menu

ताजा समाचार

क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च गठन

लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको बौद्धिक- सांस्कृतिक क्षेत्रलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक-सांस्कृतिककर्मीहरूले डा.ऋषिराज बरालको संयोजकत्वमा ‘क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च, नेपाल’ गठन गरेका छन् l मञ्चद्वारा जारी घोषणापत्रमा  ''टुटफुट विभाजन, विचलन, विशृङ्खल र दिशाविहीन हुन थालेको क्रान्तिकारी बौद्धिक–सांस्कृतिक आन्दोलनलाई क्रान्तिकारी पुनर्गठनका साथ नयाँ दिशा र गति प्रदान गरौं" भनेर आव्हान गरिएको छ l सो घोषणापत्रको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ : 
-----------------------------------------------------------------------------------------------------------------------------------
क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च, नेपाल : घोषणापत्र-२०८१

राष्ट्रिय स्वाधीनता र जनगणतन्त्रका लागि बौद्धिक-सांस्कृतिक अभियान

प्राक्कथन 

साहित्यकला तथा बौद्धिक गतिविधिका माध्यमबाट समाजरूपान्तरणमा महत्त्वपूर्ण  भूमिका खेल्नुपर्ने दायित्व पूरा गर्ने हेतुले मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध हामी बौद्धिक-सांस्कृतिक कर्मीहरूले क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च गठन गरी यसको उद्देश्य, नीति तथा कार्यक्रमलाई  सार्वजनिक गरेका छौँ ।

समाज, सिर्जना र स्रष्टा

साहित्य, कला र संस्कृति  मान्छेका सामाजिक चेतनाका उपज हुन् । यिनको सम्बन्ध मानवीय आत्मिक र भौतिक अभिव्यक्तिसित छ । सामाजिक प्राणीका नाताले मान्छेले समाजका विविध पक्षहरूको अनुभव गर्छ  र अभिव्यक्तिका विविध रूपहरू मार्फत त्यसलाई समाजमै सम्प्रेषण  गर्दछ । कुनै पनि सिर्जना स्रष्टाको अनुभव, अनुभूति, सामाजिक सम्बन्ध र क्रियाप्रतिक्रियाको उपज हो । योसित स्रष्टाको वर्गबोध, विश्वदृष्टिकोण र सौन्दर्यचेतना गाँसिएको हुन्छ । वर्गीय समाजमा साहित्यकला र बौद्धिक उत्पादन पनि वर्गीय हुन्छन् भन्नुको अर्थ  यही हो । यसलाई हामी हाम्रै समाज र सिर्जनाको इतिहासबाट पनि अवगत गर्न सक्दछौं ।

नेपाली समाज र वर्गीय चिन्तनको ऐतिहासिकता

एकीकृत सामन्ती राज्यको स्थापनासँगै नेपाली समाजमा आर्थिक, राजनीतिक र सांस्कृतिक अन्तर्विरोधहरू नयाँ किसिमले विकसित हुन थाले  । सामन्ती राजनीतिक स्वार्थलाई हिन्दू धर्म र सामन्ती सांस्कृतिक अहंसित जोडेर नेपाली समाजमा लागू गर्न थालियो । ‘आदि कवि’ भनेर एक थरी साहित्यिक इतिहासकारहरूले स्थापित गरेका  भानुभक्त आचार्यले व्यक्तिगत कारणले  असन्तुष्टिका एकाध अभिव्यक्ति दिए पनि उनले सामन्ती आदर्श र अभिजात्य सस्कृतिलाई नै मलजल हाल्ने काम गरे । यिनको तुलनामा यदुनाथ पोखर्यािलहरूको भूमिका सकारात्मक देखापर्यो  । राणाशासनको आरम्भसँगै सामन्ती राज्यसत्ता थप मजबुत भयो र अश्लील र स्तुतिवादी साहित्यले फस्टाउने अवसर पायो । नीतिवादी र रहस्यवादी चिन्तनमा आधारित भए पनि सन्त साहित्य र यसका विचारक ज्ञानदिल दास र योगमायाहरूले हिन्दूवादी धार्मिक अतिवादको विरोध गर्दै आर्थिक र सामाजिक विसङ्गतिप्रति प्रहार गर्ने काम गरे । त्यति बेलाको स्थितिमा  तुलनात्मक दृष्टिले यो प्रगतिशील चिन्तन थियो ।

