menu

ताजा समाचार

फिडेल क्यास्ट्रो संशोधनवादी कि समाजवादी ? माओवादी पार्टीहरू यसो भन्छन्

फिडेल क्यास्ट्रोको निधन भएको १३ दिन भएको छ र उनका बारेमा टीकाटिप्पणीहरू चलिरहेका छन् र वैचारिक कुरा भएकाले पछिसम्म चलिरहनेछन् ।

क्युबाली क्रान्तिमा उनको भूमिका रहे पनि क्युबालाई समाजवादी बाटो आर्थिक–राजनीतिक आमूल रूपान्तरणतर्फ लैजाने  कार्यमा कदम चाल्नुभन्दा विद्यमान संरचनाभित्रै सुधार गरेर उनले ‘समाजवाद’ को अभ्यास गर्न खोजे र रूसी बिसौँ पार्टी काङ्ग्रेसपछि क्रुस्चेव सत्तामा आएपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चलेको दुई लाइन सघर्ष महान् बहस मा पनि उनले आफूलाई  नवसंशोधनवादी कित्ता रूसी सामाजिक-साम्राज्यवादको पक्षमा आफूलाई उभ्याए ।  त्यति मात्र नभएर उनले माओ र  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विरोधमा आफूलाई उभ्याए ।

माओले “अमेरिकी साम्राज्यवाद कागजको बाघ”  हो भन्दै उसका विरुद्ध विश्वका क्रान्तिकारीहरू एकजुट हुन गरेको आह्वानको बेवास्ता गर्दै क्यास्ट्रोले एउटा अन्तर्वार्तामा अमेरिका आफ्नो सत्रु हो र माओ अमेरिकासित मिलेकाले एक हिसाबले उनी पनि आफ्नो सत्रु हुन् भन्ने विचार व्यक्त गर्दै माओको दिमागले काम गर्न छोडेर खुट्टाले काम गर्न थालेको  भनेर घुमाउरो किसिमले माओलाई “दिमाग खुस्केको” भन्न खोजे ।  यस्ता सन्दर्भहरूका कारण संसारभरिका क्रान्तिकारीहरूले क्युबाली क्रान्तिताकाको क्यास्ट्रोको भूमिकालाई सकारात्मक रूपमा हेरे पनि पछिका गतिविधि तथा क्यास्ट्रोले लिएको विचारका आधारमा उनलाई संशोधनवादी र रूसी सामाजिक साम्राज्यवादको पिट्ठुको संज्ञा दिँदैआएका छन् । माओवादीहरूको अन्तर्राष्ट्रिय केन्द्र रिम तथा कम्पोसाको क्युबा र क्यास्ट्रोबारेको धारणा पनि यही नै हो ।

विश्वकम्युनिस्ट आन्दोलनको इतिहाससित जोडिएकाहरू, त्यतिबेलाको महान बहसमा वैचारिक सहभागिता जनाउनेहरू, मालेमाका आधारभूत मान्यता, समाजवाद र साम्यवादका आदर्शप्रति वैचारिक निष्ठा राख्नेहरूको अहिले पनि यही नै धारणा रहेको छ र उनीहरू क्युबाली क्रान्तिको आरम्भको इतिहास र फिडेल क्यास्ट्रोको भूमिकालाई सकारात्मक रूपमा लिए पनि क्यास्ट्रोको पछिल्लो भूमिकाप्रति सकारात्मक छैनन् र हुने कुरा पनि भएन। विश्व कम्युनिस्ट आन्दोलन क्रान्तिकारी र संशोधनवादी कित्तामा उभिएका बेला, मार्क्सवाद–लेनिनवादको रक्षाको झण्डा उचालेका माओको कित्तामा उभिनुको साटो  क्यास्ट्रो यसको विरुद्ध उभिएर संशोधनवाद र रूसी सामाजिक-साम्राज्यवादी कित्तामा जसरी उभिए, यसले संसारभरिका क्रान्तिकारीहरूले उनको तीव्र आलोचना गरे । र यो आवश्यक र स्वाभाविक थियो । यस अर्थमा एउटा मार्क्सवादीले क्युबाली समाजलाई समाजवादी  र क्यास्ट्रोलाई महान् समाजवादी नेता भन्ने कुरै थिएन ।

