menu

ताजा समाचार

फूटको शृङ्खला र क्रान्तिकारी पुनर्गठन

ऋषिराज बराल

पार्टी एकता र फूट पनि मौसमी हाटबजारजस्तो बनेको छ । अमुक पार्टीमा ‘विद्रोह, अमुक पार्टीमा फूट, अमुक पार्टीको अमुक पार्टीसित एकता जस्ता रङ्गीविरङ्गी शब्दहरूले सामाजिक सञ्जाल भरिएको पाइन्छ ।   किन फूट भयो ? कसको लहडमा फूट भयो, कसलाई नेता बनाउन फूट भयो ? र किन फेरि त्यही स्थितिमा ‘एकता’ भयो भन्ने कुराको उत्तरको कतै छेउटुप्पो पाइँदैन  । फूटमा पनि  लामो अन्तर्सङ्घर्ष चल्दैन । अनि  केका लागि एकता गर्ने, कस्तो सङ्ठन बनाउने ?  यी सन्दर्भहरूसित  वैचारिक राजनीतिक पक्ष, कार्यदिशा कार्ययोजना र नेतृत्व सबै गाँसिएर आउँछन् । यस विषयमा चाहिँ खासै बहस हुँदैन । नेताको कामकारबाही र क्षमतामाथि अलिकति प्रश्न उठायो भने नेताले आफ्नो कुर्सी खतरामा ठानेर कार्यकर्तामाथि डन्डा बर्साउने र  कार्यकर्तालाई पनि केही कुरामा चित्त बुझेन भने वरिपरिका दुईचार जनाको हाहाहुहु टोली बनाएर हिँडिहाल्ने गरेको पाइन्छ । वैचारिक पक्षले भन्दा ‘म कहाँ’ र ‘मलाई के’ भन्ने कुरा तलदेखि माथिसम्म प्रभावी बनेको देखिन्छ । पार्टी पार्टीजस्तो  नभएर गँजेडीहरूको अड्डा बनेको देखिन्छ ।  न विगतको समीक्षा हुन्छ, न वर्तमानको विश्लेषण र संश्लेषण नै । सबै तदर्थमा चलेका हुन्छन्  । समीक्षा र आत्मालोचनाको पाटो भएर अघि बढ्न कोही तयार हुँदैनन् । त्यसपछि रातारात एकता अनि रातारात फूटका शृङ्खलाहरू चल्न थाल्छन्  । 

नेपालमा  कम्युनिस्ट नाम टाँसेका नव-प्रतिक्रियावादी, संशोधनवादी र क्रान्तिकारी प्रवृत्ति बोकेका तीन थरी पार्टीहरू छन् । नेपाली समाजमा दस बर्से महान् जनयुद्धको विरासतसित गाँसिएका र नेपाली समाजको अहिलेको विशिष्ट परिस्थितिमा मार्क्सवाद–लेनिनवाद-माओवादलाई  पथप्रदर्शक सिद्धान्त मानेर क्रान्ति सम्पन्न गर्न अगाडि सरेकाहरूको  राम्रो उपस्थिति भए पनि यसले सङ्गठित रूपमा गति र दिशा लिन सकेको  स्थिति छैन ।  क्रान्तिकारी भनिएका पार्टीहरूभित्र थरीथरीका स्कुलिङका उत्पादन छन् । विभिन्न मुहानबाट आएर आसन जमाएकाहरूको विभिन्न मानसिकताको प्रदूषणले क्रान्तिकारी भनिएका समूहहरू प्रदूषित छन् ।  कतिपय कार्यकर्ताहरू आफ्नो पार्टीको भताभुङ्ग र लथालिङ्ग स्थितिप्रति चिन्तित र गम्भीर पनि देखिन्छन्, ‘पार्टी बिग्रियो” भन्ने  छटपटी पाइन्छ तिनमा । तर, उनीहरूले समस्याको जड बुझ्न सकेका हुँदैनन् र अथवा बुझेर पनि तिनलाई हल गर्ने ‘साहस का साथ पाइला चाल्न सकेको पाइँदैन । समस्या विचारमा हो कि सङ्गठन परिचालनमा, अथवा नेतृत्वमा ? भन्ने कुरामा  प्रस्ट हुनु आवश्यक हुन्छ । समस्या कार्यकर्तामा भन्दा पनि नेतृत्वपङ्क्तिमा छ भनेर बुझ्न नसक्नु नै अहिलेको प्रमुख  समस्या बनेको छ  । 

