menu

ताजा समाचार

माओलाई सम्झिनुको अर्थ: डा. ऋषिराज बराल

डा. ऋषिराज बराल

स्टालिनको मुत्युपछि खास गरेर रसियाली कम्युनिस्ट पार्टीको विसौँ महाधिवेशनपछि क्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र कथित शान्तिपूर्ण सङ्क्रमणको मार्क्सवाद-लेनिनवाद विरोधी अभियानलाई लिएर विश्वकम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी मुलुकहरूले मात्र नभएर कम्युनिस्ट पार्टी र मुलुक भन्ने देशहरूले समेत आफूलाई क्रुस्चेवको लाइनमा उभ्याए । अब युरोपको स्थितिमा युरोपकै हावापानी अनुसारको साम्यवाद भनेर युरो-कम्युनिज्मको हावा बग्न थाल्यो । जति स्टालिनको विरोध गर्यो , त्यति क्रान्तिकारी र वस्तुवादी, मुलुक बुझेको, विश्वस्थिति बुझेको र समयअनुसार चलन सक्ने कम्युनिस्ट दरिने स्थिति उत्पन्न गराइयो । सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर बनाउने अभियान चलाइयो ।
 
यस किसिमको  दक्षिणपन्थी हावाहुन्डरीका विरुद्ध मार्क्सवाद-लेनिनवादको झण्डा लिएर कमरेड माओत्सेतुङ उभिनुभयो । सुरुमा उहाँलाई साथ दिनेहरू  अल्बानियाका अनवर होक्जा र युगोस्लावियाका टिटो सबैले साथ छाडे । विश्व कम्युनिस्ट आन्दोलनमा उहाँ अल्प मतमा पर्नुभयो । तर,  अलिकति पनि विचलित नभई वहाँ मार्क्सवाद-लेनिनवादको झण्डा लिएर क्रुस्चेव र उसको साम्राज्यवादपरस्त चिन्तन र व्यवहारका विरुद्ध उभिनुभयो । विश्व समाजवादी शिविर दुई क्याम्पमा विभाजित भयो । माओका विरुद्ध युरोपलगायतका मुलुकहरूमा एक किसिमको अभियान नै चलाइयो । माओलाई “विश्व समाजवादी शिविर विरुद्ध गएको”, “अमेरिकी साम्राज्यवादलाई सघाउ पुयाएको” ”मात्र नभनी “सिआइएको एजेन्टसम्म” को अभियोग लगाइयो । क्रुस्चेवको नेतृत्वमा रहेको रूस र उसका सहयोगी राष्ट्रहरूद्वारा नाकाबन्दीको स्थिति उत्पन्न गराइयो । क्रुस्चेवले त अनेक बहाना बनाएर चीनमाथि आक्रमणको धम्कीसमेत दियो । तर माओ दृढताका साथ मार्क्सवाद-लेनिनवादको पक्षमा उभिनुभयो । कमरेड स्टालिनका योगदान र कमजोरीहरूको सही र वैज्ञानिक मूल्याङ्कन गर्दै स्टालिनलाई लेनिनको सच्चा उत्तराधिकारी भन्दै माओ स्टालिनको पक्षमा दृढताका साथ उभिनुभयो । यसै क्रममा वहाँले महान बहस को विश्वव्यापी अभियान चलाउनुभयो । रूसको धम्कीबाट डराएर रूस समाजवादी मुलुक हो, स्टालिन बेठीक हुन् र क्रुस्चेव सही हो भन्नु भएन । त्यतिबेरको हावाहुन्डरीको विपरीत धारमा उभिने कुरा साँच्चिकै सहज थिएन । तर माओ मार्क्सवाद-लेनिनवादको झण्डा उचालेर दृढताका साथ हावाहुन्डरीका विरुद्ध उभिनुभयो ।

स्टालिनको मृत्यु र रूसमा नवसंशोधनवादको स्थापनासँगै बाहिर मात्र नभएर चिनियाँ कम्युनिस्ट पार्टी भित्रै पनि मौका खोजेर बसेका अवसरवादीहरू र दक्षिणपन्थीहरू चलमलाउन थाले । माओमाथि प्रहार गर्नका लागि अनेक उपायको खोजी  गर्नथाले । माओले यस यथार्थलाई राम्रोसित बुझ्नुभएको थियो र प्रस्टताका साथ भन्नुभयो :