 तर मालेमाको दार्शनिक, वैचारिक, राजनीतिक ज्ञान नभएकाहरू, विश्व कम्युनिस्ट आन्दोलनको राम्रो अध्ययन–अनुभव नभएकाहरू, कम्युनिस्ट पार्टी नाम राख्नेबित्तिकै सबैलाई समाजवादी र साम्यवादी मान्ने र ठान्नेहरू, चीन, उत्तरकोरिया लगायतका मुलुकलाई समेत समाजवादी देख्ने उयोगितावादीहरू, माओवादी पार्टीको साइनबोर्ड झुन्ड्याएर पेरिस कम्युनदेखि देखि माओसम्मको क्रान्तिकारी इतिहासलाई खारेज गर्ने विसर्जनवादीहरूले  भने क्युवालाई समाजवादी मुलुक र क्यास्ट्रोलाई महान् समाजवादी नेता मान्नेछन् । क्यास्ट्रोलाई “महान् समाजवादी नेता” मान्ने र “नवसंशोधनवादी र रूसी समाजिक-साम्राज्यवादको  गोटी” मान्ने कुरा कार्यनीतिगत अथवा भावनात्मक कुरा मात्र होइन,  यो मालेमाका आधारभूत पक्ष  समाजवादी मूल्यका पक्षमा उभिने कि मालेमाका  विरुद्ध संशोधनवादका पक्षमा उभिने भन्ने प्रश्न हो ।
 
नव-संशोधनवादीहरू, रूसी सामाजिक सामज्यवादका पक्षधरहरूले फिडेल क्यास्ट्रोको  उच्च मूल्याङ्कन गर्नु स्वाभाविक हो । मार्क्सवादी दर्शन, मालेमावाद, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र क्रान्तिकारी विचारको रक्षाका लागि मार्क्सदेखि माओसम्म र त्यसपछि रिमले खेलेको भूमिकाको अध्ययन गर्नुसट्टा मार्क्सवाद पनि राम्रोसँग नबुझेका नेताका बोलीलाई “ब्रम्ह वाक्य” ठान्ने र फेसबुकमा रमाउने ‘महान् क्रान्तिकारी कमरेडहरू’ को  क्यास्ट्रोप्रतिको धारणा र फेसबुक टिप्पणीको प्रति-टिप्पणीको अर्थ छैन । किनभने स्कुलिङ नै त्यस किसिमको छ । जब आफूलाई क्रान्तिकारी भन्ने र आफ्नो  पार्टीले मात्रै क्रान्ति गर्न सक्छ भन्ने अन्तर्राष्ट्रिय ब्युरोका प्रमुख कमरेडहरूसमेत अहिलेको क्युबाली समाजलाई समाजवाद र क्यास्ट्रोलाई महान् समाजवादी नेता भन्छन्, हाँसउठ्दो र टीठलाग्दो अवस्था उत्पन्न हुनु स्वाभाविक छ । यसो हो भने सन् साठीको दशकमा चलेको महान बहस बेठीक थियो, चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति बेठीक थियो भन्नुपर्ने हुन्छ । माओ बेठीक थिए र क्रुस्चेव ठीक थियो भन्नुपर्ने हुन्छ ।क्रुस्चेवको नेतृत्त्वमा रहेको रूसलाई पनि समाजवादी भन्नुपर्ने हुन्छ । क्रुस्चेव पनि माओ पनि दुवै  ठीक हुन सक्तैनन् ।  साम्राज्यवाद विरोधी हुनु र कम्युनिस्ट हुनु फरक कुरा हुन् ।

क्यास्ट्रोको मृत्युपछि उनका बारेमा थुप्रै वक्तव्यहरू आएका छन् र टीकाटिप्पणीहरू भएका छन् । “माओको दिमागले काम गर्न छाडेको” भन्ने क्यास्ट्रोका अन्तर्वार्ताको मूल अंश लगायत क्यास्ट्रोको  वैचारिक पक्षसित सम्बद्ध महत्वपूर्ण सामग्रीको जानकारी पनि पाठकहरूलाई गराउनु आवश्यक छ ।  तल चारओटा वक्तव्य प्रस्तुत गरिएको छ ।

