
मातृभाषा विरोधीहरूको पुत्ला दहनप्रति मातृभाषी अन्य समुदायको पनि ऐक्यबद्धता

जनकपुरका सचेत युवाहरूले हिजो मंगलबार आफ्नो मातृभाषा मैथिली र भोजपुरीको उपेक्षा र अपहेलना गर्दै हिन्दी भाषाको पक्षमा उभिएर भारतीय विस्तारवादको चाकरी गर्ने २ नम्बर प्रदेशका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाएका थिए । माघ २१ गते जनकपुरमा बसेको प्रदेशसभा २ को बैठकमा ती पार्टीसम्बद्ध नेताहरूले आफ्नो मातृभाषाको सट्टा हिन्दी भाषामा सम्बोधन गरेका थिए ।
स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै जानकी चोकमा दुई पार्टीको पुत्ला जलाएका हुन् । युवाहरूले केहीबेर मातृभाषाको पक्षमा नाराजुलुस पनि गरेका थिए । पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो । तर प्रहरीको सामना गर्दै उनीहरूले पुत्ला जलाएका थिए । आफ्नो मौलिका पहिचान बोकेको मैथली, भोजपुरी लगायतका मातृभाषालाई बेवास्ता गरेको भन्दै उनीहरुले कडा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
प्रदेशसभाको पहिलो बैठकमा फोरमका तर्फबाट शुभकामना मन्तव्य राखेका मोहम्मद लालबाबु राउत, राजपाका जितेन्द्र सोनलले हिन्दी भाषाको प्रयोग गरेका थिए भने नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरूले मैथिली भाषामा मन्तव्य दिएका थिए । प्रदेशको मुख्यमन्त्रीको दावेदार मान्छेले नै नेपालमा कसैको पनि मातृभाषा नभएको हिन्दी भाषालाई महत्त्व दिएपछि 'मधेसको पहिचान' को अर्थका बारेमा पनि प्रश्न उठेका छन् । साथै उनीबाट नेपाल र नेपाली जनताको हित होला कि भारतको भनेर पनि आशंका उब्जेका छन् ।
भाषा र पहिचानको कुरा गर्ने र आफ्नो मातृभाषको सट्टा हिन्दीमा सम्बोधन गर्ने पार्टी तथा प्रदेश सभा सदस्यहरूले आफ्ना गल्ती- कमजोरी स्वीकारेर नसच्याए आगामी दिनमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी युवाहरूले दिएका छन् ।
भिडियो फिचरview all