menu

ताजा समाचार

सबैभन्दा गम्भीर समस्या नेताहरूमै छ

( यो ऋषिराज बरालको अलि पुरानो अन्तर्वार्ता हो, तर ताजै जस्तो लाग्छ l यसमा उठाइएका मुद्दाहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् l सिंगो सांस्कृतिक आन्दोलन , अखिल नेपाली जनसांस्कृतिक संघ' प्रचण्ड,  किरण लगायत थुप्रैको चर्चा यसमा गरिएको छ l 'सांस्कृतिक पतिरोध दिवस' का  सन्दर्भमा यो अन्तर्वार्ता प्रस्तुत गर्नु हामीले सान्दर्भिक ठानेका छौं ।)

० बराल सर आरामै हुनुहुन्छ ?

आरामै छु । म आत्मिक र भौतिक दुवै दृष्टिले  स्वस्थ र तन्दुरुस्त  छु ।

०हिजोआज मञ्चतिरभन्दा पुस्तक र पत्रपत्रिकाका पन्नाहरूमा बढी पढ्न पाइन्छ नि ? अध्ययन र लेखनतिरै बढी व्यस्त हुनुहुन्छ कि क्या हो ?

आवश्यकताअनुसार कहिले मञ्चमा पनि देखिने हो र कहिले पत्रपत्रिकाका पन्नाहरूमा पनि । समयले कतिबेर केको आवश्यकता  बोध गराउँछ , आन्दोलनले कतिबेर केको माग गर्दछ, त्यसैअनुसार सक्रिय हुने हो । प्रश्न आवश्यकता र स्वतन्त्रताबीचको द्वन्द्वात्मकता हो । हामी क्रान्तिकारीहरूले सचेतन प्रयासद्वारा परिस्थितिलाई फेर्नु पर्दछ । यस क्रममा कहिले मञ्चमा र कहिले अध्ययन र लेखनमा लाग्ने कुरा रहे । अध्ययन, जाँचपडताल, शोध, विश्लेषण र संश्लेषण गरेपछि न सही कुरा बाहिर आउने हो ।

हुन त हामीकहाँ पढेलेखेकाहरू र अध्ययनचिन्तन गर्नेहरूलाई अलि भिन्नै किसिमले हेर्ने गरिन्छ, केके विशेषण पनि दिने गरिन्छ । तर सत्य के हो भने इतिहास र प्रगतिको महाख्यानलाई त एउटा स्रष्टाले मात्र सुरक्षित राख्छ, एउटा लेखक र इतिहासकारले नै जोगाउँछ, राजनीतिले त कहिलेकहीं जोडघटाउ र गुनाभागाको खेलमा ‘इतिहासकै अन्त’ को घोषणा गरिदिँदो रहेछ ।

 लेख्नेपढ्नेहरू र अझ किताब लेख्नेहरूको जति विरोध गरे पनि आखिर त्यहीं नपुगी धरै छैन । कम्युनिस्ट मेनिफेस्टो त्यसै आएन होला । पुँजी का तेत्रा ठेली गफका भरमा आएनन् होलान् । मार्क्स-एङ्गेल्स, लेनिन र माओका ठेली नहुँदा हुन् भने दर्शन कसरी समृद्ध बन्थ्यो होला र क्रान्तिको दिशाको आधार कसरी निर्माण हुन्थ्यो होला ? कसरी वैचारिक शक्ति भौतिक शक्तिमा फेरिन्थ्यो होला ? हाम्रै नेताहरूमा पनि त ठेली प्रकाशित गर्न प्रतिस्पर्धा देखिन्छ । त्यसैले म आवश्यकताअनुसार कहिले मञ्च र कहिले पुस्तक दुवै क्षेत्रमा क्रियाशील छु । अध्ययन र लेखनले बलियो बनाउँछ । क्रान्ति, लेखन र प्रकाशनका कुरा गर्दा हिजो बलिदानको महान् इतिहास निर्माण गरेका कार्यकर्ताहरू नेताहरूका पुस्तकका ठेली फ्यालेर रिम र भाकपा( माओवादी) का चिठीपत्र र खुला बहसका पुस्तकहरू पढ्न र बोक्न किन मन पराउन थालेका छन् भन्ने कुराप्रति पनि त्यत्तिकै ध्यान दिनु जरूरी छ ।

सत्ता र संस्कृति पुस्तकले त तहल्कै मच्चायो नि- केही समयअघिको फेरि लालभन्ज्याङमा उभिएरले जस्तै । यो पुस्तकको यति सारो चर्चाको पछाडि के कारण रहेको छ ?

सत्ता र संस्कृति मात्र होइन मेरो पछिल्लो पुस्तक कुहिरो र घोडचढीहरू पनि त्यत्तिकै चर्चाको विषय बनेको छैन र ? फेरि लालभन्ज्याङमा उभिएर विशिष्ट अवस्थाको उपज थियो । मेरो भूमिगत जीवनको एउटा अंश अझ भनौं  मूलतः नयाँ  सत्ता र संस्कृतिसितको मेरो अनुभूतिलाई कलारूप दिएको, शैलीका दृष्टिले पनि आकर्षक पुस्तक थियो र हो । जहाँसम्म सत्ता र संस्कृतिको कुरा छ, यसमा मैले महान् जनयुद्धका क्रममा सांस्कृतिक कर्मीहरूले कसरी बलिदानको सौन्दर्य निर्माणमा आफूलाई समर्पित गरे भन्दै जनयुद्धको सौन्दर्यशास्त्रलाई प्रस्तुत गरेको छु । त्यसैगरी क्रान्तिसंगै  नारिएर कसरी प्रतिक्रान्ति पनि सँगसँगै हिंडछ  भन्दै नयाँ  सत्ताको विकाससँगै  देखिन थालेको विसङ्गतिबारे पनि सत्यतथ्य प्रस्तुत गरेको छु । खास गरेर यता हामी ‘शान्तिप्रक्रिया’मा आएपछि हामीभित्र देखिन थालेका राजनीतिक विचलन र सांस्कृतिक स्खलनलाई मैले निर्भीकताका साथ प्रस्तुत गरेको छु । त्यसैले होला यो चर्चा र होहल्लाको विषय भएको । प्रचण्ड कमरेडले विमोचन गर्ने भनेर अन्तिम पाँच मिनेटमा आएर कार्यक्रम रद्द गरेकाले पनि यो पुस्तक चर्चाको विषय बनेको होला । यो किन चर्चामा आयो भन्ने कुरा मैलेभन्दा पाठकले बुझ्ने कुरा हो ।

०अन्तिम पाँच मिनेटमा आएर उहाँहरूले यसको विमोचन किन रद्द गर्नु भएको होला त ?

अन्तिम समयमा आएर किन रद्द गर्नु भयो यसको उत्तर म दिन सक्तिन, यो त उहाँलाई  नै सोध्ने कुरा भयो । मार्क्सवादको घोर विरोध गर्नेहरूको पुस्तक विमोचन गर्न खुसीका साथ पुग्ने प्रचण्ड कमरेड जनयुद्धको स्रष्टा भनेर परिचित लेखक र आफ्नै पार्टी कार्यकर्ताको पुस्तक विमोचन गर्न किन आउनु भएन, मलाई पनि यसले अचम्भित तुल्याएको छ । कमरेड किरणले रोक्नुभयो भन्ने पनि छ ।  अब यो कुरा पुरानो भइसक्यो, त्यतातिर नजाऔं ।

०ऋषिराज बरालले केही लेख्यो कि चर्चा भइहाल्ने, केही बोल्यो कि टिप्पणी भइहाल्ने । किन यस्तो भइराखेको छ ? यसरी  चर्चामा आइरहने कारण के होला ?

