menu

ताजा समाचार

लालभन्ज्याङमा उभिएर जनयुद्धलाई नियाल्दा

ऋषिराज बराल

आजकै दिन, ठीक आजकै दिन २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्त्वमा '' प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ" भन्ने  उद्घोषका साथ  नेपाली जनताले पहिलोपल्ट बन्दुक उठाएका थिए । त्यो महान् दसबर्से जनयुद्ध आरम्भ भएको २२ वर्ष पूरा भएछ । असाध्यै हलक्क बढेको, तर समय नपुग्दै आँधी, हुरी र बतासले लछारपछार पारेको वासनादार कुनै फूलको बिरुवाको जीवनवृत्तझैँ भएको छ यसको इतिहास । आकास छुन तछाडमछाड गर्दै अग्लिन खोजेको, तर तुषाराले कठ्याङ्ग्रिएर  भुइँमै कतै हराएको हिमाली भेकमा उम्रेको धुपीको कुनै विरुवाको कथाझै भएको छ हाम्रो जनयुद्धको इतिहास ।

त्यसबेला जन्मेको कुनै मान्छे अब लक्का जवान भइसकेको छ । उसले विगतका घटनाहरूमा,  इतिहासका पानाहरूमा सुन्नेछ जनयुद्धको महागाथा, देखिजान्ने र सुनीजान्नेहरूबाट—एकादेशमा ...।

यतिबेर केही भावुकताले छोएको छ । केही पीडा र विद्रोहभाव छ । हामीले त्यति सारो केही गुमाएनौँ । बरु थुप्रै कुरा आर्जन गर्यौं, अनुभवले समृद्ध भयौँ । सुन्थ्यौँ, पढ्थ्यौँ, रूसमा यस्तो भयो, चीनमा यस्तो भयो भनेर । भोग्यौँ हामीले । मान्छेहरू प्राणको आहुति दिन  कति सारो तँछाडमछाड गर्दा रहेछन् । मान्छेहरू बलिदानका लागि कतिसारो प्रतिस्पर्धा गर्दा रहेछन् । सबैभन्दा  प्यारो भनेको आफ्नो जीवन हो । त्यही जीवन बलिदान गर्न मान्छे भुँइँमा बन्दुक खस्न नपाउँदै कसरी लामबद्ध हुँदो रहेछ । कहाँबाट आउँदो रहेछ त्यो त्याग, त्यो उत्सर्गभाव ! साथी ढलेको देख्दा कसरी तात्तो रहेछ, बीर योद्धाको छाती  ।  कसरी हाँसीहाँसी पठाउन सक्ता रहेछन् बाआमाहरू छोराहरूलाई बन्दुक समाउन । मुटुको टुक्रा न हो, कसरी पो गर्वका साथ भन्न सक्छन्— देश र जनताको मुक्तिका लागि मेरो  सन्तान सहिद भयो भनेर । तर सक्ता रहेछन्, कस्तो छाती भएका मान्छेहरू ! यस्तै रह्यो हाम्रो जनयुद्ध ।

त्यसै आएको थिएन त्यो  उदात्तभाव । एउटा सन्दर सपना थियो  त्यहाँ । एउटा नयाँ संसार, शोषण र दमन र उत्पीडन  नभएको संसारको आकाङ्क्षा थियो त्यहाँ । वर्षौँदेखिको उत्पीडनबाट मुक्त हुने उत्कण्ठा थियो  त्यहाँ । मन रमाउने हरियो धरती र सुनौलो आकासका लागि, बिहान खाए बेलुका के खाउँ भन्ने संसारबाट मुक्त हुनका लागि त बोकिएको थियो बन्दुक—मरे सहिद, जिते संसार । तर त्यसो भएन । उज्यालो हुनहुन लाग्दा फेरि साँझ पर्यो—  दन्त्यकथाको घटनाझैँ भयो । कता हिँडेको मान्छे कता पुगियो । रात परेर जङ्गलमा बाटो हराएको मान्छेको कथाझैँ भयो ।

