनजी र जलजला दिदीकाबीच अवैध सम्बन्ध छ, मेरै आँखाले देखेको । त्यो देखेपछि मलाई कस्तोकस्तो लाग्यो र अनि मोहनजीलाई सबै कुरा भनेँ ।  अनि उहाँले ‘मेरो र उनको प्रेम सम्बन्ध छ, त्यो केही छैन, माओले त चारवटी ल्याउनुभयो’, भन्नुभएपछि म ढुक्क भएँ ।” कुरा यत्ति हो भनेर फेरि उहाँले के यो कुरा ठीक हो त भनेर प्रश्न गर्नुभयो । यो ठीक होइन, माओको सन्दर्भमा पनि यो कुरा मिल्दैन भनेर स्पष्ट पारिदिएँ ।

अब यो कुरा यहाँदेखि बाहिर कसैलाई नभन्ने, भनेमा अनुशासनको कारबाही हुने, हामीले भनेका ठाँउमा मात्र भन्ने भनेर उहाँलाई बिदा गरेँ । त्यसपछि जयगोविन्दजी आउनुभयो । मैले सबै कुरा जस्ताको तस्तै उहाँलाई भनेँ । अब के गर्ने भनेर सल्लाहा गर्यो र तुरुन्त लामाजीलाई दार्जलिङबाट बोलाउने निर्णय गर्यौं । भोलिपल्ट चित्रबहादुर केसीजी पनि आइपुग्नुभयो र उहाँलाई पनि सबै बेलिविस्तार लगायौँ । दीपकजीसँग पनि बुझ्नुस् भनेपछि केसीजीले दीपकसँग पनि छुट्टै भेट गर्नुभयो र “यो खेमेको छोराले धोकादियो” भनेर झोक्किनुभयो । मैले पहिले चिठी प्रकरणदेखिको सबै कुरा बताएँ । सकेसम्म हामीले उहाँलाई बचाउने प्रयत्न गर्यौं,  तर उहाँले छोराछोरी भएकी आफ्नी श्रीमती हुँदाहुदै एउटी क्रान्तिकारी महिलालाई विर्गानुभयो, गुलछर्रा उडाउनुभयो, पार्टीलाई धोका दिनुभयो, ढाँट्नुभयो भन्ने भयो  र यो प्रवृत्तिलाई ढाकछोप गर्नुहुन्न भन्ने निष्कर्षमा पुग्यौँ । अनि सल्लाहले सबभन्दा पहिले लामाजीलाई खबर गर्यों । पर्सिपल्ट लामाजी दार्जलिङबाट आइपुग्नुभयो । सबै घटना-परिघटना उहाँलाई सुनाइयो र केसीजी, लामाजी र जयगोविन्दजी त्यो यथार्थ बुझ्न गोरखपुर जानुभयो ।
 
उहाँहरूको भनाइअनुसार पहिले जलजलाजीसँग सम्बन्ध भएको कुरा गर्दा इन्कार गर्नुभएछ । अनि जलजलाको पत्र र दीपकको कुरा सम्झाएपछि स्वीकार्नु भयो रे । त्यसको केही दिनपछि केन्द्रीय समितिको इमरजेन्सी बैठक बोलाइयो । बैठकमा उहाँले सहर्ष स्वीकार गर्नुभयो । त्यसबेला थाहा नपाएका कमरेडहरूलाई अकस्मात् त्यस्तो कुरा सुन्दा छाँगाबाट खसेजस्तै हुनुभयो । कमरेड ऋषि देवकोटा र चित्रबहादुर आलेले त आँखाबाट आसुँ नै खसाल्नुभयो ।

 उहाँलाई कारबाहीस्वरूप उहाँकै प्रस्तावअनुसार दुई वर्षको निलम्बनमा राखियो भने जलजलालाई एक बर्ष । यो कुरा क्षेत्रीय ब्युरोसम्म र जिल्लामा सेक्रेटरीसम्म लैजाने निर्णय गरियो । उहाँकै प्रस्तावअनुसार कमरेड निर्मल लामा महामन्त्री एकमतले बन्नुभयो । त्यो कारबाहीलाई उहाँले मद्रास, केरलामा बिताउने अठोट लिएर बिदा हुनुभयो । त्यसै परिवेशमा उहाँले ‘गङ्गा कावेरी एक्सप्रेस’ लामो कविता लेख्नुभएको हो ।

(भक्तबहादुर श्रेष्ठ स्मृतिग्रन्थबाट )

भिडियो फिचरview all