यो प्रश्नको उत्तर मैलेभन्दा बढी पाठकहरूले नै खोज्ने कुरा हो । पारिजात दिदीका बारेमा पनि यसै भन्ने गरिन्थ्यो । मान्छेहरू सकारात्मक नकारात्मक दुवै किसिमले चर्चामा आउँछन् र चर्चामा ल्याइन्छन् । कतिपय चर्चाहरू कृत्रिम र अस्वाभाविक रूपमा पनि तयार पारिन्छन् । म सत्य बोल्छु, साहसका साथ बोल्छु, खरो बोल्छु, यथार्थको कलात्मक प्रतिबिम्बन गर्छु, जहाँजहाँ विकृति र विङ्गति छन्, त्यसको खोतलखातल गर्छु,  सुन्दरको गीत गाउँछु कुरूपको निर्मम भण्डाफोर गर्छु । देवकोटाले  'पागल' कवितामा भनेझैं  म कालोलाई कालो भन्छु, नाङ्गो बादशाहलाई आहा !  कति सुन्दर पहिरन लगाएको भन्न सक्तिन । यस्तो मन नपराउनेहरू, सत्यदेखि डराउनेहरू, 'हनुमान चालिसा' मात्र सुन्ने बानी परेकाहरू, सुन्न चाहनेहरू यस्ता कुरा मन पराउँदैनन्  ।

केही मान्छेहरू मैले उठाएका वैचारिक कुरामा रत्तीभर प्रवेश नगरी अनावश्यक उखरमाउलो मच्चाउने  गर्दछन् । कुपमण्डुकहरू हुन् तिनीहरू । मसँग वैचारिक सङ्घर्ष गर्न नसक्नेहरू मेरो चरित्र हत्या गरेर  र यस्तै अनेक बहाना गरेर पनि मलाई विवाद र चर्चामा ल्याउँछन्  । मेरो लेखनले पोल्छ तिनीहरूलाई, ती चिच्याउन थाल्छन् । निष्कर्षमा भन्दा मेरो लेखनमा रहेको शक्तिका कारण म चर्चामा आउँछु  । तर चर्चामा आउन म उटपट्याङ काम गर्दिन । सत्य बोल्छु, सत्य लेख्छु, प्रतिक्रियावादी र अवसरवादीहरू विरुद्ध धावा बोल्छु । म जमेको पोखरीमा ढुङगा हान्छु, त्यसको तरङ्गदेखि ती आत्तिछन् । त्यसको छालले ती विचलित हुन्छन् । तर सत्यका पक्षधरहरू, क्रान्तिकारी र इमानदार साथीहरू उत्साहित र प्रोत्साहित हुन्छन् । धर्मेशजी ! चर्चामा आउनुभित्रको द्वन्द्वात्मकता यही हो ।

सत्ता र संस्कृतिमा तपाईं आफैँले हिजो नेतृत्व गरेको ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ', त्यसको नेतृत्व, नीति र कार्यक्रमप्रति बढी नै आक्रामक देखिनुभएको छ, यसको मूल कारण के हो र कहाँ  हो ?

म आक्रामक भएको होइन, मैले सत्यतथ्य बाहिर ल्याइदिएको मात्र हुँ । सत्ता र संस्कृति मूलतः प्रतिक्रियावादका विरुद्धमा र महान् जनयुद्धले निर्माण गरेको बलिदानको सौन्दर्यशास्त्रको पक्षमा लडेको लडाइंको मोर्चाको शब्दचित्र हो । तर लडाइंत आफैँभित्र पनि, आफ्नै घरभित्र पनि लड्नुपर्ने हुँदो रहेछ । यो विज्ञानकै नियम रहेछ । त्यसो नहुँदो हो त ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को इतिहास नै निर्माण हुने थिएन ।

म २०६२ साल कात्तिक ४ को निर्णयअनुसार र २०६३ साल जेठ २६ को निर्णयअनुसार दुईपल्ट ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को केन्द्रीय संयोजक भएँ । विगतमा आफूले नेतृत्व गरेको संस्था भएका कारण त्यसको प्रशंसा वा आलोचना गर्नु हुँदैन  भन्ने पक्षमा म छैन । हामी सांस्कृतिक कर्मीहरू कुरूपको विरुद्ध सुन्दरका पक्षमा, अंध्यारोको विरुद्ध उज्यालोको पक्षमा जनमत निर्माण गर्न आत्मिक र भौतिक रूपमा सक्रिय बन्ने हो । जहाँजहाँ  समस्या र कमजोरीहरू छन्, तिनलाई औंल्याउने हो र विकृति र विचलनका विरुद्ध औंला ठड्याउने हो, सचेत र सतर्क गराउने हो । हाम्रो भूमिका सचेतकका रूपमा रहनुपर्दछ र रहने गर्दछ । हामी ध्वंश र निर्माण दुवैमा सक्रिय सहभागी हुने गरेका छौं  र हुनु पनि पर्दछ ।

यसो गर्दा रोइकराइ वा पाखण्डीपन प्रस्तुत गर्नुको सट्टा त्यस किसिमको आलोचना वा विरोध  किन भयो भनेर  अध्ययन-विश्लेषण गर्नु जरुरी हुन्छ । तर हामीकोमा प्रशंसाबाहेक अलिकति पनि आलोचना सुन्ने र सहने बानी छैन । यो तलको मात्रै कुरा होइन माथिसम्मकै समस्या हो । अरूलाई अर्तिउपदेश खूबै दिने गरिन्छ । यो भएन, ऊ भएन, व्यक्तिवाद भयो, अहंकारी भयो, रूपान्तरण भएन भनेर डिङ हाकिन्छ तर, सबैभन्दा विकराल समस्या त्यसो भन्नेहरूमै हुन्छ र देखिन्छ । मैले सत्ता र संस्कृतिमा यही विकराल समस्या औंल्याएको हुँ  र छु । यस्ता विकराल समस्या पार्टीमा जताततै छन् । यस्ता विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने सांस्कृतिक मोर्चामा झन् सबैभन्दा बढी छन् । आलोचना भन्नोस् या प्रहार मैले यिनै समस्याहरू  औंल्याएको मात्र हुँ।

 ०प्रस्ट रूपमा भनिदिनुहोस् त समस्याहरू के के हुन् र कहाँ र कसरी देखिएका छन् ?

यसका लागि फेरि विगततिर फर्किनुपर्दछ र लामो व्याख्या आवश्यक पर्दछ । यहाँ  म लामो व्याख्या गर्न चाहन्न । सत्ता र  संस्कृति तथा विचारप्रधान द्वैमासिक पत्रिकाका 'कम्युनिस्ट आउटलुक' का दुई अङ्कमा मैले सांस्कृतिक आन्दोलनमा देखिएका समस्याहरूबारे प्रस्ट रूपमा उल्लेख गरेको छु ।  युद्धकालमा राजनीतिक परिस्थितिका बारेमा थुप्रै बहस भए पनि सांस्कृतिक मोर्चा र आन्दोलनमा टाउको उठाउन थालेका गलत प्रवृत्तिका विरुद्ध सङ्घर्ष अघि बढाउने स्थिति बन्न सकेन । त्यतिबेर राजनीति, त्यसमा पनि फौजी कार्वाहीको तीव्रतामा सांस्कृतिक क्षेत्रका समस्यालाई प्रधान नठानिएको  पनि हुनसक्छ । तर यता ‘शान्ति प्रक्रिया’ संगै ती समस्या जटिल बनेर आए ।
  
सांस्कृतिक आन्दोलनको समस्या भनेको विचारकै समस्या हो । सांस्कृतिक मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनमा लिएका गलत निर्णयहरू यसका प्रमुख कारकतत्वहरू हुन्, जसमा विचारले भन्दा आवेगले काम गर्ने अक्षम नेतृत्व पनि पर्दछ । यसबारे सत्ता र सांस्कृति मा सबै कुरा लेखिसकिएकाले यहाँ  लामो व्याख्या गर्नु म आवश्यक ठान्दिन । तर सबैभन्दा बेठीक, विरक्त लाग्दो, नबोली नहुने र आलोचना नगरी नहुने पक्षचाहिं  सो सम्मेलनपछिको केन्द्रीय समितिले प्रकाशित गरेको प्रतिवेदन हो । त्यसमा इतिहासलाई एकदमै विद्रूप पारिएको छ । यथार्थको भ्रष्टीकरण गरिएको छ । त्यो सबै देखेर यस्तो पनि हुँदो रहेछ हाम्रो आन्दोलनमा, हाम्रो इतिहासमा भन्ने लागेको छ मलाई । मार्क्सवाद होइन, डार्विनवादको प्रयोग गरिएको छ त्यहाँ । बेइमानी  र फट्याइंको सबल उदाहरण बनेको छ त्यो प्रतिवेदन ।

