menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) को सकारात्मक कदम

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित संस्था ‘इन्टरनेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया’ ले डिसेम्बर ८ तारिखका दिन आफ्नो वेबसाइटमा एउटा चिठी भनौँ जानकारी प्रकाशित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सित सम्बद्ध यो चिठी सार्वजनिक गर्ने किसिमको नभएर अनौपचारिक जस्तो लागे पनि चिठीमा जेजस्तो ब्यहोरा लेखिएको छ, यसले सकारात्मक सन्देश दिएको छ ।

माथि उल्लेखित पत्रका आधारमा भन्नुपर्दा, सो पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध भनेको काठमाडौँस्थित विभिन्न शक्ति राष्ट्रहरूसितको उठबस, चियापान  र भाइचारा पार्टीहरूसितको सम्बन्ध भनेको चीन र उत्तर कोरियासितको सुमधुर सम्बन्ध हो भन्ने कुरा व्यवहारमा देखाउँदै आएको अवस्थामा यसले अब आफूलाई विश्व माओवादी आन्दोलनसित जोड्न खोजेको र  माओवादी पार्टीहरूसित भाइचारा सम्बन्ध बनाउन खोजेको देखिन्छ । एक समय रिमको  महत्वपूर्ण घटक र कोरिममा रहेर महत्वपूर्ण भूमिका खेलेको नेपालको  माओवादी आन्दोलन र नेताहरूको, यताका दिनमा अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध एक हिसाबले छैनजस्तो अवस्था रहेको बेला, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यस किसिमको बुझाइलाई महत्वपूर्ण मान्नुपर्दछ ।

‘इन्टरनेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया’ लाई  नेपाल कम्युनिस्ट पाटीं (माओवादी क्रान्तिकारी) ले लेखेको चिठीको ब्यहोरा यस प्रकार छ :

प्रिय कमरेडहरू
अभिवादन
भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गर्ने सन्दर्भमा तपाईँहरूले  लिएको पहलप्रति हामी एकदमै हर्षित छौँ । मैले भारतमा चलिरहेको जनयुद्धप्रति ऐक्यबद्धता जनाउन युरोपमा निकट भविष्यमै केही कार्यक्रमहरू हुनलागेका छन् भन्ने कुरा थाहा पाएँ  । हामीहरू यसबारे विस्तृत रूपमा  जान्न चाहन्छौँ— सम्भव हुन्छ भने कार्यक्रमको मिति, स्थान, सहभागिता र आदिइत्यादि । यदि भौतिक रूपमै अथवा सन्देशमार्फत हामीले कार्यक्रममा सहभागिता जनाउन चाह्यौँ भने हामीले के गर्नुपर्ने हो, कृपया मलाई जानकारी दिनुहोला । छिटोभन्दा छिटो जानकारी पाउन सके राम्रो हुन्थ्यो ।
तपाईँहरूबाट शीघ्र उत्तरको प्रतिक्षामा, धन्यवाद ।

सचिवालय सदस्यहरू, केन्द्रीय समिति, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
डिसेम्बर ५, २०१६

( https://icspwindia.wordpress.com/)

 डिसेम्बर ५, २०१६ मा पठाइएको  र ७ मा सार्वजनिक गरिएको यो चिठीमा ‘म’ र ‘हामी’  दुवै सर्वनामको प्रयोग गरिएको छ । ‘म’ भनिए पनि ‘म’ को हो खुलाइएको छैन ।  अन्तर्राष्ट्रीय विभागको पनि उल्लेख नगरी सचिवालय सदस्यहरू भनिएको छ । चिठी कस्तोकस्तो, अचम्मको छ । प्रायगरेर यस्तो कुराको जानकारी आन्तरिक सूत्र तथा सम्बन्धबाट हुनेगर्छ । यहाँ मिति स्थान, समय सबै विवरण माग गरिएको छ । ब्यहोरा विधि जेजस्तो भए पनि चिठीबाट जे बोध हुन्छ, यसको सह्राहना गर्नुपर्छ ।

क्रान्तिकारीहरू सर्वहारावादी अन्तराष्ट्रियतावादी स्पिरिटले ओतप्रोत हुनैपर्छ । यस किसिमको बुझाइ र सम्बन्धले विश्वका माओवादी पार्टीहरूबीच भाइचारा सम्बन्ध विकास गर्न तथा नयाँ केन्द्र निर्माण गर्न सकारात्मक वातावरण बन्ने कुरामा विश्वास गर्न सकिन्छ ।  

भिडियो फिचरview all