बाहिरी समाज, खास गरेर रूसी अक्टोबर क्रान्ति र चीनमा देखापरेका जनजागरणका घटनाको प्रभावले नेपाली समाजलाई पनि घचघच्यायो । ‘लखन थापा विद्रोह’ र ‘मकै पर्व’ हुँदै विरोध र विद्रोहको स्वर ‘लाइब्रेरी पर्व’ को रूपमा प्रस्फुटन भयो । यो नेपाली समाजमा बौद्धिक विद्रोहको पहिलो सचेत विष्फोट थियो । यसैबीच भएको सहिदकाण्डले   राणाशासन विरोधी विद्रोहचेतलाई नयाँ ऊर्जा र उँचाइ प्रदान गर्योो । लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालको विद्रोहचेतले समाज, सिर्जना र स्रष्टाबीचको सम्बन्धलाई नयाँ किसिमले परिभाषित  गर्योप । यसै क्रममा नेपाली समाजमा मार्क्सवादी दर्शन, विचार र राजनीति पनि क्रमिक रूपमा विस्तारित हुँदै गयो । राणाविरोधी आन्दोलन र चीनमा भएको नयाँ जनवादी क्रान्तिको आलोकमा  २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसै बेलादेखि स्वःस्फुर्त लेखनले प्रस्ट रूपमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण पायो । समाजरूपान्तरण, पक्षधरता र प्रतिबद्धताको अवधारणा र सिद्धान्तले यसै बेलादेखि नयाँ मूल्य र मान्यताको  सैद्धान्तिक आधार प्राप्त गर्योा ।

कम्युनिस्ट आन्दोलन र बौद्धिक-सांस्कृतिक आन्दोलनको निरन्तरता

सिर्जनप्रक्रिया, सोन्दर्यशास्त्रीय पक्ष र सांस्कृतिक आन्दोलनका आफ्ना केही विशिष्ट पक्ष र नियमसङ्गति हुने  भए पनि सांस्कृतिक आन्दोलन मूलतः राजनीतिक आन्दोलनकै गति, दिशा र निरन्तरतामा अघि बढ्ने गर्दछ । यो यस सम्बन्धी आधारभूत मान्यता हो । उत्पादनसम्बन्ध र उत्पानशक्तिबीच हुने विभिन्न रूप र सारका सङ्घर्षद्वारा सिर्जित क्रियाप्रतिक्रिया, यथार्थ र प्रतिविम्बनसित सांस्कृतिक आन्दोलन घनिष्ठ रूपमा गाँसिएको हुन्छ । यस अर्थमा नेपालको जनसांस्कृतिक आन्दोलन नेपाली समाजको सचेतन वर्गसङ्घर्षको आत्मिक, बौद्धिक र व्यावहारिक पक्षसित सम्बद्ध प्रतिबद्धात्मक आन्दोलन हो । यो कुरा हामी २००६ सालदेखि महान् जनयुद्धसम्मको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र बौद्धिक-सांस्कृतिक आन्दोलनको इतिहासको अध्ययनबाट अवगत गर्न सक्तछौँ ।