सांस्कृतिक मोर्चाको केन्द्रीय प्रकाशनसित २०५५ सालमा मात्र जोडिएका र केन्द्रीय समितिमा २०६० सालमा आएका ईश्वरचन्द्र ज्ञवालीले सो प्रतिवेदनमा आफूलाई २०४७ मा बनेको केन्द्रीय एकता संयोजन समितिदेखि नै जोडेर  दिउँसै रात पारेका छन् । फट्याइंको पनि एउटा हद हुन्छ ।  पार्टीको उच्च निकायसमेत यस्तो घोर बेइमानीप्रति केही नबोल्दा एकदमै उदेक लागेको छ । किरणमा त झन् गजबको निस्पृहता देखियो  । तर मैले बोल्नु आवश्यक ठानें  । यस्ता गलत कुराको विरोध गर्नु जायज मात्र होइन, आवश्यक पनि छ । यस्ता गलत प्रवृत्तिका विरुद्ध म लड्छु, लडिरहन्छु, अन्तिमसम्म लडिरहन्छु । इतिहासको विद्रूपीकरणका विरुद्ध बोल्ने मात्र होइन, आन्दोलन नै गर्नुपर्दछ । दण्डित गरिनुपर्ने मान्छेहरू पुररस्कृत हुने स्थिति रहेसम्म  लडिरहनुको विकल्प पनि छैन ।

० जनसांस्कृतिक सङ्घको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिमा तपाईंको  नाम पनि पढियो, सम्मेलनमा चाहिं  देखिनु भएन ।  यसभित्रको यथार्थ के हो ?

यसबारे अलि लामै व्याख्या गर्नु आवश्यक छ र केही अगाडि पनि जानु आवश्यक छ । तेस्रो राष्ट्रिय  सम्मेलनले उत्पन्न गरेको विसङ्गत परिस्थितिले वैचारिक विचलन, अराजकता, साङ्गठनिक अस्तव्यस्तता, विभाजित र विकेन्द्रित स्थिति उत्पन्न हुनुले सांस्कृतिक आन्दोलन जुन गति र दिशाका साथ अघि बढ्नुपर्ने थियो, त्यसो हुन सकेन । एकातिर राजनीतिक सङ्क्रमणको स्थिति अर्कोतिर प्रतिक्रयावादीहरूको बढ्दो चलखेलका बीच सांस्कृतिक आन्दोलनलाई जसरी लैजानुपर्ने थियो, ‘महासङ्घ’ ले यस किसिमको वातावरण नै बनाउन सकेन । यस्तो अवस्थामा विकल्पहरू देखापर्नु, बहुकेन्द्र देखिनु बाध्यताजस्तो, आवश्यकताजस्तो भनौं  एउटा स्वाभाविक परिणामजस्तो पनि भयो । खास गरेर अशोकजीको अध्यक्षतामा गठित 'मार्क्सवादी साहित्यिक प्रतिष्ठान' ले राष्ट्रियता र जनतन्त्रको अभियानलाई गतिका साथ अगाडि बढाएपछि सांस्कृतिक मोर्चामा खैलाबैला मच्चियो । नेतृत्वमा रहेका कतिपयमा आतङ्क नै छायो । यसलाई समानान्तर संस्था भन्दै बन्द गर्न चेतावनी र धम्कीसमेत दिइयो, अन्तध्र्वंशको अभियोग पनि लगाइयो ।  मुद्दा माथिसम्म पुग्यो ।

'मार्क्सवादी साहित्य प्रतिष्ठान' सांस्कृतिक मोर्चाको गतिहीनता र दिशाहीनताको परिणाम थियो र हो —समानान्तर संस्था थिएन र होइन ।  र पनि  व्यवहारमा बहुकेन्द्रको झल्को दिने स्थिति भने देखिन थालेको थियो र यसको कारकतत्व पनि ‘महासङ्घ’ नै हो । यसैबीच सांस्कृतिक आन्दोलनलाई एकीकृत रूपमा लैजानका लागि कमरेडद्वय प्रचण्ड र चैतन्यले गम्भीरता देखाउनु भयो । कमरेड प्रचण्ड र किरणले मलाई बोलाएपछि मैले समग्र स्थितिलाई प्रस्ट पारें  । यस क्रममा मूलतः तेस्रो राष्ट्रिय सम्मेलनको सेरोफेरोमा उठेका समस्याहरूका बारेमा बृहत् विचारविमर्श  र समीक्षा गरी आआफ्ना कमीकमजोरी सकार गर्ने र सबैले आआफ्नो ठाउँबाट सांस्कृतिक आन्दोलनलाई एकताबद्ध भएर अघि बढाउन आफ्नो क्षमताअनुसारको जिम्मेवारी पनि  लिने विषयमा छलफल भयो ।

यही उद्देश्यलाई गति दिन सांस्कृतिक मोर्चाका खासखास साथीहरूबीच छलफलको क्रमलाई अघि  बढाइयो ।  केही साथीहरूले आत्मसमीक्षा गर्दै एकताबद्ध भएर जानुपर्छ भन्ने कुरामा जोड दिनु भयो । खास गरेर माइला लामा कमरेडबाट यस पाटोमा असाध्यै सकारात्मक धारणा आयो । तर मोर्चाको मूल  नेतृत्वमा रहेका व्यक्ति ज्ञवालीमा भने  त्यो स्पिरिटको रत्तिभर बोध भएन । वातावरण भनेजस्तो भएन । सांस्कृतिक मोर्चाको नेतृत्व तहमा रहेका एकाध व्यक्तिहरूका कारण स्थिति  सकारात्मक दिशातिर अघि बढेको मैले महसुस गरिन ।

थप बहस-छलफलको आवश्यकता थियो । समस्यालाई प्राविधिक किसिमले नभएर वैचारिक किसिमले हल गर्नु आवश्यक थियो । यसैबीच  मलाई केही जानकारी नै नदिई र  हिजोदेखि  उठेका मुद्दा र वैचारिक पक्षहरूबारे टुङ्गोमा नै नपुगी ज्ञवालीजीको संयोजकत्वमा मलाईसमेत राखेर आयोजक समिति बनाएर पत्रपत्रिकामा दिने र सर्कुलरसमेत गरिएछ । यसले मलाई आश्चर्यमा पार्यो  । अघिल्लो सम्मेलनसित सम्बद्ध सैद्धान्तिक महाविवाद यथावत रहेको स्थितिमा दुईदुईपल्ट केन्द्रीय संयोजक भएको मान्छे ज्ञवालीजीमातहतको त्यो समितिमा रहनु वैज्ञानिक र व्यावहारिक र नैतिक दुवै दृष्टिले ठीक लागेन । आयोजक समितिमा राख्ने कुरामा सामान्य सोधपुछ गर्नुसम्म आवश्यक ठानिएन ।

सम्मेलनसम्मका लागि अर्को सर्वमान्य वरिष्ठ सांस्कृतिकर्मीलाई संयोजक बनाएर हामी सबै आयोजक समितिमा बसेर  नयाँ वातावरण बनाउन सकिन्थ्यो । जसको विरुद्ध मुद्दा लडिरहिएको छ, उसैलाई न्यायधीश बनाएर जानुको अर्थ थिएन । मैले यो कुरा प्रचण्ड र चैतन्य कमरेडहरूसित संयुक्त रूपमा राखें  । त्यसपछि म आयोजक समितिमा  नबस्ने निधो भयो ।  सोहीअनुसार ज्ञवालीजीहरूलाई भनियो भन्ने जानकारी पनि मैले उहाँ हरूबाट पाएँ  । यस्तो अवस्थामा आयोजकको रूपमा म उपस्थिति हुने कुरा सान्दर्भिक थिएन र पूर्व संयोजक वा 'इच्छुक सांस्कृतिक प्रतिष्ठान' को सदस्यका रूपमा पनि आफूलाई कुनै निम्तो थिएन । यसलाई यसरी बुझ्दा मात्र हामी समस्यालाई सहीसही अर्थमा बुझ्न सक्तछौं भन्ने लाग्दछ ।

० सो सम्मेलनमा कमरेड प्रचण्डले गरेको भाषणको प्रहारको विन्दु तपाईं हो भनिन्छ नि ?