पढेका थियौँ हामीले  इतिहासमा—“क्रान्ति मुखमुख त प्रतिक्रान्ति घाँटीघाँटी” भनेर । पढेका थियौँ हामीले अमुक देशमा अमुक नेताले क्रान्तिप्रति गद्दारी गर्यो भनेर । यहाँ  हामीले आफ्नै आँखा अगाडि देख्यौँ,  भोग्यौँ— चुलिएको त्यत्रो पहाड कसरी गर्ल्यामगुर्लुम हुँदो रहेछ भनेर   । आदर्शहरू कसरी भत्किँदा रहेछन् र नायकहरू कसरी खलनायकमा पतन हुँदा रहेछन् । बलिदानमाथि खेलवाड गरियो,  सहिदको रगतमाथि महलहरू ठडिए । कसैका परिवारको अझैसम्म अत्तोपत्तो छैन । माओवादको खोल ओढेर ती नव सामन्तमा फेरिएका छन् । तिनको वर्ग फेरिएको छ । कोही भोकको कारण कर्णालीमा हाम फालेर मृत्यु रोज्न बाध्य छ र कोही राजमहलमा विराजमान छ । गम्छु, केका लागि जान फ्याल्यौ बाबै ! कसका लागि ज्यान फ्याल्यौ !

गजबको भएको छ हाम्रो इतिहास— कसरी एक कालखण्डको नेता अर्को कालखण्डमा गद्दारमा परिणत हुँदो रहेछ । कसरी क्रान्तिकारी पार्टीको इतिहासलाई एकाध गद्दारहरूले फोहोरको डङ्गुरमा परिणत गर्दा रहेछन् । नेतृत्वमा रहेका एकाधका कारणा कसरी सिङ्गो पार्टी सिद्धिँदो रहेछ । सिङ्गो सङ्गठन कसरी एकाध नेताहरूले डोर्याएको मृत्युपथको सिकार बन्दो रहेछ ।  यो हामीले आर्जन गरेको अनुभव हो । यो अनुभव पनि चानचुने अनुभव होइन/छैन ।  बलिदान र त्यागको इतिहासजस्तै धोका र गद्दारीको इतिहास पनि चानचुने खालको  छैन । यो नकारात्मक शिक्षा पनि साँच्चिकै घतलाग्दो छ । अलिअलि त युद्धकालमै  पनि देखिन्थ्यो,   अचम्म पनि लाग्थ्यो, यस्तै हो युद्धको विशिष्ट अवस्थामा भन्ने बुझिन्थ्यो ।  स्थिति त अर्कै पो  भइसकेको रहेछ ।

कुरा त अर्को कोणबाट पनि सोच्नु आवश्यक छ । स्थिति एकैचोटि यस्तो भएको होइन । धोका र गद्दारीको यो गुणात्मक चरित्र, पार्टीभित्रको नवसामन्तको यो घिनलाग्दो स्वरूप एकैचोटि  आएको होइन/थिएन ।  पक्कै पनि एकैचोटि पार्टीमा नवसामन्तहरूको विकास भएको होइन । यसको बिउ त युद्धकालमै थियो । युद्धको आवरणमा लुकेर बसेको रहेछ सामन्तवाद । हाम्रो साम्यवादी आदर्श  पनि सामन्ती श्रद्धाभावमा रूपान्तरित भएछ । अति विश्वास,  अति श्रद्धा र वीरपूजक प्रवृति पनि दोषी थियो, हामी पनि दोषी थियौं —नयाँ सामन्तहरूको विकास हुनमा  । थाहै नपाई हामीले आन्दोलभित्रै सामन्तवादको अभ्यास पो गरिरहेका रहेछौं ! आफ्नै चेतलाई चिमोट्नु पर्ने स्थिति आएजस्तो लाग्छ ।
 
