menu

ताजा समाचार

कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

कम्युनिस्ट न्युक्लिअस, नेपालले नयाँ जनवादी क्रान्तिका पक्षधर सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायलाई एउटै क्रान्तिकारी केन्द्रमा ध्रुवीकृत हुन आह्वान गरेको छ । १२५  औँ माओ दिवसका सन्दर्भमा पुस ११ अर्थात् २६ डिसेम्बरका दिन जारी सो वक्तव्यमा देशीविदेशी प्रतिक्रियावादहिरू तथा सबै खाले अवसरवादीहरू विरुद्ध निर्मम सङ्घर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न मालेमावादी क्रान्तिकारीहरू गोलबद्ध हुनुको विकल्प छैन भनेको छ ।  प्रस्तुत छ सो वक्तव्यको पूर्ण पाठ :
...............................................................................................


नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध होऔं !

आज २६ डिसेम्बर, १२५  औं माओ दिवसका सन्दर्भमा, विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओप्रति  क्रान्तिकारी अभिवादन प्रकट गर्दै मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

साम्राज्यवाद, आधुनिक  संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाइँ लडेर मार्क्सवाद-लेनिनवादको रक्षा र विकास गर्दै विश्वसर्वहारा क्रान्तिलाई  नयाँ दिशा प्रदान गर्ने महान् नेता कमरेड माओ त्सेतुङको मुत्यु भएको पनि  ४२  वर्ष भइसकेको छ ।
साम्राज्यवादी र संशोधनवादी शक्तिहरू मार्क्सवाद-लेनिवाद-माओवादको भ्रष्टीकरण र महान् नेताहरूको बिम्ब विद्रूपीकरणका नयाँनयाँ योजना बुन्दै अनेक भ्रम र अन्योल उत्पन्न गर्न सक्रिय देखिएका छन् तापनि सबै किसिमका विभ्रम र षड्यन्त्रलाई चिर्दै विश्वभरिका क्रान्तिकारीहरू मालेमाको झण्डा झन्झन् माथि उठाइरहेका छन् । यस  घडीमा हाम्रो न्युक्लिअस विश्वभरिका जनताको न्यायपूर्ण सङ्घर्षप्रति हार्दिक ऐक्यबद्धता प्रकट  गर्दछ ।

कमरेड स्टालिनको मृत्यृपछि गद्दार क्रुस्चेवको नेतृत्वमा राज्य र क्रान्तिसम्बन्धी मार्क्सवादी-लेनिनवादी मूल्य र समाजवादी निर्माणअभियानलाई ध्वस्त पारियो र महान् स्टालिनका विरुद्ध सत्रुतापूर्ण अभियान चलाइयो । यस्तो बेलामा कमरेड माओ मार्क्सवाद-लेनिनवाद र कमरेड स्टालिनका पक्षमा दृढताका साथ उभिनुभयो र महान् बहस र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत  संशोधनवाद र साम्राज्यवादका विरुद्ध प्रतिरोध अभियान चलाउनुभयो । यस अभियानले पूर्णता नपाउँदै माओको मुत्यु भयो । माओको मुत्युपछि तेङ मण्डलीको नेतृत्वमा पार्टीभित्रका पुँजीपन्थीहरूले सत्ता कब्जा गरेर माओको नेतृत्वमा समाजवादी आन्दोलनले प्राप्त गरेका सम्पूर्ण प्राप्तिहरूमाथि आक्रमण गरे  ।

चिनियाँ पुँजीवादी पन्थीहरूले क्रुस्चेवको आधुनिक संशोधनवाद, युरो-कम्युनिज्मको बहुलवादी विसर्जनवाद र आफ्नै पार्टीका क्रुस्चेवपन्थीहरूका विरुद्ध र क्रान्तिका पक्षमा माओको नेतृत्वमा लडिएको  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डालाई उनीहरूले रछ्यानमा फ्याले र त्यसको ठाउँमा संशोधनवादी गद्दारीको झन्डा गाडे । च्याङ चिङलगायतका क्रान्तिकारी योद्धाहरूलाई जेलमा हाले र माओ र उहाँले स्थापित गरेका समाजवादी अभियान र सर्वहारावादी मूल्यका विरुद्ध एक किसिमले युद्धको घोषणा गरे  । यसले संसारभरिका क्रान्तिकारीहरूलाई गम्भीर बनाउनु स्वाभाविक थियो ।