नेपाली कम्युनिस्ट आन्दोलन कहिले दरवारपरस्त त कहिले भारतपरस्त प्रवृत्तिका विरुद्धका साथै कहिले दक्षिणपन्थी अवसरवाद त कहिले जडसूत्रवादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै अघि बढ्यो । मूलतः यो दक्षिणपन्थी अवसरवाद विरुद्धको सङ्घर्षका बीचबाट अघि बढ्यो । ‘झापा विद्रोह’ को उपज नेकपा (माले) र नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को गठनपछि, अझ  खास गरेर ‘चौथो महाधिवेशन’ का गतिविधिले तीव्रता लिएसँगै सांस्कृतिक आन्दोलनले पनि नयाँ  गति र दिशा लिन थाल्यो । परन्तु, विक्रमको २०४० को दशकको आरम्भसँगै व्यक्तिवादी प्रवृत्ति र वैचारिक मतभेदका कारण चौथो महाधिवेशनमा विभाजन र विखण्डनका प्रवृत्तिहरू सतहमा आउन थाले । यसै क्रममा व्यक्तिवाद, सारसङ्ग्रहवाद र दक्षिणपन्थी अवसरवाद विरुद्धको सङ्घर्ष तीव्र बन्दै गयो र यसैका बीचबाट नेपाल कम्युनिस्ट पार्टी (मशाल) को निर्माण भयो ।  नेपाल कम्युनिस्ट पार्टी ( मशाल)  सबै थरी विचलन र विभ्रमका विरुद्ध सङ्घर्षलाई तीव्र बनाउँदै आफ्ना गतिविधिहरूलाई अघि बढायो  । यसले मालेमाको मूल्य र आदर्शलाई अगाडि राखेर दीर्घकालीन जनयुद्धको आवश्यकता र औचित्यमा जोड दियो । नेकपा (मशाल) को क्रियाशीलता र अगुवाइमा भएको एकता र धु्वीकरणको प्रक्रियासँगै २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी ( एकताकेन्द्र) को निर्माण भयो ।

२०४६को जनआन्दोलनपछि बौद्धिक-सांस्कृतिक आन्दोलनलाई नयाँ  किसिमले गति दिन वातावरण केही सहज भए पनि आमूल परिवर्तन र क्रान्तिकारी रूपान्तरणको कार्यभार  अझै बाँकी थियो । संसदीय सुधारवाद र सारसङ्ग्रहवादी गोलचक्करबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई  मुक्त पारेर नयाँ  गति र दिशा दिने महान् योजना र अभियानका क्रममा २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) को विकास भयो र यसले २०५२ साल फागुन १ गतेदेखि महान् जनयुद्धको आरम्भ गर्योर । यस महान् अभियानले साहित्य-कला र सिङ्गो बौद्धिक-सांस्कृतिक आन्दोलनलाई नयाँ विचार, नयाँ दिशा, गति र नेतृत्व प्रदान गर्योय । राजनीतिक क्षेत्रका झैँ साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पनि यो नयाँ क्रमभङ्ग थियो ।

महान् जनयुद्धले निरन्तर गति लिइरहेको अवस्थामा प्रचण्ड-बाबुराम गुटले अनेक शब्दजाल र तानाबाना बुँनेर दसबर्से जनयुद्धलाई विसर्जन गर्न दिल्लीमा भारतीय सत्ताधारीहरूको रोहबरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरे र चुनवाङ बैठकमार्फत यसलाई पार्टी निणर्यका रूपमा वैधानिक रूप दिए ।   ‘शान्ति प्रक्रिया’ का नाममा उनीहरूले राष्ट्रिय आत्मसमर्पणवादी तथा संसदवादी  बाटो अँगालेपछि यसका विरुद्ध वैचारिक सङ्घर्षको शृङ्खला पार गर्दै अन्ततः त्यहाँभित्रका क्रान्तिकारीहरूले  कमरेड मोहन बैद्यको नेतृत्वमा विद्रोह गरे र २०६९ सालमा नेपाल कम्युनिस्ट पार्टी-माओवादी गठन गरे । 

त्यसपछिका एक दशकमा भएका वैचारिक विचलन, टुटुफूट, विभाजन र एकताका नाममा भएका विसंगत   शृङ्खलाहरू हाम्रा सामु छन् र हामी सबै यसका भुक्तभोगी छौँ । यो आफैंमा समीक्षा  र शिक्षाको विषय हो  ।  अहिले  नेपाली समाजको वर्गचरित्र, क्रान्तिको दिशा र स्वरूपका बारेमा आ-आफ्ना वैचारिक-राजनीतिक बुझाइ र ठम्याइँ अनुसारका गतिविधि चलिरहेका छन् र गलत प्रवृत्तिका विरुद्ध वैचारिक-राजनीतिक सङ्घर्ष चर्काउँदै क्रान्तिकारी पुनर्गठनको अभियान पनि निरन्तरतामा छ । यस किसिमको स्थितिको प्रभाव बौद्धिक-सांस्कृतिक क्षेत्रमा नपर्ने कुरा थिएन र छैन । आज जसरी राजनीतिक क्षेत्रमा नयाँ किसिमले क्रान्तिकारी पुनर्गठन नगरी मालेमावादी क्रान्तिकारी आन्दोलनलाई विसर्जन हुनबाट जोगाउँन र  अघि बढाउन सहज छैन भन्ने वैचारिक-राजनीतिक बुझाइ र विचारविमर्शको शृङ्खला चलेको  छ, यही कुरा बौद्धिक-सांस्कृतिक क्षेत्रमा पनि हुनु स्वाभाविक छ । अझ अहिलेको जटिल र अन्यौलपूर्ण  घडीमा वैचारिक सङ्घर्ष र जनमत निर्माणमा बौद्धिक-सांस्कृतिक क्षेत्रले अगुवाको भूमिका खेल्नुपर्ने थप  जिम्मेवारी आएको छ । 