जनयुद्धको विसर्जन गरेर  माओवादी पार्टी ‘शान्तिप्रक्रिया’ मा आएपछि थुप्रै फोहोरमैला भित्रिए ।  आफ्नो अनुकूलता र स्वार्थलाई ध्यान दिँदै नेतृत्वमा रहेकाहरूले  एकताका नाममा थरीथरीकालाई   मिसाउँदै गए । पार्टीमा फूट र विभाजनको स्थिति भएपछि त झन् चारै ढोका खुल्दा रहेछन् र सबै ढोकाबाट ह्वाह्र्वार्ती पस्तो रहेछ, पसाइँदो रहेछ प्रदूषित हावा । अनि पार्टीमा वैचारिक र भौतिक  ढसमस्सताका साथ  प्रदूषित हावाहरूकै  राइँदाइँ चल्दो रहेछ । जनयुद्धकालका हत्याराहरू नै भए पनि ती रातारात  ‘श्रद्धेय कमरेड’ मा फेरिँदा रहेछन्  । अनि पार्टीमा विस्तारै क्रान्तिकारीहरू किनारा लाग्ने स्थिति बन्दो रहेछ । यो हामीले हेर्दै र भोग्दै आएको   यथार्थ  हो । 

प्रचण्डसित विद्रोह गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी-माओवादी, अनि एकतामा केही सङ्ख्या थपेर बनेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र अहिले एकताका नाममा केही व्यक्ति थप र घट भएर बनेको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको पार्टी यात्रा हेर्दा क्रमिक रूपमा यो पार्टी वैचारिक स्खलन र साङ्गठनिक विसर्जनको दिशामा गएको कुरा प्रस्ट हुन्छ । थपिनेले आफ्नो विरासत लिएर आउँछ नै । यसका पछाडि एकताका नाममा गरिने गरिएको सम्झौतावादी प्रवृत्ति र  नेताहरूमा निहित हामीले जे गरे पनि हुन्छ, आफू सुरक्षित भए पुग्छ भन्ने  केन्द्रीयतावादी-हैकमवादी प्रवृत्तिले काम गरेको छ । क्रान्तिकारी  भनिएकाहरूबीच   यताका दुई वर्षभित्र एकता र फूटका नाममा जे-जस्तो रमाइलो मेला देखियो, उदेक लाग्दो स्थिति उत्पन्न हुनु स्वाभाविक छ । तर, नेतृत्व तहमा रहेकाहरूले जिम्मेवारी बोध  गरेर आत्मसमीक्षा गर्नु आवश्यक ठान्दा रहेनछन्  । यो हाम्रो आन्दोलनको  विडम्बनात्मक  स्थिति  हो । 