साम्राज्यवादीहरू र विश्वका संशोधनवादीहरूले चिनियाँ पुँजीपन्थीहरूका गतिविधिहरूप्रति समर्थन अभिमत दिए पनि संसारभरिका क्रान्तिकारीहरूले यसलाई “चीनमा प्रतिक्रान्ति” भएको भनेर घोषणा गरे । क्रान्तिकारीहरूले माओले दर्शन, विचार र राजनीतिका क्षेत्रमा पुर्याएको महान् योगदान र मूल्यको उच्च मूल्याङ्कन गर्दै माओ विचारधाराले मात्र पुग्दैन, यसलाई वाद नै भन्नुपर्छ भनेर घोषणा गरे । विश्वका क्रान्तिकारीहरूले माओवादलाई मार्क्सवाद-लेनिनवादको निरन्तरतामा विकसित सिद्धान्तका रूपमा व्याख्या गरेर आजको युगको मार्क्सवादको संज्ञा दिए । उनीहरूले माओका योगदानहरूको विश्लेषण र संश्लेषण गर्दै  माओवाद मान्नेहरू नै सही अर्थमा क्रान्तिकारी हुन् भनेर निष्कर्ष निकाले । आज कोही आफूलाई मार्क्सवादी भन्छ भने, ऊ माओवाद मान्छ कि मान्दैन भन्ने प्रश्न सार्वभौम प्रश्न बनेको छ । रूसी-चिनियाँ प्रतिक्रान्तिकारी भ्रम र अन्योललाई चिर्दै क्रान्तिकारी दिशाबोध गर्ने/गराउने उद्देश्यका साथ मार्क्सवाद-लेनिनवाद-माओवादलाई मान्ने विश्वभरिका क्रान्तिकारीहरू एकजुट हुने अभियान चलाउँदै क्रान्तिकारीहरू 'रिम' र कम्पोसामा आबद्ध हुँदैगए । क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा क्रियाशील 'रिम' विघटनको स्थितिमा पुगे पनि नयाँ केन्द्र निर्माणको अभियान निरन्तर जारी  छ।

 आज विश्वमा कतै पनि समाजवादी सत्ता छैन ।  एक समयका विश्वका उत्पीडित जनताका आस्थाका केन्द्र बनेका रूस र चीनले सामाजिक साम्राज्यवादको बाटो समातेका छन् ।  परन्तु,  विश्वका उत्पीडित जनता मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डाका साथ आआफ्नो देशको विशिष्टतामा क्रान्तिकारी युद्ध लडिरहेका छन् । सङ्घर्षका रूपहरू फरक होलान्, तिनका उँचाइ र गहिराइमा भिन्नता होला, तर संसारभरिका उत्पीडित जनताले यतिखेर मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डा उठाएका छन् ।  आज भारत, फिलिपिन्स, टर्की र पेरूका जनता त्यहाँका माओवादी पार्टीको नेतृत्वमा जनयुद्ध लडिरहेका छन् । साम्राज्यवादी केन्द्रहरूमा समेत  माओ र माओवादप्रतिको आकर्षण बढ्दो छ ।   माओवादी पार्टी नभएका स्थानमा पार्टी निर्माण गर्ने पहल र प्रक्रियाको थालनी भएको छ भने माओवादी पार्टी निर्माण भएका स्थानहरूमा क्रान्तिलाई अघि बढाउने व्यावहारिक  थालनी भएको छ ।

नेपालको दसबर्से महान् जनयुद्धलाई नेतृत्व तहमा रहेका प्रचण्ड-बाबुरामहरूले गद्दारीपूर्वक विसर्जनगरी  प्रतिक्रियावादी कित्तामा आत्मसमर्पण गरे पनि मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरू नयाँ किसिमले सङ्गठित, पुनर्गठित र ध्रुवीकृत हुँदै नयाँ जनवादी क्रान्तिलाई नयाँ दिशा र गति दिन उद्यत् रहेका छन् ।

अवश्य पनि आज नेपालमा बहुरूपी संशोधनवाद हाबी छ । उत्पीडित नेपाली जनताले एकातिर परम्परागत प्रतिक्रियावादी शक्ति, दलाल तथा नोकरसाही पुँजीपति वर्ग र सामन्तवादका विरुद्ध लड्नुपरेको स्थिति छ भने अर्कातिर कम्युनिस्ट पार्टी नामका थरीथरीका  बहुरङ्गी अवसरवादीहरूसित पनि लडिरहनुपरेको स्थिति छ । दुवै मोर्चामा लडाइँ लड्ने कुरा जटिल र चुनौतीपूर्ण छ तापनि यो असम्भव छैन । हामीसित वैज्ञानिक हतियार छ र  क्रान्तिप्रतिको प्रतिबद्धता छ । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार र क्रान्तिकारी युद्धप्रतिको प्रतिबद्धता नै सफलतासम्म पुर्याउने हाम्रा विश्वासका आधारहरू  हुन् । नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन । माओले भन्नुभएझैँ यदि हामी पहाड चढ्ने साहस गर्छौ भने सँसारमा गाह्रो भन्ने कुरा केही पनि छैन । कमरेड माओलाई सम्झिँदै पहाड चढ्ने साहस गरौँ ।

मार्क्सवाद-लेनिनवाद-माओवाद :  जिन्दावाद !
नयाँ जनवादी क्रान्ति :  जिन्दावाद !

कम्युनिस्ट न्युक्लिअस, नेपाल

  डिसेम्बर २६,२०१८ 
भिडियो फिचरview all