बौद्धिक-सांस्कृतिक आन्दोलनको निरन्तरता र जनयुद्ध  
  
नेपालको जनपक्षीय बौद्धिक-सांस्कृतिक आन्दोलनको इतिहासमा निश्चित कालखण्डमा निश्चित पात्रले  खासखास भूमिका खेलेका छन् । यो इतिहासमा लक्ष्मीप्रसाद देवकोटा, , गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान,  केवलपुरे किसान, गोकुल जोसी, युद्धप्रसाद मिस्र, पारिजात र चैतन्यहरूको भूमिका महत्त्वपूर्ण  रहेको छ ।  पछिल्लो चरण खास गरेर दसबर्से जनयुद्धको आरम्भसँगै  कृष्ण सेन  ‘इच्छुक’लगायतका क्रान्तिकारी सांस्कृतिक कर्मीहरूले यसमा विशिष्ट र गुणात्मक  योगदान दिएका छन् ।  यस कार्यमा १६० भन्दा बढी सांस्कृतिक कर्मीहरू सहिद भएका छन् र कतिपय सांस्कृतिक कर्मीहरू ‘बेपत्ता' को सूचीमा छन् । जनयुद्ध सिर्जित नयाँ यथार्थका पक्षमा दृढताका साथ उभिएर दक्षिणपन्थी पलायनवाद, अराजकतावाद,  सारसङ्ग्रहवाद  र विसर्जनवादका विरुद्ध क्रान्तिकारी बौद्धिक-सांस्कृतिककर्मीहरूको नेतृत्वमा भएका वैचारिक सङ्घर्षहरूले  ऐतिहासिक महत्त्वका राख्दछन् । माओवादी सौन्दर्यमूल्यको निर्माण यस क्षेत्रको महत्त्वपूर्ण  प्राप्ति हो र यसमा जनयुद्धका महान् सांस्कृतिक  योद्धाहरूको  भूमिका अग्रणीका रूपमा रहेको छ । 

राजनीतिक क्षेत्रको जस्तै नभए पनि  कम्युनिस्ट आन्दोलनमा देखापरेका विविध प्रवृत्तिहरू  बौद्धिक-सांस्कृतिक आन्दोलनमा पनि विद्यमान् छन् । वर्षौंदेखि जरा गाडेर बसेको सामन्ती संस्कृतिका साथै अहिले क्रान्तिकारीहरूले लड्नु परेको अर्को लडाइँ साम्राज्यवादपरस्त ‘उत्तर-आधुनिकतावादी’ शून्यवाद र ‘उत्तर-मार्क्सवादी’ विसर्जनवादका विरुद्धमा छ । त्यति मात्र नभएर कम्युनिस्ट आन्दोलनका झैँ  बौद्धिक-सांस्कृतिक आन्दोलनभित्र पनि दक्षिणपन्थी अवसरवाद, सारसङ्ग्रहवाद, विसर्जनवाद र क्रान्तिकारी रूपवादी  प्रवृत्तिका विरुद्ध पनि क्रान्तिकारीहरूले निरन्तर लडाइँ लडिरहनु परेको स्थिति छ । अर्थात् राजनीतिक क्षेत्रका झैँ सांस्कृतिक क्षेत्रमा पनि मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी सांस्कृतिक कर्मीहरूले दुवै थरी मोर्चा विरुद्ध लडिरहनु  परेको अवस्था छ । महान् जनयुद्धको विकास र निरन्तरतामा सबै किसिमका विचलन र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्दै अघि बढेको र पछिल्ला दिनहरूमा पनि महान् जनयुद्धका आदर्श र मालेमावादी क्रान्तिकारी निरन्तरताप्रति प्रतिबद्ध प्रवृत्ति नै अहिलेको बौद्धिक-सांस्कृतिक आन्दोलनको मूल प्रवृत्ति हो । बौद्धिक-सांस्कृतिक क्षेत्रमा क्रान्तिकारी पुनर्गठनको प्रस्थानबिन्दु पनि यही हुनु स्वाभाविक छ । 