यथार्थतः जबसम्म मिलेरावादी प्रवृत्ति र जातीयतावादी अतिवादी प्रवृत्तिहरू पार्टीहरूमा विद्यमान रहन्छन्, अझ माथिल्लो तहमै हाबी हुन्छन्, खास पार्टीले मालेमा, नयाँ जनवादी क्रान्ति, सशस्त्र सङ्घर्ष र वैज्ञानिक समाजवाद जे -जे भने पनि ती पार्टीले क्रान्तिकारी दिशा र गति लिन सक्तैनन् । ती गोलचक्करमै रहन्छन्, अथवा बैठकदेखि बैठकसम्म र विमर्शदेखि विमर्शसम्म सीमित रहन्छन् । यसको अन्तिम परिणति भनेको विघटन र विसर्जन हुन्छ । संशोधनवादले मिलेरावादी प्रवृत्ति बोकेकालाई सदैव उत्साहित र प्रोत्साहित गरिरहन्छ, आकासपाताल जोडेर नजिक ल्याउँन, आफ्नो बनाउँन खोजिरहन्छ, लोभ र प्रलोभनद्वारा आकर्षित गरिरहन्छ ।“‘जनमत सङ्ग्रह’ द्वारा वैज्ञानिक समाजवाद ल्याउने” कुरामा सहीछाप ठोक्नेहरू सोही विरासत बोकेर आउने कुरा अचम्मको कुरा भएन, “हामीले गलत सोचेछौँ र गलत गरेछौँ” भनेर उहाँहरूले भनेको कतै सुनिएन र पढ्न पनि पाइएको छैन  । त्यसै गरी क्रान्तिकारी पार्टीभित्र छिद्र खोज्दै साम्राज्यवादले  जातीयतावादी अतिवादलाई मलजल प्रदान गर्छ, आवेग र 'पहिचानवाद' को राजनीतिमार्फत क्रान्तिकारी धारलाई मिहिन पाराले सिथिल पारेर  विर्सजन र भद्रगोलको स्थितिमा पुर्याउँछ  । हामीले यसलाई व्यवहारमा देखिसकेका छौँ । गलत प्रवृत्तिहरूलाई साथ लिएर र फोहोरमैलासित सम्झौता गरेर भएका पार्टी एकताहरू दिगो र कामकाजी हुन सक्तैनन्, भएका छैनन् । अहिले मोहन बैद्यले नेतृत्व गरेको समूहमा भएको  फूटको  शृङ्खलामा निहित यथार्थको  यो पनि  एउटा  पाटो  हो । 

 पार्टीलाई जीवन्त बनाउने सही उपाय भनेको फोहोरमैलाको पहिचान र सरसफाइ नै हो । पार्टीलाई सही दिशातिर लैजाने प्रारम्भिक पाइला भनेको वैचारिक र सङ्गठनात्मक शुद्धीकरण नै हो । डुङ्डुङ्ती गन्हाउने फोहोरमाथि अत्तर छरेर हुनेवाला छैन । यसले धान्नेवाला छैन,  तलदेखि माथिसम्म दुर्गन्धित छ भने सानोतिनो सरसफाइले पनि पुग्ने स्थिति हुँदैन । समस्या माथि छन्, तल डण्डा बर्साउने प्रवृत्तिले निम्त्याउने भनेको विभाजन र विसर्जन नै हो ।  वैचारिक शुद्धीकरण र  सङ्गठनात्मक शुद्धीकरण एकअर्काका पुरक हुन् ।

प्रचण्डसित हुँदाको समयमा पालुङ्टार विस्तारित भेलाअघि कमरेड किरणले ‘अन्नपूर्ण’ दैनिकमा  “म पनि फस्ट म्यान भएर पार्टी हाँक्न सक्छु”  भन्ने भावको अन्तर्वार्ता दिनुभएको थियो । प्रचण्डसितको विद्रोहपछिको समग्र स्थितिको अध्ययन गर्दा माओवादी आन्दोलनको नेतृत्वमा रहेका भ्रष्टहरूका  बीचमा  कमरेड किरण वैचारिक तहमा आधारभूत रूपमा  सही  पात्र   हुनुहुन्छ  । लेख्नेपढ्ने  कुरामा पनि वहाँ  कुशल हुनुहुन्छ  । तर, यति मात्रले पार्टी हाँक्ने र कुशल नेतृत्व दिने कुरा नहुँदो रहेछ । पार्टीमा  मूल नेतृत्वको सन्दर्भमा वहाँ  असफल भएको  कुरा सही हो । कमरेड मोहन बैद्यभित्र नेतृत्व कौशलको अभाव र गतिशीलताको समस्या रहेछ भनेर व्यवहारद्वारा साबित भएको यथार्थ हो ।  रुटिनबद्धता र अनुभववादले मात्रै पार्टी किन चल्दो हो र ! यो आत्मबोध र आत्मसमीक्षाको विषय हो । अहिले माओवादी आन्दोलन टुटफूट र विभाजनका साथै गम्भीर सङ्कट र विसर्जनको अवस्थामा पुग्नुका पछाडि मूल नेतृत्वसहित माथिल्लो तहको नेतृत्वदायी टिमभित्ररहेको समस्या नै प्रमुख कारक बनेको छ । 