मैले पत्रपत्रिकामा मात्र पढेको हुँ, आफू त्यहाँ नगएकाले यस विषयमा म केही भन्न सक्तिन ।  ''खुबै ठोक्नुभयो बराललाई'' भनेर कतिपय रमाए भनेको पनि सुनें मैले । उहा“जस्तो सम्मानित व्यक्तिले त्यस्तो खुला ठाउ“मा यसरी मेरा विरुद्ध जानु भयो होला भन्ने मलाई लाग्दैन । उहा“ हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ, हामी सबैलाई सिकाउने र हामी सबैले सिक्नुपर्ने पात्र—ठूलो नेता । कुनै पनि बेला मलाई बोलाएर भन्न, निर्देशन दिन वा आलोचना गर्न सक्नुहुन्छ । चुनावमा आफ्नो विरोधीको उछित्तो काढेजस्तो गरी मलाई त्यहाँ  भनिरहनु पर्ने आवश्यकता छैन र  उहाँले ममाथि नै त्यसरी प्रहार गर्नु भएको हो वा भयो होला भनेर म विश्वास पनि गर्दिन । कमरेड अध्यक्षले मजस्तो राज्य समितिको एउटा निम्छरो कार्यकर्तालाई त्यति महत्त्व  दिनु भयो होला भन्ने पनि मलाई लाग्दैन ।

यसो हो भने यो मेरालागि गर्व र खुसीको विषय हो ।  उच्च सम्मान गरेर खुला बहसमा आउन  कमरेड प्रचण्डले आमन्त्रण गरेको ठानेर र बुझेर मलाई हर्ष र गौरव नै हुन्छ । मेरो नाम लिएर भनिएको पनि होइन र म उत्तेजित हुने कुरा पनि होइन । हाम्रो आन्दोलनमा देखिएका केही नकारात्मक प्रवृत्तिप्रति उहाँको  प्रहार हो भन्ने अर्थमा मैले त्यो सम्बोधनलाई लिएको छु । र पनि एउटा कुराचाहिं  भन्छु, हिजो बलिदानको महान् इतिहास निर्माण गरेका कार्यकर्ताहरू हाम्रा नेताहरूका पुस्तकका ठेली एकातिर फ्यालेर रिम र भाकपा  ( माओवादी) का चिठीपत्र र 'खुला बहस' का पुस्तकहरू पढ्न र बोक्न किन मन पराउन थालेका छन् भन्ने कुराप्रति पनि त्यत्तिकै ध्यान दिनु जरूरी छ । हाम्रा नेताहरूका भाषणहरूले भन्दा भारतीय माओवादीका समाचारले हामीलाई किन उत्साहित पार्छ भन्ने कुराप्रति पनि हामीले त्यत्तिकै ध्यान दिनु आवश्यक छ ।

० सांस्कृतिक मोर्चाको नयाँ नेतृत्वप्रति तपाईंको धारणा अब कस्तो रहन्छ ? सांस्कृतिक आन्दोलन अबका दिनमा कसरी एकीकृत रूपमा अघि बढ्छ त ?

म आयोजक समितिमा रहे पनि नरहे पनि हिजोका समस्याहरू हल गर्दै र आआफना कमीकमजोरीको आत्मसमीक्षा गर्दै एकताबद्ध भएर जानु पर्दछ भन्ने कुरामा म दृढ थिएँ र छु । प्रश्न मेरो निजी मामिलाको होइन, प्रश्न महान् जनयुद्धमा हामीले आर्जित गरेका प्राप्तिको सुरक्षा र सम्बद्र्धन, विकास र प्रगतिको हो । २०४७ सालदेखि आंधी र बेहरीका बीचबाट आन्दोलनलाई यहाँसम्म ल्याउन धेरथोर मेरो पनि लगानी थियो र छ । हामी जनविद्रोहको महान् अभियानमा भएकाले एकताबद्धताको भाव दिनुपर्छ भन्नका लागि मात्र होइन सही अर्थमै एकताबद्ध भएर जानुपर्छ भन्ने कुरामा म एकदमै प्रतिबद्ध थिएँ  र छु ।

यस क्रममा पार्टीकै आयोजनामा प्रचण्ड कमरेड, चैतन्य कमरेड र मोर्चाका इन्चार्ज निनुसमेतको उपस्थितिमा सांस्कृतिक क्षेत्रका हामी केही अगुवा साथीहरू छलफलमा बस्यौं  । सबैजसोले आआफनो कुरा राख्दै एकताबद्ध भएर जाने प्रतिबद्धता जनाउनु भयो । तर अघिल्लो बसाइमा झैं  यस बसाइमा पनि मोर्चाको नेतृत्व तहमा रहेका मूल व्यक्तिमै एकताबद्धताको भाव बोध हुन सकेन । जुन किसिमको सोचाइ र धारणा बनाइएको थियो, त्यस्तो स्थिति पटक्कै बन्न सकेन, मोर्चामा बरालको उपस्थिति रहेमा  सर्वस्वहरण नै हुने हो कि भनेर एकाध व्यक्तिहरू असाध्यै त्रसित देखिए । यसमा ज्ञवाली र भगौडा ढकाल बढी सन्त्रस्त देखिए। हिजो उठेका समस्याहरू हल गर्ने र एकताबद्ध भएर जानेभन्दा भिन्नै सोचाइ उनीहरूहरूमा देखिनाले स्थिति सकारात्मक दिशातिर जान सकेन । नत्र सम्मेलनको  परिदृश्य र बाँकी कुरा नै अर्कै भाव र स्पिरिटको हुने थियो भन्ने मलाई लागेको छ ।

चौथो सम्मेलन भयो । नयाँ  अनुहारका साथीहरू पनि आएका छन् । तर पनि समस्याहरू जहींको तहीं छन् भन्ने मलाई लागेको छ । मैले हेर्न पाएको छैन, तर प्रतिवेदन हिजोको भन्दा पनि एकदमै भद्रगोल छ र सबैभन्दा बढी त सारै नराम्रो गरी इतिहासको भ्रष्टीकरण गरिएको छ भन्ने कुरा सहभागी साथीहरूबाट थाहा हुन आएको छ । प्रतिवेदनलाई लिएर सहभागी केही साथीहरू असाध्यै चिन्तित भएको पाएँ  । कम्तीमा पनि प्रतिवेनदका बारेमा पार्टीले हस्तक्षेप गर्नु आवश्यक हुन्थ्यो, कमरेड किरणको ध्यान यसतर्फ जानु आवस्ज्यक थियो भन्ने कुरा सम्मेलनमा सहभागी पुराना साथीहरूले मलाई सुनाउनु भयो ।

० उसोभए  स्थिति एकदमै निराशाको हो त ?