१.किरण, अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

 २६ नोवेम्बर २०१६ मा क्युबाका पूर्व राष्ट्रपति तथा एक देशभक्त राजनीतिक योद्धा फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । उनको नेतृत्वमा क्युबाको पुरानो सकारलाई पल्टाएर नयाँ सरकार बनाइएको थियो । उनलाई सत्ताच्यूत  गर्न अमेरिकी साम्राज्यवादद्वारा धेरै असफल प्रयत्न गरियो । उनी साम्राज्यवादको विरोध र देशभक्तिको पक्षमा सशक्त रूपमा उभिए । उनको निधनवाट क्युबा मात्र होइन, विश्वले समेत एउटा सच्चा देशभक्त मित्र गुमाएको अनुभूति भएको छ । यस दुःखद अवसरमा हाम्रो पार्टी सामान्तवाद विरोधी एक देशभक्त योद्धा तथा मित्रप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त क्युबाली जनताप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछ ।


२.धर्मेन्द्र बास्तोला, इन्चार्ज, अन्तर्राष्ट्रिय ब्युरो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
 
क्युबाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको २५ नोवेम्बर २०१६ मा ९० बर्षको उमेरमा मृत्यु भएको छ । जसले आफ्नो जीवनभरि अन्तर्राष्ट्रिय आन्दोलनको शिर उचो पार्ने काम पार्ने गरे । उनले अमेरिकी साम्राज्यवादलाई चुनौती दिइरहे । अमेरिका र सोभिएत संघको बीचको टकराव चलिरहेको बेला क्यास्ट्रोको नेतृत्वमा क्युवाली क्रान्तिले जनताको शिर उच्च बनाउने काम गरे ।

उनले क्रान्तिकारी कमरेड चे ग्वोभेरासँग मिलेर कम्युनिस्ट स्प्रिटको समाजवादको अभ्यास गरे । क्युवाली क्रान्तिपश्चात् ल्याटिन अमेरिकी र क्यारेबीयन देशहरूका जनता साम्राज्यवाद विरुद्ध्मा मुक्तिको लडाइं लड्न प्रेरित भएसँगै समाजवादको जग पनि तयार पारे । तैपनि सोभियत संघमा खुस्चेवको उदयसँगै सोभियत संघ र समाजवादी चीन बीचमा महान विवाद भइरहदा कतिपय सिमाहरू  देखापरे पनि क्युबाली जनताको नेतृत्व गर्दै क्यास्ट्रोले अमेरिकी साम्राज्यवादको नाकमुनि बसेर समाजवादको खम्बा बनेर क्युबालाई उभ्याए ।

कमरेड फिडेल क्यास्ट्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चम्किलो तारा भएर रहिरहने छन् । हामी क्युबाली जनतालाई स्वाधीन बनाउने महान् नेता क्यास्ट्रोप्रति अभिनन्दन व्यक्त गर्दछौं ।


३. माओवादी पार्टी इटाली : फिडेल क्यास्ट्रोको मृत्युमा

एउटा मार्क्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्टले क्यास्ट्रोलाई साम्राज्यवाद विरोधी क्रान्तिकारीका रूपमा मात्र सम्झिन र सम्मान दिनसक्छ ।

। चे ग्वेभारासित मिलेर उनले क्युबाली क्रान्तिलाई अगाडि बढाएर सनसनीपूर्ण किसिमले सम्पन्न गरे, क्युबालाई समाजवादी मुलुक बनाउने उनको इच्छा, अमेरिकी साम्राज्यवादी आक्रमणबाट क्युबाको रक्षाप्रतिको दृढताको सह्राहना गर्नुपर्छ ।

यी यस्ता पन्नाहरू हुन्, जसले उनलाई  इतिहासमा सधैँ सम्झिराख्ने बनाउँछ ।

अमेरिकी साम्रज्यवादको आधिपत्यबाट ल्याटिन अमेरिकालाई मुक्त पार्ने उनको आकाङ्क्षा, अमेरिकी साम्राज्यवादसितको लामो लडाइँ, त्यस क्षेत्रमा भएका समग्र साम्राज्यवाद  विरोधी आन्दोलन र सशस्त्र सङ्घर्षहरूलाई सहयोग र समर्थन गर्ने सन्दर्भमका साथै सिङ्गो साम्राज्यवाद विरोधी आन्दोलनको विकासमा  क्युबाले पारेको  प्रभाव धेरेपछिसम्म रहरिहने छ ।

अमेरिकी साम्राज्यवाद र यसका सहयोगीहरू तथा क्युबाबाट अमेरिकी शरणमा पुगेका फासिवादीहरूले कहिले पनि क्युबालाई चैनले बस्न दिएनन् र  क्यास्ट्रोलाई तानाशाह र अत्याचारी भन्दै सधैँ लडाइँमा धकेल्न खोजे ।  अब उनीहरू क्यास्ट्रोको  मृत्युमा रमाइरहेका होलान्  । तर तिनीहरूको खुसी इतिहासमा पराजित भएकाहरूको खुसी मात्र हो ।