एकताका नाममा पात्रहरू भित्रिनु  भनेको व्यक्ति मात्र  होइन, प्रवृत्ति पनि  भित्रिनु हो । नेकपा-माओवादीबाट विप्लव जत्था बाहिरिएपछि त्यहाँ माओवाद विरोधी, दसबर्से जनयुद्ध विरोधी, चुनाववादी र चरम जातीयतावादी एउटा गजबको जमात योजनाबद्ध किसिमले भित्रियो/भित्र्याइयो । हिजो जनयुद्धको समयमा विद्यार्थी नेता विपिन भण्डारी पक्राउ गराउने र काठमाडौँ  जिल्ला पार्टीका कमरेडहरू पक्राउ गराउने भनेर भौतिक कारबाहीको सूचीमा परेका व्यक्ति पोलिट ब्युरो ‘कमरेड’ बनेर पार्टीमा  भित्रिँदा त्यतिबेर पक्राउ पर्ने  कमरेडलाई कस्तो पीडा भयो होला ?  यथार्थतः यताका दिनमा भएका कतिपय यस्तै  एकता पीडाका माध्यम बनेका छन् । एकताका नाममा हुने यस्ता सन्दर्भहरूले विस्तारै पार्टीलाई वैचारिक र साङ्गठनिक विचलन र पतनको दिशामा प्रवृत्त गराउँछन् । तर बैद्य समूहले यसको समीक्षा गर्नु आवश्यक ठानेन । पछिल्लो समयमा यो यति सारो अर्थवादी भयो कि यसले मानव तस्करका रूपमा परिचित पात्रको संरक्षणमा सिङ्गो पार्टी पङ्क्तिलाई होम्ने प्रयास  गर्यो  ।  
  
संसोधनवादीहरू अनेक भ्रम दिइरहेका छन् । समाजवादी केन्द्र’ के-के केन्द्र बनाउने नाममा  कम्युनिस्ट आन्दोलनलाई विसर्जनमा पुर्याउने  खतरनाक  योजनामा तल्लिन छन् र साम्राज्यवादीहरू इन्डोनेसियाको जस्तो नभएर घुमाउरो बाटो लिइरहेका छन्, संसदबाटै सबै कुरा भ्याउन खोजिरहेका छन् ।    अहिले क्रान्तिकारीहरूबीच  वैचारिक र राजनीतिक एकताका साथ  दरिलो  सङ्घर्ष-मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता थियो र छ ।    ‘फेबिकोल’, त्यो पनि नक्कली फेबिकोलले दुईचार दिन धान्ला, फूट र विघटनको इतिहास टर्न सक्ने स्थिति छैन । 

पछिल्लो समयमा सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको नेकपा (मशाल)  किरणको नेतृत्वमा रहेको पार्टीमा मिसिन आइपुगेपछि  र महाधिवेशन अनिश्चित जस्तो हुन थालेपछि नेकपा (बहुमत) समूहभित्र छटपटी बढ्न थालेको कुरा उहाँहरूका बोली र व्यवहारबाट थाहा पाउन सकिन्थ्यो । तर पनि वहाँहरूले एउटा कोर्स पूरा गर्नु सही हुन्थ्यो । एउटा खास दस्ताबेजमा सहमति भएपछि त्यसै अनुसार जानुपर्नेमा  केटौले पाराले हिजो विप्लवले अँगालेकै शैलीमा नेकपा (बहुमत) भित्रको ठूलो टिम बीचैमा हिँड्नुलाई राजनीतिक अधैर्य र इमानदारीको अभाव भन्नुपर्ने हुन्छ । सरसरती हेर्दा नेकपा (बहुमत) नामको समूह नेतृत्वविहिन समूहजस्तो लाग्छ, धर्मेन्द्र कमरेडमै वैचारिक–राजनीतिक जटिल समस्याहरू छन् भन्ने कुरा उहाँको  लेखाइ र बुझाइबाट थाहा हुन्छ ।  नेतृत्त्व भनेको  खास  पात्रको भौतिक उपस्थिति मात्र होइन,    मूलत: विचारको नेतृत्त्व हो   । वैचारिक र राजनीतिक पक्षमा गलत बुझाइ र क्रान्तिको दिशाबारे प्रस्ट नभएको यस्तो समूहको आयुबारे विश्वस्त हुन गारो हुन्छ । 