होइन । पटक्कै होइन ।  म एकदमै आशावादी छु । कलाकार क्षेत्रका केही साथीहरू त्यसमा पनि कमरेड माइला लामा जो हाम्रो बहस र छलफलको आरम्भदेखि नै आआफ्ना कमीकमजोरी स्वीकार गरेर हिजोका समस्याहरू हल गर्दै एकताबद्ध भएर अघि बढ्ने कुरामा सक्रियताका साथ लाग्नु भएको छ, यो निकै सकारात्मक पाटो हो । बलराम तिमल्सिनालगायत अहिले आएर थुप्रै साथीहरूले यथार्थलाई बुझ्न थालेको अनुभूत हुन थालेको छ । तेस्रो सम्मेलनमा उफ्रने धेरै साथीहरूले पनि यताका दिनमा सत्यतथ्य आत्मसात गर्न थालेको अनुभूत हुन थालेको छ । थुप्रै साथीहरूले त्यतिबेर आफू भ्रममा रहेको, आफूलाई भ्रममा राखिएको कुरा मलाई सुनाउने गर्छन् । यथार्थ के हो भने अहिलेको प्रमुख समस्या प्रमुख नेतृत्वलगायत एक-दुई जना साथीहरू र तिनमा निहित जड चिन्तन, आफ्नो भूमिका र परिचयप्रतिको चिन्ताको हो । यता आएर सांस्कृतिक मोर्चाको ठूलो हिस्सा सांस्कृतिक आन्दोलनलाई एकताबद्ध, गतिशील र जुझारू किसिमले लाने काममा सकारात्मक देखिएको छ ।

इमानदारीपूर्वक र निर्भीकताका साथ भन्दा एकताबद्धताका साथ लैजाने विषयमा पार्टीले गर्नुपर्ने गृहकार्य पनि पुग्दो मात्रामा हुन नसकेको हो कि भन्ने पनि मलाई लागेको छ । आन्दोलनको विशिष्ट स्थितिमा एउटा विशेष भूमिकामा देखिएका तर विधागत परिचयले परिचित भइ नसकेका, खास ठाउँ  र भूगोलले परिचित भएका, तर सांस्कृतिक परिचय नबनिसकेका, कर्मले भन्दा खास व्यक्ति वा ‘गुट’ परिचयद्वारा सतहमा आएका व्यक्तिहरूमा समस्याहरू हल गर्ने र एकताबद्ध भएर जाने कुरामा गम्भीरताको सर्वथा अभाव देखियो । अब स्थिति फेरिएको छ । वैचारिक र विधागत दुवै पक्षको नेतृत्व दिनसक्ने व्यक्तिले मात्र मोर्चा र नेतृत्वसित सम्बद्ध समस्याको हल गर्न सक्तछ । यो अन्तर्विरोधको हल नगरी थोपरिएको नेतृत्वले जटिलता थप्नुसिवाय केही गर्न सक्तैन । माइला कमरेडबाहेक आन्दोलनको लामो अनुभव र विशिष्टताको ज्ञान भएका, आफ्नो विधागत परिचयले परिचित र स्थापित भएका  साथीहरूको  अभावले पनि समस्याहरू हल गर्नमा कठिनाइ रहेको हो । 

० हामी जनगणतन्त्र र नयाँ  जनवादी सांस्कृतिक आन्दोलनको कुरा गरिरहेका छौं  र  हाम्रै अग्रजहरूले धार्मिक अनुष्ठान, पाठपूजा र अन्धविश्वासको संस्कृति प्रदर्शन गरिरहेको स्थिति छ, यसलाई तपाईंले  कसरी लिनु भएको छ ?

अवश्य पनि हो । हामी जनवादी, वैज्ञानिक र सामन्तवाद-साम्राज्यवाद विरोधी सांस्कृतिक आन्दोलनमा छौं । विगतमा हामीले हाम्रा नयाँ  सत्तामा यिनै कुराको अभ्यास गर्यौं  । हाम्रो क्रान्तिकारी सांस्कृतिक आन्दोलन, सामन्तवादी संस्कृतिसित गाँसिएका धार्मिक अनुष्ठानलगायत रुढिवाद, तल्लोजात माथिल्लो जात, अन्धविश्वासजस्ता अवैज्ञानिक र जनविरोधी संस्कृतिको विपक्षमा छ । हामी श्रमचेतनामा आधारित समतामूलक, वैज्ञानिक र उदात्त संस्कृतिको निर्माणमा लागेका हौँ  र छौं  । क्रान्तिका लागि सुंगुरको खोरमा पनि जाने भनेको आफ्नो व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने, जहाँ  पनि गएर मुन्टो जोत्ने वा लम्पसार पर्ने भनेको हो जस्तो लाग्दैन र  होइन पनि । लेनिनको सो भनाइ त्यतिबेलाको  रुसको विशिष्ट अवस्थामा विशिष्ट उद्देश्यसित गाँसिएर आएको कुरालाई पनि हामीले गम्भीरतापूर्वक लिनुपर्दछ । यसलाई आफ्नो कमजोरी ढाक्न कसैले प्रयोग  गर्नु हुँदैन । अन्धविश्वास, पाठपूजा र विविध धामहरूप्रति आशक्ति जनाउने र आदर्शवाद र अधिभौतिकवादबाट नै मुक्ति सम्भव छ भन्ने अवैज्ञानिक, आडम्बरी र पाखण्डी संस्कृति र जीवनशैलीका विरुद्ध नै हामीले वर्षैादेखि आन्दोलन गर्दै आएको कुरा म फेरि प्रस्ट पार्न चाहन्छु । पार्टीभित्र यस्तो चिन्तन र प्रवृत्ति जुनसुकै तहबाट प्रदर्शन होस् आलोचना र विरोधको भागिदार हुनु स्वाभाविक छ । माथिबाटै भयो भने त झन् बढी गम्भीर हुनु आवश्यक छ ।

० फेरि जनयुद्धतिरै फर्कौ । क्रान्तिकालमा राम्रो साहित्य लेखिँदैन र जनयुद्धकालमा कुनै राम्रो साहित्य लेखिएन भनेर हाम्रा एकथरी साथीहरू भन्ने गर्छन् र जनयुद्धमा लाग्नेहरूको उछित्तो काढ्ने गर्छन् । सही कुरा  के हो ?

क्रान्तिविरोधीहरूले सधैँ यस्तो भन्दै आएका छन् र पछि पनि भन्ने छन् । त्यसैले जनयुद्धविरोधीहरूले पनि यसै भन्दछन् । यस विषयमा मैले भेरीकर्णालीबाट भूमिगत कालमा प्रकाशित पत्रिका 'उद्घोष' मा पहिले पनि प्रस्ट पारेको हुँ  । लु सुनको एउटा लेखलाई लिएर जनद्धयुद्धविरोधी तत्वहरूले यस्तो भन्दै आएका छन् । तर पछि लु सुनले आफूमा बुझाइको कमी रहेको र ट्रटस्कीको प्रभाव रहेको कुरा गरेर त्यसको खण्डन पनि गरेका छन् । नेपालमा कसैले यस्तो भन्छन् भने ती ट्रटस्कीका बफादार सिपाही हुन् भनेर बुझ्नु पर्दछ ।

क्रान्तिकालमा राम्रो साहित्य लेखिंदैन भन्ने कुरा सत्य होइन । अहिले प्रगतिवादी क्षेत्रमा कविता, आख्यान, निबन्ध, संस्मरण, समालोचना र सौन्दर्यशास्त्रमा जनयुद्धसित गाँसिएका स्रष्टाहरूले नै प्रतिनिधित्व गरिरहेको सत्य यसको प्रमाण हो । जनयुद्धको तयारीका क्रममा भाग्नेहरूले यसो भन्नु कुनै अनौठो कुरा होइन र क्रान्तिकारी हुन पनि चाहने तर, बलिदानका सन्दर्भमा दुस्मनका सामु हारगुहार र रोइकराई गर्ने आत्मसमर्पणकारीहरूले भन्नु पनि अनौठो कुरा होइन ।  क्रान्तिकारीहरू भने यसप्रति प्रस्ट हुनु पर्दछ ।

तपाईं एकताप्रक्रियामा त्यति सकारात्मक हुनुहुन्न पनि भन्ने गरिन्छ नि ?
    