प्रचण्ड-बाबुरामजस्ता गद्दारहरू रातारात जन्मेका नभएर हामीले तिनको निर्माण गरेका होइनौँ र  ! कम्युनिस्ट आन्दोलनमा सारै छोटो इतिहास बोकेको बाबुराम नामधारी पात्र कतैबाट प्रायोजित पात्र थियो र प्रचण्ड साम्यवादी आवरणभित्र लुकेको नवसामन्तवादको विकासे (हाइब्रिड)  स्वरूप थियो भन्ने कुरलाई हामीले समयमै बुझ्न सकेनौँ । हामी यहीँनेर चुक्यौँ । अहिले हाम्रा लागि यो शिक्षा र समीक्षाको विषय भएको छ । हामीले विद्रोह त गर्यौं, तर यो ढिलो भइसकेको थियो ।  महान् जनयुद्धसित  गाँसिएको एउटा टोलीले मिहिन पाराले ‘महान् गद्दारी’ को बाटो समात्यो तपाईं-हामीलाई जिल्याएर । तिनीहरू आन्तरिक रूपमा विचारबाट पतन भइसकेका छन् र बाह्य रूपबाट साम्राज्यवादी-विस्तारवादी शक्तिहरू  मूलतः भारतीय विस्तारवादको दलालमा परिणत भइसकेका छन् । अब उनीहरू  एमालेमा विलय भएर आफूलाई सम्पूर्ण रूपमा विसर्जन गर्ने तयारी गर्दैछन् ।

हामी जो आफूलाई क्रान्तिकारी भनिरहेका छौँ, प्रश्न हाम्रा सामु पनि उभिएको छ । प्रश्नहरूले हामीबाट पनि उत्तर खोजेका छन् । कहाँ र के पुगेन हामी क्रान्तिकारी भनिएकाहरूको पनि  । हिजोको इतिहासको पनि नयाँ किसिमले समीक्षा गर्नु जरुरी छ । यसमा मूलतः नेकपा (माओवादी) को चौथो विस्तारित बैठकबाट आरम्भ गरेर दोस्रो राष्ट्रिय सम्मेलन, ‘प्रचण्डपथ’ को घोषणा र चुनवाङ बैठक हुँदै अघि बढुनुपर्छ । विचलन र गद्दारीका बिउहरू यहीँभित्र छन् । यी सन्दर्भहरूलाई पर सारेर यिनको चिरफारबिना प्रचण्ड-बाबुरामलाई गाली गरेर मात्र पुग्दो छैन  । यी सबै  सन्दर्भसित गाँसिएका प्रक्रियाहरूमा  हामी क्रान्तिकारी  भनिएकाहरू कहाँनेरी उभियौँ,  हाम्रो इतिहासलाई कसरी बुझ्ने र हाम्रो भूमिकालाई कसरी विश्लेषण गर्ने भन्ने प्रश्नहरू पनि हामीसित जोडिएका छन् । हामी किनारका साक्षी मात्र भयौँ भन्छौँ भने कम्युनिस्ट पार्टी हिटलरी शैलीमा चल्छ/ चल्दो रहेछ भनेर हामीले खुलस्त रूपमा भन्नुपर्छ  । पछिल्ला दिनहरूको पनि समीक्षा गर्नु आवश्यक छ ।

इतिहासको कठघरामा थेरथोर हामी सबै उभिनैपर्ने हुन्छ ।  पहिले आफैँबाट आत्मसमीक्षा गररे अघि बढ्नु आवश्यक छ । विचार, नेतृत्व, कार्यदिशा र दुई लाइन सङ्घर्षप्रति बेवास्ता गर्दा, यसलाई गम्भीरतापूर्वक नलिंदा  केसम्म हुँदो रहेछ भन्ने कुरा हामीले राम्रैसित भोग्यौं  । विदेशी प्रभुहरूलाई रिझाउन प्रचण्ड-बाबुरामले क्रान्तिप्रति गद्दारी गरे भन्ने कुरामा अब कुनै भ्रम छैन । नयाँ सामन्त, दलाल र गद्दारहरू जन्माउन हामी पनि केही मात्रामा जिम्मेवार छौँ भन्ने कुरालाई  हामीले प्रस्ट रूपमा भन्नैपर्ने हुन्छ । पहिले कमरेड गौरव र पछि  कमरेड किरण योजनाबद्ध ढङ्गले प्रचण्ड-बाबुरामकै योजनामा पक्राउ परेका हुन् भन्ने कुरा पनि खुलस्त पार्नुपर्ने हुन्छ । सत्य के हो भने, चुनवाङ बैठकका निर्णयहरूसित कमरेड किरण र गौरवको गिरफ्तारीसित घनिष्ठ सम्बन्ध छ ।  अहिले क्रान्तिका ठूलाठूला कुरा गर्ने क्रान्तिकारी भनाउँदाहरूको भूमिका चुनवाङ बैठकको सेरोफेरोमा के-कस्तो रह्यो भन्ने कुराले पनि उत्तर मागिरहेको छ ।