 वास्तवमा जसरी, जुन प्रक्रिया र पद्धतिमा नेकपा (बहुमत) नामको समूह र  नेकपा ( क्रान्तिकारी माओवादी) बीच एकता भएको थियो फूटको बिउ पनि त्यसैमा थियो । यसको जिम्मा मूलतः पूर्व बैद्य समूहले लिनु र आत्मसमीक्षा गर्नुको साटो नेकपा (बहुमत) माथि दोष थोपर्नुको अर्थ छैन । सँगै बस्ता महान् कमरेड, भोलिपल्ट रातारात गद्दार र ‘भगौडा 'साम्राज्यवादको एजेन्ट'   हुँनै स्थिति बन्दैन । हाम्रो आन्दोलन यस्ता जार्गनले खुबै भरिएको छ-यो  हाम्रो आन्दोलनको  संस्कृति नै बनेको छ - यो विकृतिको उदाहरण हो ।

रहर र लहडमा अलग्गिएका सानासाना टुक्राटाक्रीबारे टिप्पणी गर्नुको खासै अर्थ र सान्दर्भिकता छ जस्तो लाग्दैन । अब  नेकपा (बहुमत) नामको समूह कुन बाटोमा हिँड्छ, बुझ्न केही समय हेर्नैपर्ने हुन्छ । पछिल्लो स्थिति हेर्दा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल’भनिने समूह  पनि वैचारिक-राजनीतिक तथा साङ्गठनिक पक्षमा गम्भीर सङ्कटबाट गुज्रिरहेको कुरामा कुनै शङ्का छैन । सङ्कट पर्यो  कि जे-जस्ता भेटे पनि दुईचार जना भित्र्याउने प्रवृत्तिले पार्टी,  पार्टीजस्तो नभएर थकाइ मार्ने  चौतारी मात्र बन्छ।  अहिले पनि ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल’भनिने पार्टीको   मूल नेतृत्व मोहन बैद्यको वरिपरि अर्थवादी, अवसरवादी र स्वार्थी प्रवृत्तिका जे-जस्ता मान्छेहरूको जमघट छ, स्थिति हेर्दा सो समूह अझै चोइटिँदै र अन्ततः विसर्जनमा जाने प्रबल सम्भावना छ । मोहन बैद्यले नेतृत्त्व गरेको राजनीतिक समूहमा उत्तराधिकारीको मात्र  होइन , प्रवक्ताको पनि समस्या रहेछ भन्ने कुरा पछिल्लो स्थितिले दर्साउँछ !