“सर्वप्रथम, स्टालिनको प्रश्नका  सम्बन्धमा हामी र क्रुस्चेवबीचमा अन्तर्विरोध छ । उसले स्टालिनको अति विभत्स तस्विर खिचेको छ र यस कुरामा उसित हाम्रो सहमति छैन । उसले त स्टालिनलाई विभत्स ढङ्गले कुरूप बनाएको छ । त्यसकारण अब यो कुरा उसको देशको मात्र सरोकारको विषय नभई यो त सारा देशहरूकै सरोकारको विषय हो । हामीले स्टालिनको तस्बिर ‘तिआन अन मेन चोक’ मा राखेका छौँ । यो कुरा सारा संसारभरिका श्रमजीवी जनताको इच्छाअनुरूप छ र यसले  क्रुस्चेबसँगका हाम्रा आधारभूत मतभिन्नताहरूलाई सङ्केत गर्छ । ”

समयले माओ ठीक हुनुहुन्थ्यो, माओले चलाउनुभएको महान् बहसअभियान सही थियो भनेर पुष्टि गरेको छ । समयले माओ ठीक हुनुहुन्थ्यो र क्रुस्चेव र उसको मण्डली, युरो-कम्युनिज्मको वकालत गर्नेहरू बेठीक थिए र हुन् भन्ने कुरा प्रमाणित गरेको छ । साम्राज्यवादीहरूका अनेक षड्यन्त्र, स्टालिनको मृत्युपछि रूस र युरोपमा आएको हावाहुन्डरीका सामु सामु माओ झुक्नुभएको भए आज हामीसित मार्क्सवाद-लेनिनवाद- माओवाद हुने थिएन, आजको साम्रज्यवादसित लड्ने हतियार हुने थिएन । संशोधनवादीहरूले गरेको मार्क्सवादको भ्रष्टीकरण र विद्रुपीकरणका विरुद्ध माओ नलड्नुभएको भए आज विश्व सर्वहारा वर्गले माओवादको हतियार पाउने थिएन  । यसले वैचारिक सङ्घर्ष र विचारको महत्त्व कति महत्त्वपूर्ण हुन्छ भन्ने यर्थाथलाई दर्साउँछ  ।

माओले  आरोप, षड्यन्त्र र चरित्र हत्याका थुप्रै शृङ्खलाहरू ब्यहोर्नु भयो ।  वहाँले पार्टीभित्र र बाहिर निकै लामो वैचारिक-राजनीतिक सङ्घर्ष गर्नुभयो । हावाहुन्डरी, ज्वारभाटका विरुद्ध जानु आवश्यक छ र यो कति  जटिल हुन्छ भन्ने कुरा माओले भोगेको इतिहासले देखाएको छ । माओले त्यसै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलाउनु भएको थिएन । विश्वव्यापी रूपमा आएको हावाहुन्डरी र चिनियाँ कम्युनिस्ट पार्टीभित्रका दक्षिणपन्थीहरूको गतिविधिलाई राम्रोसित अध्ययन गरेपछि चीनले रङ्ग फेर्ने हो कि भन्ने चिन्ता र चिन्तनका साथ चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान चलाइएको थियो ।  समयले सांस्कृतिक क्रान्ति सही थियो भनेर साबित गरिसकेको छ । क्रुस्चेव हुँदै गोर्बाचोवसम्म पुग्दा  रूसले पूर्णरूपमा रङ्ग फेर्यो र यता माओको मृत्युपछि चीनले पनि त्यही बाटो समात्यो ।


सन् १९७६ मा माओको मृत्युभयो । माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । माओ र सांस्कृतिक क्रान्तिका पक्षमा दृढताका साथ उभिएका माथिल्लो तहका नेताहरूविरुद्ध मुद्दा लगाइयो, जेल हालियो र थुप्रैको हत्या गरियो । विस्तारै माओ र समाजवादी निर्माण अभियानसितसम्बद्ध सर्वहारावादी मूल्यमाथि धावा बोलियो  । देङ सियाओ पेङ र हु याओ ब्याङको नेतृत्वमा चालिएको कथित सुधारको यो अभियान सारमा चीनमा पुँजीवादको पुनर्स्थापना थियो । यसलाई विश्वभरिका क्रान्तिकारीहरू र चिनियाँ माओवादीहरूले “चीनमा प्रतिक्रान्ति”  को सज्ञा दिए र त्यसैअनुरूप व्यवहार गर्दै जनमत निर्माणमा सक्रियताका साथ लागे । अब चीन समाजवादी हुनुको त के कुरा, यो साम्राज्यवादी शक्तिको रूपमा विकसित भएको छ । परन्तु चिनियाँ पुँजीपन्थीहरू आनन्दले बस्ने स्थिति छैन । चिनियाँ सर्वहाराले माओवादी कम्युनिस्ट पार्टी, चीन गठन गरेर आफ्ना गतिविधिहरूलाई अघि बढाइरहेका छन् ।