जनयुद्धकालका छद्म प्रकृतिका विचलनहरू ‘शान्तिप्रक्रिया’ म विस्तारित हुनु स्वाभाविक थियो । यसको फैलावटमा एकताका नाममा भए/गरेका कामहरू सबैभन्दा खतरनाक थिए । एकताकेद्रसितको ‘एकताप्रक्रिया’ नै गलत थियो । यसबाट पनि क्रान्तिकारी भनिएका हामीहरू भाग्न मिल्दैन । प्रचण्ड एक्लैले भित्र्याएका होइनन्, फूलमाला लगाएर । नाच्नेमा हामी पनि थियौँ र हौँ । गौर हत्या काण्डमा हाम्रै प्रतिवेदनले हत्यारा किटान गरेका अपराधीहरूलाई हामीले कामरेड बनाएर भित्र्याएका थियौँ र यसमा रातो टीका लगाइदिन क्रान्तिकारी भनिएकाहरू हामीहरू सबै लामबद्ध थियौं । जनवादी केन्द्रीयताका नाममा ‘माथिकाहरू’ ले गरेका हरेक गलत कामलाई “ठीक छ कमरेड” भनेर ताली पिट्ने संस्कृतिको विकासमा धेरथोर हामी पनि जिम्मेवार छौँ । कम्युनिस्ट आन्दोलनमा ‘माथि’ बसेकाहरूले पनि गल्ती गर्छन् र त्यसको आलोचना गर्ने पनि वैज्ञानिक नियम र पद्धति छ भनेर पढेका थियौँ । तर व्यवहारमा त्यस्तो हुँदो रहेनछ । सबै चल्दो रहेछ-गलत सही सबै कुरा शिरोपर, जसले प्रश्न  उठाउँछ,  ऊ अराजक ठहरिन्छ्, उसका टाउकामा डण्डा बर्सिन्छन् ।चुपचाप बस्नु अथवा बिद्रोह गर्नु, दुइटा मात्र बाता हुँदा रहेछन् ।
 
जे होस्, जनयुद्धले थुप्रै कुराको शिक्षा दियो । अरू देशको कुरा होइन, सबै कुरा हामी आफैँले भोग्यौँ । लिपपोत नगरी इमान्दारीपूर्वक इतिहासको सही र वैज्ञानिक समीक्षा गरे मात्र प्रस्ट देखिन्छ सत्यतथ्य । अनि मात्र कहाँकहाँ  कमजोरी भयो भनेर सच्याउन सकिन्छ । प्रचण्ड-बाबुरामसित सम्बन्ध विच्छेद गरे पनि हामीले विचलनका बिउ हामीसितै लिएर आएका छौँ भन्ने कुरामा पनि हामी प्रस्ट हुनुपर्छ । नयाँ पार्टी बन्नु र बनाउनुको अर्थ इतिहासको वैज्ञानिक समीक्षा गर्नु र शिक्षा लिनु  हो । कम्युनिस्ट पार्टी  दलाल, सामन्त र सुविधाभोगी वर्ग जन्माउने कारखाना नबनोस् भन्ने संचेतना आर्जन गर्नु हो । अबका दिनमा यो संचेतनाको अझ बढी आवश्यकता छ । अब शब्दजालले पुग्दो छैन ।  इतिहासबाट शिक्षा लिएर प्रस्टताका साथ अघि नबढ्ने हो भने क्रान्तिका कुराहरू ठगी धन्दा बढी साबित हुने छैन ।

 क्रान्तिका कुरा  गर्ने, तर वर्गचिन्तन परित्याग गर्ने रोग पनि नेपालको कम्युनिस्ट आन्दोलनको ठूलो समस्या भएको छ ।उत्पीडित जात, क्षेत्र, लिङ्को पक्षमा उभिने कुरा र वर्गीय चिन्तनलाई निषेध गर्ने कुरा फरकफरक कुरा हुन्  । जब वर्ग हराउँछ र पहिचानवादी  अतिबाद हाबी हुन्छ, जब सर्वहारा वर्गको पार्टी जात-जाति , क्षेत्र र  लिङ्वादी परिपञ्चमा फस्छ,  विसर्जनको ‘श्रीगणेश’  त्यहीँबाट हुन्छ । यो पनि वर्तमानले प्रस्ट पारेको यथार्थ हो । यस यथार्थलाई पनि आफूलाई क्रान्तिकारी भन्ने हामी सबैले गम्भीरताका साथ आत्मसात गर्नु जरूरी छ । वैचारिक विसर्जन सङ्गठनात्मक विसर्जनमा परिणत हुन्छ ।