क्यास्ट्रोले आफूलाई जसरी परिभाषित गरून्, मान्छेले उनलाई दृढ र नझुक्ने कम्युनिस्ट, अन्तिम कम्युनिस्ट, अहिलेको विश्वको क्रान्ति र साम्यवादको झण्डा बोक्ने महान् भनेर नाम लिए पनि यो कुरा यथार्थसित  मेल खाँदैन ।

यस कोणबाट हेर्दा क्यास्ट्रो उहिल्यै मरिसकेका हुन् ।  जब उनले रूसी कम्युनिस्ट पार्टीको बिसौँ पार्टी काङ्ग्रेसपछिको सोभियत सङ्घको संशोधनवादी शान्तिपूर्ण सङ्क्रमणको धारणाप्रति प्रतिबद्धता जनाए, जब उनले सामाजिक–साम्राज्यवादी सोभियत सङ्घको नीति र कार्यक्रमप्रति प्रतिबद्धता जनाए, जब उनले क्युबाको सुरक्षाका नाममा दुई महाशक्तिबीचको द्वन्द्वमा पहिले बीचमा बसेजस्तो गरे र पछि संशोधनवादको पक्षधर बन्दै विश्व कम्युनिस्ट आन्दोलनको अगुवाइ गरिरहेको समाजवादी चीन, माओको भूमिका,  ल्याटिन अमेरिका तथा विश्वव्यापी रूपमा विकसित भइरहेको मालेमा विरुद्धमा उभिँदै रूसी कम्युनिस्ट पार्टीको गोटी बन्न स्वीकार गरे, उनी क्रान्तिकारी कित्ताका रहेनन्  । 

यसरी  क्युबाले आरम्भका दिनमा आरम्भ गरेको समाजवादतर्फको आफ्नो  यात्रा परित्याग गर्यो  र सन् १९८९ देखि उसले विस्तारै अमेरिकी साम्राज्यवाद र ओबामासित समझदारी बढाउँदैगयो ।
नोभेम्बर २७, २०१६

४. आरसिपी, अमेरिका : फिडेल क्यास्ट्रोको मृत्युका सम्बन्धमा —चारओटा बुझाइ

. फिडेल क्यास्ट्रोले ऐनमौकामा सही र अमेरिकी साम्राज्यवाद विरोधी लोकप्रिय आन्दोलनको नेतृत्व गरे । सन् १९५९ को क्युबाली क्रान्तिले अमेरिकी सामज्यवादको हितमा काम गर्ने भ्रष्ट, अत्याचारी र आततायी  बाटिस्टाको राज्यसत्तालाई फ्यालिदियो । क्रान्तिले क्युबामाथिको अमेरिकी  आर्थिक आधिपत्यसित सम्बद्ध अमेरिकी लगानीकर्ताहरूको अधीनमा रहेको क्युबाली जमिनमाथिको हक खारेज गरिदियो ।

 क्रान्तिपछि अमेरिकीहरूको ढोकाको सँघारमै एउटा यस्तो शक्ति सत्तामा आएको थियो, जुन साहशका साथ अमेरिकी साम्राज्यवादका सामु उभिएको थियो र अरूलाई यसको उदाहरण बन्न आह्वान गरिरहेको थियो । अमेरिकासहित विश्वका अन्य मुलुकहरूका उत्पीडित र क्रान्तिकारी विचार बोकेका मान्छेहरूका लागि क्युबा प्रेरणाको स्रोत बन्यो ।

ख. नयाँ सत्तालाई जसरी हुन्छ धूलोपीठो पार्न र क्युबाली जनतालाई पहिलेके स्थितिमा पुर्याउन  अमेरिकी साम्राज्यवादले निरन्तर रूपमा भीषण आक्रमण गरिरह्यो । क्युबामाथि नाकाबन्दी लगायो र सीमित आपूर्तिको क्षमतामाथि धावा बोल्यो । सन् १९६१ मा सिआइएको  सहयोगमा सशस्त्र शक्तिद्वारा क्युबाको बे अफ पिगमा आक्रमण गर्यो, जसमा अमेरिकी ठगहरूले  पराजय ब्यहोर्नु पर्यो  । क्युबालाई कूटनीतिक दृष्टिले  विश्वपरिवेशबाट अलगथलग पार्न खोजियो ।