माओको मृत्युपछि माओले दर्शन, वैज्ञानिक समाजवाद, राजनीतिक अर्थशास्त्र र  निरन्तर क्रान्तिको पक्षमा पुर्याएको योगदानलाई माओ विचारका रूपमा सीमित गर्न मिल्दैन भन्दै विश्वका क्रान्तिकारीहरूले यसलाई माओवादका रूपमा विश्लेषण गर्दै मार्क्सवाद-लेनिनवादमा भएको विकास, मार्क्सवादको तेस्रो चरण,  आजको मार्क्सवादका रूपमा संश्लेषण गरे । आजको सन्दर्भमा क्रान्तिकारी हुनुको अर्थ माओवादी हुनु हो भन्ने सार्वभोम सत्य वर्तमानको सत्य हो । यस कार्यमा पेरू कम्युनिस्ट पार्टी र रिमको भूमिका ऐतिहासिक रहेको छ र आज माओले देखाएको क्रान्तिको बाटो, दीर्घकालीन जनयुद्धको बाटोमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी), फिलिपिन्स कम्युनिस्ट पार्टी, टर्कीको माओवादी पार्टी र पेरू कम्युनिस्ट पार्टी दृढताका साथ अघि बढिरहेका छन् र थुप्रै मुलुकहरूमा माओवादी पार्टी गठन गर्ने क्रम निरन्तर जारी छ  ।
 
स्टालिनको मृत्युसँगै युरोपमा देखिएको विसर्जनवाद, सोभियत रूसको पतन र माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति संसारभरिका साम्राज्यवादीहरूका लागि खुसीको कुरा थियो ।  स्थितिको सही र वैज्ञानिक आकलन गर्न नसकेका बुद्धिजीवीहरूले चारैतिर अँध्यारो र शून्यताबोध गर्नथाले ।  दर्शन, विचार र राजनीति सबैतिर उनीहरूले शून्यता मात्र देखे र “उत्तरवाद” र “अन्त्यको सिद्धान्त”लाई अघि सारे । साम्राज्यवादले यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्यो  । “विचारको अन्त्य”, “प्रगतिको महाख्यान” को अन्त्य “मार्क्सवादको अन्त्य” भन्दै साम्राज्यवादले  “उत्तरवादी"  सिद्धान्तलाई भूमण्डलीकरण गर्यो  । साम्राज्यवादलाई प्रजातन्त्रको मुकुण्डो लगाएर उसले सबैभन्दा बढी प्रहार मार्क्सवाद र मान्छेको सिर्जनशक्तिमाथि गर्यो ।

मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरू आज एकातिर “उत्तरवादी” अन्त्यको सिद्धान्तका विरुद्ध लडिरहेका छन् भने अर्कातिर २१ औँ शताब्दीको बहुरूपिया संशोधनवाद, लाल झण्डाको विरुद्ध लाल झण्डा बोकेको संशोधनवादका विरुद्ध पनि लडिरहेका छन् । माओवादले क्रान्तिकारीहरूलाई दुवै मोर्चामा लड्ने विचार र बाटो दिएको छ । नेपाली समाजको सन्दर्भमा पनि यतिखेर हामी यी दुवै मोर्चामा लडिरहेका छौँ । अहिलेको स्थिति साँच्चिकै जटिल छ । क्रान्तिकारीहरू सङ्गठनात्मक दृष्टिले कमजोर भएको र संशोधनवादी-संसदवादीहरू हाबी भएको स्थिति छ । यतिबेर दक्षिणपन्थी हावाहुन्डरी जोडतोडले चलेको छ र कमजोर जरा भएकाहरू सँगसँगै पछि लाग्न पनि सक्छन् र लागिरहेका पनि छन् । सतिसाल मात्रै प्रतिरोधका साथ उभिन सक्छ भन्ने यथार्थलाई व्यवहारबाटै प्रमाणित गर्नुपर्ने चुनौती हाम्रा सामु छ ।