क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च गठनको आवश्यकता र औचित्य

कम्युनिस्ट  नामका विभिन्न पार्टीहरूका आ-आफ्नै साहित्यिक—सांस्कृतिक सङ्घ-संस्था र मोर्चाहरू  अस्तित्वका रहेका देखिन्छन् । मार्क्सवाद-लेनिनवाद-माओवादको साइनबोर्ड राखेर साहित्यिक गतिविधि गरिरहेका संस्थाहरू पनि नभएका होइनन्  ।  यसरी हेर्दा यो  मञ्चले पनि एउटा थप सङ्ख्या थपेको छ भन्न सकिन्छ  । परन्तु, यसको स्थापना एउटा नाम र सङ्ख्या थपिनुमा मात्र सिमित छैन । यसको गठन मालेमावादी क्रान्तिकारी  मूल्य, आदर्श, लक्ष्य, नीति, योजना र प्रतिबद्धताका साथ भएको बेहोरा हामी प्रस्ट पार्न चाहन्छौँ ।

यतिखेर कतिपय साहित्यिक-साहित्यिक सङ्घ-संस्थाले जनसंस्कृतिको निर्माण र बौद्धिक गतिविधिका नाममा माओवादकै भ्रष्टीकरण गर्दै  विकृति र  विभ्रम फैलाइरहेका छन् । दक्षिणपन्थी अवसरवाद हुँदै संसदीय बाटो समातेकाहरू र समात्न थालेकाहरूसित क्रान्तिकारीहरूको सोझै टक्कर पर्नु स्वाभाविक छ । कुरामा मालेमा भन्ने तर व्यवहारमा दक्षिणपन्थी-अवसरवादी प्रवृत्ति देखाउँदै विचारविहीन भीडतन्त्र जम्मा पारेर रमाइलो गर्ने ‘क्रान्तिकारी-रूपवादी’ प्रवृत्तिले पनि  हाम्रो आन्दोलनलाई बडो नराम्रो किसिमले नोक्सान पुर्यााएको छ ।  यसले मार्क्सवादभित्र उपयोगितावाद र ‘उत्तर-आधुनिकतावादी उपभोक्तावादको प्रवेशलाई सहज बनाएको  छ ।  साथै जनयुद्धको विरासतको निरन्तरताको दाबी गर्दै आफूहरूले  मार्क्सवादी-लेनिनवादी-माओवादी आन्दोलनलाई अघि बढाएको भन्ने तर, व्यवहारमा अनुभववाद र नव-सारसङ्ग्रहको अभ्यास गर्ने प्रवृत्तिले पनि राजनीतिक क्षेत्रका झैँ हाम्रो सांस्कृतिक आन्दोलनलाई नराम्रो गरी गाँजेको छ । यस किसिमको विचलनले लिने बाटो भनेको अन्ततः विसर्जनवादी बाटो  नै हो । हामी यसका प्रारूप पनि व्यवहारमा देखिरहेका छौँ  ।   सांस्कृतिक क्षेत्रमा दक्षिणपन्थी अवसरवादका विरुद्ध मात्र नभई मध्यपन्थी अवसरवाद अर्थात् नव-सारसङ्ग्रहवाद र क्रान्तिकारी-रूपवादी विसर्जनवादका विरुद्धसमेत लड्नु आजको अहं आवश्यकता बनेको छ  । हामी यिनै  आवश्यकता पूरा गर्ने दृढता र  प्रतिबद्धताका  साथ साझा मञ्च र सङ्घर्षको मोर्चामा आएका हौँ ।