ग.आर्थिक, राजनीतिक र सैन्य दबाबका सामु क्यास्ट्रोले विकासको यस्तो नीति अगाडि सारे र उनी यस्तो अन्तर्राष्ट्रिय  नीतितर्फ अगाडि बढे, नियत जेसुकै भए पनि  यसको परिणाम पुँजीवाद र साम्राज्यवाद नै हुन्थ्यो ।

क्यास्ट्रोले क्युबालाई सोभियत सामाजिक–साम्राज्यवादमाथि परनिर्भर हुने सम्बन्ध मातहत राखे । सन् १९५० को दशकको मध्यसम्म सोभियत रूस समाजवादी मुलुक थियो  । क्युबाको अर्थतन्त्रको ठूलो हिस्सा चिनी उत्पादनले धानेको थियो । क्युबामा स्थापित नयाँ सत्ता यस्तो समाज निर्माणतर्फ प्रवृत्त थिएन, जसले सबै शोषण र उत्पीडनलाई जरैबाट उखेलेर फ्याल्न जनतालाई शक्तिशाली बनाओस् । क्युबा फिडेल क्यास्ट्रोको सत्तामा छँदा पनि समाजवादी थिएन र अहिले पनि छैन, होइन  ।

. फिडेल क्यास्ट्रोले विश्व कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी विचारधाराको भूमिका खेले, खासगरेर माओ र क्रान्तिकारी चीनको विरोध गर्दै उनी संशोधनवादी सोभियत सङ्घको प्रतिरक्षामा उभिए ।

सन् १९६० को दशकको मध्यमा माओले संशोधनवाद र त्यसको मूल केन्द्र बनेको सोभियत रूसका विरुद्ध ऐतिहासिक वैचारिक सङ्घर्ष चलाउनुभयो । संशोधनवादले कम्युनिस्ट विचारधाराबाट क्रान्तिकारी मुटु निकालेर फ्यालिदिन्छ र मार्क्सवादको नाममा  पुँजीवादलाई ल्याएर राख्छ । माओले वैज्ञानिक किसिमले सोभियत सङ्घ समाजवादी मुलुक होइन, बरु पुँजीवादी राज्य हो भनेर प्रस्ट पार्नुभयो, परन्तु,  क्यास्ट्रोले सोभियत रूसलाई समाजवादी मुलुकका रूपमा ग्रहण गरेर यसको पक्षमा वकालत गरे । माओले सोभियत सङ्घ नयाँ साम्राज्यवादी शक्ति हो, जुन विश्व साम्राज्यवाद बन्ने  स्वार्थका साथ अघिबढिरहेको छ भन्ने कुरा प्रस्ट पार्नुभयो—फिडेल क्यास्ट्रोले सोभियत सङ्घसित गठजोड गरे र गोटी बनेर रूसका अन्तर्राष्ट्रिय दमनकारी भूमिका र कार्यको प्रशंसा तथा प्रतिरक्षा गरे ।

माओले विश्व साम्यवादी क्रान्तिका पक्षमा महान्  र ऐतिहासिक योगदान  पुर्याउनुभयो : सर्वहारा वर्गको अधिनायकत्वमा निरन्तर क्रान्तिको सिद्धान्त, पुँजीवादको पुनर्स्थापनामाथि रोक र क्रान्तिलाई, शोषण, उत्पीडन र  वर्गविभाजित समाजबाट आम जनतालाई मुक्त पार्ने साम्यवादी संसारतर्फ बढाउनुभयो । माओले यो अनुभव र अध्ययनलाई सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्तिमा रूपान्तरित गर्दै जनताका बीच लैजानुभयो, जसमा लाखौँलाख जनता समाज, विश्व क्रान्तिका विषयमा खुला बहस–छलफल  र सङ्घर्षमा सहभागी भए, जसले १० वर्षसम्म चीनमा पुँजीवादको पुनर्स्थापना हुनबाट चीनलाई रोक्नसक्यो । फिडेल क्यास्ट्रोले माओ र माओले नेतृत्व गर्नुभएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमाथि आक्रमण गरे ।

नोभेम्बर २७, २०१७, रिभोलुसन अनलाइन

माथिका वक्तव्यहरूको टिप्पणी :
(अर्को टिप्पणीमा)

भिडियो फिचरview all