यथार्थ यसो होइन, कुरालाई गलत किसिमले बुझिएको र प्रस्तुत गरिएको छ । यो पनि  एकताको प्रक्रियामा विचार र उद्देश्यप्रति गभ्मीर नहुनेहरू र संस्थालाई हाटबजारमा फेर्ने प्रवृत्तिको उपज हो । यो व्यक्तिगत रूपमा मप्रति भ्रम फिंजाउन  चाहनेहरूले फैलाएको हल्ला पनि हो । एकताका लागि प्रधान पक्ष किन, कोसित र कसरी भन्ने कुरा नै हो । एकताको कुरा गर्ने तर व्यवहारमा ढोकाबन्दवाद लागू गर्ने र उदारताका नाममा झारपात पतिङ्गर र फोहरमैलालाई समेत समेटेर टाउकामा राख्ने काम भने ठीक होइन । समेट्नुपर्छ, प्रशिक्षण दिँदै र रूपान्तरणको प्रक्रियामा लाँदै  अघि बढाउनुपर्छ । र पनि हिजो जनयुद्ध सुरु हुँदा  कसले के भनेर हामीबाट भाग्यो वा जनयुद्धले  गति लिंदा कसले के भन्यो भन्ने कुराको कुनै अर्थ छैन, अब सबै कुराप्रति आँखा  चिम्लिनुपर्छ भन्ने कुराचाहिं म मान्दिन ।

यता हामी शान्तिप्रक्रियामा आएलगत्तै र संविधानसभाको चुनावअघि जो-जो  एकताप्रक्रियामा आए, तिनको खुलेरै स्वागत गर्नुपर्छ । तर हामीले संविधानसभाको चुनाव जितेर सभामा ठूलो पार्टी भएपछि र हामी सरकारमा जाने तय भएपछि सरकारी प्रतिष्ठानमा पदाधिकारीको हल्ला चलेको प्रसङ्गसंगै   ‘मलाई त अमुक संस्थाको अमुक पद दिने नाममा एकता भएको’ भन्दै हिड्ने प्रवृत्तिको भने डटेर विरोध गर्नुपर्छ ।

सत्य के हो भने अहिले आख्यान, निबन्ध, समालोचना र सौन्दर्यचिन्तनलगायतको क्षेत्रमा  हामीभन्दा शक्तिशाली कोही छैन । त्यसमा पनि समालोचना र सौन्दर्यचिन्तनको क्षेत्र एकताप्रक्रियापछि बलियो भएको छ । विचार, क्षमता र क्रियाशीलताको आधारमा जिम्मेवारी दिने कुरामा विवाद छैन, तर अनुभवी,  सक्षम, प्रतिभाशाली र जनयुद्धको बीचबाट आएका साथीहरूको टाउकमा टेकेर कोर्रा हिर्काउने, उपेक्षित र अपहेलित गर्ने प्रवृत्ति, पद्धति र शैली चाहिं मलाई मान्य छैन । यसले विभाजन, विखण्डन, गुटबन्दी र पलायनतालाई प्रस्रय दिन्छ । जनयुद्धसित गाँसिएकाहरू सबै ठीक छन् पनि  म भन्दिन । तर सांस्कृतिक आन्दोलनको क्षेत्रमा नेतृत्व गर्न जनयुद्धसित सम्बद्ध साथीहरू जुनसुकै पद र हैतियतका लागि उपलब्ध र सक्षम छन् भन्ने म ठोकेर भन्न सक्तछु ।

वास्तवमा अहिले हामीसित ठूलो बौद्धिक शक्ति भए पनि त्यसलाई व्यवस्थित गर्ने कुरामा माथिदेखि तलसम्म केही समस्या छन् भन्ने मलाई लागेको छ । अब  यसलाई व्यवस्थित गर्न हामी सबै सक्रिय हुनुपर्छ  । मूल कुरा कुन चिन्तन, प्रवृत्ति, कुन क्षमता र कुन इतिहासलाई महत्त्व दिने र  प्रोत्साहित र उत्प्रेरित गर्ने भन्ने हो । अहिलेको समस्या सही किसिमले मूल्याङ्कन गर्नुसट्टा, जोडघटाउ, गुनाभागा मिलाउने, फेर समाउने र टुप्पी समाउने चिन्तनपद्धति पनि हो । मार्क्सवाद लागू गर सुधारवाद होइन, खुला र स्पष्ट होऊ छलछाम होइन, भन्ने कुरालाई व्यवहारमा लागू गर्नु नै समस्या समाधानको सही उपाय हो । इमानदारीपूर्वक भन्छु मैले व्यवहारमा यस्तो बोध गर्न सकिरहेको छैन ।

० तपाईं साहित्यिक क्षेत्रको स्रष्टा भए पनि तपाईंले 'सङ्गीत र सौन्दर्य' नामक एकदमै महत्त्वपूर्ण  पुस्तक लेख्नुभयो, त्यसले तपाईं  गीतसङ्गीतको पारखी र अध्येता दुवै हो  भन्ने बोध गर्न सकिन्छ  । त्यसमा प्रगतिशील र क्रान्तिकारी गीत-सङ्गीतको त्यसमा पनि जनयुद्ध साङ्गितिक पक्षको विस्तृत चर्चा गरिएको छ । यताका दिनमा क्रान्तिकारी गीतसङ्गीतको कत्तिको अध्ययन गरिरहनु भएको छ र र यसको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

यो अलि बढी व्याख्याको माग गर्ने प्रश्न हो । सानैदखि गीत-सङ्गीत र नाटकमा खेल्न रुचि राख्ने मान्छे भएकाले मेरो यसप्रति विशेष रुचि र आकर्षण थियो । आन्दोलनका क्रममा यो आवश्यकता बन्यो । साथीहरू लागिरहनु भएको छ,  कुदिरहनु भएको छ, तर यसको  समीक्षा, विश्लेषण मूल्याङ्कनजस्ता कामकुरा कम भएको बोध भएपछि म गीत-संगीतको  सौन्दर्यशास्त्रीय अध्ययन, इतिहास र वर्तमानको खोजविनतर्फ लागेँ । मैले जानेजति र बुझेजति सत्यतथ्य बाहिर ल्याइदिएँ । यथार्थतः  यो  पुस्तक जनवादी गीत-संगीतको इतिहास र मूलतः दशबर्से जनयुद्ध र साङ्गितिक पक्षको लेखाजोखा हो  ।

यस क्षेत्रमा देवकोटा, रिमाल, केवलपुरे किसान, भूपी र युद्धप्रसाद मिश्रसम्मको एउटा इतिहास छ हामीसित ।  पछि रायन, रामेश र मञ्जुलले यसमा असाध्यै महत्त्वपूर्ण काम गरे । त्यसपछि, मणि, जीवन शर्मा, खुसीराम पाख्रिन थपिए । महान् जनयुद्धको पूर्वसन्ध्यामा पाख्रिन, मणि, चुनु, ध्रुव,  धनकाजी, पूर्ण घर्ती, शिव, माइला लामाहरूले जनमत सिर्जना गर्ने काममा असाध्यै पूर्ण काम गरे । महान् जनयुद्धका बीचबाट धेरै राम्रा कलाकार प्रतिभाहरू देखापरे । कति सहिद भए । कति पलायन भए । कति आफ्नै साथीहरूका गलत चिन्तन र व्यवहार, गुटबन्दी,  क्षेत्रीयतावाद र हैकमवादका सिकार भए ।
 
जनयुद्ध र क्रान्तिकारी गीतसङ्गीतको पर्यार्यजस्तै बनेका पाख्रिन, मणि, चुनु,  पूर्ण घर्ती, माइला लामा, सिता आचार्य, शिव, च्याङ्वा लामा, डीबी थापा, सुशिला,  मोहित, झङ्कार, प्रगति, पाण्डव, विद्रोही, राकेश रोकाय, हिमशिखर, धीरेन्द्र, दीपा,रोहित,  झङ्कारहरूको भूमिका बिर्सिनसक्नु रहेको छ । सहिद हुनेहरू त सहिद भएर गए । तर जनयुद्धकालमा सक्रिय भएका थुप्रै क्षमतावान र प्रतिभाशाली कलाकार साथीहरू आजभोलि म परिदृश्यमा देख्ने गर्दिन । यसका पछाडि के-कस्ता कारणहरू छन् म भन्न सक्तिन ।  मभित्र पनि प्रश्नहरू  छन्  ।