यसका सैद्धान्तिक-वैचारिक प्रस्थापनाहरू :

१) यसले मार्क्सवाद-लेनिनवाद र माओवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दछ । २) यसले  ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’को मूल्य र आदर्शलाई मूल आधार बनाउँछ । ३)यसले मालेमावादी प्रतिबद्धता र पक्षधरताको सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता जनाउँछ । ४) यसले समाजवादी यथार्थवादका आधारभूत मूल्य-मान्यतालाई आत्मसात गर्दछ । ५) यसले महान् नेपाली जनयुद्धले निर्माण गरेको सौन्दर्यमूल्य र आदर्शलाई सिर्जनात्मक प्रस्थानविन्दु  बनाउँछ । ६) यसले समाजरूपान्तरणमा बौद्धिक-सांस्कृतिक कर्मीहरूको भूमिकालाई उच्च महत्व दिँदै तिनलाई वैचारिक शक्ति र सांस्कृतिक सेनाका  रूपमा विकास गर्न जोड दिन्छ । ७) यसले  नेपाली समाजमा नव-औपनिवेशिक वैदेशिक हस्तक्षेपको मात्रामा वृद्धि हुँदै गएको भए पनि नेपाली समाज आधारभूत रूपमा अहिले पनि अर्धसामान्ती तथा अर्धऔपनिवेशिक स्थितिमा रहेको र नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति हुने र त्यसपछि वैज्ञानिक समाजवाद हुँदै साम्यवादी दिशामा अघि बढ्ने नेपाली क्रान्तिको बाटो र उद्देश्यप्रतिको प्रतिबद्धतामा जोड दिन्छ । ८) राजनीतिक क्षेत्रमा यसले ‘क्रान्तिका तीन जादुगरी हतियार’प्रति प्रतिबद्धता जनाउँदै सशस्त्र सङ्घर्षको बाटो नै नेपाली क्रान्तिको बाटो हो भन्ने मान्यतालाई अँगाल्छ ।

यसका उद्देश्यहरू

माथिको सैद्धान्तिक जग र आधारमा टेकेर यस मञ्चले आफ्नो उद्देश्यलाई निम्न किसिमले परिभाषित गरेको छ :

१) क्रान्तिकारी वैचारिक-राजनीतिक पक्षमा दृढताका साथ उभिएर क्रान्तिकारी कार्यदिशालाई सैद्धान्तिक तथा व्यावहारिक दृष्टिले अवलम्बन गर्नु । २) साहित्य-कला तथा विविध बौद्धिक-सांस्कृतिक अभियानमार्फत समाजरूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण  योगदान पुर्याउनु । ३) ‘उत्तर-आधुनिकतावाद’, ‘ उत्तर-मार्क्सवाद’ लगायत सबै किसिमका ‘उत्तर-वादी' जनविरोधी चिन्तन र प्रवृत्तिहरूको तीव्र भण्डाफोर गर्नु । ४) संसोधनवादलगायत सबै किसिमका रूपवादहरूको विरोध गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षमा दृढताका साथ उभिनु । ५) दसबर्से महान् जनयुद्धका आदर्श र मूल्यहरूलाई सैद्धान्तिक तथा व्यावहारिक पक्षमा स्थापित गर्दै जानु । ६)राष्ट्रिय आत्मसमर्पणवादको निर्मम भण्डाफोर गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा सिर्जना तथा विविध बौद्धिक अभियानमार्फत जनमत निर्माण  गर्नु । ७) सहिद स्रष्टाहरू र गाउँठाउँ र विभिन्न किसिमले ओझेलमा परेका क्रान्तिकारी प्रतिभाहरूलाई प्रकाशमा ल्याउनु । ८) उत्पीडनमा परेका जातजाति, क्षेत्र तथा लैङ्गिक समस्याका पक्षमा दृढताका साथ उभिएर जातीय, क्षेत्रीय, लैङ्गिक लगायतका सबै किसिमका अतिवादहरूको विरोध गर्दै वर्गीय पक्षलाई मूल आधार बनाएर वैचारिक सङ्घर्ष चलाउनु । ९)विश्वभरिका उत्पीडित जनताले आफ्नो हक र अधिकारका लागि गरेका सङ्घर्ष र न्यायपूर्ण  आन्दोलनलाई समर्थन र सहयोग गर्नु । १०) समान विचार र उद्देश्य बोकेका देशभित्र तथा बाहिरका सांस्कृतिक सङ्घसंस्थाहरूसित कार्यगत एकता र सहकार्य गर्नु  । ११) प्रकाशन, गोष्ठी, अभियान र सिर्जनकार्य मार्फत वैचारिक सङ्घर्षलाई निरन्तरता दिनु । १२) मार्क्सवाद-लेनिनवाद-माओवाद र माओवादी जनयुद्धका पक्षमा विश्वका क्रान्तिकारी पार्टी र क्रान्तिकारी बौद्धिक-सांस्कृतिक कर्मीहरूले चलाएको बौद्धिक-वैचारिक गतिविधि र अभियानप्रति ऐक्यबद्धता जनाउनु । १३) नेपाली क्रान्तिका सन्दर्भमा सैद्धान्तिक तथा व्यवाहारिक पक्षमा सही अर्थमा कलमधारी (वैचारिक) सेनाको भूमिका पूरा गर्नु ।