कालखण्डका दृष्टिले दसबर्से  जनयुद्ध इतिहास भयो, तर यो अनुभव मात्रै होइन, यो वर्तमान पनि हो र भविष्य पनि । बिनावलिदान, बिनात्याग 'समाजवाद' आउँथ्यो भने १३ हजारसित बलिदानको इतिहास गाँसिँदैनथ्यो । हिजोका  प्रचण्ड-बाबुरामहरूको ठाउँ  प्रचण्ड-बादलहरूले लिएका छन्  ।  मार्क्सवाद काम लाग्दैन भन्दै बाबुराम ‘उत्तर-मार्क्सवाद’ को झोला भिरेर ‘तीर्थाटन’ तिर लागेका छन् । वैचारिक सारतत्त्वका दृष्टिले प्रचण्ड-बादल-बाबुरामहरू  एउटै घाटका पानी पिउने ''उत्तर-मार्क्सवादी' हुन्—पानी पिउने भाँडो मात्रै फरक हो । आफ्नो व्यवहारद्वारा यिनले आफ्नो वर्गधरातल  प्रस्ट पारेका छन् ।

अहिलेको समय निकै जटिल छ । साम्राज्यवादका विरुद्ध मात्र नभएर माओवादका नाममा थरीथरीका साइनबोर्ड टाँगेर व्यापार गरिरहेकाहरूसित पनि लड्नु/भिड्नु पर्ने स्थिति अहिलेको स्थिति हो । दक्षिणपन्थी कोणबाट मात्र विसजर्नवाद आउँदैन । यसले क्रान्तिकारी-रूपवादी आवरण धारणा गरेर पनि  भ्रम दिने गर्छ  र यो अझ बढी खतरनाक हुन्छ । यस अर्थमा रङ्गीविरंगी संसोधनवादीहरूका विरुद्ध मात्र होइन, क्रान्तिकारिताको आवरणभित्र ''उत्तरवादी" शून्यवादको पुर्पक्ष गरिरहेकाहरू विरुद्धको वैचारिक सङ्घर्षलाई पनि तीव्र पार्नु आवश्यक छ ।

सापेक्षित रूपमा क्रान्तिकारी देखिएकाहरूबीच  सहकार्य, संयुक्त मोर्चा र पार्टी एकताका कुराहरू चल्नु सकारात्मक र सराहनीय कार्य  हो र यसलाई ठोस रूप दिन सबैले प्रयास गर्नु आवश्यक छ  ।  यसमा नेकपा ( क्रान्तिकारी माओवादी) को पहल सह्रानीय छ भन्नुपर्छ । परन्तु, एकताका सन्दर्भमा  भावनात्मक पक्षले मात्र हुँदैन । क्रान्तिकारीताका आधारहरू प्रस्ट पार्नुपर्छ र विगतमा भएका गल्ति-कमजोरी सच्याउन सबै तयार हुनुपर्छ ।  सही वैचारिक आधारबिनाको एकताले लामो आयु लिन सक्तैन ।  यसका लागि समयले इतिहासको सत्यपरक समीक्षाका साथै नेतृत्त्वमा रहेकाहरूबाट  गम्भीर आत्मसमीक्षाको माग गर्दछ ।

 अवश्य पनि दसबर्से जनयुद्ध इतिहासको विषय बन्यो, तर जनयुद्ध आफैंमा इतिहासको विषय बनेको छैन र बन्न सक्तैन  । फेरिएको परिस्थितिमा यसले नयाँ र विशिष्ट चरित्रका साथ आफूलाई अघि बढाउनु पर्ने नै हुन्छ । नेपाली समाजको क्रान्तिकारी रूपन्तरणको अर्को बाटो छैन ।  यही नै महान् जनयुद्ध र त्यसपछिका  दिनहरूले  दिएको संदेश  हो ।

फागुन १, २०७४
भिडियो फिचरview all