तेस्रो राष्ट्रिय सम्मेलनपछि विविध कारणबस कलाकार साथीहरूसितको सम्बन्ध घटेको कारण त्यताका व्यावहारिक समस्याहरू र गीत-सङ्गीतको स्थिति मैले राम्रो अध्ययन गर्न पाएको छैन । सबै गीतहरू सुन्न नपाएर पनि होला,  मणिको 'गाथा' को तुलनामा पछिका गीतहरू त्यति प्रभावशाली हुन सकेनन् कि भन्ने चाहिं  मलाई लागेको छ । यो मेरो अध्ययनको कमी पनि हुन सक्छ ।  के-के सङ्घहरू बनाइएका छन् भन्ने त सुनेको छु, ‘कलाकारहरू’ को भीडभाड पनि निकै देख्छु । तर यता यसका सम्बन्घमा अध्ययन, छलफल, विचारगोष्ठी, समीक्षा, अन्तरक्रिया  आदि  भएको चाहिं मैले थाहा पाएको छैन । यता आएर मैले यसतर्फको अध्ययन बढाउन थालेको छु । शान्तिप्रक्रियामा आएपछि हाम्रो गीतसङ्गीतको स्थितिका बारेमा छलफल चलाउनु र लेख्नुपर्छ भन्ने लागेको छ । टिप्पणी गर्दा कलाकार साथीहरू रिसाउने गर्छन् तर, इमानदारीका साथ भन्नुपर्दा पछिका गीतहरूले मलाई त्यति आकर्षित गर्न सकिरहेका छैनन् । तर म आशावादी छु । धेरै राम्रा साथीहरू हामीसित छन्  । हामीले तिनलाई ठीक ढङ्गले व्यवस्थित गर्न सकेका छैनौं । अब होला भन्ने आशामा छु ।

० तपाईं  उत्तरआधुनिकतावादको राम्रो अध्येता पनि हुनुहुन्छ । छोटोमा यसलाई कसरी बुझ्न सकिन्छ ?

जति छोटो भने पनि यसले लामै व्याख्या माग्दछ । र पनि के भन्न सकिन्छ भने उत्तरआधुकितावाद शून्यवादी दर्शनमा आधारित विभाजन, विखण्डन र विसर्जनमा जोड दिने, यथार्थ विरोधी, मार्क्सवाद विरोधी सिद्धान्त हो । यसको चरित्र मायावी छ । यसले उपभोक्तावाद र व्यक्तिवादमा जोड दिन्छ । यसले  अहिलेको साम्राज्यवादी-पुँजीवादी  सांस्कृतिक चिन्तनको प्रतिनिधित्व गर्दछ । हामी क्रान्तिकारीहरूले यसका विरुद्ध सशक्त वैचारिक र व्यावहारिक सङ्घर्ष चलाउनु पर्दछ । हुन त आजभोलि तलदेखि माथिसम्म अध्ययन, चिन्तन लेखनपढनमा रुचि घट्तै गएको देखिन्छ तापनि विस्तृत अध्ययनका लागि  'उत्तरआधुनिकतावाद र समकालीन यथार्थ' नामको पुस्तक अध्ययन गर्न म साथीहरूलाई अनुरोध गर्दछु ।

० २०६६ साल विभिन्न किसिमले चर्चाको विषय रह्यो सांस्कृतिक दृष्टिले । त्यसमा पनि लेखन, प्रकाशन र गतिविधिका दृष्टिले यसलाई कसरी मूल्याङ्कन गर्न सकिन्छ ?

यो बडो रोचक र महत्त्वपूर्ण प्रश्न हो भन्ने मलाई लाग्दछ । लेखन, प्रकाशन र साहित्यिक-सांस्कृतिक गतिविधिका दृष्टिले यो वर्ष निकै उल्लेखनीय वर्ष रह्यो । यो वर्ष हामी क्रान्तिकारीहरूकै वर्ष रह्यो । यथास्थितिवाद कि अग्रगामिता ? राष्ट्रिय आत्मसमर्पणवाद कि क्रान्तिकारी राष्ट्रिय चेतना ? बिहारी लोकतन्त्र कि जनगणतन्त्र ? राजनीति यसैको सेरोफेरोमा केन्द्रित रह्यो । हामी पनि यसैको चयन, सङ्घर्ष र प्रतिरोधमा सक्रिय भयौं  । मार्क्सवादी साहित्य प्रतिष्ठान र सांस्कृतिक ‘महासङ्घ’ ले राष्ट्रियताका पक्षमा सशक्त अभियान चलाए । त्यसमा पनि मार्क्सवादी साहित्य प्रतिष्ठानले राट्रियता र जनगणतन्त्रलाई सँगसँगै जोडेर चलाएको आन्दोलनले आन्दोलनमा महत्त्वपूर्ण ऊर्जाको काम गर्यो  ।

त्यसै गरी  लेखन र प्रकाशनका क्षेत्रमा पनि केही महत्त्वपूर्ण कामहरू भए । इच्छुक सांस्कृतिक प्रतिष्ठानले जनयुद्धका कविता र इच्छुक रचनावली भाग ३ प्रकशित गरेर यस वर्षको आरभ्ममै राम्रा कृतिहरूको प्रकाशनको सरुवात गरेको थियो । कविको रूपमा परिचित अनिल शर्मा ‘विरही’ को रसुवामा दुखिरहेको कर्णाली, गङ्गा श्रेष्ठको संस्कृति समीक्षा र सौन्दर्य, घनश्याम पौड्यालको उत्खनन, आरपी तिमल्सिनाको......, सौगात आचार्यको सङ्कल्प यात्रा र अजयशक्तिको आंधीसँग  खेल्दा लगायत ऋषिराज बरालका सत्ता र संस्कृति र कुहिरो र घोडचढीहरू पनि यसै वर्ष प्रकाशित कृतिहरू हुन् । त्यसै गरी सहिद स्मृति प्रकाशनद्वारा प्रकाशित पुस्तक बलिदानका गाथाहरूलाई पनि यस वर्ष प्रकाशित महत्त्वपूर्ण पुस्तकका रूपमा लिन सकिन्छ ।

कविताको क्षेत्रमा यो वर्ष पूर्ण विरामको वर्ष रह्यो । राजनीतिक क्षेत्रका झैं साहित्यिक क्षेत्रमा पनि अनिल शर्मा सशक्त स्रष्टाका रूपमा स्थापित हुनु यस वर्षको महत्त्वपूर्ण पक्ष हो । समीक्षा र सौन्दर्यचिन्तनको क्षेत्रमा गङ्गाजीको कलमले आशा जगाएको छ । आरपी तिमल्सिनाको लेखनबाट खास गरेर गद्य लेखनबाट म  प्रभावित भएको छु । कविताको क्षेत्रमा राम्रो सम्भावना बोकेका राजकुमार कुँवरले  श्रम, सिप र साधना कवितामै बढी केन्द्रित गर्न सके उनीबाट यस क्षेत्रमा भरपर्दो आशा गर्न सकिने आधारहरू देखिएका छन् ।  कतिपय सष्टाहरू गतिहीन, दिशाहीन भएर सहरी कुहिरोमा हराए पनि यो वर्ष केही नयाँ  प्रतिभाहरूले आफू आउनुको प्रभाव छोडेका छन् । गौरी दाहाल, पञ्चकुमारी परियार र शोभा दुलाल नयाँ  सम्भावनाका  साथ देखिएका नारी प्रतिभाहरू हुन् । समालोचनाको क्षेत्रमा डिजन भट्टराईले राम्रो सम्भावना देखाएका छन् । यो वर्ष गीत-सङ्गीतको क्षेत्रमा केकस्ता चक्काहरू श्रोताबीच आए, मेरो अध्यनको कमीका कारण म केही भन्न सक्तिन । तर पनि यो वर्षलाई वैचारिक सङ्घर्ष र सिर्जन- अभियानको वर्ष भन्न सकिन्छ ।

०विगतमा तपाईं  दुईदुईपल्ट प्रलेसको केन्द्रमा रहनु भयो । आजभोलि यसका गतिविधिमा त्यतिसारो देखिनु हुन्न, किन होला ?