माओवादी आन्दोलनलाई विसर्जनबाट कसरी जोगाउने भन्ने कुरा गम्भीर समस्याको विषय बनेको छ । दुईचार जना    थपेर अहिलेको सङ्कट समाधान हुने स्थिति छैन र  सधैं आत्मगत स्थितिको रटान रटेर भ्रम  दिने आवस्था पनि हुँदैन । यसका  लागि दृढ ईच्छाशक्ति र सचेतन प्रयासको आवश्यकता पर्छ  ।   पार्टीभित्र उपभोक्तावाद हाबी भएपछि आउनेजाने क्रम चलिरहन्छ । वास्तवमा अहिलेको प्रश्न भनेको  कुन स्कुलिङमा ढालिएर अघि बढ्ने भन्ने प्रश्न हो । अहिले एकतामा मिसिएको सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको समूहभित्र पनि अधिकांश पात्रहरू कम्युनिस्ट आन्दोलनमा अझ माओवादी आन्दोलनका सन्दर्भमा त झन्  परिचित पात्रहरू होइनन्,रामसिंह- परि थापाहरूको टोली  जस्तै  माओवाद र दसबर्से जनयुद्धप्रति  विरोधभाव  राख्नेहरू  हुन् । यिनबाट क्रान्तिकारी धारका लागि वैचारिक र राजनीतिक गुणात्मकता र उत्साह र ऊर्जा थप्ने कामकुरामा विश्वस्त हुने स्थिति छैन । यसले बढाएको भनेको सङ्ख्यात्मक मात्रा मात्र हो र त्यो पनि सानो मात्रा मात्र । विडम्बनाको कुरा के छ भने मोहन बैद्यको नेतृत्वमा रहेको राजनीतिक समूहको  टाउको चाहिँ निकै फुलेको, टाउकै टाउकाले भरिएको र तलतल चाहिँ सुक्तै गएको सुकेनास लागेको रोगीमा परिणत भएको समूहका रूपमा देखापरेको छ । माथिको बोझलाई तलको नलिखुट्टाले कति दिन धान्छ, भन्न गारो छ । 

यस्तो बेला गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । हाम्रा सामु एउटा पेचिलो प्रश्न उभिएको छ— विसर्जन कि क्रान्तिकारी पुनर्गठन ? सबैले चिन्ता र चिन्तन गर्नुपर्ने  यसैमा छ । के हामी तयार छौँ क्रान्तिकारी पुनर्गठनका लागि ? स्थिति कस्तो छ भने प्रतिक्रियावादी सत्ताले एउटा मुद्दा दिन्छ र क्रान्तिकारीहरूलाई खेलाइरहन्छ । यो नै अहिले अस्तित्व धान्ने मेलो भएको छ । सङ्घर्षका मोर्चाहरू लथालिङ्ग छन् । मोहन बैद्यको नेतृत्त्वमा रहेको पार्टीको 'पूर्व किरण समूह' का  इमानदार कार्यकर्ताहरू नै भन्ने गर्छन् : “सिङगो पार्टीका नेता हौँ भन्छन्, ‘यस म्यानहरू’ को एउटा सानो झुन्डमा रमाइरहेका हुन्छन् । यस्तो स्थितिमा पार्टीले कसरी गति लिन्छ, समस्या मूल नेतृत्व  र नेतृत्त्वपंगतीमै छ  !”

टिप्पणी गर्नुपर्ने थुप्रै विषय छन् तापनि यतिखेर मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्धहरू, दसबर्से जनयुद्धको विरासतसित जोडिएका  क्रान्तिका पक्षधर पार्टी, समूह र व्यक्तिहरूबीच आन्दोलनलाई कसरी नयाँ दिशा र गति दिने भन्ने विषयमा गम्भीर बहस बहसछलफल  र गहन विचार विमर्शको आवश्यकता छ  । अत्मसमीक्षा सहितको व्यापक वैचारिक र राजनीतिक बहसछलफलको अवश्यकता छ । कसरी एउटा क्रान्तिकारी केन्द्र बनाउने हाम्रो चिन्ता र चिन्तन यसमा केन्द्रित हुनु आवश्यक छ । यो साझा चिन्ता हुनुपर्छ । पार्टीहरूभित्र मान्छेहरूको  सङ्ख्या अलि बढी होला । तर, पार्टीबाहिर क्रान्तिकारी विचारकहरूको गुणात्मक उपस्थिति छ भन्ने कुरा पनि सत्य हो । लिपपोत गर्ने र रङ्गरोगन गर्ने तथा एकताका नाममा  दुईचार सङ्ख्या बढाउने कुराले खासै अर्थ राख्दैन  । गुणात्मक छलाङको आवश्यकता छ र यो काम क्रान्तिकारी पुनर्गठनबाट मात्र सम्पन्न हुन्छ र गर्न सकिन्छ । 
००० 

भिडियो फिचरview all