अवश्य पनि अबका दिन थप चुनौतीपूर्ण हुनेछन् । दुवै थरी मोर्चा सक्रिय हुनेछन् । “कम्युनिस्टको सरकार हुँदा पनि”, “वामपन्थीहरूको हातमा सत्ता आउँदा पनि” विरोध गर्नेहरू “विदेशीबाट” शक्तिबाट निर्देशित हुन् , “जनविरोधी” हुन्  भन्ने आरोप पनि क्रान्तिकारीहरूलाई वाम रूपधारी सत्ताधारी शासक वर्गले लगाउन सक्छ, लगाउने छ । साथै यसको जनविरोधी चरित्रका बारेमा  जनतालाई  बुझाउन पनि समय लाग्न सक्छ । जनता आफैँले अनुभूत नगरन्जेलसम्म यस विरुद्धको जनमत निर्माण गर्ने काम निकै जटिल र चुनौतीपूर्ण हुनु स्वाभाविक छ । सैद्धान्तिक पक्षभन्दा व्यावहारिक पक्ष अझ बढी जटिल हुनेछ  । वास्तवमा “लाल झण्डाका विरुद्ध लाल झण्डा” को मोर्चा  निकै जटिल  हुन्छ ।

समयले अहिलेको संविधान र संसदीय व्यवस्था नमान्नेहरूबीच व्यापक मोर्चाबद्धताको माग गर्दछ । क्रान्तिकारी उद्देश्यमा लागेका अगुवाहरू यसप्रति गम्भीर हुनु आवश्यक छ । होहल्ला गर्नु र क्रान्तिलाई योजनाबद्ध शृङ्खलामा  अघि बढाउनु अलगअलग कुरा हुन्  । आवश्यकता अनुसार  अघि बढ्ने र पछि हट्ने कुरा कला र विज्ञान दुवै हो  । विसर्जनवाद ढोल पिट्दै आउँदैन । प्रधान कुरा स्कुलिङ्ग हो । दक्षिणपन्थी अवसरवादभन्दा कम खतरनाक हुँदैन ''क्रान्तिकारी रूपवाद" !   विचारभन्दा आर्थिक उत्प्रेरणाले निर्मित जगले धेरै दिन धान्ने स्थिति बन्दैन  । सत्य के हो भने, हामी जो क्रान्तिको कुरा गरिरहेका छौं, सबैले छातीमा हात राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । आफ्नै टाउकामा आफैंले आगो लगाउने कुरा गारो त छ, तर आवश्यक छ । अब मोर्चाबद्ध हुनुको विकल्प छैन । यतिखेर असाधारण आत्मबल र इच्छाशक्तिको आवश्यकता छ । गम्भीर बुझाइ र सोचाइको आवश्यकता छ  ।

हामीले  देशभित्र क्रान्तिकारी जनउभारको उठान गर्न सकिरहेका त छैनौं नै, क्रान्तिका लागि लडिरहेका विश्वका उत्पीडित जनताको पक्षमा उभिने कुरा त परै जाओस्, अभिमत जाहेर गर्नु पनि आवश्यक ठानेका छैनौं   । गजबको निस्पृहतादेखिन्छ हामीमा ! अन्तर्राष्ट्रियतावादी सर्वहारावादी चिन्ता र चिन्तनबाट हामी एकदमै  विमुख भएका छौं । तर पनि हामी आफूलाई मालेमावादी भन्छौँ । कस्तो विडम्वना ! यस्तो निस्पृहताबीच दक्षिणपन्थी हावाहुण्डरी हाबी हुने कुरा अचम्मको विषय भएन । त्यसैले पनि गम्भीर आत्मसमीक्षाको आवश्यकता छ भनिएको हो ।

हजार औँला ठडिए पनि सैद्धान्तिक-वैचारिक पक्षमा सम्झौता नगर, आत्मसमर्पण नगर । महान् बहसमार्फत माओले सिकाएको सत्य यही हो । यतिबेर हामी पनि महान् बहसको चरणबाट गुज्रिरहेका छौँ । हामी यसलाई शब्दमा मात्र स्वीकार गर्छौं कि व्यवहारमा पनि, प्रश्न यहींनेर छ । नयाँ जनवादी क्रान्तिका आधारभूत पक्षलाई सिद्धान्त र व्यवहारमा दरिलो गरी समातेर कार्यनीतिलाई  रणनीतिक उदेश्यको सेवामा लगाउने कि, शब्दजाली बनेर गोलचक्करमा रमाइरहने, प्रश्न यहींनेर छ । सारमा भन्नुपर्दा माओबाट सिक्ने कि नसिक्ने भन्ने प्रश्न  छ । कमरेडहरू हिन्द महासागरको बाटो लागेर सगरमाथाको चुचुरोमा पुग्न सकिंदैन ।

सत्य यही हो  ।
भिडियो फिचरview all