प्रलेस निर्माणका विगतका आधारहरू फेरिएको परिस्थितिमा अब यसलाई कसरी लैजाने भन्ने कुरामा पुनरावलोकन गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । अबको आवश्यकतामा एमालेसित साझा मोर्चा बनाउनुको कुनै औचित्य म देख्दिन, कार्यगत एकता गर्न सकिन्छ । साहित्यिक क्षेत्रमा त्यति सारो चर्चामा नआएका त्यसमा पनि कतिपयले नामै नसुनेका कसैलाई लेखक भनेर चिनाउन र पद दिनका लागि खासखास गुटका आधारमा बनाइने प्रलेस र सही अर्थको सामन्तवाद-साम्राज्यवाद विरोधी प्रलेसमा फरक छ । अबको सामन्तवाद-साम्राज्यवादविरोधी मोर्चा भनेको जनगणतन्त्रवादी मोर्चा हो भन्ने मलाई लाग्दछ ।  प्रलेसको सम्मेलन हुने भनेको कि भयो भन्ने एउटा समाचार मैले कतै पढेको जस्तो लाग्छ ।  त्यसपछि यसको केही समाचार सुन्न वा पढ्न नपाएकाले यस्तो संस्थाको गतिविधिमा सरिक हुने वा चासो राख्नुको मैले अर्थ देखेको छैन । फेरि कस्ता व्यक्तिहरू यसको नेतृत्वमा छन् भन्ने कुराले पनि सो संस्थाप्रतिको चासो र सम्बन्ध निर्धारित हुने रहेछ र गरिमा बोध गर्न सकिने रहेछ ।

 ० तपाईं  इच्छुक सांस्कृतिक प्रतिष्ठानमा पनि हुनुहुन्छ । यसका गतिविधिबारे केही बताइदिनुहुन्छ कि ?

यसको भर्खरै पुनर्गठन भएको छ ।  यसको चरित्र मोर्चाको जस्तो अन्य सङ्गठनात्मक पद्धति र प्रक्रियाको नभएर अध्ययन-अनुशन्धान, शोधमूलक, गोष्ठी, अन्तरक्रियामूलक हुने हुनाले यसका गतिविधिलाई आगामी दिनमा यसैमा केन्द्रित गरेर लैजान्छौ । विविध कारणले यो वर्ष यो त्यति गतिशील हुन सकेन । यसका कार्यक्रमहरूलाई क्षेत्रक्षेत्रमा लैजाने र विचारको नेतृत्व गर्ने संस्थाको रूपमा यसको विकास गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।  बैठक बसेर यसका आगामी कार्यक्रमहरू तय हुनेछन् ।

० अन्तमा, अबको सांस्कृतिक आन्दोलनलाई एकताबद्ध बनाएर लैजान के सुझाव-सल्लाह दिनुहुन्छ ?

म यसलाई सुझाव-सल्लाहभन्दा पनि मेरो धारणा भन्नु उचित ठान्दछु । पहिलो कुरा, क्रान्तिकारी राजनीतिले लिने दिशाले सांस्कृतिक आन्दोलनको दिशालाई निर्धारित गर्दछ । साथै सांस्कृतिक आन्दोलनले खेल्ने सचेतकको भूमिकाले क्रान्तिकारी राजनीतिक आन्दोलनको भूमिकालाई प्रभावित पार्दछ । अहिलेसम्मको सत्य के हो भने माओवादी पार्टी नै नेपालको सबैभन्दा क्रान्तिकारी पार्टी हो र योसित मात्रै विशाल अनुभव भएका र जनयुद्धबाट खारिएर आएका नेताहरू छन् । तर पनि प्रश्न उठाउने ठाउँहरू  जताततै छन् । उपभोक्तावाद  र उपयोगितावाद हावि छ । आदर्श भत्केका छन् र नायकहरूका बिम्बहरू स्खलित भएका छन् । ठूलाठूला मोर्चाका कमान्डरहरू  आर्थिक भ्रष्टाचार, अनैतिकता र व्यापार–व्यवसायसित जोडिएका छन् । प्रधानको ठाउँ गौणले लिएको छ । वर्ग हराएको छ र क्षेत्रवाद, लिङ्गवाद, जातजातिवाद हावि भएको छ । गैसस संस्कृति फस्टाएको छ—समावेसीको पुँजीवादी राजनीति बोकेर । उत्तरआधुनिकताको विरोध गर्दागर्दै भित्र–बाहिर जताततै त्यसैको राइंदाइं  देखिन थालेको छ । विचार विचलन र नैतिक स्खलनको डरलाग्दो स्थिति देखिन थालेको छ । त्यसैले बाहिरी मोर्चामा मात्र होइन, भित्रै पनि सङ्घर्ष तीव्र पार्नु पर्ने अवस्था छ ।

यस्तो बेला सांस्कृतिक क्षेत्रमा थुप्रै चुनौतीहरू हुनु स्वाभाविकै हो । यसको सामना क्रान्तिकारी विचारको केन्द्रीयतामा एकताबद्ध भएर नै गर्न सकिन्छ भन्ने कुराप्रति सबै दृढ र प्रतिबद्ध हुनु आवश्यक छ । विगतका समस्याहरूको वैज्ञानिक किसिमले हल गर्दै नयाँ  आधारमा नयाँ एकता नै अहिलेका सारा चुनौतीहरूको सामना गर्ने बाटो हो भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु । इतिहासलाई जसरी भ्रष्टीकरण र विद्रुपीकरण गर्न थालिएको छ, यसको खुलेरै सामना गर्नु पर्दछ । एकताका नाममा यस्ता गलत प्रवृत्तिसित सम्झैता गर्न सकिंदैन  । वैचारिक समस्यालाई टालटुले तालमा र प्राविधिक किसिमले हल गर्ने प्रक्रियाले केही समय त काम देला, तर फेरि स्थिति उस्तै नै रहन्छ । सांस्कृतिक आन्दोलनलाई गतिहीन र अस्तव्यस्त पार्ने काममा तलमाथि, ठूलाबडा कमरेडहरू सबैको धेरथोर भूमिका रहे पनि फ्रयाक्सन इन्चार्जहरू र ‘एकेडमी प्रकरण’ का रहस्यमय पात्रहरू नै सबैभन्दा बढी जिम्मेवार छन्  भन्ने कुरा मलाई लागेको छ । समस्याहरू ठीक ढङ्गले हल नहुनुबाट नै नयाँ  विकल्पको खोजी र बहुकेन्द्रको निर्माण हुन्छ भन्ने कुरालाई सबैले  गम्भीरताका साथ लिनु आवश्यक छ ।

अबको आधारइलाका भनेको सहर त्यसमा पनि काठमाडौँ सहर हो ।यहाँको  प्रतिध्रुवीय बौद्धिक र सांस्कृतिक मोर्चासित लड्न त्यसै किसिमको नेता, नेतृत्व पङ्क्ति, सङ्ठनात्मक संरचना,  नीति र योजना हुनुपर्दछ ।  खास कुरा के हो भने वैचारिक र साङ्गठनिक दुवै क्षेत्रमा शुद्धीकरण र सुदृढीकरणको कठोर अभियानबिना सांस्कृतिक आन्दोलनलाई ठीक किसिमले अघि बढाउन सकिंदैन भन्ने कुरालाई गम्भीरताका साथ लिएर नै समाधानको दिशा पहिल्याउन सकिन्छ भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु ।

चैत ३०, ०६६
(धर्मेशद्वारा लिइएको अन्तर्वार्ता, शीर्षकमा सामान्य हेरफेरसहित)
भिडियो फिचरview all