menu

ताजा समाचार

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असली अनुहार

मार्क्सवाद-लेनिनवाद-माओवादबाट धेरै पर पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेर ‘लाल झण्डाको विरुद्ध लाल झण्डा’ को भूमिका पूरा गर्दै साम्राज्यवाद र भारतीय विस्तारवादका सच्चा सेवकका रूपमा आफूलाई परिचित गराएका छन्  । विडम्बनाको विषय के छ भने अझै उनले पार्टीका नामसित माओवाद जोडेका छन् र आम जनता तथा कार्यकर्तालाई भ्रम दिइरहेका छन् । आश्चर्यको विषय चाहिँ के छ भने, माओवादी आन्दोलनलाई प्रतिक्रियावादीहरूले भन्दा बढी नोक्सान पुर्याउने प्रचण्डले नै पार्टीको नाम माओवादी केन्द्र राखेका  छन् ।
 
भासमा जाकिएर रसातलमा पुगेका प्रचण्ड अझै पनि आफू सगरमाथाको टाउकोमा अवस्थित छु भनेझैँ गरी आफूलाई प्रस्तुत गरिरहेका छन् । उनी र उनको पार्टीले माओ र माओदिवसको कुरा गर्दा प्रचण्ड माओका नाममा के षड्यन्त्र गर्दैछन् भनेर चिन्तित हुनुपर्ने स्थिति छ, किनभने उनको वर्ग फेरिएको छ र वर्गसखाहरू फेरिएका छन् । उदाहरणका लागि भारतमा जनयुद्ध लडिरहेका माऔवादी कमरेडहरूका विरुद्ध उनले सोनिया गान्धीलाई लेखेको चिठीलाई लिन सकिन्छ ।  यसबाट उनको वर्ग पक्षधरता कता पट्टी रहेछ भन्ने प्रस्ट हुन्छ । वास्तवमा विश्वका माओवादीहरूले  प्रचण्डले नेपालको माओवादी आन्दोलनप्रति मात्र नभएर विश्वकम्युनिस्ट आन्दोलनप्रति नै गद्दारी गरेको भनेर जुन निष्कर्ष निकालेका छन्, यो एकदमै सही र वैज्ञानिक छ ।
 
भारतीय प्रतिक्रियावादले ‘अपरेसन ग्रिन हन्ट’ ले नपुगेर स्थानीय तहमा प्रहरी र गुन्डाहरूको टिम तयार पारी ‘सलवा जुडुम’ नाम दिएर हत्या, लुट र बलात्कारको आतङ्ककारी अभियान चलायो । यसको चौतर्फी विरोध भयो र जनताले पनि ठाउँठाउँमा प्रतिरोध अभियान चलाए । यसै क्रममा माओवादीको कमान्डमा  छत्तिसगढमा मे २५, २०१३ मा एउटा एम्बुस कारबाही भयो । काङ्ग्रेस आइका स्थानीय नेताहरूसहित उच्चस्तरका नेता पूर्वमन्त्रीसमेत यसमा परे । सिङ्गो भारतीय प्रतिक्रियावाद हल्लियो ।

सो घटनापछि त्यो क्षेत्रका केन्द्रीय नेता तथा प्रवक्ता गुडसा उसेन्डीले वक्तव्यमार्फत् घटनालाई यसरी प्रस्ट पारे :

''यो घटनाबाट हामीले ‘सलवा जुडुम’ का गुन्डा तथा सरकारी सशस्त्र फोर्सद्वारा गरिएको हजारौँ आदिवासी जनताको हत्याको बदला लिएका छौँ । हामीले सयौँ आमाहरू तथा दिदी–बहिनीहरूमाथि भएको अपमान,  हत्या, र बलात्कारको बदला लिएका छौँ ।"

सत्ताधारी काङ्ग्रेसका  केन्द्रीय तथा स्थानीय नेताहरू परेको यो घटनामा सूर्यबहादुर थापा, सुशिल कोइरालाहरूले दुखः प्रकट गर्नु स्वाभाविक थियो । तर सबैभन्दा अगाडि सरेर प्रचण्डले “ठूलो पीडा” भएको भनेर दलाली गरेर सोनिया गान्धीलाई जसरी समवेदना संदेश पठाए,  यसले आश्चर्यमा पार्नु स्वाभाविक छ ।  नेपाली सञ्चारमाध्यम तथा मिडिया र कार्यकर्तासमेतलाई थाहा नदिएको  समवेदना सन्देश माओवादी आनदोलनका लागि कलङ्क नै थियो/ हो । भारतीय माध्यमहरूले बाहिर ल्याएको यो ‘समवेदना सन्देश’ ले प्रचण्डको वर्ग पक्षधरता र मित्रतालाई राम्रोसित उजागर गर्छ । तल त्यसको पूर्ण पाठ दिइएको छ :

-----------------------------------------------------------------
श्रीमती सोनिया गान्धी
अध्यक्ष, भारतीय राष्ट्रिय काङ्ग्रेस
नयाँ दिल्ली, भारत
मदाम गान्धी
म र मेरो पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), हालै भारतको छत्तीसगढमा भारतीय माओवादीद्वारा गरिएको तपाईँको पार्टी–भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता तथा कार्यकर्ताको हत्याले हामीलाई हृदयदेखि नै मर्माहत पारेको  छ र दुखित तुल्याएको छ ।
यो नृशंस आक्रमणको घटना, जसमा भारतीय राष्ट्रिय काङ्ग्रेसका २७ जनाको हत्या भएको छ र तपाईँको पार्टीका नेता भिसी सुक्लासहित ५२ जना घाइने भएका छन्, यसप्रति म र हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ र यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस घटनामा हामी तपाईँको साथमा रहेको कुरा अवगत गराउँछौँ । हामीलाई के विश्वास छ भने कुनै पनि समस्यालाई हल गर्न सकिन्छ, खोज्नुपर्छ र यो शान्तिपूर्ण किसिमले गर्न सकिन्छ, यो नै प्रजातन्त्रको सुन्दरता हो । म र खासगरेर मेरो पार्टीको तर्फबाट हत्या गरिएकाहरूको परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु र आक्रमणमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
म के कुरामा आशावादी छु भने तपाईँको पार्टी यस घटनाले उत्पन्न गरेको पीडाबाट मुक्त हुनेछ र भारतीय जनताको सुखसमृद्धिका लागि आफूलाई समर्पित गर्नेछ ।

न्यानो अभिवादनका  साथ
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
युसिपिएन–माओइस्ट
काठमाडौँ, नेपाल
मे २९, २०१३


भिडियो फिचरview all