तत्कालको कार्यभार

यतिखेर  मुलुक क्रान्ति र प्रतिक्रान्तिको भीषण द्वन्द्व र टक्करका बीचबाट गुज्रिरहेको छ । मुलुकलाई यथास्थितिमा सिमित राख्न र रक्तपात मच्चाउन देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरू जोडतोडका साथ लागेका छन् । जनताले बलिदानको महान् यात्रा पार गरेर निर्माण गरेका प्राप्तिहरूको रक्षा गर्दै  जनगणतन्त्रको निर्दिष्ट लक्ष्य पूरा गर्नुपर्ने महान् जिम्मेवारीका साथ राष्ट्रिय आत्मसमर्पणवाद  विरुद्धको लडाइँलाई निरन्तर अगाडि बढाइरहनुपर्ने जिम्मेवारी अहिले क्रान्तिकारीहरूका सामु रहेको छ ।

राष्ट्रिय स्वाधीनता र जनगणतन्त्र दुवैको पक्षमा व्यापक जनमत निर्माण  गर्दै बौद्धिक समुदाय तथा सांस्कृतिक कर्मीहरू आत्मिक र भौतिक रूपबाट सक्रिय हुनुपर्ने चुनौती अहिले हाम्रा सामु छ । त्यसै गरी बौद्धिक-सांस्कृतिक आन्दोलनमा देखापरेका दक्षिणपन्थी संशोधनवाद, नव-सारसङ्ग्रहवादी मध्यपन्थी अवसरवाद, ‘क्रान्तिकारी-रूपवाद' का साथै विसर्जनवाद विरुद्धको सङ्घर्षलाई थप तीव्रताका साथ अघि बढाउनुपर्ने दायित्व पनि यतिखेर हाम्रा सामु छ । यसका लागि राजनीतिक क्षेत्रका झैँ साहित्यिक-सांस्कृतिक क्षेत्रमा पनि क्रान्तिकारी पुनर्गठन आजको अपरिहार्य आवश्यकता बनेको छ । 

वर्तमान घडीमा  'क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च,' राष्ट्रिय स्वाधीनता र जनगणतन्त्रको पक्षमा र सबै किसिमका अवसरवाद र विसर्जनवादका विरुद्ध  गोलबद्ध भई  जनगणतन्त्र  स्थापनाको  दिशामा अघि  बढ्न सम्पूर्ण क्रान्तिकारी, प्रगतिशील र देशभक्त बुद्धिजीवी तथा सांस्कृतिक कर्मीहरूलाई हार्दिक आह्वान गर्दछ ।  त्यसैले आउनुहोस् : सबै खाले अवसरवाद विरुद्धको लडाइँलाई तीव्र बनाऔँ ! टुटफुट विभाजन, विचलन, विशृङ्खल र दिशाविहीन हुन थालेको क्रान्तिकारी बौद्धिक- सांस्कृतिक आन्दोलनलाई क्रान्तिकारी पुनर्गठनका साथ नयाँ दिशा र गति प्रदान गरौँ । 

 (कात्तिक २,  २०८१)  
०००
भिडियो फिचरview all